+

सिक्स प्याक एब्स : घरमै बनाउन सकिन्छ कि जिम धाउनैपर्छ ?

२०७९ माघ  ४ गते १०:०५ २०७९ माघ ४ गते १०:०५
सिक्स प्याक एब्स : घरमै बनाउन सकिन्छ कि जिम धाउनैपर्छ ?

काठमाडौं । शारीरिक तन्दुरुस्ती र आकर्षणका लागि युवाहरुमा सिक्स प्याक एब्स बनाउने लहर नै चलेको छ । सिक्स प्याक एब्स बनाउनकै लागि उनीहरु घण्टौंसम्म जिममा पसिना बगाइरहेका हुन्छन् ।

यसले शरीरलाई आकर्षक देखाउने मात्र हो वा अरू स्वास्थ्यलाभ पनि मिल्छ ? फिटनेस ट्रेनर प्रकाश केसी भन्छन्, ‘यसको लागि कुनै उमेर अवधि हुँदैन । जुनसुकै उमेर समूहले पनि सिक्स प्याक बनाउन सक्छन् । म एब्स बनाउँछु भन्ने चाहना र लगनशीलता भने हुनुपर्‍यो ।’

सिक्स प्याक एब्स कसरी बनाउने ?

सिक्स प्याक भनेको शरीरको भित्रपट्टि भएको मांसपेशी हो । जसलाई हाम्रो शरीरमा भएको बोसोले छोपेको हुन्छ । कसैको शरीरमा १५ प्रतिशत, कसैकोमा ३० र कसैकोमा ४० प्रतिशत  बोसो हुन्छ । त्यो बोसोलाई ९ प्रतिशतमा झरेपछि त्यो मांसपेशीहरु निस्कन्छन् र सिक्स प्याक बन्ने केसीको भनाइ छ ।

‘सबै व्यक्तिको सिक्स प्याक मात्र हुन्छ भन्ने हुँदैन । कसैको ६ वटा एब्सको लाइन हुन्छ भने कसैको ८, १० र ४ वटा पनि हुन्छ,’ उनी भन्छन्, ‘सामान्यतया ६ वटा लाइन हुने भएको सिक्स प्याक भनिएको हो ।’

कस्तो व्यायाम गराइन्छ ?

सिक्स प्याक एब्सको लागि मांसपेशीलाई बलियो बनाउने वर्क आउट गराइन्छ । सिक्स प्याक निकाल्नकै लागि भनेर दैनिक क्रन्च वर्क आउट गराइँदैन । हप्तामा एक दिनदेखि दुई दिन मात्र पेटको व्यायाम गराइन्छ । सिक्स प्याक बनाउन मुख्य भूमिका खानपानको हुन्छ । व्यायामसँगै खानपानमा ध्यान दिएर बोसो घटाएपछि नै यो देखिने केसी बताउँछन् ।

कति अवधिमा सिक्स प्याक एब्स देखिन थाल्छ ?

मानिस शरीरमा बोसोको मात्रा कति छ  त्यसले कति अवधिमा सिक्स प्याक निस्कन्छ भन्ने कुरा निर्धारण गर्छ । शरीरमा १५ प्रतिशत बोसो छ भने  ३ महिना राम्ररी वर्क आउट गर्यो र खानपानमा ध्यान दियो भने ३ महिनामा नै सिक्स प्याक एब्स देखिन थाल्ने के.सीले बताए  । ‘यदि शरीरमा ४५ प्रतिशत बोसो छ भने ९ बोसोलाई ९ प्रतिशतमा झार्न त वर्षौँ पनि लाग्न सक्छ ।’

‘दैनिक ४५ मिनेटदेखि एक घण्टा पूरै शरीरको व्यायाम गर्नुपर्छ । यसरी पूरै शरीरको व्यायाम गर्दा शरीरबाट बोसोको मात्रा घट्छ र एब्स देखिन्छ । हप्तामा दुईपटक त्यही एक घण्टाको अवधिभित्र पेटको व्यायाम पनि गर्नुपर्छ,’ केसी भन्छन् ।

कस्तो खानपान जरुरी ?

सिक्स प्याक एब्सको लागि आहार र व्यायाम दुवैको समान भूमिका हुन्छ । त्यसैले सिक्स प्याक एब्स बनाउन दैनिक खानामा कार्बोहाइड्रेट मात्रा अलि कम गर्नुपर्छ । खानामा प्रोटिन, फाइबर र खनिजको मात्रा बढाउनुपर्छ । गुड फ्याटको सेवन गर्नुपर्‍यो । ७० केजीको व्यक्तिले दैनिक कम्तीमा पनि ७० ग्राम प्रोटिन सेवन गर्नुपर्छ भने कम्तीमा तीन लिटर पानी पिउनुपर्छ । प्रशस्त मात्रामा फाइबर भएको तरकारी र सलादको पनि सेवन गर्नुपर्ने केसी बताउँछन् ।

घरमै बनाउन सकिन्छ सिक्स प्याक एब्स

सिक्स प्याक एब्स भनेको आकर्षक देखिन हो । साथै यसको अरू फाइदा पनि छन् । शरीरमा भएको बोसोको मात्रा घटेर एब्स देखिने भएकाले शरीर फिट हुन्छ । शरीरमा बोसोको मात्रा घटेर मोटोपन घट्दा मधुमेह, कोलेस्टेरोल, उच्च रक्तचाप जस्ता रोगहरूको जोखिमबाट पनि बच्न सकिने भयो ।

सिक्स प्याक एब्स घरमै पनि बनाउन सकिन्छ । यसको लागि डाइट प्लान र व्यायामलाई प्राथमिकतामा राख्नुपर्छ । एब्सको लागि पेटको व्यायाम मात्र होइन, सम्पूर्ण शरीरको व्यायाम गर्नुपर्छ । पूरै शरीरको व्यायाम गर्दा शरीरबाट बोसो घट्छ र एब्स निस्कन्छ ।

हार्डस्टाइल फ्लक, क्रन्च र एक्सटेन्सन-टु-क्याननबल जस्ता वर्कआउट गर्नुपर्छ । खानापनमा विशेष ध्यान दिंदै शरीरको बोसो घटाएर एब्स निकाल्न खानामा धेरै फलफूल, तरकारी, सम्पूर्ण अन्न, गुड फ्याट र प्रोटिन समावेश गर्नुपर्छ ।

व्यायाम सिक्स प्याक एब्स
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय