+
+

हामीले छाकैपिच्छे खाने तेल कसरी विषाक्त हुन्छ ?

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०७९ माघ ६ गते १०:०५

काठमाडौं । चाडपर्वमा घरमा सेलरोटी, पुरीजस्ता परिकारहरु पाक्छन् । यस्ता खानेकुराको लागि तेल पनि धेरै खपत हुन्छ, साथै समय पनि । तारेर पकाइने खानेकुरामा तेल त्यसै बाँकी रहने भएकाले त्यसलाई फेरि प्रयोग गर्ने अधिकांशको बानी हुन्छ ।

तर एकपटक प्रयोग गरेको तेललाई फेरि प्रयोग गर्नु हानिकारक हुने पोषणविद् अनुश्री आचार्य बताउँछिन् । एउटै तेललाई पटकपटक तताएर प्रयोग गर्दा त्यो ट्रान्सफ्याटमा परिवर्तन हुने र सडक पिच गर्ने ‘टार’ जस्तो बाक्लो हुने उनी बताउँछिन् ।

‘त्यसैले एकपटक केही खानेकुरा पकाइसकेको बासी तेललाई बारम्बार प्रयोग गर्नु स्वास्थ्य दृष्टिकोणले भने राम्रो होइन । बढीमा दुई पटक मात्र यसलाई प्रयोग गर्नुपर्छ,’ आचार्य भन्छिन् ।

शरीरमा २५ प्रतिशत फ्याट हुनुपर्छ । त्यसैले शरीरमा फ्याटको मात्रा पुर्‍याउन तेलको प्रयोग गर्नुपर्ने हुन्छ । ‘तर कति खाने कस्तो तेल भन्ने कुरामा भने ध्यान दिनुपर्छ । एक जना व्यक्तिले दैनिक १० एमएल तेल प्रयोग गर्नु ठीक हुन्छ,’ आचार्य सुझाउँछिन् ।

हामीले दुई चम्चा तेल राखेर तरकारी पकाउँछौ अनि पाँच जनाले बाँडेर खान्छौं । यसरी दिनमा दुईपटक तरकारी खान्छौं वा भातमा एक चम्चा घिउ हालेर खायौं भने १० एमएल तेल खान्छौं, जुन स्वास्थ्यको लागि लाभदायक नै हुने उनी बताउँछिन् । साथै गुड फ्याट पाइने खानेकुरा जस्तै ड्राइफ्रुट, चीज आदि पनि खान सकिने उनको सुझाव छ ।

अहिले अण्डा खाँदा पहेंलो भाग नखाने चलन छ । तर अण्डाको पहेंलो भागमा गुड फ्याट हुने भएकाले यसलाई फाल्न नहुने आचार्य बताउँछिन् । पाउरोटीमा बटर लगाएर खाँदा,  भातमा घिउ हालेर खाँदा र चीज पनि खाँदा शरीरलाई चाहिने भन्दा बढी फ्याट जम्मान हुने र कोलेस्टेरोल बढ्छ ।

पोषणविद् अनुश्री आचार्य

तेललाई धेरै तताउनु पर्दैन

तरकारी पकाउँदा होस् वा अन्य खानेकुरा पकाउँदा तेललाई मज्जाले तताउनुपर्छ भन्ने मान्यता गलत भएको आचार्य बताउँछिन् । तेल फ्याक्ट्रीबाट प्रशोधन भएर एउटा तापमान कायम भएर आएको हुन्छ । त्यसलाई फेरि धेरै तताउँदा ‘कास्ट्रोजेनिक’ मन्द विष बन्छ । त्यसैले अलिअलि तातेपछि नै त्यसमा तरकारी तथा अन्य खानेकुरा पकाउनु उचित हुन्छ ।

घिउ खानै हुन्न ?

सामान्यतया दैनिक एक चम्चा घिउ जोकोहीले खान मिल्छ । मोटोपन तथा मुटुको समस्या भएका व्यक्तिले पनि दैनिक एक चम्चा घिउ खान मिल्ने आचार्य बताउँछिन् ।

‘पहिले मुटुको समस्या भएका व्यक्ति र शल्यक्रिया गरेका व्यक्तिले चिल्लो खान हुँदैन  उसिनेको खानेकुरा मात्र खानुपर्छ भन्ने भ्रम थियो । जसले गर्दा शल्यक्रिया गरेका व्यक्तिहरू दुब्लाउँदै जाने हुन्थ्यो,’ उनी भन्छिन्, ‘शरीरमा कोषहरू बन्न फ्याट आवश्यक हुन्छ । ‘ए’, ‘डी’, ‘ई’ जस्ता भिटामिन सोस्नको लागि पनि फ्याट चाहिन्छ ।’

चिल्लो नै नखाएपछि भिटामिन शरीरले नपाउने भएकाले शल्यक्रिया गरेका व्यक्ति झन् दुब्लाउँदै जाने भएकाले बिरामी हुँदा चिल्लो पटक्कै खान हुन्न भन्नु भ्रम मात्र रहेको उनी बताउँछिन् ।

कुन तेल कति मात्रामा प्रयोग गर्ने ?

नेपाली बजारमा तोरी, भटमास, सूर्यमुखी र ओलिभ गरी चार प्रकारका तेल उपलब्ध छन् । ओलिभको तेल मात्र प्रयोग गर्न योग्य छ भन्ने धेरैलाई लाग्छ । तर तोरी, भटमास र सूर्यमुखी सबै प्रकारका तेल प्रयोग गर्न सकिन्छ । एउटै तेल मात्र प्रयोग गर्नु भन्दा हप्ता-हप्तामा तेल परिवर्तन गरेर प्रयोग गर्न सकिने आचार्य बताउँछिन् । एक हप्ता तोरी, एक हप्ता सूर्यमुखी र एक हप्ता भटमास प्रयोग गर्न सकिन्छ ।

‘यसरी धेरैथरी तेलको गर्दा तेलमा पाइने ओमेगा ३ र ओमेगा ६ प्राप्त गर्न सकिन्छ । हामीले दैनिक रूपमा घरमा प्रयोग गरिरहेको तेलको मात्रा ठीक छ । बाहिरको तारे भुटेको खानेकुरा प्याकेट फुडहरूले शरीरमा अतिरिक्त फ्याट बढाउँछ,’ आचार्य भन्छिन् ।

एउटै तेललाई पटक-पटक प्रयोग गर्दा के हुन्छ ?

तेललाई धेरै बेरसम्म पकायो भने वा एउटै तेललाई बारम्बार प्रयोग गर्‍यो भने बाटो पिच गर्दा राखिने अलकत्राको टार र तेल उस्तै हुने आचार्य बताउँछिन् । यस्तो तेल प्रयोग गरिरहँदा क्यान्सर, उच्च रक्तचाप जस्ता दीर्घरोग निम्तिन सक्छ ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
सुमित्रा लुइटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?