+
+

जहाज दुर्घटनाबाट उदांगियो पोखराको उद्धार क्षमता, कहिले सिक्ने पाठ ?

विकास रोकामगर विकास रोकामगर
२०७९ माघ ५ गते १९:४७

५ माघ, पोखरा । यती एअरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटनापश्चात हल्लाखल्ला मच्चियो । घनाबस्ती बीचको सेती खोंचमा दुर्घटनापछि धुवाँको मुस्लो उडिरहेको थियो र मुस्लोतिरै मानिसहरु दौडिरहेका थिए ।

दुर्घटना भएको स्थान थियो, पोखरा बसर्पाकको दक्षिण र पुरानो विमानस्थलको पूर्व क्षेत्र सेती खोंच । पृथ्वीचोक, बुद्धचोक, विरौटा चोकबाटै हुलका हुल मानिस र सवारी साधन घटनास्थलतिरै दौडिरहेका थिए ।

दुर्घटना लगत्तै पोखरा बसपार्कबाटै जाम सुरु भइहाल्यो । घटनास्थल नजिकै रहेको मितेरी पुल र सीताराम पुलबाट त एम्बुलेन्स नै छिर्न नसक्ने गरी भीड बढेको थियो । रामबजारतिरबाट छिर्ने सडक मान्छेकै भीडले ठेलमठेल बन्यो ।

घटनास्थल यस्तो देखियो, सेती खोंचमा जहाज दुर्घटना होइन, कुनै मेला लागिरहेको छ र मान्छेहरु मेला भर्न हिँडिरहेछन् ।

रामबजार हुँदै मितेरी पुल भएर जाने बाटो त्यही सडक हो, जसलाई पोखरा महानगरपालिकाले अन्तर्राष्ट्रिय विमानस्थलबाट विरौटा, लेकसाइड जाने वैकल्पिक सडकका रुपमा अगाडि सारेको छ । पोखरा जोड्ने पुरानो चाइनिज पुलले अहिलेकै ट्राफिक जाम धान्न नसक्ने भइसक्यो । यस्तो अवस्थमा वैकल्पिक सडक र गतिलो पूर्वाधार तथा तयारी नहुँदा विमान दुर्घटनापछि उद्धारमा कठिनाइमात्रै खेप्नु परेन, दुर्घटनामा परेका मानिसहरु जिवितै उद्धार गर्ने सम्भावनालाई समेत जोखिममा राखिदियो ।

दुर्घटना भएको १० मिनेटभित्रै स्रोत र साधनसहित घटनास्थलतर्फ लागेको नेपाल प्रहरीको रेस्क्यु टिमलाई नै भीड छिचोल्दै पुग्न २५ मिनेटभन्दा बढी लाग्यो । गण्डकी प्रदेश प्रहरीका रेस्क्यु कमाण्डर वरिष्ठ हवल्दार श्यामकान्त श्रीवास्तव उद्धारमा खेपेको कठिनाइबारे सुनाउँछन्, ‘मान्छेको चापका कारण हामी छिटो पुग्न सकेनौं । अफिसबाट विरौटासम्म पुग्दा मान्छेको चाप यति धेरै भयो कि उद्धारको स्रोत साधन बोकेको हाम्रो गाडी घटनास्थलसम्म पुग्नै सकेन ।’

नेपाल प्रहरीमात्रै होइन, सशत्र प्रहरी बल र नेपाली सेनाको विशेष तालिम प्राप्त रेस्क्यु टिमलाई नै साँघुरो संरचनामा भीड छिचोल्दै घटनास्थल पुग्न अर्को तालिम लिनुपर्नेजस्तो दुखदायी परिस्थिति सिर्जना भएको उनीहरुको दुखेसो छ ।

शहरकै बीचमा रहेको घटनास्थल, पुरानो विमानस्थलसँगै जोडिएको ठाउँ र त्यसमाथि पनि पृथ्वीराजमार्गको वैकल्पिक बाटोका रुपमा अघि सारिएको सडक तथा सुगम ठाउँमै उद्धारमा भएको कठिनाइले पोखराको हविगत देखिएको सरोकारवालाको चिन्ता छ ।

सडक संरचना यस्तो छ कि एउटा वारुणयन्त्रले सेतीमाथिको पुल काट्नसमेत हम्मेहम्मे पर्‍यो । २ वटा एम्बुलेन्सले एकै पटक बाटो काट्न सक्ने अवस्थासमेत देखिएन । त्यही बाटो पनि सहज र फराकिलो भइदिएको भए आइतबार दुर्घटनापश्चात गएको उद्धार टोली समयमै पुग्न सक्ने र निकालिएका शवलाई पनि ठाउँमा पुर्‍याउन सहज हुने उद्धारमा खटिएका सुरक्षाकर्मी सुनाउँछन् ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै त्यसलाई धान्न सक्ने वाह्य पूर्वाधार पनि सँगसँगै निर्माण भइदिएको भए पनि उद्धारमा यो सास्ती खेप्नुपर्ने थिएन । उद्धारका निम्ति हाम्रो संयन्त्र, पूर्वाधार र तयारी कति चुस्त छ भन्ने कुराको पाठ दुर्घटनाले दिएको सरोकारवालाहरु बताउँछन् ।

पोखराका पर्यटन व्यवसायी वासु त्रिपाठी भन्छन्, ‘कुनै पनि दुर्घटना पूर्वसूचना दिएर त आउने होइन । तर, कम्तिमा घटना भइसकेपछि त्यसलाई सामना गर्न हामी तयारी अवस्थामा रहन सक्छौं । पोखराको बीचमा विमान दुर्घटना भएर पनि सबैभन्दा कठिन ठाउँमा भएकोजस्तो भयो ।’

त्रिपाठीले पोखराका बाटो साँघुरो भएको सुनाए । उनी दमकल, एम्बुलेन्सजन्य अत्यावश्यक सवारी साधनका लागि सधैं तयारी अवस्थामा रहने गरी संरचनाको निर्माण गरिनुपर्ने सुझाउँछन् ।

सुरुमा वारुणयन्त्र सेती वारि अर्थात् पोखरा वडा नं. ७ दिशाबाट लगिएको थियो । तर, त्यहाँबाट सम्भव नभएपछि वारुणयन्त्र सेती पारि (पोखरा वडा नं. १५) तर्फ लागेर बल्ल फोहोरा फाल्न थालेको थियो ।

‘हुन त शहरको बीचमा दुर्घटना भएकाले छिटै धेरै मान्छेहरु जम्मा भइसकेका थिए । उनीहरुको मोटरसाइकल र स्कुटरले बाटो भरिइसकेको थियो,’ उद्धारमा खटिएका एक उद्धारटोली सदस्यले भने, ‘बाटो राम्रो र फराकिलो भइदिएको भए अझै छिटो आउन सक्ने सम्भावना रहन्थ्यो । त्यहीअनुसार प्लान बन्थ्यो ।’

उद्धारमा ३ विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी संयुक्त रुपमा खटिएका थिए । माघ १ गते भएको दुर्घटनामा हालसम्म आधिकारिक ७० शव फेला परेका छन् । पछि मंगलबार फेला परेका २ वटा शव नचिनिने अवस्थामा रहेकाले पुष्टि हुनै बाँकी छ । उक्त शवको डीएनए रिपोर्टपछि मात्रै यात्रुको शव हो वा होइन भन्ने थाहा लाग्नेछ ।

पहिलो दिन आइतबार ६३, दोस्रो दिन सोमबार ७ र तेस्रो दिन २ (पुष्टि नभएको) शव फेला परेको थियो । काठमाडौंदेखि पोखराका लागि उडेको उक्त जहाजमा ४ जना चालक दल र ६८ जना यात्रुसहित ७२ जना सवार थिए ।

भौगोलिक हिसाबले देशकै ठूलो महानगर । सेवासुविधा एवं संरचनाका हिसाबले समेत सम्पन्न मानिएको शहर । त्यसमाथि गण्डकी प्रदेशकै राजधानी । तर, त्यही शहरमा भएको विमान दुर्घटनामा भने उद्धार टोली करिब आधा घन्टापछिमात्रै पुग्न सक्छ ।

बाक्लो फराकिलो र सोहीअनुसार आवश्यक संरचना बनाउनुपर्ने माग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुरु हुनुअघिबाटै कुरा उठ्दै आएको थियो । सरोकारवाला निकायले अन्तर्राष्ट्रियस्तरको उडानका लागि पोखराको पूर्वाधारलाई सुधार नगरी सञ्चालन गर्न नहुने बताउँदै आएका थिए ।

पृथ्वीराजमार्ग अन्तर्गत पर्ने सेती पुल पनि एकदमै साँघुरो भएको र पोखराको घाँटी नै सानो भएपछि अरु कुरा कसरी छिर्छ ? भन्दै प्रश्न गर्छन्, त्रिपाठी । सेती नदीमाथि बनेका फरकफरक पुल पनि गुणस्तरीय नभएको त्रिपाठीको दाबी छ ।
‘यसमा पोखरा महानगरलाई मात्रै दोष लगाउन खोजेको होइन । तर, तीन वटै सरकार यसमा गम्भीर हुन जरुरी छ । अधिकारको कुरामा यो पनि मेरो, त्यो पनि मेरो भन्ने अनि काम पर्दा मेरो क्षेत्र होइन भन्दै पन्छिने प्रचलन बढेर गएको छ,’ उनले भने ।

पूर्वाधारमात्रै होइन, विशेष तालिम प्राप्त रेस्क्यु टिम पनि थप्नुपर्ने प्रहरीका श्यामकान्त बताउँछन् । ‘यस्ता घटना सधैं घट्ने त होइनन्, तर स्रोत, साधन र जनशक्ति अझै थप्नुपर्ने देखिन्छ ।’

भूगोलका हिसाबले देशकै ठूलो महानगरकै मुख्य बजार क्षेत्रमै भएको दुर्घटनापछि उद्धार, संरचना, पूर्व तयारीबारे अब पनि पोखराले नचेते कहिल्यै नचेत्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी बताउँछन् ।
‘यो घटनाले भनिरहेको छ, ए पोखरा अब त चेत । ए पोखरा अब त पूर्व तयारी गर,’ मुल्मीले भने, ‘राज्यका प्रमुख निकायहरुलाई यो दुर्घटनाले धेरैतिरबाट प्रश्नहरु उठाइरहेको छ ।’

गम्भीर ध्यानाकर्षण भएको छ : प्रदेश सरकार

गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेकी बिना विभागीय मन्त्री सीता सुन्दासले दुर्घटनापछि प्रदेश सरकारको पनि गम्भीर ध्यानाकर्षण भएको प्रतिक्रिया दिएकी छन् । उनले दुर्घटनामा विमानस्थललाई दोष लगाउने कुनै ठाउँ नभएको तर, संरचना फराकिलो बनाउने पक्षमा प्रदेश सरकार रहेको उनको भनाइ छ ।

‘मुख्यमन्त्रीज्यू पनि पोखराकै भएकाले यहाँको गल्लीगल्ली थाहा छ । अस्तिको घटनापछि उहाँ पनि गम्भीर हुनुहुन्छ,’ प्रवक्ता सुन्दासले भनिन्, ‘यहाँको संरचना फराकिलो बनाउन, नयाँ पूर्वाधारमा विकास गर्न प्रदेश सरकार लाग्छ ।’

नयाँ विमानस्थल सञ्चालनमा आएसँगै पृथ्वीराजमार्गको विकल्पका रुपमा अगाडि सारेको मितेरी, सीताराम पुल क्षेत्रमै सडक जामको समस्या आउन थालेपछि विस्तारको काम थाल्ने महानगरले जनाएको छ ।

महानगरका प्रवक्ता तथा पोखरा महानगरपालिका- २५ का वडाध्यक्ष मोति तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फेवातालसम्म जानका लागि हालैमात्र वैकल्पिक बाटो बनाइएकाले सुधारको काम चलिरहेको सुनाए ।

‘हालको राजमार्गमा त बढी जाम हुन्छ । त्यो भएर नै इन्टरनेशनल एअरपोर्टबाट फास्ट ट्रयाकका लागि लेकसाइडसम्म जानका लागि भित्रको बाटो वैकल्पिक रुपमा अगाडि सारिएको हो,’ तिमिल्सिनाले भने, ‘अहिले बनाउने, मर्मत गर्ने काम भइरहेको छ । कतिपय ठाउँमा साँघुरो पनि छ होला, व्यवस्थित गर्ने काम अगाडि बढाइरहेका छौं ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?