+
+

पृथ्वीबहादुरको समूहविरुद्ध तीन मुद्दाको तयारी

शंकास्पद रुपमा करिब ४५ करोड रुपैयाँ नेपाल भित्र्याएका पृथ्वीबहादुर शाहविरुद्ध थप प्रमाण जुटेपछि उनीमाथि एकैसाथ तीनवटा अभियोगमा अनुसन्धान अघि बढेको छ ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७९ माघ ६ गते १५:३८

६ माघ, काठमाडौं । विदेशबाट धमाधम पैसा ल्याइरहेका अछामका पृथ्वीबहादुर शाहको २०७७ साल अन्तिमतिर नेपाल राष्ट्र बैंकले ३० करोड रुपैयाँ रोक्का गर्‍यो । राष्ट्र बैंकले एकपछि अर्को खाता रोक्का राखेपछि उनी राष्ट्र बैंक विरुद्ध सर्वोच्च अदालतमा गए ।

चोलेन्द्रशम्सेर जबरा नेतृत्वको सर्वोच्च ढिलोचाँडो आफू अनुकुल हुने संकेत पाएका उनले राष्ट्र बैंकको निर्देशनमा रोक्का राखिएको रकम फुकुवा हुनुपर्ने माग गरेका थिए ।

२०७८ असारको अन्तिम सातादेखि साउनको दोस्रो साताको अवधिमा शाहले आफ्ना विभिन्न कम्पनीको खातामा रोक्का रकम फुकुवा हुनुपर्ने माग राखी ६ वटा मुद्दा हाले ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको इच्छामा ती सबै मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा पेश भए, तर प्रारम्भिक रुपमा अन्तरिम आदेश हुने प्रकृतिका थिएनन् ।

सरोकारवाला निकायहरुलाई छलफलका लागि बोलाइएपछि जबराले अन्तरिम आदेशको तारतम्य मिलाउँदै गर्दा उनीविरुद्धको आन्दोलन चर्कियो र पृथ्वीबहादुरका मुद्दा अलपत्र परे ।

सर्वोच्चमा मुद्दा अलपत्र परेपछि उनले अर्थमन्त्री जनार्दन शर्माको सहयोग लिएको देखिन्छ । अर्थमन्त्रीले राष्ट्र बैंकलाई पत्र लेखेर रकम फुकुवा गराउन आग्रह गरेको सार्वजनिक भएपछि अर्थमन्त्री शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद खतिवडाबिचको मनोमालिन्य चरम अवस्थामा पुग्यो ।

‘तिनै मुद्दा अहिले उनका लागि थप अप्ठेरो भएको छ’ प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो स्रोतले भन्यो, ‘उनले अदालतमा पेश गरेका रिट निवेदनमा जुन जुन उद्देश्यले रकम ल्याएको दावी गरेका छन्, ती सबै दावी खण्डित हुने गरी पीडितहरुले प्रमाण र उजुरी दिएका छन् । अदालतमा उनले मुद्दामामिला नगरेको भए दुईथरी विवरण भिडाउन यति सहज हुने थिएन ।’

तीन मुद्दाको तयारी

करिव ४५ करोड रुपैया शंकास्पद रुपमा नेपाल भित्र्याएका अछामका पृथ्वीबहादुर शाह र उनको समूह विरुद्ध तीनवटा आरोपमा एकसाथ अनुसन्धान अघि बढेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारी बताउँछन् । ‘प्रहरीले ठगी र संगठित अपराध गरेको आरोपमा अनुसन्धान गरिरहेको थियो’ महानिर्देशक अधिकारीले भने, ‘हामीले बुधबारमात्रै निर्णय गरेर सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान गर्ने जिम्मेवारी पनि व्यूरोलाई तोकेका छौं ।’

ठगी र संगठित अपराधलाई प्राथमिक अपराध मानिन्छ । त्यसमा आधारित भएर कुनै समूहले सम्पत्ति आर्जन गरेको भए दोस्रो अपराधको रुपमा समेत अनुसन्धान गर्ने र पुष्टि भए ‘सम्पत्ति शुद्धीकरण’को अभियोगमा मुद्दा चलाउने कानूनी व्यवस्था छ ।

व्यूरोका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) उत्तमराज सुवेदीले अमेरिकाबाट र त्यहाँका नागरिकले वारेशमार्फत ठगीको उजुरी दिएकाले त्यसकै आधारमा अनुसन्धान अघि बढेको बताए । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी ईकाई (एफआईयू), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका निकायबाट समेत प्रमाण संकलन भइरहेकाले एकसाथ अनुसन्धान अघि बढेको उनी बताउँछन् ।

अहिलेसम्म दुई अमेरिकी नागरिकले जाहेरी दिइसकेका छन् । प्रहरीले पृथ्वीबहादुरको समूहबाट र अरु रुपमा पीडित अमेरिकी नागरिकसँग सम्पर्क गरी जाहेरी संकलन गर्ने प्रयास गरिरहेको छ । एआईजी सुवेदी भन्छन्, ‘ठगी र संगठित अपराधको अनुसन्धानले गति लिएको छ । अपराधकै आधारमा सम्पत्ति आर्जन गरेको अभियोगमा हामीलाई सम्पत्ति शुद्धीकरणको अभियोगमाथि समेत अनुसन्धान गर्न सहज हुनेछ ।’

नेपाल राष्ट्र बैंक उच्च स्रोतबाट अनलाइनखबरले प्राप्त गरेको विवरण अनुसार, शुरुमा चारवटा कम्पनीका बैंकिङ कारोबारमाथि निगरानी भएको थियो । त्यो रकम अत्यन्त शंकास्पद रुपमा आउने र वितरण हुने फेला परेपछि शाह र उनका सेरोफेरोमा रहेका अन्य व्यक्तिसम्वद्ध थप कम्पनीमाथि निगरानी बढाइएको हो । ‘सुरुमा सीमित कारोबार हेर्दा ती कम्पनीको कारोबार करिव ५ करोड रुपैयाँको थियो, त्यो रकम अन्यत्र ट्रान्सफर भएर रोक्का रहेको छ’ नेपाल राष्ट्रबैंक उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यसकै आधारमा खोज्दै जाँदा बाँकी रकम र उनको श्रृङ्खलावद्ध ठगी कारोबारको जञ्जाल पत्ता लागेको हो ।’

पृथ्वीबहादुर आवद्ध कम्पनीहरुमा आएको रकमको ठूलो हिस्सा कम्पनीको खाताबाट तत्काल विभिन्न व्यक्तिको नाममा भुक्तानी भएको देखिन्छ । कतिपय ठूलो रकम विभिन्न सहकारी र फाइनान्स कम्पनीका नाममा जम्मा भएको छ । ‘दुई वर्षअघि हामीकहाँ आएको प्रारम्भिक प्रतिवेदन अनुसार करिव ३० लाख अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार करिव ३९ करोड रुपैयाँ) यसरी भित्र्याएको हिसाब निकालेको थियौं’ सम्पत्ति शुद्धीकरण विभागसम्वद्ध स्रोतले भन्यो, ‘अरु कम्पनीका छिटफुट रकम जोड्दा अहिलेको विनिमय दर अनुसार ४५ करोड रुपैयाँ पुग्छ ।’

जम्मा हुनासाथ बाँड्न हतार

पृथ्वीबहादुर र उनी आवद्ध कम्पनीहरुमा विदेशबाट आएका रकम तत्कालै विभिन्न कम्पनी र व्यक्तिका नाममा भुक्तानी भएको भेटिएको छ । उनी सञ्चालक रहेको वर्ल्ड एट वर्क कन्सल्टेन्स प्रालिको नाममा ३ मार्च २०२१ (१९ फागुन २०७७) मा ५७ लाख ४८ हजार रुपैयाँ आयो । पर्यटकको शुल्क भनेर आएको त्यो रकम अन्यत्र होइन, पृथ्वीका भाइ विजयविक्रम शाहका नाममा भुक्तानी भयो ।

भोलिपल्ट थप १ करोड १५ लाख रुपैयाँ भित्रियो । त्यो रकम पृथ्वी संलग्न अर्को कम्पनी, उनका भाइ, रुकमाङगद् काफ्ले र देवेन्द्र ढुंगानाका नाममा भुक्तानी भएको देखिन्छ ।

अर्को कम्पनीको कारोबार पनि उस्तै शंकास्पद थियो । वर्ल्ड ट्राभल्स एण्ड इन्भेष्टमेन्ट प्रालिको सिद्धार्थ बैंकको खातामा ३ मार्च २०२१ (१९ फागुन २०७७) मा ६९ लाख ५० हजार ६२२ रुपैयाँ आयो । लगत्तै त्यो रकम गहना पसल र अरु विभिन्न व्यक्तिका नाममा बाँडियो । वर्ल्ड फर्स्ट होलिडे र वर्ल्ड फर्स्ट जब प्लेसमेन्ट प्रालिको खाताबाट पनि त्यसैगरी शंकास्पद कारोबार भएको भेटियो ।

यसै पनि राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले शंकास्पद कारोबार भनी रेकर्ड राखेको कारोबारमाथि वित्तीय शुद्धीकरणवारे अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन)ले उक्त रकम भुक्तानी रोक्न नेपाललाई पत्राचार गर्‍यो । अमेरिकाजस्तो मुलुकबाट वित्तीय अपराधबाट आर्जन गरिएको रकम शंकास्पद रुपमा नेपाल भित्रिएको सूचना पठाएपछि राष्ट्र बैंक संवेदनशील हुनु स्वभाविकै थियो ।

फिन्सेनको प्रतिवेदन अनुसार, सिद्धार्थ बैंकमा जम्मा भएको रकम अमेरिकाको बैंकले ठगीसँग सम्बन्धित भनेको छ । प्रभु बैंकले रोक्का राखेको वर्ल्ड फर्स्ट होलिडे प्रालिको खातामा आएको रकम ‘ठगी’बाट आर्जित भनी रोक्न माग गरेको थियो ।

अन्य बैंकमा रहेको रकम समेत विभिन्न रेमिट्यान्स कम्पनीबाट नेपाल भित्रिएको हो । राष्ट्र बैंक स्रोतले भन्यो, ‘ती रेमिट्यान्स कम्पनीहरुमा भएको बचत स्वभाविक र कानूनसम्मत नभई विभिन्न अपाराधिक क्रियाकलापबाट आर्जन गरिएको भनी रिपोर्ट आएको छ ।’

अहिले प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले सर्वोच्च अदालतमा पृथ्वीबहादुर शाहले दायर गरेका ६ वटा मुद्दामा भएको विवरण र दाबीको अध्ययन गरिरहेको छ । पृथ्वीबहादुरले नेपालमा आफू सम्बद्ध सबैजसो कम्पनीहरुले अमेरिकाको ‘मिसन होलिडे एलसीसी’ नामक कम्पनीबाट रकम भित्र्याएको दावी गरेका छन् ।

सबैजसो कम्पनीमार्फत उनले सर्वोच्च अदालतमा गरेको दाबी अनुसार, अमेरिकी नागरिकहरु नेपाल भ्रमणका लागि आँउदा अमेरिकाको ‘मिसन होलिडे एलसीसी’ नामक कम्पनीसँग सम्पर्क राख्नेगरेका थिए । भ्रमणका लागि टिकट, होटल बसाइँको खर्च, मेडिकल, बीमा र यातायात खर्च बापतको रकम उनीहरुले त्यहाँ बुझाउने र त्यसकै आधारमा नेपालमा आफ्ना कम्पनीहरु मार्फत भ्रमण प्याकेज उपलब्ध हुने उनको दाबी थियो ।

उनको दाबी दुई ढंगले झुटो ठहरिने राष्ट्र बैंक स्रोतले बताउँछ । एक त अमेरिकाका ट्राभल कम्पनीहरुले संकलन गरेको रकम नेपाल पठाएको दाबी गरे पनि त्यो यथार्थ देखिँदैन, किनभने कैयौ खातामा व्यक्तिगत रुपमा रकम आएका छन् । अर्कोतर्फ, तिनै व्यक्तिले पछि आफू ठगिएको, छलछाम भएको र झुक्याएर खाताबाट रकम झिकिएको भनी उजुरी गरेका छन् ।

अमेरिकी नागरिक स्टेफेन फार्मरले आफूलाई ठगेर पृथ्वीबहादुर र उनको टोलीले नेपाल भित्र्याएको भन्दै सर्वोच्च अदालतमा कानूनी उपचार अघि बढाएका छन् भने प्रहरीमा समेत जाहेरी दिएका छन् ।

पृथ्वीबहादुरले रकम भित्र्याएको ‘मिसन होलिडे एलसीसी’ नामक अमेरिकी कम्पनी मार्फत आफ्नो रकम ठगेर पठाइएको भन्दै फार्मरले निवेदनमा भनेका छन्, ‘उक्त रकम मलाई अमेरिकामा ठगी गरी झुक्याएर उसले प्राप्त गरेको हो ।’ राष्ट्रबैंक स्रोतका अनुसार, फार्मरले सुरु गरेको कानूनी प्रक्रियाले उक्त रकम ठगीबाट आर्जित हो भन्ने थप पुष्टि हुन्छ र पृथ्वीबहादुरले गरेको दाबीसँग बाझिन्छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारी ठगी र सम्पत्ति शुद्धीकरण फरक विषय भए पनि ठगीको नियतले नै उनीहरुको कारोबार भएकाले एउटै टोलीले अनुसन्धान गर्दा सहज हुने टिप्पणी गर्छन । अबको २/३ साताभित्र ठगी मुद्दा दायर गर्ने तयारी छ भने त्यसपछि सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान प्रतिवेदन तयार गरी मुद्दा चलाइनेछ । उनले भने, ‘डेढदेखि दुई महिनाभित्र सबै काम सक्ने योजना बनाएका छौं ।’

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?