+
+

कालिका नगरपालिकाले जफत गर्‍यो अवैध उत्खनन् गरिएका ढुंगा-बालुवा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते ११:२८

८ माघ, चितवन । चितवनको कालिका नगरपालिका भएर बग्ने कयर खोलामा गैरकानुनी रुपमा उत्खनन् गरेर जम्मा गरिएको नदीजन्य सामग्रीहरु नगरपालिकाले जफत गरेको छ ।

नगरपालिकाका प्रमुख विनोद रेग्मीको नेतृत्वमा खोलाका विभिन्न ठाँउमा तस्करी गरेर लैजान तयार गरिएको सामग्रीहरु जफत गरि लिलाम बढाबढमा बेच्न लागिएको छ ।

नगरपालिकाले कार्यविधि नै बनाएर सामग्रीहरुको लिलाम बढाबढ गर्ने तयारी थालेको छ ।

वडा नं.८,९, १० र र ११ नम्बरका विभिन्न स्थानमा जथाभावी रुपमा खोला दोहन गरेर संकलन गरिएका सामाग्री जफत गरी वडा नं. ७ को वडा कार्यालय अगाडि जम्मा गरिएको नगर प्रमुख रेग्मीले बताए ।

गत पुस २९ गतेदेखि खोला किनारमा संकलन गरेर राखिएका सामग्रीहरु जफत गरेर डम्पिङ्ग गरिएको र त्यसलाई लिलाम बढाबढमा बेच्ने नगर प्रमुख रेग्मी बताउँछन् ।

नगरपालिकाले ४३७टिप्पर ढुङ्गा र ३६ टिपर ग्राभेल नियन्त्रणमा लिएको छ । शक्तिखोरस्थित कयर र सिन्ती खोलाबाट चोरी गरी नदीजन्य सामग्री अन्यत्र सप्लाई गर्न थुपारिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा जफत गरिएको हो ।

पहिलो दिन अवैध नदीजन्य पदार्थ नियन्त्रणमा लिन खोज्दा अवैध चोरी तस्करीमा संलग्न युवाहरु मेयर रेग्मीविरूद्ध खनिएका थिए ।

निर्माण सामाग्री जफत गरेपछि विभिन्न राजनीतिक शक्तिकेन्द्रदेखि विभिन्न नाममा धम्की दिने कामहरू भैरहेको नगर प्रमुख रेग्मी बताउँछन् । ‘मैंले यो जनताका लागि गरेको हो, अवैध रूपमा खोलाबाट नदीजन्य पदार्थ उत्खखन् संकलन, चोरी निकास गर्न पाइदैन,’ नगर प्रमुख रेग्मीले भने, ‘तस्करी गर्नेहरुले खोला नै सारा रित्तो पारिसकेका छन्, त्यसैले नगरपालिकाले यसमा हस्तक्षेप गरेकै हो, कसैका धम्कीसामू म झुक्नेवाला छैन, म ब्याक हुन्न।’

नगर प्रमुख रेग्मीले तस्करहरूले खोलाबाट बस्ती सुरक्षाका लागि बनाइएको तटवन्धनको जालीसमेत काटेर ढुंगा निकालेर तस्करी गर्ने तयारी गरेको पाइएको बताए । ‘राज्यको

करोडौंको लगानीमा हामीले वस्ती जोगाउन ड्याम लगाउने, तस्करहरुले अवैध रूपमा गएर त्यहीँ ड्याम भत्काएर ढुंगा निकाल्ने ? यो त झनै अर्को अपराध भयो,’ नगर प्रमुख रेग्मी भन्छन् ‘यसले भोली तिनै बस्ती जनताको उठिबास लगाउँछ, अब उनीहरुबाट नै क्षतिपूर्ति भराउनुपर्ने अवस्था आउन सक्छ ।’

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले तस्करहरुले खोलाबाट संकलन गरेर थुपारेका नदीजन्य सामग्री नगरपालिकाको अनुरोधमा जफत गरेर डम्पिङ्ग गरिएको बताए ।

उनले नगरपालिकाले ठेक्का लगाउनभन्दा अगाडि नै तस्करहरूले खोला सिध्याउने काम गरेको बताए । ‘प्रहरीको काम नगरपालिकाले भने अनुसार सुरक्षा दिने हो, हामीले हरेक दिन आवश्यकता अनुसार नै प्रहरी सुरक्षाका लागि पठाएका छौं,’ एसपी अधिकारीले भने, ‘थप सुरक्षाको आवश्यकता परे पनि पठाउँछौं । ‘

नगरपालिकाले अझै विभिन्न ठाँउमा संकलन गरेर राखिएका नदीजन्य पदार्थ ल्याउने योजना बनाएको छ । ‘अहिले त उनीहरुका बीचमा नै पोलापोल सुरु भएको छ,’ नगरप्रमुख रेग्मी भन्छन्, ‘फलानो फलानो ठाउँमा फलानाले संकलन गरेको भनेर उनीहरुले नै सूचना दिन थालेका छन्, जुन राम्रो कुरा हो ।’

राजनीतिक दलको आडमा नदीजन्य पदार्थ दोहन हुँदै आएको छ । नगर प्रमुख रेग्मीले अझै १ सय टिपर जति नदीजन्य पदार्थ जफत गरिने बताए । यो अभियान निरन्तर चलिरहने बताए ।

लिलाम बढावढबाट उठेको रकम जुन वडाबाट झिकिएको छ त्यही वडाको विकासमा लगाउने नगर प्रमुख रेग्मीको भनाइ छ ।

नदीजन्य पदार्थ बिक्रीबाट भएको आम्दानीमध्ये ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेश सरकारलाई बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?