+
+
वियोगान्त :

पति र छोराछोरी सेतीको खोंचमा, एटीसी सरस्वती काठमाडौं टावरमा

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ माघ ८ गते २०:४०

८  माघ, काठमाडौं । निद्रा बिथोलेर ‘बाई’ भन्नुभन्दा सुटुक्क एयरपोर्ट जान चाहेकी थिइन् सरस्वती डुम्रेले । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकी एयर ट्राफिक कन्ट्रोल (एटीसी) अफिसर हुन् ।

पति युवराज शर्मा र छोराछोरी निद्रामै रहेका बेला उनी ललितपुरको इमाडोलस्थित घरबाट ड्युटीका लागि विमानस्थल हिंडेकी थिइन् । त्यसै दिन उनको परिवार पोखरा जाँदैथियो ।

१ माघको त्यो दिन परिवारका सदस्यहरू विमानस्थलबाटै उड्नेवाला थिए । बिहानैदेखि ड्युटीको घन्चमन्चमा फसेकी सरस्वतीलाई एकछिन फुर्सद निकाल्नै कठिन भयो । एक सहकर्मीका अनुसार उनी ‘राउन्ड म्यानेज’ गरेर एकैछिनका लागि परिवार भेट्न यात्रु प्रतीक्षालय झर्न खोजेकी थिइन् । त्यसै बेला पति युवराजले फोनमा भने, ‘अहिले नआऊ । तिमी नजाने भएपछि सानो छोरा रुन्छ ।’

सरस्वती टावरमै बसिरहिन् ।

बिहान १०ः३२ मा यती एयरलाइन्सको ‘९ एन–एएनसी’ विमान पोखरा उड्नेवाला थियो । उनी विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरको ‘हट सिट’मा थिइन् । एक एक घण्टामा भूमिका फेर्दै टावरका विभिन्न काममा संलग्न हुनु एयर ट्राफिक कन्ट्रोलर (एटीसी) हरूको दिनचर्या हो ।

संयोग, विमानस्थलको कन्ट्रोल रुममा बसेर परिवार सवार विमानलाई पोखराका लागि उड्न अनुमति दिने पालो उनैको भागमा पर्‍यो । सिट पेटी बाँधेर बसेका सन्तानको सुख हेर्दै उड्न नपाए पनि तिनलाई काठमाडौंबाट पठाउनु उनका लागि सम्झनाको एउटा क्षण बन्दैथियो ।

विमान उडेपछि सरस्वतीकै कमान्डमै काठमाडौंको एयर ट्राफिक कन्ट्रोलरले विमानको कम्युनिकेसन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिकलाई ‘ह्यान्डओभर’ गरेको थियो । बास छाडेका चराहरूले बरु फर्किने गुँड भेट्टाउलान्, तर यतीको त्यो जहाजले ओर्लिने जमिन भेट्टाएन । सबैभन्दा माया गरेका मानिसहरु सरस्वतीको जीवनमा फर्किएनन् ।

उनले तिनलाई कहिल्यै नफर्कनु भनेर ‘ह्यान्डओभर’ गरेकी थिइनन् । भेटेर बिदा गर्न नपाए पनि मनैदेखि ‘रमाई रमाई फर्किनु’ भन्दै पोखरा एयरपोर्टलाई विमान प्रस्थानको सूचना दिएकी थिइन् ।

अवतरणको अनुमति लिइसकेको अवस्थामा बिहान १०ः५० यो विमान पोखराको सेती खोंचमा झर्‍यो । सरस्वतीले यो दुःखद् विमान दुर्घटनामा आफ्नो श्रीमान मात्रै गुमाउनुपरेन, दुई कलिला छोरा–छोरीहरु र सासू आमा समेतको अन्तिम बिदाइ गर्नुपर्‍यो ।

सासू जमुनासँगै सरस्वतीका श्रीमान युवराज, छोरी ११ वर्षीया आयुर्दी शर्मा र साढे २ वर्षीय छोराको निधन भयो । युवराज अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड) मा अधिकृत थिए । माघे संक्रान्तिका दिन सरस्वतीलाई एटीसीको टावरमा एक्लै छाडेर यो परिवारले आफ्नै जीवनको मसान्त भोग्यो ।

जाने त गइगए । एक्लै बाँच्नेको शोक बयान गरिसाध्य छैन । सरस्वतीमाथि पति, पुत्र र मातृ शोकको भुमरी यति विघ्न मडारिएको छ कि देख्ने/सुन्नेको पनि मुटु काँप्छ । उनका सहकर्मीहरूका अनुसार सरस्वतीलाई अझै यो शोक सहन सक्ने शक्ति जुटाउन असाध्य गाह्रो परिरहेको छ ।

यो घटनाले सरस्वतीको जीवनमा ल्याएको अकल्पनीय क्षति सम्झिएर उनकै सहकर्मीहरू पनि भक्कानिन्छन् ।

विमान पोखराको एटीसीसँग जोडिएको केही मिनेटमै पोखरामा काठमाडौंबाट आएको विमान दुर्घटना भएको भन्दै पोखरा उडान रोक्न पोखराको एयर ट्राफिक कन्ट्रोलरले टेलिफोन गरेका थिए । काठमाडौंमा सो दुर्घटनाको सूचना सबैभन्दा पहिले पाउनेमध्ये सरस्वती पनि एक पात्र हुन् पुगिन्, जुन दुर्घटनामा परेको विमानमा उनको सिंगो परिवार नै यात्रारत थियो ।

सरस्वतीले त्यो समयमा कस्तो झड्का व्यहोरिन् भन्ने अनुमान लगाउन पनि कठिन हुने उनका सहकर्मीहहरु बताउँछन् । शोक विह्वल उनलाई अस्पताल नै लैजानुपरेको थियो । ‘दुर्घटना आफैंमा तनावपूर्ण अवस्था हो, झन् काम गरिरहेकै एयर ट्राफिक अफिसरकै परिवार नै चढेको विमान दुर्घटना हुँदा त्यहाँ शून्यता बाहेक केही रहेन’ उनका एक सहकर्मी भक्कानिंदै भन्छन्,‘स्तब्ध त हामी यसै भयौं नै, त्यतिबेला हामी त्योभन्दा धेरै बढी अरु केही भयौं ।’

बढुवाको लिखित प्रतिस्पर्धामा नाम निस्किएपछि अन्तर्वार्ताको तिथि तोकिएको नहुँदो हो त सरस्वती पनि सोही विमानमा हुने थिइन् । अन्तरवार्तामा सफल भए ८औं तहमा एयर ट्राफिक अफिसर (उपप्रबन्धक) उनी ९औं तह (प्रबन्धक)हुनेवाला थिइन् । तीन दिनपछि उनको अन्तर्वार्ता हुनेवाला थियो । त्यसैकारण उनी १ माघमा परिवारसँग पोखरा जान पाइनन् ।

विमानस्थलकी कर्मचारी भएकाले उनले नै परिवारलाई पोखरामा पठाउने सबै बन्दोबस्त मिलाएकी थिइन् । मुटु चुँडिने गरी भएको यो घटनाले सरस्वती मात्रै हैन, शर्मा परिवार र पर्वतको विहादी गाउँपालिका स्तब्ध छ ।

४ माघमा नै पर्वतको विहादी गाउँपालिका– ५ मा रहेको सासू जमुना शर्माको माइतीघरमा उनका बाबुआमाको चौरासी पूजा राखिएको थियो । पूजामा सहभागी हुँदै आफ्नो गाउँघर र पोखराका विभिन्न ठाउँ घुम्ने योजना पनि थियो ।

‘सरस्वती म्याडम पनि जाने कुरा थियो, तर अन्तर्वार्ताका कारण उहाँ जान पाउनुभएन’ विमानस्थलका एक अधिकारीले भने,‘तर, आफैं टावरमा बसेर उडानका लागि क्लेयरेन्स दिएको विमान अवतरणको क्रममा दुर्घटना हुँदा उहाँको परिवार गुम्यो ।’

निद्रा बिथोलेर ‘बाई’ भन्न सकिनन्, तर हत्केलामा बसेको चरालाई भुर्र उड्न दिएझैं गरी एटीसी टावरमा बसेर निर्देशन दिएकी थिन् सरस्वतीले । आफ्ना सबै मनप्रियहरू बोकेर रनवेबाट छुटेको जहाज उनको जीवनमा कहिल्यै नफर्किने गरी यसरी ‘टेक अफ्’ गर्यो । र, सधैंको लागि हरायो ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?