+
+

पूर्ण खोपयुक्त जिल्ला बाँकेमा कसरी फैलियो दादुरा महामारी ?

बाँकेलाई दुई वर्षअघि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । तर अहिले त्यही जिल्ला दादुराको हटस्पट बनेको छ । कसरी ?

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ माघ १२ गते ११:३८

१२ माघ, दाङ । गत मंसिर ५ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा पहिलो पटक पाँच वर्षीय बालकमा दादुराको लक्षण देखियो । ती बालकमा दादुराको लक्षण देखिएपछि त्यस क्षेत्रमा थप बालबालिकामा रोग परीक्षण गरियो । तर कसैमा पनि दादुरा लक्षण देखिएन ।

पुस १२ गते भने नेपालगञ्ज उपमहानगरपालिका- ७ को एउटा मुस्लिम परिवारमा ५ जना बालबालिकामा दादुरा देखियो । दादुराको लक्षण देखिए पनि दादुरा हो कि होइन भन्ने तत्काल पुष्टि भएन । पाँच जना बालबालिकाको रिपोर्ट काठमाडौंको केन्द्रीय प्रयोगशालामा पठाइयो ।

काठमाडौंबाट रिपोर्ट आउन करिब हप्ता दिन लाग्यो । पुस १८ गते आएको रिपोर्टमा बालबालिकामा दादुरा रोगको संक्रमण पुष्टि भयो । तर हप्ता दिनको यो अवधिसम्म नेपालगञ्जमा दादुराका थप बिरामी भेटिइसकेका थिए ।

पुस १३ गते नै नेपालगन्ज उपमहानगरपालिका-५ मा ३१ महिने एक शिशुको मृत्यु भइसकेको थियो । मृत्यु हुने शिशुको घर-छिमेकमा अरू बालबालिकामा पनि संक्रमण पुष्टि भयो ।

पुस २५ गतेसम्म आइपुग्दा नेपालगञ्ज उपमहानगरपालिकामा मात्र ३६ जना बालबालिकामा दादुरा देखिइसकेको थियो । यसरी पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको बाँकेको नेपालगञ्ज दादुराको हटस्पट बन्यो । त्यहाँबाट फैलन सुरु भएको दादुराले अन्ततः जिल्लामै महामारीको रुप लियोे ।

पुस १२ गतेदखि पहिलो पटक बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा देखिएको दादुराको संक्रमण अहिले जिल्लाका ६ वटा स्थानीय तहमा फैलिइसकेको छ । नेपालगञ्जबाट सुरु भएको दादुरा खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका हुँदै अहिले जिल्लाको पश्चिममा रहेको नरैनापुर गाउँपालिकासम्म फैलिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

जिल्लामा दैनिक सरदर १४/१५ जना दादुरा संक्रमित बालबालिका थपिनेक्रम जारी रहेको स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले बताइन् । पछिल्लो तथ्यांकअनुसार नेपालगञ्ज उपमहानगरपालिकामा सबैभन्दा धेरै २१५ जना, कोहलपुर नगरपालिकामा ६, खजुरा गाउँपालिकामा २०, नरैनापुरमा २८, डुडवामा १७ गरी जिल्लाभर २८६ जना दादुरा संक्रमित देखिएका छन् । एक जनाको मुत्यु भएको छ ।

‘अहिले संक्रमित बालबालिकाहरुलाई घरकै आइसोलेसनमा राखेर चिकित्सकको निगरानीमा उपचार भइरहेको छ,’ स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख पौडेल भन्छिन् ।

उनका अनुसार संक्रमित हुनेमा सबैभन्दा बढी पाँच वर्ष माथिका बालबालिका छन् । नौ महिनाभन्दा कम उमेरका बालबालिका १५ जना, नौदेखि १५ महिनासम्मका १६ जना, १५ महिनादेखि दुई वर्षसम्मका १८ जना, दुई वर्षदेखि पाँच वर्षसम्मका ७८ जना र पाँच वर्षभन्दा माथिका १४७ जना रहेका छन् ।

भेरी अस्पतालमा कार्यरत बाल रोग विशषेज्ञ डा. विष्णु थापाले स्वास प्रवासबाट सर्ने भएकाले दादुरा निकै संक्रामक भएको बताए । उनले एउटा संक्रमितबाट ९ देखि १० जनासम्ममा रोग सर्न सक्ने बताए । उनले बालबालिकामा दादुराको जोखिम ७ देखि २१ दिनसम्म रहने बताए । ‘स्वास प्रस्वासबाट छिटो सर्ने भएकाले यसले छोटो समयमै महामारीकै रूप लियो,’ उनले भने ।

बाँकेमा दादुरा महामारी नियन्त्रण गर्न खोप लगाउने कार्य पनि तीव्र पारिएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार अहिलेसम्म ७९ हजार बढी बालबालिकालाई खोप लगाइएको छ । ‘दादुराको हटस्पट नेपालगञ्जमा १०० बढी प्रतिशतमा खोप लगाउने काम सकिएको छ,’ स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता भन्छिन्, ‘खजुरामा पनि ९५ प्रतिशतमा खोप लगाइएको छ । नरैनापुरमा पनि ७० प्रतिशत लगाइसकिएको छ ।’

उनले खोप लगाउने काम तीव्ररुपमा भइरहेकाले महिनादिनभित्रै महामारी नियन्त्रणमा आउने बताइन् । ‘जुन रुपमा खोप लगाउने काम भएको छ, महिना दिनभित्रै संक्रमणको दर शून्यमा झार्न सक्नेछौं,’ उनले भनिन् ।

पूर्ण खोपयुक्त जिल्लामा कसरी फैलियो दादुरा ?

यता बाँके पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको दुई वर्ष पुग्दैछ । ६ चैत २०७७ मा बाँकेलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकाले पूर्ण रुपमा लगाउनु पर्ने सबै खोप लगाएपछि खोपयुक्त जिल्ला घोषणा गरिन्छ । तर पूर्ण खोपयुक्त घोषणा गरिएको बाँकेमा दादुरा कसरी फैलियो त ?

स्वास्थ्य कार्यालयकी प्रमुख पौडेलले पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्दा केही गल्ती स्वास्थ्यकर्मीहरुबाट भएको स्विकार गर्छिन् । ‘केही हदसम्म पूर्ण खोप घोषणा अपूर्ण जस्तो पनि हो । तर दादुरा फैलनुमा पूर्ण खोप घोषणासँगमात्र सम्बन्धित छैन, किनभने घोषणा गर्दा १६ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई हेरेर गरिन्छ,’ उनले भनिन्, ‘यहाँ पाँच वर्ष माथिकालाई पनि दादुरा देखिएको छ ।’

बाल रोग विशषेज्ञ डा. थापा संक्रमण नियन्त्रण गर्न ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउनमा ध्यान दिनुपर्ने बताउँछन् । पछिल्लो समय खोप लगाउने कार्य तीव्र पारिएसँगै संक्रमणको दर केही घटेको उनी बताउँछन् । ‘खोप लगाउन थालेयता विरामी संख्या पनि घटेको छ,’ उनी भन्छिन्, ‘तर अझै जोखिमपूर्ण अन्त्य भयो भन्ने होइन । अहिले खोप लगाउने र संक्रमण सर्न फैलिन नदिने कुरामा ध्यान दिन जरुरी छ ।’

काठमाडौं फर्कियो विशेषज्ञ टोली

बाँकेमा दादुराले महामारीको रुप लिएपछि काठमाडौंबाट विशेषज्ञ चिकित्सकको टोली त्यहाँ पुगेको थियो । अहिले उक्त टोली फर्किएको छ । ‘स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबाट १४/१५ जनाको चिकित्सकको टोली आएको थियो’ पौडेलले भनिन्, ‘यहाँको अवस्था बुझेर उक्त टोली फर्किएको छ ।’

शनिबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी नेपालगञ्ज आएर दादुराको अवस्थाबारे जानकारी लिएका छन् । उनले दादुरा नियन्त्रणका लागि खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?