+
+

रवि लामिछाने : लोकरिझ्याइँको यात्रामा सर्वोच्चको ब्रेक

रविको नागरिकताको वैधानिकताबारे उठेको प्रश्नमा रवि आफैं पछारिन पुगे । रविकै भाषामा यो संकटको चक्रब्यूहले उनको सस्तो लोकप्रियताको दौडमा तत्काललाई ब्रेक लगाइदिएको छ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १४ गते १९:१९

१३ माघ, काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट राजनीतिक तथा नागरिक अधिकार गुमाएका रवि लामिछानेले तीन महिना अगाडि नै आफूले खेप्नुपर्ने संभावित संकटबारे बताएका थिए ।

आफ्नो नागरिकताको वैधानिकताबारे मुद्दा परेपछि चितवनको नारायणी किनारबाट रविले भनेका थिए, ‘अब एउटै मात्रै कुरा बाँकी छ, म जिउँदो छु भन्ने कुराको पनि प्रमाण मागिनेछ । अनि, मलाई थाहा छ, म जिउँदो छु भनेर कुनै वडामा सिफारिस माग्न दस्तुर बुझाएको हुनेछु ।’

यसको भोलिपल्टै (२ मंसिरबाट) चुनावको मौन अवधि सुरू भयो । ४ मंसिरको चुनावमा चितवन-२ बाट लामिछानेले भारी मतान्तरले जिते । प्रत्यक्षतर्फ सात र समानुपातिकबाट १३ सिट जितेपछि उनले गत ७ असारमा खोलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), संसदको चौथौ ठूलो दल बन्यो । माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकार निर्माण गर्न समर्थन गरेका लामिछाने, ११ पुसमा उपप्रधान तथा गृह मन्त्री बने । यसरी पार्टी खोलेको ६ महिनाभित्रै उपप्रधान एवम् गृहमन्त्री बनेका लामिछानेले ३२ दिनभित्रै उस्तै तरिकाले सबै पद गुमाएका छन् ।

शुक्रबारको फैसलाले उनकै भाषामा तत्काललाई रवि अनागरिक बनेका छन् । फैसलालगत्तै रविले भनेका छन्, ‘थाहा छैन, मलाई । एउटा अनागरिकले के गर्छ बुझेकै छैन मैले ।’ अर्थात् थप यात्रा कसरी तय हुन्छ भन्नेमा रवि आफै प्रष्ट छैनन् । तर उनको विगत लुकेको छैन ।

गएको १ असारसम्म रवि एक टेलिभिजन प्रस्तोता थिए । उनलाई चिनाउने कार्यक्रम थियो, सिँधा कुरा जनतासँग । राजनीतिक-प्रशासनिक गतिविधि र कार्यशैलीबाट निराश जनताको मन जित्न चर्को स्वरमा उनी प्रश्न गर्थे ।

यतिसम्म कि टेलिभिजनको स्क्रिनबाटै नेताहरुमाथि प्रश्न गर्थे, ‘टुँडिखेलमा राखेर, उडेर, घुमाएर नाकको डाँडी भाँचिनेगरि एक-एक किक हान्ने’ कुरा गर्थे । त्यही शैलीबाटै रवि सर्वसाधरणमा चिनिए, चर्चामा आइरहे । रविको राजनीतिक यात्रा भने असार यताको सात महिना नै हो ।

लोक रिझ्याँइको यात्रा

काभ्रेको मण्डनदेउपुरमा पञ्चायती व्यवस्था पक्षधर परिवारमा २८ भदौ २०३२ मा जन्मेका रवि काठमाडौंमै हुर्किएका थिए, उनको अधिकांश समय काठमाडौंमै बित्यो । दाजु हरिशरण लामछिानेले रेडियो नेपालको जागिर खाएपछि रवि पनि सञ्चारकर्मतिरै तानिए ।

रविको नागरिकताको वैधानिकताबारे उठेको प्रश्नमा रवि आफैं पछारिन पुगे । रविकै भाषामा यो संकटको चक्रब्यूहले उनको सस्तो लोकप्रियताको दौडमा तत्काललाई ब्रेक लगाइदिएको छ

रविले विभिन्न टेलिभिजन कार्यक्रममा सहायक भएर काम गरे । चलचित्र सम्बन्धी कार्यक्रम ‘क्ल्यापबोर्ड’, टेलिसिरियल ‘ट्वाक्कटुक्क’, टेलिचलचित्र ‘विमानचालक’ जस्ता टेलिभिजन सामग्रीमा रवि जोडिए । पछि नेपाल टेलिभजिनमा ‘यहाँको चलन’ र इमेज एफएमका ‘नो हर्न प्लिज’ कार्यक्रम चलाए । यी कार्यक्रमहरुबाट उनले परिचय बनाइसकेका थिए ।

तर २०५८ मा रविले देश छोडे । अमेरिका पुगेर रेस्टुरेन्टमा काम गर्दै व्याापारमा जोडिएका रविले ८ वर्षपछि ग्रीनकार्ड पाए । नेपाली नागरिकता त्यागेर लिएको त्यही ग्रीनकार्डसँग जोडिएको मुद्दाले शुक्रबार उपप्रधान एवम् गृहमन्त्रीबाट पदमुक्त हुनु परेको हो ।

पदमुक्त हुँदैगर्दा रविप्रति झुटो प्रमाण पेश गरेर मुलुकको महत्वपूर्ण कार्यकारिणी अहोदासम्म पुगेको टिप्पणी समेत भइरहेको छ । तर रविको विगत हेर्ने हो भने चाहिं आरोप खेप्नु, विवादित बन्नु, संकटमा पर्नु र फेरि उठ्नु सामान्यजस्तै देखिन्छ ।

एसएलसी नदिँदै रविले अनुशासनको कारबाहीमा विद्यालय फेर्नु परेको थियो । विद्यालय फेरेर एसएलसी गरेपछि रत्नराज्य लक्ष्मीलक्ष्मी क्याम्पसमा आईएमा पढ्न भर्ना भए ।

किशोरअवस्थामै इशा श्रेष्ठसँग विवाह गरेर घर छाडे । अमेरिका पुगेपछि विवाहइत्तर सम्बन्धका कारणले पारिवारिक जीवन खल्बलियो ।

अमेरिकामा विभिन्न मुद्दामा मुछिए । अमेरिकामा गुमनामजस्तै बनेका रविमा लोकप्रिय हुने भोक मरिसकेको थिएन । १ वैशाख २०७० मा ‘न्युज २४ टेलिभिजन’ मा लगातार ६२ घण्टा १२ मिनेट अन्तर्वार्ता कार्यक्रम चलाएर गिनिज बुकमा नाम लेखाए । त्यही अन्तर्वार्ताले नेपाल फर्किने बाटो खोल्यो । अमेरिकी पत्रकारकै रुपमा नेपाल फर्किए । र, न्युज २४ मा जागिर थालेपनि विदेशी नागरिकले लिनुपर्ने श्रम स्वीकृति लिएनन् ।

संविधान जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक आकर्षण बढेको थियो । तिनै ओली प्रधानमन्त्री भएका बेला रविले ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाउन थाले । वैशाख २०७३ देखि १६ इपिसोड कार्यक्रम चल्दा ओली सरकार ढल्यो ।

ओलीपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड, रविसँग लाइभ कार्यक्रममा आउन तयार भएनन् । रविको साटो बबिन शर्माले त्यो कार्यक्रम चलाए । प्रचण्डको कदमपछि रन्थनिएका रविले नेपाल टेलिभिजनमा चलाएको कार्यक्रमको नामबाट ‘प्रधानमन्त्री’ हटाएर न्युज २४ च्यानलमा ‘सीधा कुरा जनतासँग’ चलाए ।

आमनागरिकबीच रवि चिनिन कार्यक्रम उपयोगी बन्यो । विशेषगरी वैदेशिक रोजगारीमा गएकाहरुबीच बढी भरोसा देखाए । त्यसकै बलमा रवि थप फराकिलो भए । तर रविको कार्यक्रम सञ्चालन गर्ने शैली र अन्तर्वस्तुकै कारण पीडित भएको उजुरी प्रेस काउन्सिलमा पर्न थाले ।

अर्कातिर रवि विदेशी नागरिक भए पनि श्रम इजाजत नलिई नेपालमा बसेर पत्रकारका रुपमा काम गरेको भन्ने उजुरी पहिल्यै परेको थियो । तर आफ्नो लोकप्रियतालाई हतियार बनाएर रविले पत्रकार आचारसंहिता समेत नमान्ने टिप्पणी गरे ।

२०७५ मा प्रेस काउन्सिलका तत्कालीन कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले अगाडि बढाएको छानबिन प्रक्रियामा रविले सघाएनन्, उल्टै सामाजिक सञ्जालमार्फत चुनौती दिइरहे ।

कतिसम्म भने रविले लिखित जवाफमै भने, ‘अहिलेको अवस्थामा प्रेस पास लिनुभन्दा म यो पेसा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न पाए बरु गर्वको अनुभूति गर्नेछु ।’

तर विवाद चर्किएपछि ४ जेठ, २०७५ मा अमेरिकी दूतावासमा आफ्नो अमेरिकी पासपोर्ट बुझाएको जानकारी दिएका थिए । काउन्सिल र नागरिकताको विवाद चलिरहँदै अमेरिकामा रहेकी पत्नी ईशासँग सम्बन्ध विच्छेद गरेको र चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष निकिता पौडेलसँग प्रेम सम्बन्धमा रहेको सूचना सार्वजनिक भयो । नैतिकतामाथि उठेको यो प्रश्नलाई रविले छोपछाप पारे ।

शालिकराम पुडासैनी र रवि । पुडासैनीले रविको नाम लिंदै आत्महत्या गरेका थिए ।

एक वर्षपछि २१ साउन २०७६ मा रविको कार्यक्रमका रिपोर्टर शालिकराम पुडासैनीले आत्महत्या गरे । चितवनको कंगारु होटलमा रविको नाम लिएर पुडासैनीले आत्महत्या अगाडि भिडियो बनाएका थिए । त्यही भिडियोका आधारमा रवि पक्राउ परे ।

९ भदौ २०७६ मा उनी ५ लाख धरौटी तिरेर छुटे । तर त्यही कारागार बसाइँका क्रममा देखेका समर्थक संख्याले उनलाई राजनीतितिर आकर्षित गरेको थियो । प्रहरीबाट छुटे लगत्तै २ भदौ २०७६ मा चितवनको नारायणी किनारमा विजयसभा गरेर न्याय पाएको बताएका थिए ।

त्यसपछि फेरि टेलिभिजनमै फर्किए । २६ मंसिर, २०७६ नेता उत्पादन गर्ने भन्दै रविकै प्रस्तुतिमा ‘द लिडर’ कार्यक्रम चलाउने घोषणा भयो । तर, यो कार्यक्रमका लागि फारम भराएपछि नगर्ने निधो भयो ।

५ माघ, २०७६ मा आत्महत्या दुरुत्साहन मुद्दामा रविले सफाइ पाए । रविले आफ्नो नाम खुलेको फाउन्डेसन मार्फत् आर्थिक सहयोग जुटाएर कालिकोटको रास्कोटमा १५ शैयाको अस्पताल खोले ।

उनी अब अरुको टेलिभिजन कार्यक्रम चलाएर बस्ने पक्षमा थिएनन्, त्यसैले आफ्नै टेलिभिजन खोल्न लागे । ‘सीधा कुरा जनतासँग’को प्रतिलिपि अधिकारबारे न्युज २४ सँग विवादमा फसे । त्यसबीचमै १५ असोज २०७८ मा ग्यालेक्सी फोरके टेलिभिजन सुरु गरे । र, ‘सीधा कुरा’ नाममा त्यही कार्यक्रमलाई बसाइँ सारे ।

३० वैशाख २०७९ मा भएको स्थानीय तहको चुनावमा उनले काठमाडौंमा स्वतन्त्र उम्मेदवारहरु बालेन्द्र साह र धरानमा हर्क साम्पाङको उदय भइरहेको दृष्य रविले रिपोर्टिङ गर्नुपर्‍यो । यसपछि त उनी आफै राजनीतिमा होमिए । पुराना दलहरुप्रति देखिएको निराशाको मत तान्न घण्टी चिन्ह लिएर पार्टी खोलेका रविले सफलता पाए पनि ।
तर सधैं राज्य सञ्चालकलाई प्रश्न सोधेर लोकप्रिय बन्ने दौडमा रहेका रविले यसपटक कानूनी शासनको सामना गर्नुपर्‍यो । सुरुमा त उनको पार्टी नामकै विरुद्ध उजुरी परेको थियो ।

पार्टीको नाम ‘स्वतन्त्र’ हुन नहुने भन्दै निर्वाचन आयोगमा उजुरी परेपनि रविलाई आयोगले राहत दिनेगरी निर्णय गर्‍यो । तर रविको नागरिकताको वैधानिकताबारे उठेको प्रश्नमा रवि आफैं पछारिन पुगे । रविकै भाषामा यो संकटको चक्रब्यूहले उनको सस्तो लोकप्रियताको दौडमा तत्काललाई ब्रेक लगाइदिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?