
२९ माघ, काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा सवारी मर्मत केन्द्र एकै स्थानबाट हुने भएको छ । शहरको सौन्दर्यमा सुधार गर्न भन्दै उपमहानगरले हेटौंडा–११ स्थित राप्ती नदी उकासमा करिब ३१ बिगाहा क्षेत्रफलमा अटोभिलेज बनाउन लागेको हो ।
अटोभिलेजको उपमहानगरकी मेयर मीनाकुमारी लामाले आइतबार शिलान्यास गरेकी छिन् । उनले एकीकृत अटोभिलेजका नाममा सञ्चालन हुने स्थानमा व्यवसायीहरुलाई आफूले चाहेको क्षेत्रफलको जग्गा लिजमा उपमहानगरले उपलब्ध गराउने बताइन् । लामाका अनुसार व्यवसायीले आफूलाई चाहेको डिजाइनको अस्थायी स्वरुपको टहरा निर्माण गरेर काम गर्न सकिने व्यवस्था गरेको छ ।
बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले गत वर्ष ५ करोड रुपैयाँ बजेटमा तटबन्ध गरेपछि उक्त जग्गा निस्किएको हो । शिलान्यास गरिएको क्षेत्रको जग्गा फिलिङ गर्नका लागि उपहानगरपालिकाले पहिलो चरणमा १४ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको छ । उपमहानगरले विनियोजन गरेको रकमबाट पहिलो चरणमा जमिन सम्याउने सहितको काम थालिएको जनाएको छ ।
अटो भिजेजमा चार्ज स्टेशन, थ्री–वाइलर, फोर– वाइलर सवारी मर्मत केन्द्र, खेलमैदान, स्वास्थ्य चौकी, हेबी सवारी मर्मत, हेव इक्वमेन्ट मर्मत, पार्किङ र डम्पिङ साईड रहने अटो मोबाइल इञ्जिनियरिङ एसोसिएसनका अध्यक्ष आनन्दराम पौडेलले बताए ।
अटो मेकानिक्स तथा इञ्जिनियरिङ एसोसिएसनले २०५३ सालदेखि अटोभिलेजको आवाज उठाएको थियो । २०५३ असोज ८ गते जग्गा उपलब्ध गराइदिन नगरपालिकालाई आग्रह गरेको थियो । शिलान्यास भएको स्थलमा २ सय ५० अटो व्यवसायीले अपनत्व लिने उमहानगरले जनाएको छ । अटोभिलेज निर्माणपछि बजार क्षेत्रका तीनपांग्रे सवारीसाधनको वर्कसप सोही क्षेत्रमा ल्याउन पहल गरिन अध्यक्ष पौडेलले बताए ।
प्रतिक्रिया 4