+
+

भित्र यातायात व्यवसायीको सहमति, बाहिर तोडफोड र आगजनी

गौरव पोखरेल गौरव पोखरेल
२०७९ फागुन १ गते २२:४६

१ फागुन, काठमाडौं । विभिन्न १० बुँदे माग राख्दै पछिल्लो दुई सातादेखि यातायात मजदुर आन्दोलनरत थिए । ट्राफिक प्रहरीका अधिकारीहरुका भनाइमा बाहिर यो आन्दोलन जरिवाना बढाएर पहिलो पटककै गल्तीमा १५ सय रुपैयाँ पुर्‍याएकोप्रति लक्षित देखिन्थ्यो ।

तर, आन्दोलनमा ऐक्यबद्धता जनाएका यातायात व्यवसायीको खास लक्ष्य गौशाला, माछापोखरी लगायत चक्रपथ क्षेत्रमा सवारीसाधन पार्किङ गर्न नदिने निर्णय उल्ट्याउनतर्फ बढी केन्द्रित थियो ।

आइतबार मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी र मजदुरसहित सरोकारवाला निकायहरुबीच छलफल भएको थियो । छलफलबाट ट्राफिक प्रहरी जरिवाना सम्बन्धी प्रावधानमा लचक हुने निर्णय भएको थियो । मजदुरका थप मागका विषयहरुमा पनि क्रमशः छलफल गर्दै जाने भनिएको थियो ।

उपत्यका ट्राफिक कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार पहिलो पटक जरिवानामा परे ५ सय, दोस्रो पटक एक हजार र तेस्रो पटकमा १५ सय रुपैयाँ लिने निर्णय भएको थियो ।

त्यसरी पाँच पटकसम्म नियम उल्लंघन गरेर कारबाहीमा परे लाइसेन्स नै खारेज गर्ने प्रावधानप्रति पनि यातायात व्यवसायीको विरोध थियो । २ सय बढी मजदुरको लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीले यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरिसकेकाले त्यसलाई रोक्ने व्यवसायीको इच्छा थियो ।

आइतबार मन्त्रालयमा भएको छलफल र सहमतिपछि निस्किएका मजदुरहरुले सोमबार गोंगबु बसपार्कमा कोणसभा गरेर बैठकका निर्णय र भावी आन्दोलनका तयारी सुनाउने कार्यक्रम राखेका थिए ।

अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसीका अनुसार त्यसअनुसार यातायात मजदुरहरु शान्तिपूर्ण कोणसभाका लागि ल्होत्से बहुउद्देश्यीय प्रालिको हलमा पुगेका थिए ।

पहिले व्यवसायीले बसपार्कमै कार्यक्रम गर्न खोजेका थिए । यातायात अवरुद्ध हुने भन्दै बाहिर कार्यक्रम गर्न सुझाइएको थियो । तर, उनीहरुले ल्होत्से हलमा पनि कार्यक्रम गर्न पाएनन् ।

ल्होत्सेलाई काठमाडौं महानगरले नयाँ बसपार्कको निर्माण, सञ्चालन र हस्तान्तरणको जिम्मा दिएको छ । त्यसबापत ल्होत्सेले बसहरुबाट सेवा शुल्क उठाउने गरेको छ ।

‘त्यहाँ प्रशासनकै अगाडि गुण्डाहरु लगाएर सयौं यातायात मजदुर र मजदुर नेताहरुमाथि सुनियोजित रुपमा आक्रमण गरेर शान्तिपूर्ण रुपमा गर्न लागिएको कार्यक्रममा घाइते बनाइयो’, व्यवसायी केसी भन्छन्, ‘ल्होत्से कम्पनीले गराएको घृणित कार्यले सिण्डिकेटधारी अपराधीहरुको कालो र नग्न रुप देखाइदिएको छ ।’

त्यसपछि हलमै तनावको परिस्थिति सिर्जना भयो । त्यसलगत्तै प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी ल्होत्से हल पुगे । जिसीका अनुसार त्यतिञ्जेल बालाजु, माछापोखरी लागायतका क्षेत्रमा सडक अवरुद्ध थियो ।

हलभित्र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईलगायत अरु यातायात व्यवसायीहरु थिए ।

‘छलफलबाट ट्राफिक प्रहरीलाई एक हप्ता समय दिएर निकास निकाल्न समय दिने लगायतका सहमति भएर आजलाई सडकको अवरोध हटाउने सहमति भएको थियो’, उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी भट्टले अनलाइनखबरसँग भने ।

डीएसपी जिसीका अनुसार उनी राई लगायतसँग सहमति गरेर निस्किने तयारीमा थिए । सहमतिअनुसार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले त एक विज्ञप्ति जारी गरेर आइतबार भएका सहमतिबारे जानकारी दिंदै संयक कायम गर्न आह्वान नै गरेको थियो ।

तर, एक्कासी माइक्रो व्यवसायी राजकुमार खत्री, सुनिल प्रजापति, राजन ढकाल लगायत सहमतिको विरोध गर्दै त्यहाँ पुगे ।

‘माइक्रो व्यवसायीले पनि विरोध गरेपछि छुट्टै छलफल गराएँ । बाहिर पार्किङ गर्दै आएको माइक्रोलाई पनि बसपार्कमा राख्ने व्यवस्था गरिएपछि उहाँहरुको विरोध रहेछ’, जिसीले भने, ‘उहाँहरुसँग पनि छलफल गरेर सहमति भएपछि तत्काललाई अवरुद्ध सडक खुलाउने निर्णय भयो ।’

डीएसपी जिसीका अनुसार हलभित्र सहमति गरेर बाहिर निस्किंदा यातायात व्यवसायीहरु नै हिँड्न सक्ने स्थिति थिएन । ‘ल्होत्से हलभित्र सहमति भएर निस्किंदा प्रहरीको गाडीमा पनि ढुंगा हानाहान भइसकेको थियो’, जिसीले अनलाइनखबरसँग भने, ‘अरुतिर पनि तोडफोड र आगजनी भइरहेको थियो ।’

प्रहरी वृत्त, बालाजुका डीएसपी रविन विष्ट चढ्ने बा २ झ १४४ नम्बरको पिकअप गाडीमा भीडले आगजानी गर्‍यो । प्रहरीको अर्का गाडी पनि जलाइयो । भीडले ल्होत्से मलभित्र गएर त्यहाँका मोबाइल पसलहरुसहित अरु कोठाहरुमा पनि तोडफोड गरेको छ ।

माछापोखरीको अस्थायी प्रहरी बिटमा आगजनी भएको छ भने ट्राफिक व्यवस्थापनका लागि राखिएका डिभाइडर र चोकमा राखिएका ट्राफिक आइल्याण्डहरुमा पनि क्षति पुगेको छ ।

आन्दोलनका कारण सोमबार अपराह्न गोंगबु बसपार्क र माछापोखरी क्षेत्रमा सर्वसाधारण अलपत्र परेका थिए । प्रदर्शन अबेरसम्म पनि साम्य हुने स्थिति नदेखिएपछि यात्रुहरु हात उठाउँदै तनावग्रस्त क्षेत्रमा पैदल हिँडेका थिए ।

‘यो सबै दृश्य हेर्दा सोमबार त्यस क्षेत्र युद्धस्थल जस्तै बनेको भान हुन्छ’, नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भन्छन्, ‘भीड किन त्यति धेरै उग्र बन्यो भन्ने विषयमा छानबिन जरुरी देखिन्छ ।’

लोत्से हलभित्र सहमति गरेर यातायात व्यवसायी निस्किँदै गर्दा बाहिर कसरी परिस्थिति नियन्त्रण बाहिर गयो ? जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृत भन्छन्, ‘सहमति गरेर आजलाई आन्दोलन स्थगित भएको घोषणा गर्न बाहिर आउँदा भएको घटनामा न मजदुर न यातयात व्यवसायी संलग्न छन् ।’

काठमाडौं प्रहरीको बुझाइ अनुसार सहमतिपछि प्रदर्शन उग्र हुनुमा आन्दोलनमा संलग्नभन्दा बाहिरका समूहको भूमिका छ । ‘त्यो भीडमा कुनै लिडरसिप नै नभएको देखियो, त्यसैले यसमा क्षति धेरै भयो’, नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल पनि भन्छन्, ‘यो प्रदर्शनमा आन्दोलनमा सरिक भएकाभन्दा बाहिरका मानिसहरुको असन्तुष्टि पनि जोडिएको देखिन्छ ।’

उनको यसमा अरु ‘स्वार्थ समूह’हरु जोडिएको अनुमन गरिएको बताउँदै भने, ‘शान्तिपूर्ण आन्दोलनबाट एक्कासी अनियन्त्रित भीडमा परिणत भएको यो घटनाले राम्रो संकेत गरेको छैन ।’

यो घटनाले विगतमा इराकमा नेपाली मारिंदा काठमाडौंमा मेनपावर कम्पनीहरुमाथि भएको आक्रमण र ऋतिक रोशन प्रकरण दुवैलाई सम्झना गराएको मल्लको भनाइ छ । फिल्डमा खटिएका महाराजगञ्जका डीएसपी जिसी पनि भन्छन्, ‘व्यवसायीले सडक अवरोध हटाउन गाडी सार्न थालेपछि झन् धेरै क्षति भएको देखिएको छ ।’

तस्वीरहरु ः चन्द्रबहादुर आले मगर/अनलाइनखबर

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?