+
+

८० लाखमा बिक्यो १६ वर्ष पुरानो आइफोन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते ११:२०

एप्पलको आइफोनका लागि तपाईं कति रकम खर्च गर्न सक्नुहुन्छ ? सायद अधिकतम डेढ दुईलाख सम्म भन्ने जवाफ धेरैको हुनसक्छ । तर एकजना व्यक्तिले चाहिँ १६ वर्ष अगाडि नै बनेको एउटा आइफोनका लागि ८० लाख रुपैयाँ भन्दा धेरै रकम खर्च गरेका छन् ।

आइफोनका पारखीहरु अहिले आइफोन १५ को व्यग्र प्रतीक्षा गरिरहेको बेला सन् २००७ मै बजारमा आएको एप्पलको पहिलो संस्करणको आइफोन लाखौँ रुपयाँमा खरिद गरिएको हो ।

एप्पलका संस्थापक स्टिभ जब्सले सन् २००७ मा उक्त पहिलो आइफोन सार्वजनिक गरेका थिए । स्मार्टफोन उद्योगका लागि आइफोनको आगमन गेम चेन्जरकै रुपमा रह्यो । पहिलो आइफोनमा ३.५ इन्चको डिस्प्ले तथा २ मेगापिक्सेलको क्यामरा थियो । साथै त्यसमा रहेको होम बटन पनि निकै लोकप्रिय बनेको थियो ।

समयसँगै आइफोन मानिसहरुको स्टाटस सिम्बोल बनेको छ । फोनको मूल्य पनि नयाँ संस्करणसँगै बढ्दै गएको छ ।

एप्पल अब आफ्नो नयाँ संस्करणको फोनका रुपमा आइफोन १५ को तयारीमा जुटिरहेको छ । यस्तोमा पहिलो संस्करणको उक्त फोन ६३ हजार ३५६.४० डलरमा बिक्रि भएको हो ।

यद्यपि पहिलो संस्करणको आइफोन महंगो मूल्यमा बिक्री भएको यो पहिलोपटक भने होइन । तर यो पटकको मूल्य चाहिँ पहिलो आइफोनलाई परेको सबैभन्दा उच्च मूल्य रहेको बताइएको छ । यसअघि गत वर्ष अक्टोबरमा पहिलो आइफोन करिब ५१ लाख रुपैयाँ बराबरको मूल्यमा लिलाम भएको थियो ।

पछिल्लो कीर्तिमानी मूल्यको आइफोन लिलामी गर्ने संस्था LCG Auction का अनुसार उक्त आइफोन प्रयोग नगरिएको नयाँ तथा सिल्ड अवस्थामा छ । 2023 Winter Premier Auction का क्रममा त्यस आइफोन करीब साढे ६३ हजार डलरमा लिलाम भएको हो । उक्त लिलामी गत फेब्रुअरी २ देखि १९ सम्म चलेको थियो ।

उक्त फोनका बारेमा त्यसका वास्तविक धनी करीन ग्रिनले बताए अनुसार पहिलोपटक रिलिज भएको त्यो आइकोनिक फ्याक्ट्री सिल्ड आइफोन शानदार अवस्थामा छ ।

बिजनेस इनसाइडरका अनुसार करिन ग्रिन एक कस्मेटिक टाटु आर्टिस्ट हुन् । उनी न्युजर्सीमा बस्छिन् । उक्त आइफोन उनले उपहारका रुपमा उपहारका रुपमा प्राप्त गरेकी थिइन् । तर उनले प्रयोग गर्दै आएको टेलिकम कम्पनी नमिलेका कारण उनले त्यो आइफोन चलाउन पाइनन् र खोल्दै खोलिनन् ।अन्ततः उनले त्यो आइफोन बेच्ने निर्णय गरिन् । जस अनुसार उनको त्यो पहिलो आइफोन लिलाम बढाबढमा बिक्रीमा राखियो । लिलामका क्रममा उक्त आइफोनको सुरुवाती बोली २५ सय डलर लागेकोमा अन्ततः ६३ हजार ३५६.४० डलरमा बिक्री भयो । आइफोन खरीदकर्ताको नाम चाहीँ खुलाइएको छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?