+
+

गोठाला, किसान उक्लिएपछि ढोरपाटनमा चहलपहल

रासस रासस
२०७९ फागुन २५ गते १७:४०

२५ फागुन, बलेवा । चिसो बढेसँगै बेंसी झरेका बोबाङका बासिन्दा गर्मीयाम सुरु भएसँगै ढोरपाटन उक्लिएका छन् । बागलुङको ढोरपाटन नगरपालिका–८ र ९ मा पर्ने बोबाङ गाउँमा चिसो छल्न झरेका किसान गर्मीयामको सुरुआतसँगै ढोरपाटन क्षेत्रमा उक्लिएका हुन् ।

बर्खायामका लागि सबै बन्दोबस्तीका सामानसहित स्थानीय किसान ढोरपाटन उक्लिएको ज्योति विकास आधारभूत विद्यालयका शिक्षक श्याम विक भन्नुहुन्छ । ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका ठूला फाँटलाई पाटन भनिन्छ । त्यहीँ पाटन र बुकी किसानका गोठ राख्ने र आधा वर्ष कटाउने थलो हुन् ।

गर्मी महिनामा गाउँ छोडेर बुकी र पाटन गएका गोठाला सम्पत्ति लिएर हिउँदमा अधिकारी चौर बोबाङ, निसी, देवीस्थान, बुर्तिबाङ झर्ने गरेका छन् । चिसो छल्न र खेतबारीमा मल पुर्‍याउन बेंसी झरेका नफर्किंने बेलासम्म बुकी र पाटन सुनसान हुने गरेको ज्योति विकास आधारभूत विद्यालय ढोरपाटनका प्रधानध्यापक चकबहादुर अदैले बताए ।

ढोरपाटन क्षेत्रमा विद्यार्थीका अभिभावक, शिक्षक कर्मचारी र सो क्षेत्रमा अन्य कुनै व्यापार व्यवसाय सञ्चालन गरेर बस्नेबाहेक कृषक र पशुपालन क्षेत्रमा आबद्ध स्थानीय तल्लो क्षेत्रमा झरेका थिए । गोठाला र किसान पाटन चढेपछि भरिभराउ भएको छ । हिउँदको बाली लगाउन गाई, भैँसी, भेडा लिएर तल झरेका किसान गर्मी चढेपछि फेरि बुकी जान्छन् ।

गाउँ, ढोरपाटन र बुकी क्षेत्र गरी तीन क्षेत्रमा गोठालाले वर्ष गुजार्छन् । तल्लो क्षेत्रमा मकै, गहुँ, ढोरपाटन क्षेत्रमा आलु बाली लगाएपछि गोठाला चार महिनालाई खाना पुग्ने खर्च लिएर बुकी जान्छ । गर्मी मौससमा बस्तुभाउका लागि आवश्यक घाँस बुकीमा पाउने हुँदा पशुपालन क्षेत्रमा आबद्ध ढोरपाटन र निसीवासी घुम्ती बसाइमा निस्कने स्थानीय श्यामकुमार विकको भनाइ छ ।

हिउँदमा हिमपात र जाडो बढ्ने भएकाले जाडो छल्न बेंसी झरेको कृषक बताउँछन् । पुर्खाले सुरु गरेको चलनलाई नयाँ पुस्ताले पनि पछ्याएका छन् । वैदेशिक रोजगार र अध्ययन तथा रोजगारका लागि सदरमुकाम तथा जिल्ला बाहिर जाने युवाबाहेक गाउँमा बस्ने जवान पनि लेकबेंसी गर्छन् । अत्यधिक चिसो बढेपछि एक महिना बन्द भएका ढोरपाटन उपत्यकाका विद्यालय पनि पुनःसञ्चालन गरिएको छ ।

जाडो छल्न बेंसी झरेका बालबालिका गर्मी मौसमको सुरुआतसँगै ढोरपाटन उक्लेपछि विद्यालय सञ्चालन गरिएको हो । गत पुस १८ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन् ।

चिसो बढेपछि ढोरपाटनको उपत्यकाको विकास आधारभूत विद्यालय, सल्लाथान प्रावि, ढोरपाटन दुर्गम प्रावि, बालज्योति प्रावि, सिद्दथान प्राविको पठनपाठन बन्द गरिएको थियो । विद्यालय बन्द भएपछि चिसो छल्न विद्यार्थी अधिकारी चौर, बोवाङ, बुर्तिवाङतिर झरेका थियो । फागुन महिला लागेपछि बालबालिका ढोर क्षेत्र फर्केको स्थानीय शिक्षक श्याम विकले जानकारी दिनुभयो ।

ढोरपाटन उपत्यका विद्यालयले असार साउन महिनामा हुने बर्खे बिदा गर्दैनन् । बर्खे बिदा नलिने विद्यालयले चिसो बढेपछि हिउँदे बिदा लिने ढोरपाटन नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक ज्ञानेन्द्र सापकोटाले जानकारी दिए ।

अर्धवार्षिक परीक्षा सकिएपछि विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालय बन्द गरिन्छ । हिउँदे बिदा लामो हुने हुँदा बर्खामा नियमित, दसैँमा एक हप्ता र तिहारमा पाँच दिनमात्रै विद्यालय बन्द गरिएको थियो । ढोर क्षेत्रकै जनवादी घुम्ती विद्यालयले बोवाङमा नियमित पठनपाठन गरेको छ । गर्मी मौसममा उपत्यका क्षेत्र र जाडो मौसममा बोवाङमा कक्षा सञ्चालन हुन्छ ।

जाडो छल्न हिउँदमा, भेडाच्याङ्ग्रा तथा गाईभैँसी लिएर बेंसी झरेका स्थानीय कृषक बस्तुभाउ लिएर आलु खेतीका लागि फेरि ढोरपाटन उपत्यका जान थालेका हुन् । गोठाला आलु लगाएर वैशाख अन्तिम सातादेखि छ महिनाका लागि बुकी जाने गर्छन् ।

बुकी क्षेत्र ढोरपाटन क्षेत्रका किसानको पशुपालनको उपयुक्त क्षेत्र हो । घुम्ती बसाइ गर्ने किसानले मौसम अनुसारको खेतीबाली ढोरपाटन उपत्यका र बोबाङमा लगाउने गर्छन् भने घाँसे मैदान पर्याप्त रहेको बुकी क्षेत्रमा पशुपालन गर्ने चलन रहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?