+
+
कभर स्टोरी :

विश्वविद्यालयमा किन घटे विद्यार्थी ?

कुनै बेला हूल देखिने त्रिवि र अन्य विश्वविद्यालयमा अहिले विद्यार्थी संख्या ह्वात्तै घटेको छ । यतिसम्म कि अत्यन्तै प्रतिस्पर्धा हुने प्राविधिक विषयमा समेत विद्यार्थी न्यून छन् । विश्वविद्यालयहरूमा विद्यार्थीको चाप किन र कसरी घटिरहेको छ ?

नुनुता राई नुनुता राई
२०७९ फागुन २६ गते २०:३४
त्रिविको दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरु । फाइल फोटो

२६ फागुन, काठमाडौं । विश्वविद्यालयहरूमा विद्यार्थी चाप धेरै घट्न थालेको छ । अधिकांश विषयमा भर्नाका लागि प्रतिस्पर्धा नै घटेको छ । सबैभन्दा ठूलो विद्यार्थी संख्या ओगटेको त्रिविमा समेत विद्यार्थीको चाप घटेको छ । त्रिविमा धेरै प्रतिस्पर्धा हुने गरेका प्राविधिक विषयमा समेत विद्यार्थीको चाप न्यून भएको डीन तथा क्याम्पस प्रमुखहरू बताउँछन् ।

त्रिवि बाहेकका अन्य विश्वविद्यालयलाई पनि विद्यार्थी पाउन मुश्किल भइरहेको छ । कतिपयले मुश्किलले कोटा पुर्‍याएर अध्यापन गराइरहेका छन् भने कतिपय तोकेको कोटाभन्दा कम विद्यार्थी पढाउन बाध्य छन् ।

त्रिवि विज्ञान तथा प्रविधि संकाय

त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा विद्यार्थी संख्या ह्वात्तै घटेको छ । केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसार धरान त्रिविको एक मात्र खाद्य प्रविधि क्याम्पस हो । क्याम्पसमा स्नातक तहको बी टेक इन फुड, बीएस्सी न्यूट्रिसन एन्ड डाइटेटिक्स लगायत बीएस्सी सीएसआईटी, बीआईटी शैक्षिक कार्यक्रम सञ्चालित छन् ।

बी टेक इन फुडमा ४८ वटा, बीएस्सी न्यूट्रिसन एन्ड डाइटेटिक्सको लागि ३० वटा र बीएस्सी सीएसआईटी, बीआईटी ३०–३० वटा विद्यार्थी कोटा छुट्याएको छ । यी शैक्षिक कार्यक्रममा विद्यार्थी कोटा पूरा भए पनि प्रतिस्पर्धीको संख्या धेरै घटेको सहायक क्याम्पस प्रमुख बबिता अधिकारी बताउँछिन् ।

बी टेक इन फुड कार्यक्रममा हात्तीसार क्याम्पस धरानमा ४८ र १० सम्बन्धन प्राप्त क्याम्पसमा २४ वटाको दरले जम्मा २८८ वटा सिट छुट्याइएको छ । तोकिएको सिट संख्यामा भर्नाका लागि प्रविधि तथा अध्ययन संस्थानले धरान र काठमाडौंमा भर्ना प्रवेश परीक्षा सञ्चालन गर्छ ।

यसपटक धरानमा जम्मा १२६ जना सहभागी भएको सहायक क्याम्पस प्रमुख अधिकारीले जानकारी दिइन् । अधिकारीले भनिन्, ‘पहिला यहाँ मात्रै पनि ५०० भन्दा बढी प्रवेश परीक्षा दिने विद्यार्थी हुन्थे यो वर्ष जम्मा १२६ जनाले प्रवेश परीक्षा दिए । यसैले विद्यार्थीको चाप घटेको स्पष्ट पार्छ ।’ अहिले सम्बन्धन प्राप्त कलेजहरूमा ५ देखि १० प्रतिशत विद्यार्थी मात्रै भर्ना भएका छन् ।

क्याम्पसमा सञ्चालित बीएस्सी बायोलोजी, फिजिक्स, जियोलोजीका शैक्षिक कार्यक्रमहरूमा भर्ना आवेदन दिन आउने विद्यार्थीको संख्या अत्यन्तै न्यून छ । यी विषयहरूमा १८० वटा कोटा निर्धारण गरिएको छ, त्यसमा ४० प्रतिशत विद्यार्थी मात्रै भर्ना भएका छन् ।

स्ववियु निर्वाचनको कारण भर्ना प्रक्रिया रोकिसकेको सहायक क्याम्पस प्रमुख अधिकारीले जानकारी दिइन् । त्रिविले फेरि भर्ना नखोले ४० प्रतिशत विद्यार्थीले मात्रै अध्ययन गर्नेछन् । अधिकारी भन्छिन्, ‘विद्यार्थी चाप धेरै घटेको छ । यस्तै अवस्था रहे केही वर्षपछि विद्यार्थी नपाउने अवस्था आउन सक्छ ।’

केन्द्रीय खाद्य प्रविधि क्याम्पस हात्तीसार, धरानमा त्रिविको खाद्य प्रविधि केन्द्रीय विभाग पनि छ । विभाग अन्तर्गत स्नातकोत्तर तह र विद्यावारिधि अध्यापन हुन्छ । विभाग अन्तर्गतको शैक्षिक कार्यक्रममा पनि विद्यार्थी संख्या कम छ । गत वर्षसम्म २५ वटा कोटा रहेकोमा यो वर्ष बढाएर २९ बनाइएको छ त्यसमा २३ जना विद्यार्थी मात्रै भर्ना भएका छन् ।

मध्यपश्चिम विश्वविद्यालय, सुर्खेत

तर यो संख्या विगतका वर्षहरूमा भन्दा बढी भएको विभाग प्रमुख प्रा.वसन्त राई जिकिर गर्छन् । प्रमुख राईका अनुसार, सुरुका वर्षहरूमा २५ वटा छुट्याएको कोटामा १० देखि १५ जना मात्रै विद्यार्थी हुन्थे तर पछिल्लो वर्षयता २५ वटा कोटामा २३–२४ जना हुन थाले ।

प्रमुख राई भन्छन्, ‘यो वर्ष अझै घट्ने सम्भावना थियो । किनभने प्रवेश परीक्षा उत्तीर्ण गरेका १० जनाभन्दा बढी विद्यार्थी लोकसेवा पास गरेर गएका थिए । उनीहरूको पढाइ निरन्तर बनाउनको लागि विभागले मिश्रित किसिमको कक्षा सञ्चालन गरिरहेको छ ।’

प्रविधि तथा अध्ययन संस्थानका अरू कार्यक्रममा भने विद्यार्थी चाप घटे पनि विद्यार्थी नै नपाउने अवस्था भने नभएको संस्थानका डीन प्रा.डा. विनिल अर्याल बताउँछन् । विद्यार्थी आकर्षणका लागि संस्थानले पाठ्यक्रम परिमार्जन गर्नुका साथै कार्यक्रमहरू पनि परिष्कृत गरेको उनको भनाइ छ ।

प्राविधिक विषय सीएसआईटी, बीआईटी विषयहरूमा विद्यार्थीको चाप बढिरहेको बताउँछन् उनी । सीएसआईटीका लागि गत वर्ष ५५०० विद्यार्थीले आवेदन दिएका थिए भने यो वर्ष ५७०० र बीआईटीमा गत वर्ष ८०० विद्यार्थीले आवेदन दिएकोमा यो वर्ष २१०० विद्यार्थीले आवेदन दिएको डीन प्रा.डा.अर्यालले बताए ।

यी शैक्षिक कार्यक्रममा पढ्दै कमाउँदै गर्न पाइने र संकायले विद्यार्थी अड्याउनको लागि धेरै मिहिनेत गरेकोले विद्यार्थीको चाप बढेको उनको भनाइ छ । यी दुई कार्यक्रममा चाप बढे पनि अरू कार्यक्रममा भने विद्यार्थी संख्या घटेको उनको भनाइ छ ।

त्रिचन्द्र क्याम्पसमा पनि विद्यार्थी घटेका छन् । सहायक क्याम्पस प्रमुख बालकृष्ण पौडेलका भनाइमा, भर्ना भएकाहरूमध्ये पनि ड्रप आउट हुने धेरै छन् । त्रिचन्द्रमा भएका कार्यक्रमहरूमध्ये इन्जिनियरिङ जियोलोजी, माइक्रो बायोलोजी, केमेष्ट्रीमा कोटा प्रणाली छ । माइक्रो बायोलोजीमा ३० वटा कोटा छ । केमेष्ट्रीमा ९० वटा कोटा तोकिएको छ । यी विषयहरूमा कोटा पनि पूरा नहुने अवस्था रहेको सहायक क्याम्पस प्रमुख पौडेल बताउँछन् ।

गत वर्ष हामीसँग केमेष्ट्रीको ९० कोटामा जम्मा ७३ जना मात्रै भर्ना भएका थिए । इन्जिनियरिङ जियोलोजीमा त तोकिएको कोटा बराबर संख्यामा प्रवेश परीक्षा नै दिन नआएको उनले बताए । यो वर्ष झन् विद्यार्थीको आवेदन कम परेको उनी बताउँछन् ।

मानविकी तथा सामाजिक विज्ञान संकायका केही विषयमा विद्यार्थी अत्यन्तै न्यून छन् । इतिहास, भूगोल, नेपाली, जनसंख्या जस्ता विषयमा हरेक वर्ष विद्यार्थी घट्दै गइरहेको पौडेल बताउँछन् ।

कृषि तथा पशुविज्ञान संकाय

कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा पनि विद्यार्थीको चाप घट्दो छ । डीन प्रा. भार्गव धितालका अनुसार, संस्थानको कृषितर्फ आंगिक ४ र सम्बन्धन ५ गरी ९ वटा क्याम्पसमा पढाइ हुन्छ । त्यसमध्ये पक्लिहवा कृषि क्याम्पस र लमजुङ कृषि क्याम्पसमा १००–१०० र अरू दुई आंगिक र ५ सम्बन्धन क्याम्पसमा ५०–५० सिट संख्या तोकिएको छ । निर्धारित सिट संख्या पूरा भएको छ ।

संस्थान अन्तर्गतको भेटेरिनरीतर्फ भने एउटा मात्रै क्याम्पस छ । ५० वटा सिट संख्यामा विद्यार्थी भर्ना भएका छन् । पशु विज्ञान स्नातकोत्तर तहमा मात्रै अध्यापन हुन्छ । यसमा एनिमल न्यूट्रिसन, एनिमल ब्रिडिङ, लाइफ स्टक एन्ड म्यानेजमेन्ट तीन वटा विभागमा ८ जनाको दरले कोटा छुट्याइएको छ ।

कोटा थोरै भएकोले अहिले पूरा भइरहेको डीन प्रा.धिताल बताउँछन् । यी तीन वटा विषयमा २४ सीटमा कोटा पूरा भएको छ । प्रा. धिताल भन्छन्, ‘विगत वर्षहरूमा १२०० जनासम्मको आवेदन पथ्र्यो । यसपटक ५०० ले मात्रै आवेदन दिएका थिए । त्यस्तै स्नातकतर्फको कार्यक्रमहरूमा विगतमा ३ हजारसम्म आवेदन पर्थे, यस वर्ष १२०० को मात्रै भर्ना आवेदन परेको थियो ।’

व्यवस्थापन संकाय

व्यवस्थापन संकायमा विद्यार्थी घटे पनि यकिन तथ्यांक आउन बाँकी रहेको व्यवस्थापन संकायका डीन प्रा.डा.डिल्लीराज शर्मा बताउँछन् । गत वर्षको तुलनामा भर्ना आवेदन दिनेको संख्या कम देखिएको उनी बताउँछन् । गत वर्ष १५ हजारले भर्ना आवेदन दिएका थिए । यो वर्ष एक पटक मात्रै सिम्याट परीक्षाबाट छुट्याइएको कोटामा विद्यार्थी संख्या अपुग भएपछि डीन कार्यालयले दुई पटक सिम्याट परीक्षा (भर्ना प्रवेश परीक्षा) सञ्चालन गरेको थियो ।

प्रथम पटकको सिम्याट परीक्षामा साढे ११ हजार र दोस्रो पल्ट १५०० ले आवेदन दिएका थिए । गत वर्षको तुलनामा करिब दुई हजार कम विद्यार्थीले भर्ना आवेदन दिएको डा. शर्मा बताउँछन् ।

स्नातकोत्तरको केही शैक्षिक कार्यक्रममा विद्यार्थी संख्या कम देखिए पनि स्नातक तहमा विद्यार्थी कोटा भन्दा बढी विद्यार्थी सिम्याट उत्तीर्ण भएको बताए । तर, कुन शैक्षिक कार्यक्रममा कति भर्ना भए भन्ने तथ्यांक आउन अझै समय लाग्ने उनको भनाइ छ ।

उनले भने ‘भर्ना आवेदन दिने विद्यार्थीको चाप घटेको छ । तर कोटा तोकिएका शैक्षिक कार्यक्रममा कोटाभन्दा बढी नै विद्यार्थी उत्तीर्ण भएका छन् । मास्टर्सका केही विषयमा कम छन् । तर, सबैतिरबाट यकिन तथ्यांक नआई संख्यामा भन्न सकिंदैन ।’

इन्जिनियरिङ अध्ययन संस्थान

इन्जिनियरिङ अध्ययन संस्थानतर्फ पनि विद्यार्थीको चाप घटेको छ । निर्धारित कोटा खाली हुने अवस्था नभए पनि प्रतिस्पर्धाको चाप धेरै घटेको पुल्चोक इन्जिनियरिङ कलेजका प्रिन्सिपल डा. इन्द्रप्रसाद आचार्य बताउँछन् । उनले भने ‘हाम्रोमा विद्यार्थी कम भएकैले खाली हुने सम्भावना त हुँदैन तर तुलनात्मक रूपमा प्रतिस्पर्धी विद्यार्थीको संख्यामा कमी देखिएको छ ।’

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानमा सात वटा विषयमा पढाइ हुन्छ । यी सबै विषयमा एक वर्षमा ५२८ विद्यार्थी भर्ना हुन्छन् । सिभिल इन्जिनियरिङमा १४४ जना, कम्प्युटर इन्जिनियरिङमा ९६, मेकानिकल इन्जिनियरिङमा ९६, इलेक्ट्रोनिक्स एन्ड कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङमा ४८, एग्रिकल्चर इन्जिनियरिङमा ४८, आर्किटेक्चरमा ४०, इलेक्ट्रिकलमा ४८ कोटा छन् । यी सबै कोटामा प्रवेश परीक्षाबाट पूरा भएको भए पनि करिब ५० जनाले भर्ना रद्द गरेपछि अहिले ती कोटाहरू खाली रहेको क्याम्पस प्रमुख ओमप्रकाश ढकालले बताए ।

खाली रहेको कोटाहरूको लागि आवेदन माग गरेको प्रमुख ढकाल बताउँछन् । अहिलेको अवस्था हेर्दा यीमध्ये केही विषयहरूमा केही कोटा पूरा नहुने सम्भावना देखिएको उनको भनाइ छ । उनी भन्छन्, ‘कम विद्यार्थीको रोजाइमा पर्ने मेकानिकल र एग्रिकल्चर इन्जिनियरिङ विषयको केही कोटा खाली जाने सम्भावना छ ।’ कक्षा १२ मा विषय लागेका विद्यार्थीले प्रवेश परीक्षा दिन नपाउने भएकोले यो वर्ष भर्नाको लागि आवेदन दिनेको संख्या धेरै कम भएको क्याम्पस प्रमुख ढकालको भनाइ छ ।

कृषि तथा वन विश्वविद्यालय रामपुर चितवन

कृषि तथा वन विषयमा पढाइ हुने नेपालकै प्रथम विश्वविद्यालय हो कृषि तथा वन विश्वविद्यालय रामपुर । यस विश्वविद्यालय अन्तर्गत तीन वटा संकायमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालित छन् । फ्याकल्टी अफ एग्रिकल्चर, फ्याकल्टी अफ एनिमल साइन्स, भेटेरिनरी साइन्स एन्ड फिसेरी र फ्याकल्टी अफ फोरेस्ट्री । यी सबै संकायमा विद्यार्थीको चाप घटेको सम्बन्धित डीनहरू बताउँछन् ।

कृषि तथा वन विश्वविद्यालय रामपुर चितवन

कृषि संकायका डीन प्रा.डा.जयप्रकाश दत्त विश्वविद्यालयमा विद्यार्थीको चाप धेरै घटेको बताउँछन् । विश्वविद्यालयको सबै प्रदेशमा आंगिक कलेज छन् । केन्द्रीय कलेज छोडेर ८ वटा आंगिक क्याम्पस र ६ वटा सम्बन्धन कलेज छन् ।

आंगिक क्याम्पसमा ५४ र केन्द्रीय क्याम्पस रामपुरमा १६२ वटा कोटा छन् । केन्द्रीय क्याम्पस तथा आंगिक क्याम्पस गरेर १५ वटा कलेजमा ९१५ जनाको कोटा छ । निर्धारित कोटाका लागि प्रतिस्पर्धा गर्ने विद्यार्थी संख्या हरेक वर्ष घट्दै गइरहेको डीन प्रा.डा.दत्त बताउँछन् । डा. दत्त भन्छन्, ‘विगत वर्षहरूमा ४ हजार बढी विद्यार्थीले भर्नाको लागि आवेदन दिन्थे, गत वर्ष २७०० ले र यो वर्ष जम्मा १७०० ले प्रवेश परीक्षा दिए ।’

तीमध्ये पनि उत्तीर्ण हुने जम्मा ७०५ जना छन् । उत्तीर्ण भएका मध्येबाट पनि जम्मा ५०० मात्रै भर्ना भएका छन् । बाँकी ४१५ सिट खाली छ । केन्द्रीय क्याम्पसमा तोकिएको कोटा पूरा भए पनि आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा ५ देखि १० प्रतिशत विद्यार्थी मात्रै भर्ना भएका छन् ।

विश्वविद्यालयमा विद्यार्थी संख्या कम हुनुको कारण विभिन्न विश्वविद्यालयमा पनि कृषि विषय पढाइ सुरु हुनु मुख्य कारण भएको बताउँछन् डीन प्रा.डा. दत्त । उनी भन्छन्, ‘अहिले जति पनि विश्वविद्यालय खुलेका छन् ती सबैले कृषि विषय पढाइरहेका छन् । त्रिवि, पूर्वाञ्चल, मध्यपश्चिम, सुदूरपश्चिम, काठमाडौं विश्वविद्यालयले पढाएका छन् । यो वर्षदेखि मधेश कृषि विश्वविद्यालय पनि थपिएको छ ।’

वन संकायमा विद्यार्थीको चाप घटे पनि कोटा खाली भने भएको छैन । वन संकायका डीन प्रा.डा.बलराम भट्ट हेटौंडा र कटारीमा विद्यार्थी नै नपाउने भन्ने समस्या नरहेको बताउँछन् । तर, विद्यार्थीको भर्ना आवेदन भने धेरै कम आइरहेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘विद्यार्थी संख्या नै पुगेन भन्नुपर्ने अवस्था अहिलेसम्म आएको छैन । तर, यही क्रम चल्यो भने विद्यार्थी नपाउने अवस्था आउँदैन भन्न सकिंदैन ।’ स्नातक तहको शैक्षिक कार्यक्रममा हेटौंडामा ८५ र कटारीमा ५२ सिटमा विद्यार्थी भर्ना भएका छन् । त्यसमध्ये केही सिटमा ड्रप आउटका कारण खाली भए पनि त्यो कसरी पूर्ति गर्ने भन्ने विषयमा निर्णय नभइसकेको शैक्षिक प्रशासक प्रदीपकृष्ण श्रेष्ठले बताए । स्नातकोत्तर तहमा पनि आवेदन दिने विद्यार्थीको संख्या घटेको उनको भनाइ छ ।

फ्याकल्टी अफ एनिमल साइन्स, भेटेरिनरी साइन्स एन्ड फिसेरी संकायमा पनि विद्यार्थीको चाप धेरै कम भएको सो संकायका डीन प्रा.डा.होमबहादुर बस्नेत बताउँछन् । विगत वर्षहरूमा एउटा सिटका लागि ५० जनाले प्रतिस्पर्धा गर्थे तर अहिले एउटा सिटको लागि ८ जनाले प्रतिस्पर्धा गर्ने अवस्था छ ।

यो वर्ष भेटेरिनरीमा ५० र फिसेरीमा २१ गरी ७१ सिटको लागि जम्मा ४२५ जनाले प्रतिस्पर्धा गरे । त्यसमध्ये २५० जना विद्यार्थी उत्तीर्ण भए । त्यसले गर्दा भेटेरिनरी साइन्सको लागि भर्नामा संख्या नपुग्ने भन्ने समस्या नभएको डीन प्रा.डा.होमबहादुर बस्नेत बताउँछन् ।

बीएस्सी फिसेरी कृषि तथा वन विश्वविद्यालयमा मात्रै अध्यापन गराइने भए पनि विद्यार्थी संख्या चाहिं न्यून रहेको छ । फिसेरीमा निर्धारण गरिएको २१ सिटको लागि १८ जना भर्ना भए पनि दुई जना विद्यार्थी अन्य विषयमा गएपछि १६ जना मात्रै पहिलो वर्षमा अध्ययनरत छन् । चार वटा ब्याचमध्ये कुनै ब्याचमा त ६–७ जना मात्रै अध्ययनरत छन् ।

निस्किएको पाँच ब्याचबाट करिब ७० जना जनशक्ति उत्पादन भइसकेका छन् । यो विषयमा अध्यापन गराइँदै आए पनि सरकारले सीमित दरबन्दी खुलाएकोले पढेर जागिरका लागि कहाँ जाने भन्ने कुराले फिसेरी पढ्न विद्यार्थीको आकर्षण कम भएको डीनको भनाइ छ । डीन प्रा.डा. बस्नेत भन्छन्, ‘सरकारले सीमित दरबन्दी दिएको छ । त्यसैले अहिले जसरी पालिकाहरूले भेटेरिनरीको दरबन्दी खोलेका छन् त्यसैगरी फिसेरीको दरबन्दी पनि खुलाउन सके विद्यार्थी संख्या बढ्छ ।’

मध्यपश्चिम विश्वविद्यालय

मध्यपश्चिम विश्वविद्यालयले मानविकी तथा सामाजिक विज्ञान, व्यवस्थापन, शिक्षा, विज्ञान तथा प्रविधि र इन्जिनियरिङ संकाय गरेर पाँच वटा संकायमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यो विश्वविद्यालयमा भने विद्यार्थी संख्या बढ्ने क्रममा रहेको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह बताउँछन् । आफू उपकुलपति भएर आउँदा ७ हजार ५०० मात्रै रहेको विद्यार्थी संख्या अहिले १३ हजार बढी पुगेको सिंहले बताए ।

उनी भन्छन्, ‘विद्यार्थी संख्या हरेक साल बढिरहेको छ । किनभने हामीले विश्वविद्यालयलाई व्यवस्थित बनाउँदै लगिरहेका छौं । विद्यार्थी संख्या घटेको महसुस गरेका छैनौं ।’ विश्वविद्यालय व्यवस्थित बनाउन थालेपछि विद्यार्थीको आकर्षण बढेको उपकुलपति सिंह बताउँछन् । पाठ्यक्रम परिमार्जन गरिरहेकोले आउने वर्षदेखि विद्यार्थी थप बढ्न सक्ने उनको भनाइ छ ।

मध्यपश्चिम विश्वविद्यालयले स्नातक तहको इन्जिनियिरिङतर्फ सिभिल, कम्प्युटर र हाइड्रोपावर स्नातकोत्तर तहको इन्जिनियिरिङ, कन्स्ट्रक्सन म्यानेजमेन्ट र स्ट्रक्चरल कार्यक्रम सञ्चालन गरिरहेको छ । गत वर्षदेखि मात्रै स्नातक तहको हाइड्रोपावर इन्जिनियिरिङ विषयमा भने ४८ वटा कोटामा जम्मा १० जना मात्रै विद्यार्थी भर्ना भएको बताए । त्यस्तै कम्प्युटर इन्जिनियिरिङ विषयमा पनि कोटा पूरा हुनसकेको छैन ।

गत वर्षदेखि सुरु भएको कृषि विषयको लागि ४८ वटा कोटा निर्धारण गरिएको छ । यो विषयमा गत वर्ष ४८ जना भर्ना भए पनि केहीले बीचैमा पढाइ छोडेकोले केही कोटा खाली भएका छन् भने यो वर्ष सबै कोटा पूरा भएको उपकुलपति सिंहले जानकारी दिए ।

काठमाडौं विश्वविद्यालय

काठमाडौं विश्वविद्यालयमा स्कुल अफ आर्टस्, स्कुल अफ एजुकेसन, स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ ल, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ मेडिकल साइन्स संकायका विभिन्न २०० भन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । केयूमा अध्ययन गर्ने समूह, वर्गका विद्यार्थीको मुख्य आकर्षण नै वैदेशिक अध्ययनमा देखिएकोले विद्यार्थीको चाप अत्यन्तै घटेको विश्वविद्यालयका प्रवक्ता डा.उद्धव प्याकुरेल बताउँछन् ।

विश्वविद्यालयमा पछिल्लो समय विद्यार्थी छनोट गर्नै नपाउने अवस्था आइसकेको उनको भनाइ छ । केयूमा सञ्चालित कतिपय शैक्षिक कार्यक्रममा ६० देखि ७० प्रतिशत मात्रै विद्यार्थी भर्ना भएका छन् । विज्ञान विषय केयूको ‘सिग्नेचर’ विषय हुँदाहुँदै पनि वातावरण विज्ञानमा विद्यार्थी आकर्षण हुन नसकेकोले ६० प्रतिशत विद्यार्थी अध्ययनरत रहेको प्रवक्ता डा.प्याकुरेलले जानकारी दिए ।

केयूको ‘पपुलर’ शैक्षिक कार्यक्रमहरू जसमा सिट संख्या पूरा छन् त्यसमा पनि प्रतिस्पर्धी विद्यार्थीको संख्या सीमित हुन थालेका छन् । उनी भन्छन्, ‘पहिला २८०० बाट १५० जना र ६०० बाट २५ जना छनोट हुन्थे भने अहिले प्रतिस्पर्धी विद्यार्थी नै छैनन् । पहिला जसरी नै कडाइका साथ छनोट गर्ने हो भने निर्धारित सिट संख्यामा ८३ प्रतिशत भन्दा बढी विद्यार्थी छनोट नहुने र बाँकी १७ प्रतिशत खाली सिट जाने स्थिति छ ।’ कतिपय सिटका लागि पहिला भए छनोट नहुने विद्यार्थी पनि छनोट गरेर सम्झौता गर्नुपर्ने स्थिति रहेको उनी बताउँछन् ।

पोखरा विश्वविद्यालय : छात्रवृत्ति सिटमै विद्यार्थी पुगेनन्

पोखरा विश्वविद्यालयले फ्याकल्टी अफ साइन्स एण्ड टेक्नोलोजी, फ्याकल्टी आफ हेल्थ साइन्स, फ्याकल्टी अफ म्यानेजमेन्ट र फ्याकल्टी अफ ह्युमेनिटिज एण्ड सोसियल साइन्स गरी चार वटा संकायमा ६४ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यहाँ पनि विद्यार्थीको चाप धेरै घटेको परीक्षा नियन्त्रक तुलसीराम भण्डारी बताउँछन् । केन्द्रीय क्याम्पसमा विद्यार्थी नपुग्ने समस्या नभए पनि आंगिक क्याम्पसहरूमा भने समस्या देखिएको छ । सबै संकायमा नै विद्यार्थी घटेका छन् । प्राविधिक विषयका कतिपय विधामा ५० प्रतिशत भन्दा कम प्रतिस्पर्धी हुन थालेको उनले बताए ।

सिभिल इन्जिनियरिङमा ९६ सिटका लागि २२०० प्रतिस्पर्धीबाट छनोट हुन्थे अहिले ८०० बाट छनोट गर्नुपर्ने स्थिति रहेको छ । केन्द्रीय क्याम्पसमा पाँच वटा इन्जिनियरिङ सिभिल, कम्प्युटर, सफ्टवेयर, आइटी, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ मध्ये इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा केही सिट खाली भएको छ ।

पोखरा विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त सबै कलेजलाई छात्रवृत्ति दिने व्यवस्था गरेको छ । नेपालकै ठूलो स्किम रहेको नियन्त्रक भण्डारीको दाबी छ । यी सबै गरी करिब १२०० जनाले विभिन्न छात्रवृत्ति पाउँछन् तर अहिले त्यो छात्रवृत्तिको कोटामा समेत विद्यार्थी नपुगेको उनी बताउँछन् ।

सबै संकायमा तीन वटा सेक्सन भएका आंगिकले दुई वटा मात्रै, दुई वटा सेक्सन भएकोले एउटा मात्रै सेक्सन र त्यसमा पनि अपुग विद्यार्थी पढाउनु परिरहेको उनले जानकारी दिए ।

हेल्थ साइन्समा चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा लिन थालेपछि अन्य विश्वविद्यालयमा झैं यहाँ पनि विद्यार्थी धेरै कम भएका छन् । आंगिक क्याम्पसमा बीएस्सी नर्सिङमा केही सिट खाली भए पनि अरूमा समस्या नभएको तर सम्बन्धन प्राप्त कलेजहरूमा भने संकट नै देखिएको नियन्त्रक भण्डारी बताउँछन् ।

पोखरा विश्वविद्यालयले स्नातक तहमा व्यवस्थापन र इन्जिनियरिङ विषयमा ४८ जना, हेल्थ साइन्समा ४० जना विद्यार्थी भर्ना गर्न पाउने, स्नातकोत्तरमा हेल्थ साइन्समा २० जना र व्यवस्थापनमा ३० जना लिन पाउने कोटा तोकेको छ । सञ्चालित चार संकायमा एक पटकमा ११ हजार विद्यार्थी भर्ना क्षमता रहेको विश्वविद्यालयमा गत वर्ष ९ हजार विद्यार्थी मात्रै भर्ना भए । त्यसमध्ये पनि करिब २० प्रतिशत ड्रप आउट भएको नियन्त्रक भण्डारी बताउँछन् । उनी भन्छन्, ‘भर्ना हुनेको संख्या कम छ अर्को वैदेशिक अध्ययनको ट्रेन्ड यति धेरै छ कि भर्ना भएकाहरू मध्येबाट पनि करिब २० प्रतिशत त ड्रप आउट नै हुन्छन् ।’

मधेश कृषि विश्वविद्यालय

मधेश कृषि विश्वविद्यालयले यो वर्षदेखि बीएस्सी एग्रिकल्चर हनर्स विषयको कक्षा सञ्चालन गर्ने तयारीमा जुटेको छ । विश्वविद्यालयले ५० वटा कोटा निर्धारण गरेको छ । त्यसका लागि यो वर्ष १९९ जनाले भर्ना आवेदन दिएका थिए । १४८ जना मात्रै प्रवेश परीक्षामा सहभागी भएको र त्यसमध्ये १३८ जनाले प्रवेश परीक्षा उत्तीर्ण गरेको भर्ना समिति सदस्य केशव पाण्डेले जानकारी दिए ।

पहिलो वर्षमा नै यति संख्या हुनु सकारात्मक रहेको पाण्डे बताउँछन् । उनी भन्छन्, ‘यो पहिलो वर्ष हो । पहिलो वर्षमा नै यति संख्याले आवेदन दिनुलाई हामीले राम्रै संख्या मानेका छौं ।’ विश्वविद्यालयले आगामी दिनमा भेटेरिनरी, बीएस्सी एक्वा कल्चर, फिसेरी र फुड टेक्नोलोजीका कार्यक्रमहरूको परिकल्पना गरेको पाण्डेले जानकारी दिए ।

सुदूरपश्चिम विश्वविद्यालय

सुदूरपश्चिम विश्वविद्यालयले अहिले विज्ञान तथा प्रविधि, कानुन, मानविकी तथा सामाजिक विज्ञान, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन र कृषि संकाय गरी सात संकायका विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

यी सबै संकायका शैक्षिक कार्यक्रममा निर्धारित सिट पूरा भए पनि चाप भने घटेको उपकुलपति अम्मराज जोशी बताउँछन् । उनी भन्छन्, ‘हाम्रो शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी संख्या नपुगेको भन्ने त छैन तर प्रतिस्पर्धीको चाप भने धेरै घटेको छ ।’

विगत वर्षहरूमा सिभिल इन्जिनियरिङको ४८ वटा सिटको लागि ८०० सम्म प्रवेश परीक्षामा सहभागी हुन्थे भने यो वर्ष ३५० जना विद्यार्थीबाट भर्नाको लागि छनोट भएको जोशीले बताए । सुदूरपश्चिम विश्वविद्यालयले कृषिमा १०० जनाको कोटा छुट्याएको छ । त्यहाँ पनि विद्यार्थीको चाप घटेको छ ।

किन घटिरहेको छ विद्यार्थीको चाप ?

विश्वविद्यालयहरूमा विद्यार्थीको चाप घट्नुको पछाडि बहुपक्षीय पाटाहरू रहेको विश्वविद्यालयका उपकुलपति, डीन तथा प्राध्यापकहरू बताउँछन् । विद्यार्थी कम हुनुको मुख्य कारण वैदेशिक आकर्षण रहेको उनीहरूको भनाइ छ ।

नेपालकै विश्वविद्यालयमा विद्यार्थी अड्याउन सरकारले नीति बनाउनुपर्ने विज्ञान तथा प्रविधि संस्थानका डीन प्रा.डा.विनिल अर्याल बताउँछन् । संस्थानले विद्यार्थी घट्नुको कारणबारे समिति बनाएर नै अध्ययन गरेको थियो । अध्ययनले दुई मुख्य कारणमध्ये वैदेशिक आकर्षण र अर्को पढ्दै, कमाउँदै गर्ने अवसर नेपालमा नहुनु प्रा.डा. अर्याल बताउँछन् ।

पहिलो कारणबारे उनी भन्छन्, ‘अहिलेको पुस्ताका लागि असीमित रोजाइ छन् । उनीहरू कुनै एक देशमा सीमित नभई विश्व नागरिक हुन चाहन्छन् । आफ्नो कुरा आफैं प्रस्तुत गर्ने सामथ्र्य राख्छन् । त्यसलाई रोक्न गाह्रो छ । देशमा नै रोक्नको लागि राष्ट्रिय नीति नै बनाउनुपर्छ ।’

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशी विश्वविद्यालयमा कम विद्यार्थी हुनुको कारण एउटा मात्रै नभएर विभिन्न रहेको बताउँछन् । उनी भन्छन्, ‘कुनै एउटा कारणले मात्रै विद्यार्थी कम भएका होइनन् । मुलुकको इकोनोमिक प्यारामिटर, इन्डिकेटरहरू राम्रा छैनन् । त्यसैले अहिलेको पुस्ता उपाय खोज्न आतुर छ ।’

सुदूरपश्चिम विश्वविद्यालय

यस बाहेक कक्षा १२ को उत्तीर्ण रेट कम हुनु, विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरू सञ्चालनमा हुनु लगायत कारण रहेको उनको भनाइ छ । त्यसैले यी बहुपक्षीय पाटोमा सरकारले नीति बनाएर काम गर्नसके मात्रै नयाँ पुस्तालाई रोक्न सकिने जोशीको तर्क छ ।

विराट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विलास लुइँटेल त्रिविले समयमा परीक्षा सञ्चालन गर्ने, समयमा नतिजा सार्वजनिक गर्ने मात्रै गरे पनि त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस, कलेजहरूमा केही प्रतिशत विद्यार्थी बढ्थे ।

उनी भन्छन्, ‘त्रिविमा न समयमा परीक्षा हुन्छ न नतिजा आउँछ । त्रिविको परीक्षा प्रणाली मात्रै सुधार गरियो भने पनि धेरै विद्यार्थी रोकिन्छन् ।’

सरकारले विना कुनै अध्ययन काम गर्दा अहिलेको अवस्था निम्तिएको कृषि तथा वन विश्वविद्यालय, वन संकायका डीन प्रा.डा. बलराम भट्ट बताउँछन् । सबै विश्वविद्यालयले सबै विषय अध्यापन गराउने, आंगिक तथा सम्बन्धन दिने गर्दा सबैतिर विद्यार्थीको अभाव देखिएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘अब सरकारले कुनै पनि विषयमा आंगिक तथा सम्बन्धन दिंदा सम्भाव्यता अध्ययन गरेर मात्रै दिनुपर्छ । नभए अहिले जसरी बैंकहरू मर्ज हुँदै गएका छन् त्यसैगरी विश्वविद्यालयहरू पनि मर्ज गर्नुपर्ने स्थिति आउँछ ।’

यो वर्ष माध्यमिक तह (कक्षा १२) को परीक्षामा आधाभन्दा बढी परीक्षार्थी एनजी (नन ग्रेडेड) मा परेका थिए । गत भदौमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजामा कुल परीक्षार्थीको ५१.९० प्रतिशत नन ग्रेडेडमा परेका थिए । जसका कारण पनि उच्च शिक्षामा विद्यार्थीको चाप घटेको र विश्वविद्यालयहरूमा विद्यार्थी संख्या कम हुन गएको छ ।

यस बाहेक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, अध्ययन अनुमति शाखाको अनुसार सन् २०२१ मा ४४ हजार ८१२ ले र सन् २०२२ मा १ लाख २१ हजार ४१९ जनाले अध्ययन अनुमति पत्र लिएका छन् । यस कारण पनि नेपालका विश्वविद्यालयमा विद्यार्थी संख्या न्यून भएको हुनसक्छ ।

कभर स्टोरी
लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?