+
+

नेपाललाई टेष्ट राष्ट्रसँग खेल्ने अवसर

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ चैत ३ गते १८:४०

३ चैत, काठमाडौं । बिहीबार त्रिवि मैदानमा यूएईलाई हराएसँगै नेपालले आउने जुन/जुलाईमा जिम्बावेले आयोजना गर्ने एकदिवसीय विश्वकपको विश्वव्यापी छनोटमा स्थान बनायो ।

यो प्रतियोगिता नेपालजस्ता एशोसिएट टिमका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा टेष्ट मान्यता पाएका टिमहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पनि हो ।

१० टिम सम्मिलित ग्लोवल क्वालिफायरको शीर्ष दुई टिमले आउने अक्टोबर/नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्नेछन् । नेपालले एकदिवसीय विश्वकपका लागि तेस्रोपल्ट विश्वब्यापी छनोट खेल्न लागेको हो ।

एशोसिएट राष्ट्रहरुले टेष्ट टिमसँग खेल्ने अवसर विरलै पाउँछन् । किनभने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिताको वर्गीकरण नै त्यसरी गरेको हुन्छ । नेपालले पछिल्लोपल्ट अघिल्लो संस्करणको एकदिवसीय विश्वकपअघि ग्लोवल क्वालिफायरमा टेष्ट मान्यताप्राप्त टिम जिम्बावेसँग खेलेको थियो । त्यतिबेलाको तुलनामा अहिले अवस्था फरक छ ।

चार वर्षपछि नेपालले जिम्बावेमा पुनः टेष्ट राष्ट्रविरुद्ध आफ्नो क्षमता देखाउने अवसर पाएको छ । यतिबेला जिम्बावेमात्र होइन विश्वकप जितिसकेका अन्य टिमहरुले पनि विश्वव्यापी छनोट खेल्दैछन् ।खेल

श्रीलंका, वेष्ट इन्डिज, दक्षिण अफ्रिका र आयरल्याण्डमध्ये तीन टिमले यसपल्ट विश्वकप छनोट खेल्दैछन् । आयोजक जिम्बावेले पनि छनोट खेल्ने पक्का भइसकेको छ । यी मध्येका नेपालले कम्तीमा पनि २ टेष्ट टिमसँग विश्वकप छनोटमा खेल्ने अवसर पाउनेछ ।

टेष्ट राष्ट्र र नेपाल भन्दा माथिल्लो स्तरका टिम हुने भएकोले शीर्ष दुईमा रहेर विश्वकप खेल्नु नेपालका लागि ठूलै चुनौती हुनेछ । तर, ठूला टिमसँग खेल्नु युवा खेलाडीको लागि एक्पोजर र अनुभवका लागि महत्वपूर्ण अवसर हो ।

विश्वकप छनोटमा आफ्नो समूहमा शीर्ष तीनमा रहन सके नेपालले अरु ठूलो टिमसँग खेल्ने अवसर पाउनेछ । जिम्बावेमा हुने विश्वकप छनोटमा कूल १० टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । एक समूहमा पाँच टिम हुनेछ । दुवै समूहको शीर्ष ३ टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । त्यसबाट शीर्ष दुई टोली अक्टोबर नोभेम्बरमा हुने विश्वकपमा छनोट हेनछ ।

विश्वकप छनोट खेल्ने बाँकी दुई टिमको निर्धारण गर्न यही मार्चको अन्तिममा नामिवियामा विश्वकप छनोट प्लेअफ प्रतियोगिता हुँदैछ । यो प्रतियोगिताको शीर्ष दुई टिमले पनि जिम्बावे भ्रमण गर्नेछन् ।

सुपर लिगबाट आयोजक भारतसहित इंगल्याण्ड, न्युजिल्याण्ड, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, अफगानिस्तान विश्वकपका लागि छनोट भइसकेका छन् । अब वेष्ट इन्डिज, साउथ अफ्रिका, श्रीलंका र आयरल्याण्ड मध्ये एक टिमले सुपर लिगबाट सिधै विश्वकपमा स्थान पक्का गर्नेछ ।

विश्वकप छनोट खेल्ने टिम यसरी छानिन्छन्

आईसीसीले निर्धारण गरेको मार्गअनुसार विश्वकप छनोटमा प्रमुख तीन लिगहरुबाट टिम छानिनेछन् । आईसीसीको १२ वटा पूर्ण सदस्य राष्ट्र र नेदरल्याण्ड्ससहित १३ टिमको सहभागितामा शीर्ष वरीयताको सुपर लिग सञ्चालन भइरहेको छ । यो लिगमा शीर्ष ८ टिम सिधै विश्वकपमा छानिनेछन् । बाँकी पाँच टिमले जिम्बावे भ्रमण गर्नेछन् ।

सन् २०१९ को अगष्टदेखि सुरु भएर हिजो (बिहीबार) सकिएको लिग टूका शीर्ष तीन टिम विश्वकप छनोटका लागि जिम्बाबेमा सुपर लिगबाट आएका पाँच टिममा थपिनेछन् । लिग टूबाट च्याम्पियन स्कटल्याण्ड, दोस्रो भएको ओमान र तेस्रो भएको नेपालले सिधै विश्वकप छनोट खेल्न पाउने भएका हुन् ।
विश्वकप छनोट खेल्ने बाँकी दुई टिमको निर्धारण गर्न यही मार्चको अन्तिममा नामिवियामा विश्वकप छनोट प्लेअफ प्रतियोगिता हुँदैछ । यो प्रतियोगितामा लिग टूको अन्तिम चार स्थानमा रहेका नामिबिया, अमेरिका, यूएई र पपुवा न्युगिनीसहित आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिगमा आआफ्नो समूहमा जित हासिल गरेका क्यानडा र जर्सीबीच प्रतिस्पर्धा हुनेछ । यो प्रतियोगिताको शीर्ष दुई टिमले पनि जिम्बावे भ्रमण गर्नेछन् ।

नेपालले लिग टूमा पछिल्लो एक महिना खेलेको १२ मध्ये अविश्वसनीय ११ जितमार्फत तेस्रो हुँदै विश्वकप छनोट पुगेको हो ।

यसअघि पनि खेलेको थियो विश्वकप छनोट

नेपालले यसअघि पनि दुईपल्ट एकदिवसीय विश्वकपको छनोट खेल्दै आएको छ । तर त्यसबेला र अहिलेको अवस्था फरक छ । आईसीसीले हरेक विश्वकपका लागि फरक तरिकाले छनोट गर्दै आएको छ र हरेक चार वर्षको ‘क्रिकेट साइकल’समेत एकनासको छैन ।

सन् २०१८ मा नेपालले जिम्बावेमै खेलेको थियो । त्यो बेला एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको त्यो प्रतियोगिता महत्वपूर्ण थियो ।

नेपालले टेष्ट राष्ट्र जिम्बावेसँग पनि खेल्ने अवसर पायो । यस्तै नेपालले अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग समूह चरणमा खेल्यो । समूहमा शीर्ष तीनमा पर्न नसके पनि प्लेअफमा पपुवा न्युगिनीलाई हराएर नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

२०१५–१७ को विश्व क्रिकेट लिग च्याम्पियनसिपमा अन्तिम दुई स्थानमा रहेपछि नेपाल डिभिजन टू घटुवा भएको थियो । डिभिजन टू मा शीर्ष दुईमा रहेर विश्वकप छनोटमा पुगेको थियो ।

२०१४ मा पनि नेपालले न्युजिल्याण्डमा विश्वकप छनोट खेलेको थियो । त्यसबेला छनोटमा एसोसिएट राष्ट्रहरु मात्र सहभागी थिए । १० टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो । तर नेपाल आफ्नो समूहमा स्कटल्याण्ड हङकङ युएई र क्यानडासँग पराजित हार्दै अन्तिममा रह्यो । यो असफलताले नेपालले नजिकै आएको एकदिवसीय मान्यताको सम्भावनालाई पनि गुमाएको थियो ।

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने सम्भावना

नेपालले टेष्ट राष्ट्रमात्र होइन यसै वर्ष विश्व क्रिकेटका महारथी टोलीहरु भारत र पाकिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउने अवसर र सम्भावना पनि छ । सेप्टेम्बरमा हुने एसिया कप खेल्नका लागि नेपालले घरेलु भूमिमा आयोजना हुने एउटा प्रतियोगिता जित्नुपर्छ ।

आउने वैशाख ११ देखि २५ सम्म एसीसी प्रिमियर कप प्रतियोगिता नेपालमै आयोजना हुँदैछ । १० टिम सम्मिलित सो प्रतियोगिताको उपाधि जितेमा नेपालले एसिया कप खेल्न पाउनेछ ।

यो प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा बाँडिएको छ । समूह १ मा नेपालसँगै साउदी अरव, कुवेत, कतार र यूएई छन् । समूह २ मा बहराइन, ओमान, मलेसिया, हङकङ र सिंगापुर छन् । दुवै समूहका शीर्ष दुई टिम सुपर चारमा पुग्नेछन् । यो प्रतियोगिताको विजयी एउटा टिमले एसिया कप खेल्नेछ ।

एसिया कपमा समूह विभाजन भइसकेको छ । एसीसी प्रिमियर कपको विजेतालाई भारत र पाकिस्तानले समूह एमा कुरिरहेका छन् । समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?