+
+

‘ढाँटेर दिल्ली पुगें, १५ दिन भौंतारिएर नेपाल नै फर्किएँ’

वात्स्यायनले सम्झे कला पढ्ने हुटहुटीले खाएकाे हण्डरठक्कर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ४ गते १९:०७

४ चैत, पोखरा । नेपाली व्यंग्यकलाका नामुद कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लाई पोखराका करिब ३ दर्जन संघसंस्थाले शनिबार रथारोहण तथा अभिनन्दन गरे ।

८० औं जन्मदिनका अवसरमा ६ दशकभन्दा बढी नेपाली कला क्षेत्रमा समर्पित बराललाई अभिनन्दन गर्दै पोखराका साहित्यिक, सांस्कृतिक, सामाजिक संघसंस्थाले स्रस्टा जीवितै रहँदा सम्मान गर्ने परम्पराको इँटा थपेका छन् ।

पञ्चायती व्यवस्थाको विरुद्धदेखि प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि बरालले प्रस्तुत गर्ने चोटिलो व्यंग्य कलाले पनि योगदान पुर्‍याएको साहित्यकार सरुभक्त बताउँछन् । ‘पानी रङको विद्यालय’का रुपमा पोखरालाई चिनाउने नेतृत्वकर्ता बरालको अभिनन्दनमा सयौं कलाकार, साहित्यकार र पोखरेलीले गर्ववोध गरे ।

नाम, पद, प्रतिष्ठा र चर्चाभन्दा परै बस्न रुचाउने बरालले शनिबार आफ्ना सुरुआती संघर्षका दिनमात्र स्मरण गरे । नेपाली ब्यंग्यकला, नाट्य क्षेत्र, पेन्टिङ लगायतमा आफूले प्राप्त गरेको सफलतातिर भन्दा आफ्ना दुखका दिन सम्झिए ।

अभिनन्दन कार्यक्रममा आफूले कला सिक्न आएको हण्डरठक्करका केही प्रसंगहरुमात्र उप्काए र भने, ‘म आज जहाँ छु, जे छु, त्यो सबै पोखराकै देन हो ।’ बरालले आफ्ना संघर्षका सुरुआती दिनलाई जीवनको पहिलो अध्यायका रुपमा प्रस्तुत गरे । दोस्रो अध्यायको चर्चा र सफलताको होइन, दुख र संघर्ष, कला सिक्ने हुटहुटीले गरेको भागदौड र किस्साहरुलाई बरालले यसरी स्मरण गरे ।

****

बिहान बिहान जब म नदीपुरदेखि विन्ध्यबासिनी सेरोफेरोमा मर्निङ वाकमा निस्कन्छु । मोहोरिया टोलमा पुरानो सुनचाँदी पसलको छानोमाथि अड्याइएको एउटा होर्डिङ बोर्ड देख्छु । त्यो पनि सायद ४०/५० वर्ष अगाडिको बोर्ड कता कता कान्तिविहीन भएजस्तो, त्यसले मेरै प्रतिबिम्बको रुपमा देख्छु ।

त्यो बोर्डले मलाई इगल आई आर्ट स्टुडियो सम्झना गराउँछ । इगल आई आर्ट स्टुडियो मेरो कला यात्राको टर्निङ प्वाइन्ट थियो । त्यो स्टुडियो स्थापना पहिलेको अवस्थालाई जीवनको पहिलो खण्ड र त्यसपछिको अवस्थालाई दोस्रो खण्ड भन्ने गरेको छु ।

पहिलो खण्ड मेरो जीवनको प्रारम्भिक काल हो । जहाँ जन्में आर्बा गाउँ, त्यहाँ म ३ वर्षको छँदा आमा बित्नुभयो । आमा बितेपछि म बुढी फूपूको शरणमा गएँ । पालीसहितको फूपूको २ पाखे सानो घर थियो । घरभित्र सबै चिज भने व्यवस्थित गरेर राखिएको थियो ।

अगेना, आडैमा चौको बनाएर, सुत्ने ठाउँ थियो । अगेना उत्तरतर्फ मण्डला, कमेरोले पोतिएको हुन्थ्यो । बीचमा माटोको टुकी बालिन्थ्यो । जब साँझ पर्छ, तब माटोको टूकी बालिन्थ्यो र त्यसले चौकोस अर्थात मण्डला जीवन्त बन्थ्यो । म अगेनाको डिलमा बसेर मण्डला हेर्छु, बडो आकर्षक लाग्थ्यो । त्यो मण्डलाले दिएको सौन्दर्य चेतले नै म चित्रकलामा लागें भन्ने लाग्छ ।

पढाइमा मेरो त्यति ध्यान जाँदैनथ्यो, चित्र कोर्नेतिरमात्र मन जान्थ्यो । गाउँमा सामान्य शिक्षा लिँदै गर्दा मलाई फूपूले पोखरा नदीपुर मावलीमा छोडिदिनु भयो । मामाघरमै बसेर मेरो शिक्षा, दीक्षा भयो ।

म क्याम्पसमा बायोलोजी लिएर साइन्स पढें । साइन्सलाई त्रिविले स्वीकृति दिएन र साइन्स छोड्न बाध्य भएँ । गुरुआमा एलियामा जोनले यति राम्रो आर्ट गर्ने मान्छे किन साइन्स लिएर पढेको ? फ्रान्सबाट स्कलरसिप आउँछ कला विषयमा अध्ययन गर्न, पाकिस्तानले पनि खुलाएको हुन्छ, अप्लाई गर भन्नुभयो ।

मेरो चाहना पनि कला नै पढ्ने थियो । मलाई लाग्यो, कला पढ्न काठमाडौं जानुपर्छ । त्यसपछि म कुन उपायले काठमाडौं जाने भनेर दिनरात हुन थालें । छटपटी मभित्र पैदा हुन्थ्यो । त्यो बेला तेर्सापट्टीमा मलेरिया, औंला उन्मुलनको अफिस थियो । त्यहाँ स्टोर किपरको काम गरेर केही पैसा जम्मा गरें ।

त्यही पैसा लिएर म काठमाडौं पढ्न गएँ । १६ सालमै मागी विवाह भयो । विवाहको ३ वर्षसम्म पनि हाम्रो बोलचालै थिएन । म अत्यन्त लजालु मान्छे थिएँ । जब म काठमाडौं गएर बसें, उनी पनि औंलो उन्मुलन तालिमका लागि काठमाडौं आइन् । २ जना सँगै बसियो ।

काठमाडौं बस्न थालेकाले मसँग पैसा सकिइसकेको थियो । मसँग पैसा नै भएन । त्यसमाथि श्रीमतीलाई पनि पाल्नुपर्ने भयो अनि समस्या आयो । अब काठमाडौंमा काम छैन, काम नभएपछि पैसा हुने कुरा पनि भएन ।

म पोखरा जान्छु, तिमी तालिम सकेर पोखरा फर्क भनें । तर, पोखरा फर्किने पैसा छैन । पोखरा जाने मान्छेलाई खबर पठाएँ, भानिज पोखरा आउँछन्, पैसा पठाइदिनु भनें, ७५ रुपैयाँ चाहिन्थ्यो प्लेनको भाडा ।

मायाले पठाइदिएको पैसा हात पर्‍यो, अनि फेरि यसो सोचें, पढ्न भनेर आएको केटो, पढ्न पाकिस्तान जाने भनेर आएको मान्छे फेरि पोखरा फर्किन त अलि भएन कि जस्तो लाग्यो । काठमाडौंमा दिल्लीमा एक जना मान्छेले सिलाइको पसल राखेका थिए ।

त्यो पसलेले दिल्लीमा कलासम्बन्धी ठूल्ठूला विश्वविद्यालय छ, त्यहाँ छात्रवृत्ति पनि दिन्छ, तपाईं त्यहीँ जानुस् भन्यो । पोखरा फर्किन मामाले पठाइदिएको पैसा लिएर दिल्लीतिर जान मन लाग्यो । फेरि जहान त मसँग छ, उनलाई ढाँटे र भनें, म पोखरा जाँदै छु ।

पोखरा फर्किनै मन भएन र दिल्ली गएँ । १५ दिनजति दिल्लीमा भौंतारिएँ । एक जना प्रकाश भन्ने पेन्टर थिए । उनले तपाईं दिल्लीमा नबस्नुस्, यहाँ टफ कम्पिटिसन हुन्छ भने । तपाईंलाई यहाँ बस्न गाह्रो छ, नेपाल सानो देश हो, त्यहाँ जे कुरा गर्न पनि सजिलो हुन्छ, नेपाल नै फर्कनुस् भने ।

उसैले रक्सौलसम्मको टिकट काटेर पठाइदियो । थोरै केही पैसाले जसोतसो काठमाडौं उत्रिएँ, फेरि मसँग एक पैसा पनि थिएन । एउटा सानो टिनको बाक्सा थियो, त्यो लिएर खिचापोखरी ओर्लिएँ । त्यहाँ एक जना चिनेको मान्छे थिए । मसँग पैसा छैन, एक रात बस्न दिनहुन्छ भनेर सोधेपछि उनले हुन्छ भने ।

भोलिपल्ट डेरा खोज्न हिँडें । ५/७ दिन काम खोज्दै भौंतारिएँ । एक जना रामकुमार श्रेष्ठ भन्ने हुनुहुन्थ्यो । उहाँसँग पहिले पनि छोटो परिचय थियो । मैले बेलिबिस्तार लगाएँ । अनि उनले भनें, काम नपाउञ्जेल हामी कहाँ नै बस्नु, हामी नै खुवाएर राख्छौं तर तपाईंले काम खोज्नुपर्छ भने । उनका साथी जनक शिक्षा सामग्री केन्द्रका ड्राइभर थिए ।

उनैले जनक शिक्षामा लिएर गए र हाकिमसँग भेटाइदिए । अनि मैले किताबमा चित्र बनाउने काम पाएँ । जनक शिक्षा सामाग्री केन्द्रबाटै म जापान पनि पुगेँ । जापानबाट फर्केपछि काठमाडौंमा बस्न मन लागेन, उकुसमुकुस महसुस गरें ।

२५ वर्ष पुगिसकेको थिएँ, ललित कला पढ्न २५ वर्ष कटेपछि नपाइने भयो । तर, जनक शिक्षामा काम गर्दा मलाई के फाइदा भयो भने लैनसिंह बाङ्देल, बालकृष्ण सम, अमर चित्रकारहरुसँग भेट्ने, एउटै संस्थामा बस्ने उनीहरुका विचारहरु सुन्ने र सिक्ने अवसर मिल्यो ।

कला पढेरमात्र हुँदैन, स्कुलले त टेक्निकमात्र सिकाइदिने हो तर साधना त आफैंले गर्ने हो बुझाइमा पुगेको थिएँ । अनि म पोखरा फर्किएँ । पोखरा फर्केर केही समय फोटोग्राफीमा गरें । त्यसपछि इगल आई आर्ट स्टुडियो खोलें । यो नै मेरो जीवनको पहिलो अध्ययन हो, खण्ड हो ।

आर्ट स्टुडियोबाटै पोखराका धेरै जना साहित्यकारसँग मेरो भेट भयो । पोखरामा पोखरेली युवा सांस्कृतिक परिवार गठन र यसलाई कसरी माथि उठाउने भन्ने छलफल हुन्थ्यो । ३ वर्षमा आमा गुमाएकाले पनि होला, जब म पोखरामा आउँछु, आमाको काखमा आएजस्तो लाग्छ ।

आर्ट स्टुडियोमा साधना गरेर २०४० सालमा ‘चोक र तमसुक’ प्रदर्शन गरें । मैले बनाएका पेन्टिङहरुमा मलाई नै सबैभन्दा बढी मन परेको र सन्तुष्टि मिलेको सिर्जना नै त्यही थियो । त्यसमा चर्चा पनि प्रशस्त भयो । धेरै कलाप्रेमीहरुले के भन्थे भने, नेपालमा सामाजिक विषयवस्तुलाई अभिव्यक्त गर्ने चित्र भनेको चोक र तमसुक हो ।

दिल्लीमा ठूलो प्रदर्शनी थियो, ५०/६० भन्दा बढी देशका कलाकारहरुले भाग लिँदा नेपालको प्रतिनिधित्व गर्दै त्यहाँ गएको थिएँ । त्यो प्रदर्शनी हेरेपछि मलाई के लाग्यो भने हरेक कलामा आफ्नो मौलिक परिचय हुनुपर्ने रहेछ ।

नेपाली कार्टुनका क्षेत्रमा होस् वा अरु कलाको क्षेत्रमा, मैले जे जति काम गरें, जे जति उपलब्धि हासिल गरें, त्यो सम्पूर्ण पोखराकै देन हो । सुरुमा कलाको क्षेत्रमा लाग्दा नितान्त रहरले लागेको हुँ । तर, यो रहर थुप्रै अरुको पनि बनेछ र प्रशंसा गर्नुभयो, त्यसका लागि मैले सौभाग्य ठानेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?