+
+
ब्लग :

नेतृत्व लिनुपर्ने युवाशक्ति नै राजनीतिबाट किन बिच्किंदैछन् ?

नेपालमा राजनीति तथा त्यसका संरचनाले युवा जनशक्तिलाई उपेक्षा गरेको छ, त्यसैको प्रतिक्रियामा युवा जनशक्तिले पनि राजनीतिलाई उपेक्षा गरेको छ । यो अवस्था नेपालमा विद्यमान समस्या हल गर्ने र मुलुकको विकास एवं समृद्धिको सवालमा ठिक होइन ।

बालगोपाल थापा बालगोपाल थापा
२०७९ चैत ७ गते १२:४१

ठेलामा चिया बेच्ने वीरगञ्जका ४८ वर्षीय राजेश लामाको दिमागमा राजनीतिलाई लिएर प्रश्नै प्रश्न थुप्रिएको रहेछ । उनी एक सासमा भन्छन्, ‘हिजो हामीले संघर्ष गर्‍यौं, आन्दोलनमा सहभागी भयौं । प्रहरीको लाठी खायौं । थुनामा पर्‍यौं । जेलमा यातना भोग्यौं । टाउको फुट्यो ।

हात भाँच्चियो । कतिपय साथीहरूको शरीरका विभिन्न अंगमा अहिले पनि गोलीका छर्रा छन्, ह्वील चेयर लिई हिंड्नु परेको छ, परिवार र समाजबाट बहिष्कृत पनि छन् । अब पनि राजनीतिमा लाग्नुको कुनै औचित्य छ ? राजनीतिमा किन लाग्ने ? केका लागि लाग्ने ? कसका लागि लाग्ने ?’

व्यवस्था बदल्न आफ्नो पनि योगदान रहेकोले बाँचुञ्जेल यसको पक्षमा र यसको रक्षाको लागि मतदान गर्ने अठोट भने उनीसँग छ । ‘समाजको प्रगतिशील रूपान्तरण र नागरिक अधिकार, स्वतन्त्रता, न्याय र समानताकै लागि हो भनेर व्यवस्था परिवर्तन भए । सरकारहरू बदलिए, थुप्रै नेता सत्तामा पुगे, पटक–पटक एउटै व्यक्ति पनि पुगे तर समाज फेरिएन, राष्ट्र र जनताको अवस्थामा कुनै परिवर्तन आएन किन ?’ उनी सोध्छन् ।

००० ०००

वीरगञ्जमै प्लस टु अध्ययनरत राजेश साहलाई राजनीतिमा युवालाई प्रयोग मात्रै गर्ने गरिए झैं लाग्छ । ‘राजनीतिमा युवा विद्यार्थीलाई प्रयोग मात्रै गर्छन्, सबै नेता तथा पार्टीहरूले सत्तामा पुगेपछि हाम्रो भूमिकालाई बिर्सने काम गरे’, उनी भन्छन् ।

स्थानीय निकायको निर्वाचनमा सहभागी जितेन्द्र पासवानको अनुभव पनि फरक छैन, ‘एक त निर्वाचन महँगो छ, राजनीति धनीले लड्ने र सबैभन्दा धनीले जित्ने खालको भयो ।’ गरिब त्यसमा पनि दलित भएर चुनाव जित्न असम्भव जस्तो रहेको उनको बुझाइ छ । ‘निर्वाचनमा आफैंसँग हिंड्ने साथी दलितलाई जिताएर के हुन्छ ? हामी गैरदलितले उसलाई नमस्ते गर्ने ? भन्छन् । यस्तो अवस्थामा हामीले कसरी राजनीति गर्ने ?’

००० ०००

युवा प्राध्यापक रेनु झालाई लाग्छ, ‘नैतिकताविहीन राजनीतिमा किन लाग्ने ? जुन ठाउँमा नेता र सिद्धान्त बिक्दछ, त्यस्तो राजनीति किन गर्ने ? नेताहरूले थुपारेको अकूत सम्पत्ति र अपारदर्शी जीवनशैली हेर्नुस् ।

बोलेको पूरा नगर्ने, झूटको खेती गर्ने मात्रै नेता छन् । यस्तो राजनीति हामी कसरी गर्न सक्छौं ? राजनीतिमा पद प्राप्तिको लागि मरिहत्ते गर्ने, पद पाएपछि छोड्दै नछोड्ने, बाँचुञ्जेल सत्तामा बस्न चाहने, पद नै सबैथोक ठान्ने प्रवृत्ति हावी छ ।’

युवा पत्रकार मनोज पटेलको प्रतिक्रिया पनि फरक छैन । उनी भन्छन्, ‘यस्तो राजनीति हामीले किन गर्ने ?’

००० ०००

सामाजिक अभियन्ता रोजिना श्रेष्ठलाई राजनीति शब्दप्रति नै वितृष्णा छ । उनी राजनीति गर्न आफूसँग समय नै नभएको बताउँछिन् । उनलाई लाग्छ राजनीति काम नलाग्ने फोहोरी खेल हो, जुन पैसाका लागि खेलिन्छ । राजनीतिमा चासो दिनुको साटो आफ्नो व्यवसाय गर्ने र सामाजिक काममा रमाउन उनलाई मन पर्छ ।

रामेश्वर साह तेलीलाई लाग्छ, ‘हिजो शिक्षाको कमी थियो, अहिले मधेशमा पनि शिक्षाको विकास भएको छ, सँगसँगै चेतनामा पनि विकास भएको छ । पार्टी र नेताहरूले हिजो राजनीतिमा युवाहरूलाई आफ्नो सत्ता स्वार्थमा प्रयोग गरिएको यथार्थतालाई आज राम्ररी बुझ्ने भएका छन् । राजनीतिलाई सत्ता प्राप्तिको औजार बनाएका छन् ।’

वैकल्पिक नेतृत्वको खोजी

देशमा अहिले देखिएका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समस्या र संकटको कारण राजनीति नै हो । यहाँको राजनीति आफंैमा कमजोर, अस्थिर र थिलथिलो अवस्थामा छ ।

देशको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका विवादमा तानिएका छन् । शान्ति, सुरक्षा, जन–जीविका सबै पक्ष अन्योलग्रस्त छ । प्रश्नचिह्नको घेरामा उभिएको छ । मुलुक यो अवस्थामा पुग्नु पछाडिको कारण राष्ट्रिय, सशक्त अग्रगामी चिन्तन भएका नेतृत्वको अभाव नै हो । पुरातनपन्थी चिन्तन र व्यवस्थापनले वर्तमान गतिशील, आधुनिक परिवेश र प्रविधियुक्त समाजको नेतृत्व गर्न सक्दैन ।

त्यसैले विद्यमान समस्याको समाधानसँगै त्यसको नेतृत्व गर्नसक्ने ‘वैकल्पिक शक्ति’ को खोजीमा छ वर्तमान नेपाल । त्यो वैकल्पिक नेतृत्व भनेको युवा जनशक्ति नै हो । तर नेपालका युवा राजनीतिप्रति आकर्षित छैनन् । चासो पनि कमैले मात्र राख्छन् ।

हिजो नेपालमा युवा, विद्यार्थी, महिला, दलित, आदिवासी समुदायले राजनीति गर्नुहुँदैन । राजनीति गर्र्ने, राज्य सञ्चालन गर्ने काम उनीहरूका लागि होइन भनियो । यसरी राज्यको ठूलो हिस्सालाई नेपालका शासकहरूले राजनीतिबाट टाढा राखे । आफ्नो राजनीतिक सत्ता स्वार्थका लागि परिवर्तनकारी युवा जनशक्तिलाई राजनीतिबाट टाढा राखे, महिला, दलित आदिवासी जनजाति, अल्पसंख्यक, मुस्लिम समुदायलाई माथि उठ्न दिएनन् ।

यथास्थितिको अवस्थालाई परिवर्तन गर्न स्वयंले (नेतृत्वले) आफ्नो विचार र कार्यशैलीलाई परिवर्तन गर्न सक्नुपर्दछ । तर ती पुरातनपन्थी नेतृत्वले आफूलाई परिवर्तन गर्नुपर्ने यथार्थतालाई मनभित्रैबाट स्वीकार्न सकिरहेका छैनन् । किनभने परिवर्तन उनीहरूका लागि फुटबलमा हुने आत्मघाती गोल जस्तै हो ।

राजनीति वर्गीय हुने गर्दछ । राज्यले सत्तासीन वर्गको मात्र हित रक्षा गर्ने काम गर्दछ । यस्तो अवस्थामा राजनीति भनेको हुने–खाने वर्गको मात्र हो भन्ने छाप युवा जनशक्तिमा पर्न गयो । यसबाट मुलुकको एक ठूलो हिस्सा, हुँदा खाने वर्ग राजनीतिबाट टाढा हुँदै गयो । स्वाभाविक रूपमा आज नेपालको राजनीतिमा युवा जनशक्तिको उपस्थिति र भूमिकाको अभाव छ ।

राजनीति गर्ने, राजनीतिक शक्तिमा रहने, सत्तामा लामो समय रही राजनीति गर्ने नेतृत्वहरूले कहिल्यै पनि वैकल्पिक राजनीतिक नेतृत्वलाई जन्माएनन् र जन्माउन पनि चाहेनन् । त्यसैले पनि युवा जनशक्तिका लागि राजनीति रुचिको विषय भएन । किनभने राजनीति भनेको सत्ता स्वार्थ, सुविधाभोगी, अवसरवादी र अर्थवादीहरूको लागि मात्र हो भन्ने भयो । सेवा, राष्ट्र र जनहित हो भन्ने भएन । राजनीति स्वार्थ र उपभोक्तावादको मात्र विषय भयो ।

राजनीतिमा नेताका युवा पुस्ताहरू खै ? कहाँ कति छन् ? नेताहरूका सन्तान राजनीतिमा ? उनीहरू त व्यापार, व्यवसाय, जागिर गरिरहेका छन् । कसैको विदेशमा छन्, कसैका सन्तान ठूल्ठूला आयमूलक पदहरूमा, एनजिओ, आईएनजिओमा छन् । कोही सत्ता दुरुपयोग गरी दलाली गर्ने मध्यस्तकर्तामा, ठेकेदारी जस्ता धन्दामा छन् । राजनीतिमा खै कहाँ छन् ?

हालको संकटग्रस्त नेपालको समस्याहरू समाधान गरी एक समृद्ध मुलुक बनाउन युवा जनशक्तिको खाँचो महसुस गरिंदैछ । त्यसैले पनि होला नेपालको राजनीतिक वृत्तमा हस्तान्तरण र पुस्तान्तरणको जोडदार आवाज उठिरहेको छ । सक्षम र योग्य युवा नेतृत्वको खोजी भइरहेको छ ।

राजनीतिमा हिजोे गगन थापा र रामकुमारी झाँक्रीहरूको चर्चा हुन्थ्यो भने आज रवि लामिछाने, मेयर हर्क साम्पाङ र बालेन्द्र साह (बालेन) जस्ताको माग भइरहेको छ । यसो हुनुको कारण नेपालको वर्तमान अवस्थामा पुराना विचार र सोचले नेतृत्व गर्न सक्दैन । मुलुकमा देखा परिरहेका जटिल समस्याको समाधान पनि गर्न सक्दैन ।

प्रविधिमैत्री नयाँ सोच, नयाँ नेतृत्व

यथार्थमा भन्ने हो भने यी जडतावादी, पुरातनपन्थी, शास्त्रीय सोचले आजको युगलाई नेतृत्व गर्न सक्दैन । समस्याको समाधान र व्यवस्थापन पनि गर्न सक्दैन । परिवर्तनकारी युवा जनशक्तिका नेतृत्व र तिनका अग्रगामी सोचहरूलाई स्वीकार्न पनि सकिरहेका छैनन् ।

भन्नुको तात्पर्य ती पुरातनपन्थी सोचहरूले मुलुकलाई यथास्थितिमा नै बाँधिराख्न चाहिरहेका छन् । मुलुकको विकास र समृद्धि चाहिरहेका छैनन् । तर मुलुकले परिवर्तन खोजिरहेको छ । अग्रगामी सोच सहितका नयाँ युवा नेतृत्वलाई खोजिरहेको छ ।

यथास्थितिको अवस्थालाई परिवर्तन गर्न स्वयंले (नेतृत्वले) आफ्नो विचार र कार्यशैलीलाई परिवर्तन गर्न सक्नुपर्दछ । तर ती पुरातनपन्थी नेतृत्वले आफूलाई परिवर्तन गर्नुपर्ने यथार्थतालाई मनभित्रैबाट स्वीकार्न सकिरहेका छैनन् । किनभने परिवर्तन उनीहरूका लागि फुटबलमा हुने आत्मघाती गोल जस्तै हो ।

विकास र परिवर्तनलाई कसैले चाहेर पनि रोक्न सक्दैन । समृद्धि र विकासका लागि युवा जनशक्ति आजको आवश्यकता हो । युवा भनेको युगको वाहक हो, परिवर्तनको संवाहक हो । युवाको मापन उमेर र तागत नभई चेतना र क्षमताको हिसाबले हुनुपर्दछ । जसको चेतनाले नेतृत्व गर्न सकोस् र क्षमताले व्यवस्थापन । अहिलेको आवश्यकता चेतना सहितको क्षमतायुक्त व्यवस्थापन गर्न सक्ने युवा जनशक्ति हो ।

दैनिक बेचिन्छन् युवा जनशक्ति

आज नेपालमा युवा जनशक्तिको अभाव छ; त्यसमा पनि दक्ष, शिक्षित, प्राविधिक र क्षमतावान युवा नाम मात्रका छन् । ६० प्रतिशतभन्दा बढी युवा जनशक्ति खाडी मुलुकमा आफ्नो श्रम बेचिरहेका छन् ।

१० प्रतिशत युवाहरू उच्च शिक्षा अध्ययनको नाममा युरोप, अमेरिका, अष्ट्रेलियामा श्रम बेच्न बाध्य छन् । युवा चेली–बेटीहरू पनि कामको खोजीमा, श्रम बेच्ने नाममा खाडी र अफ्रिकन मुलुकहरूमा कतिपय बन्धक बनाइएका छन् । कतिपय यौन शोषणको शिकार भई आफ्नो शरीर बेच्न बाध्य भएका र पारिएका छन् । १०–१५ प्रतिशत युवायुवती भारतका विभिन्न शहरमा जीविकोपार्जनका लागि मजदूरी गरी जीवन बिताइरहेका छन् ।

हिमाल र पहाडी क्षेत्रमा वृद्ध आमाबुवाहरूको मृत्यु हुँदा लाश उठाउन युवाको हात छैन । कारण नेपालमा रोजगार छैन, सानातिना व्यवसाय गर्न पूँजी छैन, गाउँका धनीमानीले ऋण दिई मिटर ब्याजमा भएको घर र बारी पनि उठीवास बनाइरहेका छन् ।

गाउँघरमा सञ्चालित साना बैंक र विभिन्न वित्तीय संस्थाहरूसँग लिएको ऋण समयमा तिर्न नसकी घरवारविहीन मात्र नभई कारागारमा बन्दी जीवन बिताउन र आत्महत्या गर्न बाध्य पारिएको अवस्था छ । सम्पत्तिको नाममा बाँकी रहेको श्रम बेच्न विदेशिनु परिरहेको छ ।

गाउँघरमा सञ्चालित साना बैंक र विभिन्न वित्तीय संस्थाहरूसँग लिएको ऋण समयमा तिर्न नसकी घरवारविहीन मात्र नभई कारागारमा बन्दी जीवन बिताउन र आत्महत्या गर्न बाध्य पारिएको अवस्था छ । सम्पत्तिको नाममा बाँकी रहेको श्रम बेच्न विदेशिनु परिरहेको छ ।

राज्यले सञ्चालन गरेका उद्योगधन्दा, कलकारखाना बन्द गरिएका छन् । निजी क्षेत्रले खोलेका उद्योगहरू रुग्ण अवस्थामा छन् । कानुनले उत्पादनमूलक कल–कारखानालाई निरुत्साहित बनाएको छ, नेपालमा पर्याप्त कच्चा पदार्थ छैन । अर्थतन्त्र आयातमुखी छ, निर्यात छैन । यस्तो अवस्थामा सरकारले आफ्नो अर्थतन्त्र टिकाउन, राजस्व जुटाउन म्यानपावरको नाममा मानव शक्ति, श्रम र नेपाली जनतालाई बेच्ने वैधानिक लाइसेन्स दिने काम गरेको छ ।

बीबीएस पास गरेर पासपोर्ट बनाउने लाइनमा उभिएका युवा मनिष अर्याललाई पासपोर्ट किन ? भनी सोध्दा उनी उल्टै प्रश्न गर्छन् । ‘म घरको एक्लो छोरा, सम्पत्तिको नाममा गाउँमा २ कट्ठा घडेरी र खपडाको घर छ । रोजगारी छैन, व्यापार गर्न मसँग पैसा छैन । बैंकले हामीलाई पत्याउँदैन, सरकारले रोजगारी दिंदैन, देशमा आफ्नो सोर्स–फोर्स चल्दैन । विदेश नगएर म के गरुँ त ?’

उनी यत्तिकैमा रोकिंदैनन् । ‘सरकारले नै विदेश जा, कमाएर खा, बाँचे देश चलाउन रेमिट्यान्स पठा, मरे बाकसमा आइज भन्छ । सरकारले नै कहिले कोरिया पठाउँछ । आफूलाई बेच्न पासपोर्ट बनाउन आएको हुँ म !’

परिवर्तनकारी शक्तिले नै नेतृत्व

त्यसो त नेपालको राजनीतिक व्यवस्था पटक–पटक परिवर्तन भएको छ । क्रान्ति, आन्दोलन, जनआन्दोलन, मधेश आन्दोलन, माओवादी युद्धहरू भए, त्यसमा युवाको भूमिका महत्वपूर्ण छ । व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था भने परिवर्तन भएन ।

ध्यान दिनुपर्ने कुरा– परिवर्तनको लागि आन्दोलनमा जीवन दिन उद्यत शक्ति युवापुस्ताले परिवर्तित व्यवस्थाप्रति चाख नराख्नु, परिवर्तन पश्चात कायम भएको व्यवस्था र अवस्थाका चुनौतीहरूको सामना गर्ने र नेतृत्व गर्ने युवा शक्तिहरू गौण हुनु गम्भीर समस्या हो ।

मान्यता के हुनुपर्ने हो भने; परिवर्तनकारी शक्तिले नै परिवर्तित परिस्थितिको नेतृत्व गर्नुपर्ने हो । यसो भएमा मात्र जनता र राज्यले परिवर्तनको आभास गर्न पाउँछ । नेपालमा राजनीति तथा त्यसका संरचनाले युवा जनशक्तिलाई उपेक्षा गरेको छ, त्यसैको प्रतिक्रियामा युवा जनशक्तिले पनि राजनीतिलाई उपेक्षा गरेको छ । यो अवस्था नेपालमा विद्यमान समस्या हल गर्ने र मुलुकको विकास र समृद्धिको सवालमा ठिक होइन ।

राजनीतिक दलहरूले आफ्ना पार्टीका नर्सरी युवा, विद्यार्थी, महिला, दलित, आदिवासी, युवा, किसान, मजदुरको संगठनलाई पुनर्जीवित गर्ने, निर्माण गर्ने, परिचालन गर्ने, हुर्काउने, प्रशिक्षित गर्ने गर्नुपर्छ । यसरी राजनीतिमा युवाको राष्ट्रिय आवश्यकतालाई पूर्ति गर्न सकिन्छ ।

राजनीतिमा अवसरवाद, नातावाद, कृपावाद, परिवारवाद, अर्थवाद हावी छ । हाम्रो पालो कहिले आउने ? युवालाई अवसर दिन नचाहने, सत्तामा आफैं मात्र बस्ने, बसिरहन चाहने, पटक–पटक बसिरहने, स्वास्थ्य खराब भए पनि सत्तामै टाँसिइरहनुपर्ने प्रवृत्ति राजनीतिमा हावी रहँदासम्म राजनीतिमा युवाको प्रवेश न्यून रहन्छ ।

जसरी आर्थिक सुरक्षाका लागि करको दायरा बढाउनु राम्रो मान्यता हो भने मुलुकको राजनीतिक सुरक्षाका लाागि युवाको आकर्षकको दायरा ठूलो र फराकिलो बनाउनु । युवामा पलाएको राजनीतिप्रतिको नकारात्मक सोच परिवर्तन हुन जरूरी छ । अन्यथा राजनीतिमा कायम भएको युवा जनशक्तिको रिक्त स्थान दलाल, नोकरशाह, पूँजीपति, बिचौलिया, तस्कर, फटाहाहरूले लिन्छन् । अनि समस्या जस्ताका तस्तै । तत्पश्चात् विरोध र आलोचनाको औचित्य के ?

ठूलो फराकिलो दायराबाट राजनीतिक दलभित्र गणेश प्रवृृत्तिको भन्दा राष्ट्रिय राजनीतिमा नेतृत्व गर्न सक्ने, नेतृत्वमा हस्तक्षेप गर्न सक्ने, नीति निर्माणमा निर्णायक भूमिका निर्वाह गर्न सक्ने युवा नेतृत्व आजको आवश्यकता हो । नेतृत्वले पनि आफ्नो राजनीतिक दास होइन, प्रश्न गर्न सक्ने, नेतृत्वमा हस्तक्षेप गर्न सक्ने, दलभित्रका गैरदलीय प्रजातान्त्रिक विचार र पद्धति विरुद्ध अग्रगामी र समाजवादको पक्षमा लड्न र उभिन सक्ने युवा आजको राष्ट्रिय आवश्यकता हो ।

जनता र राष्ट्रका समस्यालाई बुझ्न सक्ने, उठान गर्न र पक्षमा लड्न सक्ने युवा नेतृत्वले उत्पादन, रोजगार र परिवर्तनको पक्षमा संघर्ष गर्न सक्नुपर्छ । ज्येष्ठ नागरिकलाई पार्टीको नेतृत्वमा थुपारेर न पार्टी बलियो बनाउन सकिन्छ न राष्ट्रिय नेतृत्व नै गर्न सकिन्छ ।

त्यसैले राजनीतिक दलहरूले आफ्ना पार्टीका नर्सरी युवा, विद्यार्थी, महिला, दलित, आदिवासी, युवा, किसान, मजदुरको संगठनलाई पुनर्जीवित गर्ने, निर्माण गर्ने, परिचालन गर्ने, हुर्काउने, प्रशिक्षित गर्ने गर्नुपर्छ । यसरी राजनीतिमा युवाको राष्ट्रिय आवश्यकतालाई पूर्ति गर्न सकिन्छ ।

प्राध्यापन पेशामा लामो समयदेखि सक्रिय लेखक नेकपा एकीकृत समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?