+
+
ब्लग :

त्रिवि क्रिकेट मैदानमा नेपालको जितले ढाकेको त्यो दु:खद् पक्ष

छिट्टै आफ्नै घरेलु मैदानमा ठूला–ठूला राष्ट्रसँग खेल्ने सपना देख्ने हामी दर्शक र फ्यानहरूले आफ्नो खेल भावना र चेतनाको स्तर चाहिं बढाउनु पर्छ कि पर्दैन ? आफैंमा प्रश्न गरौं।

अध्यात्म सुवेदी अध्यात्म सुवेदी
२०७९ चैत ९ गते १३:३१

गत विहीबार कीर्तिपुरस्थित टियु मैदानमा आईसीसी क्रिकेट लिग अन्तर्गतको अन्तिम र रोमाञ्चक खेलमा नेपालले यूएईलाई हराउँदै सन् २०२३ को विश्वकप छनोट चरणमा आफ्नो सिट सुरक्षित बनायो।

यो जित नेपाली क्रिकेट इतिहासमा एक महत्वपूर्ण जित थियो र यसको उत्सव पूरा देशले नै मनायो। तर आज म त्यो दिनको जितले ढाकेको केही त्यस्तो पक्षको कुरा गर्दैछु, जसले नेपाली क्रिकेटलाई माया गर्ने फ्यानलाई लज्जित बनाउँछ र खेल आयोजना गर्ने पक्षसामु अनेकौं प्रश्न खडा गर्छ ।

महिला शौचालय र महिलामाथि दुर्व्यवहार

एक दशकअघि कोही महिला टियु मैदानमा नेपालको खेल हेर्न जान असम्भव जस्तै थियो। कारण थियो त्यहाँ खेल हेर्न जाने दर्शक र उनीहरूको व्यवहार। तर आजको दिनमा स्थितिमा केही सुधार भएको छ तर गर्व गर्न लायक छँदैछैन।

क्रिकेट संघ नेपाल (क्यान)ले चोभार इन्डतर्फ पुरुषलाई लक्षित गरेर छुट्टै शौचालय बनाएको थियो। यसैगरी चोभार इन्डतर्फ भएको कमेन्ट्री भवनको मुनि भएको शौचालय महिलाको प्रयोगका लागि छुट्याइएको थियो।

अध्यात्म सुवेदी

शौचालय बाहिर कागजमा महिला प्रिन्ट गरेर टाँसिएको थियो। तर विडम्बना केही पुरुष दर्शकहरू उक्त प्रिन्ट गरेको कागज च्यातेर भित्र प्रवेश गरे। केहीबेरमै त्यो पुरुष शौचालयमा परिणत भयो जबकि पुरुष शौचालय केही कदम मात्र पर थियो। त्यहाँ भएका सुरक्षाकर्मीले त्यो देख्दा देख्दै कुनै कदम उठाएनन्। यसरी बेवास्ता गरे कि त्यहाँ केही भइरहेकै छैन।

हुन त पुरुष दर्शक आफैंले बुझ्नुपर्ने कुरा थियो त्यो। तर त्यति कुरा बुझ्ने चेतना हामीमा रहेनछ भन्दा लज्जित हुनुपर्ने अवस्था छ। आयोजकले पनि गम्भीर भएर त्यो शौचालय व्यवस्थापन गरिदिएको भए हजारौं महिला दर्शक ९ घण्टासम्म शौचालय नगई बस्न पर्दैनथ्यो होला।

केही वर्ष यता महिला दर्शकको लागि टियु मैदान सहज हुँदै गइरहेको देखिन्थ्यो। तर यस खेलमा पनि महिला दर्शक माथि बोतल र अन्य कुरा फाल्ने क्रियाकलाप प्रशस्तै देखियो। अझै दुःखलाग्दो कुरा त प्रहरी सामू यी घटना हुँदा प्रहरी पनि हेरेरै बसिरहेको देखिन्थ्यो। यी घटनाहरू देख्दा लाग्छ कि हामी दिन प्रति दिन हाम्रो चेतनाको स्तर घटाउँदैछौं, कि त हाम्रो समाजमा नैतिक शिक्षाको ठूलो अभाव छ।

सुरक्षाकर्मीको उपस्थिति

क्यानले एकदिन अघि नै टिकटहरू सकिएको जानकारी दिइसकेको थियो। टियु मैदानमा खेल हेर्न २० हजार भन्दा धेरै दर्शक उपस्थित हुने अनुमान सजिलै लगाउन सकिन्थ्यो। खेलको दिन दर्शकको अनुपातमा सुरक्षाकर्मीको उपस्थिति निकै कम देखिन्थ्यो।

सुरक्षाकर्मीले न त भित्र छिर्ने दर्शकको राम्रोसँग व्यवस्थापन गर्न सके, न त पर्खालबाट हाम फालेर छिर्नेलाई नियन्त्रण गर्न सके। हामी भाग्यमानी थियौं कि त्यो दिन कुनै अप्रिय घटना घटेन र नेपालको जितले पनि त्यस किसिमको घटना हुन दिएन। तर परिस्थिति र सुरक्षा व्यवस्था हेर्दा लाग्थ्यो कि टियु मैदानले एउटा ठूलो दुर्घटना कुरिरहेको छ र त्यसमा हाम्रो ध्यान गइरहेको छैन।

टिकटको औचित्य र आयोजकको भूमिका

यस सिरिजमा टिकटको व्यवस्थापन माइ पे एपले गरेको थियो। अन्तिम खेलको टिकट एक दिन अगाडि नै सकिएपछि त्यो दिन धेरै दर्शक आउने अनुमान गर्नु सामान्य कुरा हो। तर टिकट पूर्ण रूपमा बिक्री भइसकेको अवस्थामा आयोजकले भित्र छिर्दा एक चोटि पनि टिकट हेरेन।

त्यस दिन टिकट हुनु र नहुनुमा केही पनि फरक भएन। धेरै दर्शक आउने निश्चित हुँदाहुँदै पनि आयोजकले टिकट हेर्न र टिकट हुनेको व्यवस्थापन गर्न कुनै पूर्व तयारी गरेको थिएन।

गेटमा न त टिकट व्यवस्थापक देखिन्थे न त टिकट चेक गर्ने मेसिन नै देखिन्थ्यो। यसको परिणाम के देखियो भने टिकट नहुने पनि सहजै भित्र पसे र टिकट हुने बाहिरै परे। आयोजकले यस किसिमको उदारता देखाउँदा आगामी दिनमा टिकट र आयोजकको भूमिकाको औचित्य बाँकी रहनेछैन।

अराजक दर्शक र पानीको संघर्ष

टियु मैदानमा यस पटक पनि केही दर्शक अराजक देखिए। केही दर्शक विपक्षी खेलाडीलाई गाली र अपशब्द बोल्न पाउँदा निकै खुशी देखिन्थे। सुरक्षाको कारणले गर्दा सुरक्षाकर्मीले यो पटक पानीको बोतल मैदानमा लैजान दिएनन् तर यति हुँदाहुँदै पनि अन्तिम खेलमा केही दर्शकले बोतलले मैदानमै विपक्षी खेलाडीलाई प्रहार गर्नसम्म भ्याए। पर्खाल माथिबाट पानीको बोतल किनबेच भने भइरहेकै थियो।

एक दिवसीय खेल करिब ७-८ घण्टासम्म चल्न सक्छ। त्यो अवस्थामा पानीको व्यवस्थापन कसरी हुन्छ भन्ने कुराको उत्तर कसैसँग छैन। मैदान भरिभराउ भएको अवस्थामा एक चोटि बाहिर गएपछि भित्र आउन पाउने, नपाउने निश्चित हुँदैन। यो अवस्थामा आगामी दिनमा पनि टियु मैदानमा पानीको लागि संघर्ष जारी रहन्छ भनेर अनुमान गर्न सकिन्छ।
माथि उल्लेख गरिएको विषयमा क्यान लगायत संस्थाले पहलकदमी लिनुपर्ने जरुरी देखिन्छ। नेपाली क्रिकेटको जिम्मेवार निकायको हैसियतले क्यानको आगामी दिनमा यस विषयमा ध्यान पुगोस् भन्ने चाहना सदैव रहिरहनेछ।

हाम्रो क्रिकेट टिमको खेलको स्तर बढेकोमा हामी सबै खुशी छौं। चाँडै नेपालले विश्वकप खेल्छ भनेर आश पनि गर्न सकिन्छ। तर छिट्टै आफ्नै घरेलु मैदानमा ठूला ठूला राष्ट्रसँग खेल्ने सपना देख्ने हामी दर्शक र फ्यानहरूले आफ्नो खेल भावना र चेतनाको स्तर चाहिं बढाउनु पर्छ कि पर्दैन ? आफैंमा प्रश्न गरौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?