+

कानको कारण पनि लाग्छ चक्कर, के हुन सक्छ समस्या ?

२०७९ चैत  १६ गते १५:५७ २०७९ चैत १६ गते १५:५७
कानको कारण पनि लाग्छ चक्कर, के हुन सक्छ समस्या ?

मान्छेलाई उभिनको लागि पृथ्वीको गुरुत्व आकर्षणसँग तालमेल मिलाउनुपर्छ । शरीरलाई पृथ्वीको गुरुत्व आकर्षणसँग तालमेल मिलाउनु परेजस्तै टाउकोलाई पनि शरीरसँग सन्तुलन मिलाउनुपर्छ ।

शरीरलाई सन्तुलनमा राख्न मस्तिष्क, कानको भित्री भाग, आँखा र ढाडको पनि महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले शरीरको सन्तुलन कायम गर्ने कुनैपनि अंगमा खराबी भयो भने सन्तुलन बिग्रिएर चक्कर लाग्ने हुन्छ ।

चक्कर लाग्ने कारण 

मस्तिष्कमा समस्या, आँखाको समस्या, भित्री कानको समस्या, ढाडको समस्या, रक्तचाप कम हुँदा, रक्तअल्पता हुँदा, मुटुको समस्या, रगतमा खराबी, रगत जम्ने, माइग्रेन र उमेर ढल्किंदै जाँदा नसाहरु शिथिल भएर चक्कर लाग्ने समस्या हुन्छ ।

साथै लामो समय घाममा उभिने व्यक्तिलाई चक्कर लागेर पनि ढल्ने हुन्छ । लामो समय घाममा बस्दा मस्तिष्कमा रक्तसञ्चार कम भएर चक्कर लाग्छ । चक्कर लाग्ने यी विविध कारणमध्ये ६० प्रतिशत भित्री कानको कारण हो ।

भित्री कानको समस्याले चक्कर लाग्छ

कानको भित्री भागमा ‘क्याल्सियम कार्बोनेट’ पत्थर जस्तो वस्तु जम्मा भएर बस्यो भने केही सेकेण्ड चक्कर आउने र आफैं हराउने हुन्छ । कानको भित्री अंगमा पानी जमेर बस्दा प्रेसर परेर पनि चक्कर लाग्ने समस्या हुन्छ । यस्तो समस्या हुँदा आधा घण्टादेखि केही घण्टासम्म चक्कर लाग्ने र समस्या दोहोरिरहने हुन्छ । चक्करसँगै वाकवाक लाग्ने, बान्ता हुने र सुन्न पनि कम हुने हुन्छ ।

कोही व्यक्तिलाई रुघाखोकी लागेर वा संक्रमणको कारण कान पाक्ने समस्या भएको छ भने पनि चक्कर लाग्ने हुन्छ । कान पाक्ने र पिप बग्ने समस्या कानको भित्री भागसम्म पुग्यो भने चक्कर लाग्ने कान सुन्न कम हुने हुन्छ । यस्तो अवस्थामा चक्कर लाग्ने समस्या कैयौं दिनसम्म निरन्तर हुन सक्छ ।

कानको भित्री नसामा असर परेर पनि अचानक चक्कर लाग्ने हुन्छ । कैयौं दिनसम्म यसको कारण चक्कर लागिरहने हुन्छ । सुन्नमा पनि समस्या हुन सक्छ । कानको भित्री भागमा तथा नसामा ट्युमर पलाउँदा पनि चक्कर लाग्ने समस्या हुन्छ । कानभित्रको रगतको नसा च्यापिंदा पनि यस्तो समस्या देखा पर्छ ।

ध्यान दिनुपर्ने कुरा

चक्कर लाग्ने व्यक्तिले केही कुरामा विशेष ध्यान दिनुपर्छ । बिरामीले नजँचाइ कुनै पनि औषधि सेवन गर्नु हुँदैन । पटक–पटक चक्कर आउने व्यक्ति आगोबाट बच्नुपर्छ । यस्ता व्यक्तिले साइकल, मोटरसाइकल लगायत सवारी साधन चलाउनु हुँदैन । रुखमा चढ्ने तथा पौडी खेल्ने गर्नु हुँदैन ।

उपचार

चक्कर लाग्ने विभिन्न कारण भएकाले के कारण चक्कर लागेको हो, त्यो पत्ता लगाएर त्यसको उपचार गरेपछि चक्कर लाग्न छाड्छ ।

चक्कर लाग्ने कारणमध्ये ६० प्रतिशत कारण कानको भित्री कान भएकाले चक्कर लाग्ने र कान कम सुन्ने समस्या भयो भने नाक, कान, घाँटीरोग विशेषज्ञलाई जँचाउनुपर्छ । यसको उपचार औषधि र शल्यक्रिया मार्फत हुन्छ । सरकारी अस्पतालमा थोरै शुल्कमा पनि यसको उपचार हुन्छ ।

(प्रा. डा. पौडेल नाक कान घाँटीरोग विशेषज्ञ हुन् । उनीसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

कानको समस्या प्रा. डा. ढुण्डीराज पौडेल
डा. ढुण्डीराज पौडेल
लेखक
डा. ढुण्डीराज पौडेल
नाक, कान तथा घाँटीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १७७१ अध्ययन : एमबीबीएस, एमएस (नाक, कान तथा घाँटी सर्जरी) देशका एक दर्जन बढी जिल्लामा पुगेर नाक, कान तथा घाँटीरोगको उपचार, सरकारी स्वास्थ्य सेवामा तीन दशकको अनुभव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय