+

चिनी र नुनमा कुन बढी हानिकारक ?

२०७९ चैत  १७ गते १६:३६ २०७९ चैत १७ गते १६:३६
चिनी र नुनमा कुन बढी हानिकारक ?

त्यसो त चिनी र नुन आपसमा पृथक छन् । स्वादको हिसाबले होस् वा गुणको । यद्यपि कतिपय अवस्थामा चिकित्सकहरु भनिरहेका हुन्छन्, ‘नुन बढी नखानु, चिनी सकभर नखानु ।’

के स्वास्थ्य आहारमा नुन र चिनी जरुरी छैन ? हाम्रो जिब्रोमा सदियौंदेखि जरा गाडेको नुन अनि चिनी स्वादका लागि मात्र खाइन्छ ? हाम्रो खानपानबाट यी दुई चीज सर्लक्कै हटाइदिए के हुन्छ ?

नुनको कुरा

नुन प्राकृतिक लवण हो । यसमा सोडियम र क्लोराइड पाइन्छ । सोडियम शरीरको लागि अत्यावश्यक हुन्छ भने क्लोराइड मन्दविष जस्तै हुन्छ । यद्यपि हाम्रो शरीरलाई नगन्य मात्रामा नुन चाहिन्छ । दिनमा ५ ग्राम नुन शरीरलाई पर्याप्त हुन्छ । तर हामी जरुरी भन्दा ज्यादा नुन खाइदिन्छौं । सामान्यतया दिनमा तीन पटक गरेर १० ग्रामभन्दा बढी नुन खान्छौं । अतिले क्षति भने झैं नुन बढी हुँदा त्यो हानिकारक भनिएको हो ।

जबकि नुन खानै नहुने होइन । सही मात्रामा नुन शरीरलाई जरुरी छ र त्यसले शरीरका सबै प्रणालीमा ऊर्जा दिने, मांसपेशीलाई चलयामान बनाउने, खानेकुरा पचाउन सहयोग गर्ने, शरीरका विकार हटाउन मद्दत गर्ने, हड्डीलाई पोसिलो बनाउने, रक्त प्रवाहलाई सहज बनाउन सोडियमको भूमिका हुन्छ ।

नुन चटक्कै छाड्दा के हुन्छ ?

एक-दुई छाक नुन छाड्नु सामान्य कुरा हो । कहिले उपवास बसेको बेला वा कतिपय संस्कारहरु पालना गर्दा पनि नुन छाडिन्छ । हामी आफैं अनुभव गर्न सक्छौं, केही छाक नुन छाड्दा शरीर शिथिल भएको जस्तो लाग्छ । वास्तवमै नुन चटक्कै छाड्दा शरीर कमजोर हुन पुग्छ ।

नुन खानै नहुने होइन, निश्चित मात्रामा खानुपर्छ । कतिपय खानेकुरामा प्राकृतिक नुन नै हुन्छ । तर हामी यस्ता नुनजन्य खानेकुरा खाइरहेका हुन्छौं, जसले शरीरलाई आवश्यक भन्दा बढी नुन आपूर्ति गरिरहेको हुन्छ ।

धेरै मात्रामा नुन खाँदा के हुन्छ ?

नुन धेरै नखानु भन्ने सल्लाह अक्सर मुटुका चिकित्सकले दिने गर्छन् । अधिक मात्रामा नुनले रक्तचाप बढाउने, मुटुको कार्यसञ्चालनमा अवरोध पुर्‍याउने हुन सक्छ । साथै, यसले कलेजो, मिर्गौलालाई पनि असर गर्न थाल्छ । नुन सोझै रगतमा जाने हुँदा बढी हुँदा तीनवटै अंग थाक्छन् । जसकारण शरीरले चाहिने भन्दा बढी पानी माग्छ । त्यही अनुसारको पानी खाने र पिसाबबाट जाने हुँदा शरीरले आराम गर्न पाइरहेको हुँदैन ।

अब कुरा चिनीको

नेपालीमा एउटा भनाइ नै छ, गुलियो मीठो । चिनी अर्थात् गुलियो भनेपछि जोकोहीको मुखमा पानी आउँछ । चिनीले शरीरलाई तुरुन्तै ऊर्जा दिन्छ । शरीरभित्र चिनी र कार्बोहाइड्रेटहरु ग्लुकोजमा टुक्रिन्छन् र ग्लुकोजबाट ऊर्जा उत्पन्न हुन्छ । शरीरलाई चाहिनेभन्दा बढी ऊर्जा उत्पन्न भयो भने यसमा भएको कार्बोहाइड्रेट शरीरमा जम्मा हुन्छ । जसले शरीरमा खराब कोलेस्टेरोल बढाउने, रगतमा ग्लुकोज बढाउने गर्छ । परिणामस्वरूप मोटोपन बढाउने समस्या, कोलेस्टेरोलको समस्या मधुमेह जस्ता रोगको जोखिमको रुपमा लिइन्छ । तर चिनी मानिसको मीठो शत्रु जस्तै हो । यो नुन जति अति आवश्यक होइन । तर पनि चिनीको स्वाद बिना खानेकुरा खल्लो मानिन्छ ।

चटक्कै चिनी छाड्दा के हुन्छ ?

दैनिक खाने खानाबाट नै शरीरलाई आवश्यक पर्ने कार्बोहाइड्रेट र फलफूलबाट पनि चिनी पाइने हुँदा चिनी चटक्कै छाड्दा पनि केही नराम्रो असर गर्दैन । चटक्कै छाड्दा हाम्रो शरीरमा सूक्ष्म पोषक तत्त्वको कमी हुन सक्छ । त्यसको परिपूर्ति अन्य खानको स्रोतबाट पनि पूरा गर्न सकिन्छ । त्यस्तै दैनिक सेवन गर्ने खानामा केवल पाँच प्रतिशत मात्र चिनीको मात्रा हुनुपर्छ ।

यी दुवैमा कुन बढी हानिकारक ?

नुनले भन्दा चिनीले उत्पन्न गराउने स्वास्थ्य समस्या बढी जटिल हुन्छन् । किनकि यसको सेवन धेरै रोगहरुसँग सम्बन्धित छ । शरीरमा चिनीको मात्रा बढी हुँदा इन्सुलिनले राम्रोसँग काम गर्न छाड्छ  र शरीरमा धेरै प्रकारका स्वास्थ्य समस्या उत्पन्न हुन्छन् । जुन स्वास्थ्य समस्या नुनबाट उत्पन्न हुनेभन्दा धेरै गुणा जटिल हुन्छन् । उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मोटोपन, हृदयघात, मस्तिष्कघात, थाइराइड, क्यान्सरजस्ता स्वास्थ्य समस्याको सुरुवात ‘इन्सुलिन रेजिन्स्टेन्ट सिन्ड्रोम’ हो र यो गुलियो धेरै खाँदा उत्पन्न हुन्छ ।

चिनीको सेवन घटाउनु वा यसलाई आफ्नो आहारबाट पूर्णतः हटाउनु फाइदाजनक छ । सबैभन्दा पहिले यसले मधुमेहको जोखिमलाई रोक्न सक्छ ।

यसबाहेक यसले मोटोपनको दरलाई कम गर्नेछ । फलस्वरूप, यससँग सम्बन्धित धेरै समस्या जस्तै हृदयरोग उत्पन्न हुँदैन । यसले पाचन प्रणालीसँग सम्बन्धित केही क्यान्सर समेत नियन्त्रण गर्छ ।

(आहारविद् डा. अधिकारीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

चिनी र नुन डा. राजु अधिकारी
डा. राजु अधिकारी
लेखक
डा. राजु अधिकारी
आहारविद् एवं जीवनशैली तथा योग प्रशिक्षक

अध्ययन : मानव चेतना एवं योग विज्ञानमा स्नातकोत्तर र पीएचडी अखिल विश्व गायत्री परिवार, नेपालका स्वयंसेवक, विभिन्न स्कुल, बैंक तथा कलेजहरुमा जीवनशैली र योग प्रशिक्षकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय