+
+

सुध्रिऔं, नत्र सकिन्छौं

आजको आवश्यकता मौजुदा दलहरूले अन्तिम प्रयास गर्ने हो र यो साँच्चै अन्तिम हुनेछ । यो प्रयास देखिनेगरी र जनतालाई महसुस हुनेगरी हुनुपर्छ । नत्र नयाँ शक्तिको उदयलाई कसैले रोक्न सक्ने छैन ।

गुरुराज घिमिरे गुरुराज घिमिरे
२०७९ चैत ३० गते १३:२७

मानिस, संस्था या राष्ट्रलाई इतिहासले समय प्रदान गर्छ, मौका उपलब्ध गराउँछ र केही काल पर्खन्छ तर अनन्त कालसम्म होइन । नेपालको सन्दर्भमा शाहवंशले निकै लामो एकछत्र समय र मौका पाएको हो । तर प्राप्त समय र मौकालाई राजाहरूले सदुपयोग गर्न सकेनन् । उनीहरूमा नागरिकप्रति कर्तव्यबोध वा जिम्मेवारीबोध देखिएन । यसैगरी राजनीतिक दलहरूले उल्लेखनीय मौका पाएर पनि देशलाई उँभो लगाउन सकेनन् । तर यसको आत्म स्वीकारोक्ति पटक्कै देखिंदैन ।

पछिल्लो समय नेपालमा सांस्कृतिक जात्रा भन्दा राजनीतिक जात्रा ज्यादा हुन थालेका छन् । जात्रा शब्दले आफैंमा बहुआयामिक अर्थ बोकेको हुन्छ । यो सकारात्मक र नकारात्मक दुवै हुन्छ । सांस्कृतिक जात्राले धर्म, संस्कृति, परम्परा र पहिचानलाई प्रतिबिम्बित गर्छन् र राष्ट्रिय सम्पदाको जगेर्ना हुन्छ ।

यी विभिन्न थरी जात्रालाई उछिनेर हिजोआज देखिएका राजनीतिक जात्राले ऐतिहासिक कीर्तिमान कायम गरेको छ, जसले नेपालको राजनीतिक विकृतिलाई दर्शाउँछ । सांस्कृतिक जात्रा चित्ताकर्षक, मनमोहक र निकै सुरुचिपूर्ण हुन्छन् तर राजनीतिक जात्राहरू भने भद्दा र कुरूप हुँदा रहेछन् । त्यसैले बहुआयामिक अर्थको जात्रा र यस विषयमा विमर्श गर्नु सान्दर्भिक एवं उपयुक्त हुनेछ ।

राजनीति शब्द आफैंमा शक्तिशाली र समाज सञ्चालनको प्रमुख नीति एवं मार्गदर्शक सिद्धान्त हो, जसले आफ्ना नागरिकहरूको सुरक्षा र आवश्यकताको अवधारणालाई व्यवहारिक तथा कलात्मक रूप प्रदान गर्दछ । त्यस्तो राजनीति जसले आफूलाई निश्चित विधि मार्फत उचित व्यवहार प्रदर्शनबाट लोकप्रिय सिद्ध गर्दछ । यसका निम्ति जसले लोकसम्मतिको सहारा लिन्छ, त्यसैलाई लोकतान्त्रिक राजनीति भनिन्छ । तर नेपालको राजनीतिलाई यसका वास्तविक मर्म भन्दा टाढै राखियो । यहाँको राजनीति यति साह्रो बिग्रिएला र नेपाल यति धेरै ओह्रालो लाग्ला भन्ने कसैले अनुमान गरेकै थिएनन् ।

कसैले बुझेनन् या बुझ्न चाहेनन् कि ठूलो संघर्ष, स्वार्थरहित त्यागको भावना र बलिदानको जगमा निर्माण भएको नेपाल देश र समयक्रममा स्थापना गरिएको लोकतान्त्रिक पद्धति निस्फिक्री चल्ने संस्था र पद्धति होइनन् । यसका केही आधारभूत शर्त हुन्छन् । जसलाई निष्ठापूर्वक गरिने अभ्यासले मात्रै सार्थक तुल्याउँछ ।

राजनीतिक दलमा निर्णायक रहेका केही मानिसहरूलाई लागेको छ, ‘लोकतन्त्रलाई मनलाग्दी उपयोग गर्दा, चिथोर्दा र लुछ्दा पनि फरक पर्दैन । संविधानका व्यवस्थालाई यान्त्रिक अनुशरण गरेपुग्छ, आम नागरिकका भावनात्मक पक्षको ख्याल गर्नु पर्दैन । अर्थात् लोकतन्त्र निशर्त र अराजक प्रणाली हो ।’

यस्तो प्रवृत्तिले टाउको उठाएको वर्तमान परिप्रेक्ष्यमा लोकतान्त्रिक राजनीतिका केही पहलुहरू बारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । किनभने नेपाल अब यथास्थितिमा बस्न सक्दैन । यथास्थितिमा राख्न खोजे भयानक दुश्परिणामका लागि हामी सबै तयार रहनुपर्नेछ ।

पहिलो पहलु

बडो दुःखका साथ भन्नुपर्छ कि राजनीतिका लागि आफ्नो सर्वस्व दिएका मानिसहरूले नै राजनीतिको मूल आत्मालाई बिसर्जन गरिदिए । र समयक्रममा आफूलाई सम्मानित राजनीतिकर्मीको रूपमा जोगाउन सकेनन् । देश, समाज र समग्र मानव जातिका निम्ति आफ्नो जीवन समर्पण गरेका व्यक्तिहरूले नैं पतनको बाटो समाते । नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तन र त्यसले खोजेको आर्थिक सामाजिक सुधारको आवश्यकतालाई तिलाञ्जली दिएर आफू त बिग्रे बिग्रे, समाजलाई समेत त्यसको दुश्चक्रमा फसाए । मूल कुरा त राजनीतिको केन्द्रीय तत्वमाथि निर्मम प्रहार गरे । राज्यको उत्पत्तिसँगै विकास भएको राजनीति शास्त्रका आधारभूत मान्यताहरूको खिल्ली उडाए ।

कलिलो युवापुस्ता बरु कुनै दह्रो इमानदार मानिस आइदेओस् र देशलाई उँभो लगाइदेओस् भनेर सोच्न थालेको छ । के हामीले त्यही पर्खेको हो ? नत्र किन नसुध्रिएको ?

जनताको दुःख दर्दको कुरा उठाउँदा चाणक्यले मगधका राजा धनानन्दबाट घोर अपमान सहनु पर्‍यो । तक्षशिला विश्वविद्यालयबाट राजनीति र अर्थशास्त्रमा उच्च शिक्षा प्राप्त गरेका आचार्य विष्णु गुप्तले नोकरीका लागि दरबारमा दरखास्त दिंदा धनानन्दले चरम बेइज्जत गरेपछि उनले मगधबाट नन्द वंशको जरा उखेल्ने प्रतिज्ञा गरे र अन्ततः सफलता प्राप्त गरे । यस ऐतिहासिक घटनाले के सिद्ध गर्छ भने जहाँ वा जुन देशमा योग्य र दक्ष व्यक्तिको कदर हुदैन, त्यहाँ समयक्रममा ठूलो विद्रोह अपरिहार्य छ । के नेपाल त्यही दिशातर्फ अग्रसर हो ?

सरकारका एकजना उच्च पदस्थ नेताले भरखरै दिएको अभिव्यक्ति निकै चिन्ताजनक छ । उनका अनुसार कर्मचारीलाई तलब खुवाउन समेत ऋण काढ्नु पर्ने अवस्था छ । यस्तो स्थितिमा कसले पुर्‍यायो ? आजसम्म देश कसले चलायो ? यसको जिम्मा कसले लिने ? कम्तिमा विनम्रतापूर्वक कमजोरी स्विकार्नु पर्दैन ?

चाणक्यको अर्को भनाइ झनै महत्वपूर्ण छ । उनी भन्छन्, ‘मानिसलाई बाँच्नका लागि मुख्य चिज के हो ? भोजन, पानी, हावा वा अरु केही ? यी तिनै चिज आवश्यक हुँदा पनि अर्को महत्वपूर्ण चिज हो, आशा ! जबसम्म मानिसमा आशा बाँकी रहन्छ, तबसम्म मानिस हरतरहले बाँच्छ । जब आशा मर्छ, बाँच्नुको अर्थ सिद्धिन्छ ।’

यतिबेला नेपालका नागरिकको आशा मरेको छ र यसका कारणहरूमध्ये राजनीतिक दलहरू प्रमुख हुन् । दलहरूको कार्यसम्पादन यति निराशाजनक छ कि नागरिकले आफ्नो भविष्य सुरक्षित देख्न छाडे । साढे तीन दशक देश चलाउँदा आजको दुरावस्था छ । यसको कारक बनेका पात्र र प्रवृत्तिले जिम्मा लिने कि नलिने ?

दोस्रो पहलु

नयाँ पुस्ता दुनियाँमा राम्रोसँग चलेका लोकतन्त्रका बारेमा भलिभाँति जानकार छ । ऊ नेपालको लोकतन्त्रलाई त्यसैसँग दाँजेर हेर्छ । संसारमा भएका प्रगतिहरू हेर्छ र कारण केलाउँछ । उसलाई राम्रोसँग थाहा भइसकेको छ कि उन्नतिका विभिन्न कारणहरूमध्ये नेतृत्व कुशलता र एजेन्डा नै हो । समयको पनि हिसाब गर्छ । संसारका विकसित देशहरूले दुई दशकदेखि तीनदशक भित्र ठूलो उपलब्धि हासिल गरेका रहेछन् ।

हामीले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापना गरेको झण्डै साढे तीन दशक भएछ । यो निकै लामो अवधि हो । नेपाल जस्ता भूपरिवेष्ठित, कृषिप्रधान र पहाडी मुलुकहरूले कसरी चाँडै उन्नति गर्नसके र हामी किन पछि पर्यौं युवा पुस्ताले चाल पाएको छ । कतिपय तानाशाह वा तानाशाही चलेका देश समेत निकै अघि बढेका छन् । देशको उन्नति गर्ने तानाशाह पनि जनतामा लोकप्रिय भएका छन् । लोकतान्त्रिक प्रणाली मार्फत उन्नति गर्न नसकेको नेपालले के तानाशाह खोजेको हो ? यतिबेला जनमानसमा यस्तो चर्चा समेत हुन थालेको छ ।

कलिलो युवापुस्ता बरु कुनै दह्रो इमानदार मानिस आइदेओस् र देशलाई उँभो लगाइदेओस् भनेर सोच्न थालेको छ । के हामीले त्यही पर्खेको हो ? नत्र किन नसुध्रिएको ?

तेस्रो पहलु

नेपाली जनताले खोजेको एउटै कुरा हो, गरिखाने वातावरण । सरकार सबै जनतालाई न गरिखाने वातावरण सिर्जना गर्छ, न रोजगारी दिन्छ । बर्सेनि लाखौं युवा विदेश जान बाध्य छन् । गरीब जनताका लागि गुणस्तरीय शिक्षा दुर्लभ र लगभग असंभव जस्तै छ । सरकारी शिक्षण संस्था राजनीतिका अखडा बनेका छन् । बिरामी भएको गरीब नेपाली उपचार नपाएर तड्पिनु पर्छ ।

उद्यम व्यापार गर्नेहरूलाई सहुलियतपूर्ण ऋण दिन सक्तैन । बैंकहरू मिटर ब्याजी साहुजस्ता छन् । देशका उद्योगधन्दाको हालत नाजुक छ । सरकारसँग नयाँ उद्योगधन्दा खोल्ने कुनै योजना देखिंदैन । प्रचुर सम्भावना बोकेका पर्यटन र धार्मिक सम्पदाहरूले उद्योगको रूप लिन सकेका छैनन् ।

देशको अर्थतन्त्र रेमिट्यान्सले जसोतसो धानेको छ । सरकारी अधिकारीहरूमा गम्भीरता देखिदैन । सरकारको ध्यान देशको अवस्था र जनताको हालतप्रति भन्दा अन्य कुरामा देखिन्छ । साठी वर्ष अघि दक्षिण कोरियाभन्दा राम्रो आर्थिक अवस्था भएको नेपालको प्रतिव्यक्ति आय डेढ हजार पनि पुगेको छैन । गाउँ र शहरका गरीबहरूको हालत चिन्ताजनक छ । मुख्य कुरा त नयाँ पुस्ता राजनीतिलाई घृणा गर्छ । यस्तो कसरी भयो ? र कारण के हो ?

सबैभन्दा उदेकलाग्दो कुरा त के छ भने राजनीतिक दलहरू आफ्नो मूल्य मान्यतामा एक्लै उभिनै नसक्ने र अड्नै नसक्ने भएका छन् । अबका निर्वाचनहरू दलीय प्रतिस्पर्धा भन्दा गठबन्धनका प्रतिस्पर्धा हुन थालेका छन् । कालान्तरमा यसले बहुदलीय प्रतिस्पर्धा र खासगरी बहुलताको आत्मालाई मार्ने काम गर्छ । राजनीतिक दलका कार्यकर्ताहरू म फलानो दलको व्यक्ति भन्न हिचकिचाउन थालेका छन् ।

दलका एकल बैठक कम र गठबन्धनका बैठकहरू बाक्लै हुन थालेका छन् । अपवादका रूपमा हुने दलका बैठकमा आफ्नो दल सुदृढीकरणका मुद्दामा बहस नभई गठबन्धन सफल बनाउने कार्ययोजना बन्न थालेका छन् । यसले बहुदलीय प्रणालीलाई कहाँ पुर्‍याउँछ ? बहुदलीय प्रणाली गठबन्धन तन्त्र हो र ? के यसले लोकतन्त्रको धरातललाई बलियो बनाउँछ र ?

चौथो पहलु

देश, संस्था वा व्यक्तिले बारम्बार मौका प्राप्त गर्नु अहोभाग्य हो । यति भाग्यशाली सबै हुँदैनन् । नियतिले जुटाइदिएको मौकालाई सदुपयोग नगर्ने र सुझबुझ नपुर्‍याउने हो भने प्राप्त मौका अन्तिम हुनेछ । हामीले राम्रो गर्न नसकेको कुरा सबैभन्दा बढी हामीलाई नै थाहा छ । जनता त भुक्तभोगी नै हुन् । अझै पनि जनताले दलहरू सुध्रिउन् भनेका छन् तर सुधारको एकरत्ति छनक छैन । सरकारमा हुनेहरू अवसर प्राप्तिको रुखो र निरपेक्ष उत्सव मनाइरहेका छन् भने सरकार बाहिर हुनेहरू शासनारुढ हुने दिन गनेर बसेका छन् । आर्थिक समृद्धिको कुनै एजेन्डा छैन । विगतको अकर्मण्यता प्रति कुनै पश्चात्ताप छैन । यस्तो चालले कहाँ पुर्‍याउँछ ?

त्यसैले आजको आवश्यकता मौजुदा दलहरूले अन्तिम प्रयास गर्ने हो र यो साँच्चै अन्तिम हुनेछ । यो प्रयास देखिनेगरी र जनतालाई महसुस हुनेगरी हुनुपर्छ । नत्र नयाँ शक्तिको उदयलाई कसैले रोक्न सक्ने छैन । नयाँ शक्ति भन्नाले पुरातनवादी शक्तिको नयाँ कलेबर पनि हुनसक्छ या बिल्कुलै नयाँ पनि हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?