+

प्रदूषणबाट आँखालाई कसरी बचाउने ?

२०८० वैशाख  ५ गते १३:३७ २०८० वैशाख ५ गते १३:३७
प्रदूषणबाट आँखालाई कसरी बचाउने ?

आइतबार विश्वको सबैभन्दा प्रदूषित सहरको शीर्ष स्थानमा काठमाडौं पर्‍यो । फोरा दरबारमा रहेको प्रदूषण मापन केन्द्रले काठमाडौं उपत्यकाको प्रदूषण तह २१८ पुगेको देखाएको थियो । यसबाट के बुझ्न सकिन्छ भने स्वास्थ्य राम्रो बनाउन प्रदूषणबाट पनि जोगिन अति जरुरी छ ।

प्रदूषणले फोक्सोका साथै आँखालाई पनि असर गरिरहेको हुन्छ । विषाक्त वायुबाट नाक र मुखलाई बचाउन मास्क प्रयोग गरिरहेका हुन्छौं, तर आँखाको लागि भने खासै ध्यान पुगेको पाइँदैन । प्रदूषणका कारण आँखामा विभिन्न समस्या आउँछ ।

आँखामा वायु प्रदूषणको असर

एक त वसन्त ऋतुको समयमा मौसमको फेरबदलले आँखा पाक्ने, सुख्खा हुने जस्ता समस्याले सताउँछ । त्यसमाथि पनि बढ्दो प्रदूषित हावाले आँखामा एलर्जी गराउने, आँखा सुख्खा हुने, पोल्ने जस्ता समस्या देखिन्छ ।

विगतका दिनमा आँखामा हुने एलर्जी बालबालिकामा मात्र देखिन्थ्यो भने प्रदूषणकै कारण अहिले सबै उमेर समूहमा आँखामा समस्या भएमा आँखाको एलर्जीसमेत हुने गर्छ, जसलाई चिकित्सकीय भाषामा ‘एलर्जीक कञ्जक्टिभाइटिस’ भन्ने गरिन्छ । उक्त एलर्जी हुँदै आँखामा संक्रमण बढेर दैनिकी काम गर्न समेत नसकिने अवस्था हुन सक्छ ।

उडिरहेको धुलो हाम्रो आँखाको परेलीमा जमेर बस्छ र त्यसबाटै संक्रमण हुने सम्भावना बढी हुन्छ । त्यसैले यदि कसैमा आँखा पोल्ने, रातो हुने, आँखामा चिप्रा आउने, चिलाउने, पिरो हुने जस्ता समस्या देखिएमा तुरुन्त नेत्ररोग विशेषज्ञलाई देखाउनुपर्छ ।

उपचार

आँखामा सामान्य एलर्जी छ भने आइड्रपले पनि आँखा विस्तारै ठीक हुन्छ । त्यस्तै, एलर्जी जटिल अवस्थामा पुगेको छ भने कडा खालको औषधि चलाउनुपर्ने हुन्छ । कडा खालको औषधि चलाउदा त्यसको पनि छुटै असर रहने हुँदा सकेसम्म आँखामा समस्या देखिने बित्तिकै तुरुन्त विशेषज्ञलाई देखाउनु उपयुक्त हुन्छ ।

यसमा ध्यान दिनुपर्ने कुरा के छ भने यस्ता समस्या देखिने बित्तिकै आफैं चिकित्सकलाई नदेखाई आइड्रप भने हाल्न हुँदैन । आँखाको जाँच गराई एलर्जीको चरणलाई निक्र्योल गरेर मात्र चिकित्सकमार्फत आइड्रप तथा एन्टीएलर्जिक औषधिको प्रयोग गर्नुपर्छ ।

आँखालाई जोगाउने उपाय

-सफा पानीले बिहान आँखा पखाल्ने,

-बाहिरबाट घर आएपछि हातमुख मात्र नभएर आँखालाई पनि अनिवार्य रुपमा सफा पानीले पखाल्नुपर्छ ।

-आँखा चिलाएको छ भने सफा पानीले पखालेर आइसलाई रुमालमा बेरेर आँखालाई चिसोले सक्दा आराम मिल्छ ।

-बाहिर निस्किंदा आँखालाई धुवाँधुलोबाट बचाउन चश्माको प्रयोग गर्नुपर्छ ।

(बाल आँखारोग विशेषज्ञ डा. श्रेष्ठ काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मीं मनिषा थापाले गरेको कुराकानीमा आधारित)

आँखा प्रदूषण
लेखक
डा. सविना श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय