+

आँखा पाक्ने समस्या किन हुन्छ ?

२०८० वैशाख  ५ गते १६:०५ २०८० वैशाख ५ गते १६:०५
आँखा पाक्ने समस्या किन हुन्छ ?

गर्मीयाममा धुलोधुवाँ बढी हुने हुँदा आँखा पाक्ने समस्या धेरैमा देखिन्छ । आँखा रातो हुनु, आँखाबाट आँसु बग्नु, ढकनी सुन्निनु, कचेरा आउनु आँखा पाक्ने संकेत हुन् । आँखा पाक्ने रोगलाई चिकित्सकीय भाषामा ‘कन्जक्टीवाइटिस’ भनिन्छ ।

आँखा पाक्दा आँखाको सेतो भागको बाहिरी तह र ढकनीको भित्री तहमा पोलेको महसुस हुन्छ । संक्रमणका कारण हुने भएकाले रुघाखोकी जस्तै आँखा पाक्ने रोग पनि अरुलाई सजलै सर्छ ।

एडिनो भाइरस, ब्याक्टेरिया र रोग प्रतिरोधात्मक क्षमता कम हुँदा आँखा पाक्ने गर्छ । एडिनो भाइरसका कारण एकबाट अर्को व्यक्तिमा आँखा पाक्ने राग छिटो सर्छ । यदि घरमा एक जनाको आँखा पाकेको छ भने परिवारका अरु सदस्यलाई पनि सर्छ । यो समस्या तीन–चार दिनमा ठीक हुन्छ ।

ब्याक्टेरियाका कारण आँखा पाक्दा अवस्था अलि जटिल बन्न सक्छ । आँखामा पहेंलो खालको कचेरा आउने, आँखा धेरै सुन्निने, धेरै रातो हुने जस्ता लक्षण ब्याक्टेरियाका कारण आँखा पाक्दा देखिन्छन् ।

त्यस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई पनि आँखा पाक्ने समस्या हुन सक्छ । आँखामा धुलो, धुवाँ, केमिकल पसेमा पनि आँखा पाक्ने जोखिम हुन्छ ।

लक्षण

आँखा रातो हुनु, आँसु आइरहनु, आँखा पोल्नु, आँखा भारी हुनु, कचेरा आउनु, आँखा बिझाएजस्तो हुनु आँखा पाक्दा देखिने लक्षण हुन् । यस्तै घाममा हिंड्न गाह्रो हुनु, उज्यालोमा हेर्न गाह्रो हुनु, आँखा सुख्खा भएर चिलाउनु, दृष्टि धमिलो हुँदै जानु, आँखा तथा आँखा वरपर को भाग सुन्निनु आँखा पाक्दा देखिने समस्या हुन् । बिहान उठ्दा आँखाको ढकनी पूरै टाँसिनु, आँखा खोल्न गाह्रो हुनु, घाममा हेर्न वा बस्न गाह्रो हुनु पनि आँखा पाक्दा देखिने लक्षण हुन् ।

दीर्घकालीन समस्या होइन 

आँखा पाक्ने रोग मौसम परिवर्तनसँगै हुने भएकाले यसले लामो समयसम्म सताउँदैन । गर्मी मौसममा आँखा पाक्ने रोग लागेका धेरै मानिस भेटिने भएपनि दीर्घकालीन समस्या भने होइन ।

एकबाट अर्कोमा सर्छ

आँखा पाक्ने रोग एक व्यक्तिबाट अर्कोमा सर्छ । संक्रमित व्यक्तिले आँखा मिच्दा उसको हातमा कीटाणु टाँसिन्छन् र त्यही हात अर्को व्यक्तिसँग मिलाउँदा रोग सर्छ । आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल, लुगाकपडा, कम्प्युटर, ल्यापटप, मोबाइल अर्को व्यक्तिले चलाउँदा यो रोग सर्ने सम्भावना हुन्छ ।

बच्ने उपाय

आँखा पाक्ने रोगबाट बच्न धुलो–धुवाँबाट बच्ने, केमिकेलको काम गर्दा चश्मा लगाउने, घरबाहिर जाँदा सनग्लासको प्रयोग गर्ने गर्नुपर्छ । मोटरसाइकल, स्कुटर चलाउँदा सनग्लासको प्रयोग गर्नु राम्रो हुन्छ । स्वीमिङ गर्दा चश्मा लगाउनुपर्छ ।

कामबाट बेलुका घर फर्किएपछि एक पटक आँखालाई चिसोपानीले धुनुपर्छ । यसले आँखालाई धुलो, धुवाँ, केमिकल र संक्रमण हुनबाट जोगाउँछ । आँखा पाक्ने रोग लागिसकेको खण्डमा आँखालाई दिनको दुई–तीन पटक मनतातो पानीले सफा गर्ने, आँखा बन्द गरेर बस्ने, आराम दिने, आपूmले प्रयोग गरेको रुमाल, चश्मा, मोबाइल अरुलाई प्रयोग गर्न नदिने, घरबाहिर कम हिंड्ने गर्नुपर्छ ।

(नेत्ररोग विशेषज्ञ डा. श्रेष्ठ तिलगंगा भक्तपुर आँखा सेन्टरमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

आँखा पाक्ने स्वास्थ्य
लेखक
डा. विक्रम श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय