+
+

तनहुँ १ मा स्वर्णिम जितका ८ परिदृश्य

घण्टी चिह्नले ल्याएको परिवर्तनको लहरमा कांग्रेसबाट टिकट पाएको भए पनि स्वर्णिमलाई तनहुँमा जित्न कठिन हुन्थ्यो ।

पवन पौडेल पवन पौडेल
२०८० वैशाख १४ गते १८:२५

अंकगणितले जित निश्चित भएपछि राष्ट्रपतीय चुनावअघि नै तनहुँ १ को चुनावमा कसलाई उठाउने भन्ने कसरत सुरु भइसकेको थियो र त्यसको केन्द्रमा थियो कांग्रेस । विगतको जितको आँकडा अनि गठबन्धनको निरन्तरताका आधारमा जित करिब निश्चित ठानेको कांग्रेसमा टिकट कसले पाउने भन्ने रस्साकस्सी थियो ।

कांग्रेसको आन्तरिक कलहको प्रतिबिम्बको रूपमा यहाँबाट १० भन्दा बढी नेताको नाम सिफारिस भएको थियो । तर, विगतमा पौडेललाई सघाउन आफ्नो दाबेदारी त्यागेका केन्द्रीय सदस्य गोविन्द भट्टराईले यसपटक सबै अवरोध पन्छाउँदै टिकट पाए ।

उता, विगतमा कांग्रेसलाई एक्लैले राम्रो टक्कर दिएको एमाले बलियो उम्मेदवार खडा गरेर जित निकाल्ने दाउमा थियो । यसबीचमा चितवनबाट संसद अनि राज्यसत्ताको केन्द्रमा पुनरागमन गर्ने आकांक्षा पालेका रास्वपा सभापति रवि लामिछाने चितवनसँगै रिक्त क्षेत्र तनहुँ र बारामा चर्चित अनुहार खडा गरेर दलहरूलाई चुनौती दिने तयारीमा थिए ।

उनी कांग्रेससँग लड्न कांग्रेस पृष्ठभूमिकै व्यक्ति खोज्दै थिए । विगतमा कांग्रेस परित्याग गरेका विश्व बास्तोला, कांग्रेस निकट इञ्जिनियर श्रीराम न्यौपानेदेखि यसअघि झिनो मतान्तरले चुनाव हारेका कांग्रेस पूर्वसहमहामन्त्री गोविन्दराज जोशीपुत्र दीपक बारेसमेत चर्चा चल्न थालेको थियो ।

पवन पौडेल

यहीबीचमा स्वर्णिम वाग्लेसँगको सम्पर्कमा पुगे रास्वपा सभापति रवि लामिछाने । राष्ट्रपति निर्वाचनताका रामचन्द्र पौडेल र उनीनिकटसँगको सम्पर्क बनाएका स्वर्णिम नै रास्वपाको छनौटमा परे ।

एक पत्रकार र मतदाताको हिसाबले यसपालिको चुनावमा मैले चुनावी रणनीति, प्रचारप्रसार र मतदाताको मनोविज्ञानलाई नजिकबाट नियाल्ने अवसर पाएँ । नेताबाट प्राप्त सूचना, मतदाताको मनोविज्ञान, मतदानअघि र मतदानका दिनको माहोलले स्वर्णिमले जित निकाल्ने सम्भावना अधिक बढेको बुझिन्थ्यो ।

तर, विगतमा ६ हजार प्रत्यक्ष र १२ हजार समानुपातिक मतको आडमा अहिले झण्डै ३५ हजार मत ल्याउनेगरी रास्वपा अनि यसका उम्मेदवार स्वर्णिम वाग्लेले पाएको जितका विभिन्न पाटोलाई केलाउनु जरुरी छ ।

ठूला दलप्रतिको असन्तुष्टि र विकल्पमा ‘घण्टी ब्राण्ड’

देश विदेश देखे भोगेका मतदाताको मनोविज्ञान यसपटक घण्टीसँग नजिक देखियो । रास्वपाले वैकल्पिक शक्तिका रूपमा पार्टी र चुनाव चिह्न घण्टीलाई गरेको ब्राण्डिङप्रति मतदाताको लगाव देखियो । गत निर्वाचनमा कसैले नचिनेका र फरक क्षेत्रका उम्मेदवार उठाउँदा पनि रास्वपाका उम्मेदवारले ६ हजार बढी मत पाएका थिए ।

यसपालि आक्रामक प्रचारशैलीसहित चर्चित अर्थशास्त्री स्वर्णिम वाग्ले चुनावी अभियानमा देखापरे । चुनावी अभियान र घरदैलोमा वाग्लेले आफूलाई तनहुँसँग जोड्ने प्रयास गरे । सामाजिक सञ्जालमा पनि उनको पक्षमा आक्रामक प्रचार भयो ।

वाग्लेलाई रास्वपाका नेताहरू र रवि लामिछाने स्वयंले पनि निकै सघाए । तनहुँमा आयोजित एकपछि अर्को सभाका कारण चितवनकै क्रेज तनहुँमा पनि देखिन थाल्यो । ठूला दलले दिन नसकेको डेलिभरी, विकास र कर्मचारीतन्त्रको समस्यादेखि वैदेशिक रोजगारीका पीडा समेत घण्टी चिह्नमार्फत असन्तुष्टिका रूपमा मतमा प्रकट हुन पुग्यो र त्यसको लाभ स्वर्णिम वाग्लेले उठाए ।

अवस्था कस्तोसम्म देखियो भने कांग्रेस एमालेको चुनावी अभियानका कतिपय नेतृत्वकर्ताकै घरका सदस्य घण्टीलाई मत दिने अवस्थामा भेटिए । वैदेशिक रोजगारमा रहेकाले फोन गरेरै आफ्ना अभिभावक, साथीभाइ र आफन्तलाई घण्टीमा मतदान दिन आग्रह गरेका थिए ।

यस्तोमा केही संख्यामा तटस्थ मतदाताका अलावा ठूलो संख्यामा कांग्रेस र एमाले मतदाता युवा नै बढी लागेको पाइयो । त्यसलाई प्रतिवाद गर्न कांग्रेसले ढिलो गरी सामाजिक सञ्जालहरूमा आक्रामक भिडियो क्याम्पेन गरे पनि त्यसले धेरै प्रभाव पार्न सकेन ।

वाग्लेलाई परिवर्तन र भट्टराईलाई यथास्थितिको प्रतिकका रूपमा आम मतदाताको मनोविज्ञान जित्न रास्वपाले गरेको प्रयासको वरिपरि नै उपचुनाव केन्द्रित देखियो । यसमा रास्वपा सफल पनि भयो । कतिपयले टिप्पणी छ, घण्टी चिह्नले स्थापना गरेको परिवर्तनपक्षीय भाष्यको लहरमा कांग्रेसबाट टिकट पाएको भए स्वर्णिम वाग्लेलाई समेत जित्न कठिन हुन्थ्यो ।

पुरातन शैलीबाट माथि उठ्न नसकेको कांग्रेस

एकपटक चुनावमा पराजय भोगेका हालका राष्ट्रपति रामचन्द्र पौडेलले ४ मंसिरमा विकासे योजनामा जोड दिनुका साथै गठबन्धनको बलमा चुनाव जिते । आन्तरिक कलहले उल्लेख्य असन्तुष्ट मत नेता गोविन्दराज जोशीतर्फ ढल्केको अवस्थामा पनि गठबन्धनको सहायताले पौडेल पाँच हजार मतान्तरले चुनाव जित्न सफल भएका थिए ।

यो पृष्ठभूमिमा पुरानो पुस्ताप्रतिको असन्तोष हावी भए पनि सादगी, सोझो, अवसर नपाएको र पदमा नरहे पनि विकासमा सक्रिय भनेर चिनिएका गोविन्द भट्टराई मैदानमा उत्रँदा उनले चुनाव सहज जित्ने आकलन थियो । तर, दाग नलागेको र इमान्दार पात्रको छविको बलमा मात्र भट्टराई चुनावमा हाबी हुन सकेनन् ।

युवा पुस्ताको रुचिअनुरूप छोटो भाषण, अरु उम्मेदवार नछोई आफ्नो योजना सुनाउने अनि युवा र मतदातामाझ आकर्षक अन्तक्र्रिया गर्ने रास्वपा उम्मेदवार वाग्लेको शैली विपरीत कांग्रेसले न आफ्ना उम्मेदवारका योजना प्रभावकारी ढंगले लैजान सक्यो, न प्रभावकारी चुनावी सभामार्फत मतदाताको असन्तुष्टिलाई सम्बोधन गर्न सक्यो ।

युवा अनि सहरी वर्ग आफूप्रति असन्तुष्ट रहेको जान्दाजान्दै पनि कांग्रेस नेतृत्व पुरानै शैलीमा सभा अनि घरदैलोमा रमायो । असन्तुष्ट वर्गले पुरानो शैलीको राजनीतिक भाषण नरुचाएको थाहा पाउँदापाउँदै उनीहरूसँग प्रभावकारी अन्तक्र्रिया गर्न आवश्यक ठानेन ।

सम्भावित कम मत खस्ने भनिएको सहरी क्षेत्रका असन्तुष्टलाई आकर्षित गर्न केही बेग्लै कार्यक्रम पनि ल्याउन सकेन । बरु स्थानीय राजनीति अनि भूगोल नबुझेका दर्जनौं नेताको दिनहुँको चहलपहलले नियमित प्रचार अभियानको स्रोतसाधन नेता केन्द्रित गर्‍यो । कार्यकर्ता समेत नेताकै आसपासमा तस्वीर खिचाउन रमाउने शैलीले असन्तुष्ट आफ्नै पंक्ति र बेखुस सहरी मतलाई आकर्षित गर्न कांग्रेस असफल देखियो ।

थोरै तर रणनीति बुझेका कार्यकर्तालाई साथ लिएर घरदैलोमा सानो संख्यामा रास्वपा पुग्दा ४२ वटै वडा र बुथसम्म रहेको संगठनलाई कांग्रेसले उम्मेदवारको ब्राण्डिङमा परिचालन गर्न सकेन । यस्तो कार्यशैलीले उम्मेदवार आउँदा मात्र भाषण सुन्न जम्मा हुने पातलो संख्याभन्दा बाहिर उम्मेदवारको पहुँच नै पुगेन ।

एमाले उम्मेदवारप्रति नदेखिएको अपनत्व

राजनीति भन्दा पनि पूर्वप्रहरी प्रमुखका रूपमा राष्ट्रिय राजनीतिमा चिनिएका सर्वेन्द्र खनाललाई एमालेले टिकट दियो । एमालेको रणनीति थियो– कांग्रेसका राम्रो छवि भएका गोविन्द भट्टराई र कांग्रेसी पृष्ठभूमिका अर्थशास्त्रीको पहिचान बनाएका रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेबीच हुने प्रतिस्पर्धामा कांग्रेसको मत बाँडिन्छ र आफ्नो मत जोगाउन सक्दा चुनाव जितिन्छ ।

त्यसैले एमालेले आर्थिक परिचालन गर्न सक्ने हेभिवेट उम्मेदवार छान्यो । तनहुँमै जन्मिएका खनाललाई चिनाउन गाह्रो नहुने र उनले संगठनको मत जोगाएर कांग्रेसको समेत मत तान्ने एमालेको अनुमान त्यतिबेला गलत सावित भयो, जब एमालेको संगठनले नै सर्वेन्द्रप्रति अपनत्व दिलाउन सकेन । त्यो चुनावी प्रचारका क्रममा देखियो । एमालेले न ठूला प्रचार सभा गर्न सक्यो, न घरदैलो गर्दा देखिएको मत जोगाउन नै सक्यो ।

गत चुनावमा २५ हजार मत पाएर रामचन्द्र पौडेल गठबन्धनको बलमा विजयी बन्दा एमालेका स्थानीय उम्मेदवार एकबहादुर रानाले २० हजार नजिक मत ल्याएका थिए । तर ‘हेभी वेट’ मानिएका खनालले त ८ हजार ४८८ मतमा खुम्चिए । भानु सिम्पानीमा जन्मिएका भए पनि लामो समयदेखि सम्पर्क सञ्जाल टुटेकोले सर्वेन्द्रलाई स्थानीय कमिटीका कार्यकर्ताले मनैदेखि स्वीकार्न सकेनन् ।

मतदानको दुई साता अघि नै कांग्रेस र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने आकलन भइरहँदा एमालेले न उम्मेदवारका कुनै विशेष एजेण्डा प्रचार गर्न सक्यो, न दुवैको विकल्पमा जित्न सक्ने गरी कार्यकर्तामा छाप दिन सक्यो ।

चुनाव हार्ने मनोविज्ञानमा रहेका एमाले कार्यकर्तालाई मतदानको अघिल्लो दिन रास्वपाले साझा एजेण्ट बन्नका लागि पत्र लेख्यो । उक्त प्रस्तावप्रति कांग्रेस र एमालेबाट नकारात्मक प्रचार भयो । यसले एमाले र रास्वपाबीच चुनावी तालमेल भएको उल्टो सन्देश कार्यकर्ता तहमा प्रवाह भयो र सोझो असर मतमा देखियो ।

प्रतिस्पर्धी मनोविज्ञानका गठबन्धन सहयात्री

गठबन्धनका साझा उम्मेदवार भनेर प्रचार गरिए पनि गोविन्द भट्टराईको चुनावी प्रचारप्रसारमा गठबन्धनका अरु सहयात्रीको खास सहभागिता देखिएन । भाषणका कार्यक्रममा नेता उत्रिए पनि चुनावी प्रचारप्रसार र रणनीतिमा गठबन्धनमा सहभागी माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीको सहभागिता खास देखिएन । बाबुराम भट्टराईले गोविन्द भट्टराईलाई मत मागे पनि उनका कार्यकर्ता स्वर्णिमको प्रचारक बनेर मैदानमै व्यस्त थिए ।

गत स्थानीय निर्वाचनमा धेरै ठाउँमा कांग्रेसलाई प्रतिस्पर्धी ठानेको र केही ठाउँमा कांग्रेसका कारण हारेको माओवादीले कांग्रेस उम्मेदवारलाई चुनावमा सघाएन । माओवादीको पकड रहेका आँबुखैरेनी, भानु र बन्दीपुरका अधिकांश भागबाट वाग्लेले धेरै मत पाए ।

आँबुखैरेनी गाउँपालिकामा विजयी माओवादीको मुख्य प्रतिस्पर्धी कांग्रेस थियो भने बन्दीपुरमा कांग्रेसका कारण एमालेले चुनाव जितेको माओवादी बुझाइ छ । भानुमा गत स्थानीय चुनावमा सहकार्य गर्न नगरको उपप्रमुख माग्दा नदिएको कांग्रेसलाई मत नदिएर त्यहाँका माओवादीले रिस फेरेको देखिन्छ ।

प्रदेशको चुनावमासमेत कांग्रेसको मत नआएकोमा माओवादीको असन्तुष्टि थियो । तर, यसलाई चिर्ने सफल रणनीति सत्ता गठबन्धनका नेतृत्वले अपनाएनन्, अपनाउन चाहेन । नेतृत्व केन्द्रका नेता बोलाएर भाषण गराउनमै केन्द्रित भयो । तर, रास्वपा नेतृत्वले भने स्थानीय नेतृत्वसँग त्यही असन्तुष्टिलाई समातेर आफ्नो पक्षमा माहोल बनाउन भूमिका खेल्यो ।

स्वर्णिमप्रति विश्वास

स्थानीय स्तरमा भूगोलबारे कम जानकार र मुद्दामा कम काम गरेको भए पनि रास्वपा र स्वर्णिम आफैंले देशकै समस्या समाधानमा उनी सक्षम रहेको कुरालाई चुनावी घरदैलोको प्रमुख विषय बनाए । ६७ खानेपानी योजना ल्याएको र विकासमा पदमै नहुँदा पनि लागेको भन्ने कांग्रेसको प्रचार चिर्न देशकै अर्थतन्त्र र यससँग जोडिएका समस्या समाधान प्रमुख आवश्यकता भनेर रास्वपाले स्वर्णिमको ब्राण्डिङ ग¥यो ।

यो रणनीतिले देशमा समस्या देखेर विदेश गएका युवा मतदाता र देशमै भएका तटस्थ वा ठूला दलका उदार मतदातामा काम गर्‍यो । कतिसम्म भने सामाजिक सञ्जालमा आएका भिडियोहरूको प्रभाव वृद्धवृद्धामा परेको देखिन्थ्यो । यसरी देश विदेशमा अर्थशास्त्रीका रूपमा सफलतापूर्वक काम गरेका स्वर्णिमको पक्षमा मतदान गर्ने लहर चल्यो ।

फेल खाएको मतदाताको अंकगणित

गत निर्वाचनमा प्राप्त मतका आधारमा कांग्रेस र एमालेले क्रमशः भट्टराई र खनाललाई उत्साहका साथ टिकट दिएको देखिन्छ । विगतमा गठबन्धन हुँदा अन्र्तसंघर्ष र आन्तरिक असन्तुष्टिका बीच तत्कालीन उम्मेदवार रामचन्द्र पौडेलले २५ हजार ३६१ लोकप्रिय मत पाएका थिए । यसैको जगमा गोविन्द भट्टराईले कामका आधारमा केही मत तान्ने आंकलनले सुरुमा कांग्रेस आशावादी थियो ।

त्यस्तै, गठबन्धनको बलमा मात्र कांग्रेसले जितेको तर विगतमा स्थानीय निर्वाचनमा सहकार्य गरेका कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका पक्षमा खसेको ६ हजार ८ सय ८६ मतमध्ये ठूलो हिस्सा आफूमा आकर्षित गर्न सकिने हिसाबकिताब एमालेले गरेको थियो ।

वाग्लेले कांग्रेसकै मत काट्ने र खनालले एमालेको मत जोगाउन सक्दा मात्रै पनि जितिने एमालेको आकलन गलत सावित भयो । नेताहरूले पुरानो अंकगणित हेरे तर, मतदाताको बदलिएको मनोविज्ञानतर्फ ध्यान दिन सकेनन् ।

यता, वाग्लेले भने गत निर्वाचनमा रास्वपाले पाएको समानुपातिक मत झण्डै तीन गुणा बढाएर जित हासिल गरे । भट्टराईले जित प्राप्त गर्न नसके पनि आफ्नो दलले विगतमा पाएको २० हजार १५८ मतमा भने झिनो बढोत्तरी गर्दै २० हजार १२२ मत प्राप्त गरे ।

माओवादी र एकीकृत समाजवादीको उम्मेदवार नभएकाले उनीहरूको स्तर खस्किएको वा सुधारिएको भन्न मिल्दैन, तर यो परिणामले एमालेमा सांगठनिक रूपमा ठूलो क्षति भएको देखिन्छ । किनकि गत निर्वाचनमा एमालेले पाएको झण्डै २० हजार मत जोगाउन नसकेर खनाल ८ हजार ४८८ मतमा साँघुरिए, जुन अघिल्लो चुनावमा दलले पाएको मतको एक तिहाइ मात्रै हो ।

गत निर्वाचनमा २५ सय मत पाएको राप्रपा यसपटक २१८ मतमा खुम्चियो ।

सौहार्द्ध प्रतिस्पर्धा

पुगनपुग एक महिनाको प्रचारका क्रममा कहिँ पनि उम्मेदवारहरूबीच भिडन्त र झडप भएन । मतदानको केही दिनअघि रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेका पिता चढ्ने गाडीमा तोडफोड राजनीतिक उद्देश्यले भएको पुष्टि हुन सकेन । कतिपय ठाउँमा उम्मेदवार घरदैलोका क्रममा आमनेसामने हुँदा पनि कुनै असामान्य माहोल सिर्जना भएन ।

सत्ता गठबन्धनका नेता र कांग्रेस महामन्त्रीद्वयले प्रचारका क्रममा स्वर्णिम वाग्लेमाथि गरेको आलोचना तटस्थ र दलका उदार मतदाताले नरुचाएको देखियो । उम्मेदवारहरूले नै भने एकअर्काप्रति हिलो छ्याप्नेगरी तल्लोस्तरमा उत्रिएर गालीगलौज गरेको सुनिएन ।

कांग्रेसका भट्टराई र रास्वपाका वाग्ले मतदाताको भावना जित्ने शैलीमा घरदैलोमा बढी खट्दा एमालेका खनाल भने खासै धेरै प्रचारप्रसारमा छाएनन् । खनालमाथि पनि व्यक्तिगत आक्षेप लागेको कतै सुनिएन । विगतमा जस्तो हिंस्रक झडप र हिलो छ्यापाछ्यापको चुनावी शैली कम्तिमा तनहुँले यसपालि देख्नु÷भोग्नु परेन ।

स्वर्णिमले पनि चाहेको भट्टराईलाई न्याय

चुनावी प्रचारमा यदाकता स्वर्णिमलाई अवसरवादी र खनाललाई संगठनमा योगदान नगरेको र सांसद अपहरणमा जोडिएको आरोप लाग्यो । तर कांग्रेसबाट उम्मेदवार बनेका गोविन्द भट्टराईलाई भने विपक्षीले प्रहार गरेनन् । कांग्रेस पृष्ठभूमिका स्वर्णिमले कांग्रेस नेतृत्वलाई खराब भनेर आलोचना गरे पनि प्रतिस्पर्धी भट्टराईको भने आलोचना गरेनन् ।

घरदैलोका क्रममा एक मतदाताले गोविन्द भट्टराईलाई न्याय हुनुपर्छ भन्दा स्वर्णिमले पनि सही थापेको भिडियो सार्वजनिक भएको थियो । कतिपयले चुनावी रणनीतिका रूपमा लिए पनि वाग्लेले त्यस भिडियोमा भट्टराईलाई राष्ट्रिय सभामा लगिनुपर्छ भन्नुका पछाडि केही सन्देश पक्कै थियो ।

चुनावी परिणाम आएपछि पनि सामाजिक सञ्जालमा वाग्लेलाई मत दिएकाले समेत भट्टराईले हार व्यहारेको नभई कांग्रेस नेतृत्वप्रतिको असन्तुष्टिका रूपमा मत अभिव्यक्त भएको बताइरहेका छन् । यसको सिधा सन्देश हो, ‘कांग्रेसको विद्यमान नेतृत्वप्रतिको असन्तुष्टिले उम्मेदवार असल नै भए पनि उनलाई मत दिन सकिएन ।’

(तनहुँ १ का मतदातासमेत रहेका पौडेल लेखक/पत्रकार हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?