+

के हो हाइड्रा फेसियल, किन बढिरहेको छ माग ?

२०८० वैशाख  १९ गते १८:३३ २०८० वैशाख १९ गते १८:३३
के हो हाइड्रा फेसियल, किन बढिरहेको छ माग ?

अनुहारलाई चम्किलो र सुन्दर बनाउने हाइड्रा फेसियल आजकल धेरै महिलाको रोजाइमा परेको छ । हाइड्रा फेसियल कम्पनीका अनुसार यो फेसियल प्रविधि नेपालसहित ८० भन्दा बढी देशमा प्रयोगमा छ ।

फेसियल प्रायः हातकै कसरतले गरिन्छ । तर हाइड्रा फेसियलमा भने हातको नभई प्रविधिको बढी प्रयोग हुन्छ ।

के हो हाइड्रा फेसियल ?

हाइड्रा फेसियल मल्टिस्टेप फेसियल विधि हो । नयाँ प्रविधिको माध्यमबाट अनुहारमा रहेको मृत छाला र फोहोरलाई भित्रैबाट सफा गरी अनुहारमा चमक ल्याउने भएकाले यो अन्य फेसियल विधिभन्दा फरक छ । यसमा केमिकलको न्यून मात्रामा प्रयोग गरिन्छ । छालाको प्रकार र समस्या अनुसार भिटामिन र सेरमको प्रयोग गरी फेसियल गर्नु यसको खास विशेषता हो ।

कसरी गरिन्छ ?

यसमा मूलतः तीन काम गरिन्छ- डिपक्लिंजिङ, एक्सफोलिएट र हाइड्रेसन ।

-सबैभन्दा पहिले क्रिम, पाउडर वा फाउन्डेसन हटाएर सजिलै फेसियल गर्न सकिने गरी अनुहार सफा गरिन्छ ।

-त्यसपछि अनुहारमा स्क्रब गरेपछि भिटामिन सी, एन्टिअक्सिडेन्ट सेरमयुक्त क्रिमले मसाज गर्ने र केही समय अनुहारलाई ठण्डा पार्न छोडिन्छ । यसले अनुहारलाई भित्रैदेखि सफा बनाउँछ ।

-मेसिनले अनुहार सफा गरेपछि हाइड्रा मास्क लगाइन्छ । २० मिनेट छोडेर अनुहारमा अन्तिममा सिरम लगाइन्छ । भित्र पुगेर सिरमले छालालाई मुलायम बनाइराख्छ ।

-यो विधि पूरा गर्न कम्तीमा एक घण्टा लाग्छ । छाला अत्यन्त कमजोर र संवेदनशील छ भने पहिला नै धर्सा आउँछ । यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्छ । यस्तो अवस्थामा फेसियलमा मसाज कम र मेसिनको प्रयोग बढी गरिन्छ ।

फाइदा

-धुलोधुँवा र प्रदूषणले छालालाई धेरै असर गर्छ । ती असरबाट जोगाउन हाइड्रा फेसियल गर्नु राम्रो हुन्छ ।

-यसले छालाको भित्री तहसम्म राम्ररी सफा हुन्छ ।

-अनुहारलाई मुलायम र हाइड्रेट राख्छ ।

-छालालाई चम्किलो बनाउँछ ।

-अनुहारमा देखिने छिद्रहरूलाई बन्द गराउँछ ।

-चाउरी न्यूनीकरण गरेर छालालाई कसिलो बनाउँछ ।

-कालो दाग धब्बा हटाउँछ ।

-कोलेजन उत्पादन बढाउँछ ।

उमेर समूह र समयावधि

१८ वर्षभन्दा माथिका जुनसुकै उमेरमा हाइड्रा फेसियल गराउन सकिन्छ । तर, कलिलै उमेरमा अनुहारमा डन्डीफोर आएमा र छाला अत्यन्त सुख्खा हुँदा पनि हाइड्रा फेसियल गराउनु उपयुक्त हुन्छ ।

एकपटकको हाइड्रा फेसियलले अनुहारलाई सफा गरी राम्रो नतिजा दिन्छ । तर अनुहारको चमक र स्वस्थ कायम गर्न भने पटक-पटक गराउनुपर्छ । यो केमिकलविहिन प्रविधि भएकाले जति गराए पनि अनुहारमा असर पर्दैन । राम्रो नतिजाको लागि सामान्यतयाः २० देखि २५ दिनमा हाइड्रा फेसियल गराउनु उपयुक्त हुन्छ ।

खर्च

सामान्यतया हाइड्रा फेसियलको शुल्क चार हजार रुपैयाँबाट सुरु हुन्छ । यसमा प्रयोग हुने सामानको गुणस्तर अनुसार सेवा शुल्कमा फरक आउँछ । हेर्दा अन्य फेसियलभन्दा शुल्क महँगो लाग्न सक्छ । तर यो विधि केमिकल नमिसाई लामो समयसम्म अनुहारलाई स्वस्थ बनाउने भएकाले तुलनात्मक रूपमा अलि खर्चिलो देखिन्छ ।

कुन अवस्थामा गर्नुहुँदैन हाइड्रा फेसियल ?

-हाइड्रा फेसियल गर्भवती महिलाहरूले गर्न हुँदैन ।

-सबै प्रकारका छालाका लागि उपयुक्त भए पनि स्किन एलर्जी भएकाले गर्न नमिल्ने पनि हुनसक्छ । यस्तो अवस्थामा चिकित्सकको परामर्श लिनुपर्छ ।

ध्यान दिऔं

-अनुहारको समस्या हाइड्रा फेसियलले मात्र समाधान गर्न सक्दैन । पर्याप्त पानी पिउने, फाइबरयुक्त खानेकुरा खाने, कम्तीमा आठ घण्टा सुत्ने र शारीरिक व्यायामलाई जोड दिएमा अनुहार चम्किलो, स्वस्थ र उज्यालो देखिन्छ ।

-हाइड्रा फेसियल गरिसकेपछि छालाअनुसार हेरचाहमा ध्यान दिनुपर्छ ।

(मेकअप आर्टिस्ट तथा सौन्दर्यविद् खड्का हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

सौन्दर्य हाइड्रा फेसियल
लेखक
सुष्मा खड्का
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय