+
+

‘अमेरिका आउनुअघि तयारी गर्नुस्, कम्तिमा मैलेजस्तो शौचालयमा रूनु नपरोस्’

माधव ढकाल माधव ढकाल
२०८० वैशाख २६ गते ७:४५

नयाँ पुस्तालाई म आफ्नो अमेरिका अनुभव बाँड्न चाहन्छु तर, आफू गयो, अरुलाई यसो भन्छ भन्ने प्रतिक्रियाको डरले सल्लाह दिन डर लाग्थ्यो । आजकल लाग्छ, मैले आफ्नो अनुभव बाँड्नुपर्छ । मेरो अनुभव धेरैका लागि उपयोगी पनि हुनसक्छ ।

म ३१ वर्ष अगाडि विद्यावारिधी गर्न अमेरिका आएको थिएँ । तर त्यहाँ पुनः स्नातकोत्तर तहमा अध्ययन गर्नुपर्ने भयो । मैले पुनः अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तहको अध्ययन दोहोर्‍याएँ ।

त्यसपछि मलाई एउटा प्रश्नले घेर्‍यो- म नेपाल फर्कने हो कि अमेरिकामा नै बस्ने हो ? अमेरिका नै बस्ने हो भने अंग्रेजी साहित्यमा विद्यावारिधीको मेरो लागि कुनै स्कोप देखिनँ । नेपाल फर्कने हो भने त्यो पनि ठिकै हुन्थ्यो किनकि त्यतिबेला अंग्रेजी पढ्ने थोरै नै हुन्थे । अन्ततः मैले अर्थशास्त्र पढ्ने निर्णय गरेँ ।

अमेरिका जानुअघि म पत्रकारितामा थिएँ । क्याम्पसमा प्राध्यापन पनि गर्थेँ । सम्पादकको तहमा काम गरिरहेको थिएँ, सबै छाडेर अमेरिका जानुपर्दा मलाई नरमाइलो लागिरहेको थियो । त्यसो त, अमेरिका अहिले जस्तो सहज थिएन । प्रविधिको विकास पनि अहिलेजस्तो थिएन । घरपरिवारसँग खबर आदानप्रदान गर्न एकदमै गाह्रो र महंगो पर्थ्यो । ल्याण्डलाइनबाट प्रतिमिनेट चार डलर तिरेर फोन गर्नुपर्थ्यो । एकदिनको कमाइले एक मिनेट कुरा गर्न पनि मुस्किल थियो ।

यसपटक नेपाल आउँदा सांगीतिक क्षेत्रमा करिअर बनाउँदै गरेकी कक्षा १० मा पढ्ने एक विद्यार्थी बहिनीलाई भेट्ने अवसर पाएँ । उनी छिट्टै अमेरिका जान चाहन्छिन् । तर गीत-संगीतमा नेपालमा जस्तो सजिलो त्यहाँ छैन भनेर उनलाई बुझाउन गाह्रो भयो ।

परिवर्तन र सुविधा सबैलाई चाहिन्छ, मन पर्छ । तर अमेरिका सोचेजस्तो सजिलो छैन ।

अमेरिका त जाने, तर केको लागि ? गएर जे गरेपनि हुन्छ भन्ने सोचले पछि अप्ठ्यारोमा परिन्छ । अमेरिकामा झैं महंगो शुल्क र कडा मेहनत गर्ने हो भने यहाँ के हुँदैन र ? मैले नयाँ पुस्तालाई निरुत्साहित गर्न खोजेको भने होइन ।

म अमेरिका गइरहेको समय सम्झन्छु । त्यतिबेला अहिलेको जस्तो सञ्चारको सुविधा थिएन । त्यसैले पनि धेरै कुरा बुझ्न सकिंदैनथ्यो र नतिजामा अमेरिका गइयो । मैले गरिनँ, बेग्लै कुरा हो, तर विद्यावारिधी गर्ने अवसरले पनि मलाई अमेरिका पुर्‍यायो ।

नेपालमा एउटा प्रतिष्ठा थियो । प्रधानसम्पादक, प्राध्यापक तर यहाँ ? ‘म के हुँदैछु- वेटर, डिसवासर ?’ मलाई गाह्रो भयो । वास रुममा गएर ऐना हेरेको, बरर आँसु आयो । म रोएँ । धिक्कार छ जस्तो लाग्यो । केहीबेरमा सम्हालिएँ । सम्हालिनुको विकल्प पनि थिएन

छात्रवृत्तिमा विदेश पढ्न जानु राम्रो हो । तर आफ्नो पैसामा अमेरिका पढ्न जानुभन्दा अगाडि धेरै सोच्नुपर्छ । अमेरिकामा अध्ययन धेरै महंगो छ । त्यहाँका नागरिक र ग्रीन कार्ड होल्डरले भन्दा धेरै गुणा महंगो विदेशी विद्यार्थीलाई पर्छ । कलेजमा अधिकतम समय दिनुपर्छ र शुल्कका लागि धेरै कडा मेहनतसहित काम गर्नुपर्छ ।

८ घण्टा काम, ८ घण्टा कलेज र अनिवार्य गृहकार्य गरेर आराम कतिबेला गर्ने ? यति मेहनतले त ढुंगा पनि रसाउँछ । त्यो लगानी, मेहनत र प्रयत्नले नेपालमा पनि प्रगति गर्न सकिन्छ भन्ने लाग्छ ।

तपाईं कस्तो प्रतिबद्धता र तयारी लिएर जानुहुन्छ, अमेरिका यात्रा त्यहीअनुसार सुखद र दुखद हुनसक्छ । धेरै नेपालीलाई अमेरिकामा रमाउन गाह्रो परिरहेको छ । परेपछि जे पनि गर्छु भनेर विनातयारी जाने साथीहरूले दुःख पनि पाउँछन् । अमेरिकामा धेरै राम्रो गरिरहेका नेपालीहरू रमाउन नसकेर फर्किएका उदाहरण पनि प्रशस्तै छन् । असफल भएका नेपाली पनि फर्किएका छन् ।

अमेरिकाको राम्रो पक्ष श्रमसँग जोडिने सबै कामलाई उचनीच भनेर हेरिन्न । ट्याक्सी वा उबर चलाएर राम्रै कमाउने र रमाउने पनि छन् । कामको वर्गीकरण गर्ने र फरक व्यवहार हुँदैन ।

साँस्कृतिक अनुकूलन

फरक संस्कृति भएकोले अनुकूलन पनि समस्या बन्न सक्छ । मैसँग जोडिएको अविस्मरणीय अनुभव छ । साँस्कृतिक अनुकूलन अत्यधिक गाह्रो कुरा रहेछ । म अहिले कल्पना पनि गर्न सक्दिनँ ।

नेपालमा स्नातकोत्तर तहमा अध्ययन गरिरहँदा संस्कृति विभाग थियो । संस्कृति पनि के पढ्नु भनेजस्तो लाग्थ्यो । तर पछि थाहा पाएँ, यो त अत्यधिक महत्वपूर्ण विषय रहेछ ।

म नेपालमा स्नातकोत्तर सकेर कलेज पढाउँदै थिएँ । अंग्रेजी पढ्नेलाई त्यतिबेला असाध्यै धेरै अवसरहरू थिए । पत्रकारितामा पनि राम्रो प्रतिष्ठा थियो । प्रधानसम्पादक समेत भएर काम गरिसकेको थिएँ । नेपालमा काममा ‘इन्ज्वाय’ गरिरहेकै बेला अमेरिका पुगेँ ।

म जस्तो काम पनि गर्छु भनेर अमेरिका गएको थिएँ । गएको तेस्रो दिन नै काम थालेँ । कामको खोजी अत्यधिक थियो । अंग्रेजी राम्रै थियो । मैले पहिलो जागिरको रूपमा वेटरको काम पाएँ । काम गर्ने ठाउँमा कसैले सोध्यो, ‘कहिले आएको ?’

मैले भनेँ, ‘द डे विफोर यस्टर्डे ।’ मेरो अंग्रेजीमा आत्मविश्वास देखेर ऊ आश्चर्यचकित भयो । राम्रो बोल्न सके पनि उनीहरूको कुरा बुझ्न गाह्रो भइरहेको थियो । उनीहरूको कथ्य भाषा र स्ल्याङ बुझ्न कठिन हुन्थ्यो ।

कालो पाइन्ट लगाएर आउन भनिएको थियो र सेतो शर्ट उनीहरूले नै दिने कुरा थियो । त्यो पहिरन लगाएपछि म भरङ्ग भएँ । नेपालमा एउटा प्रतिष्ठा थियो । प्रधानसम्पादक, प्राध्यापक तर यहाँ ? ‘म के हुँदैछु- वेटर, डिसवासर ?’ मलाई गाह्रो भयो । वास रुममा गएर ऐना हेरेको, बरर आँसु आयो । म रोएँ । धिक्कार छ जस्तो लाग्यो । केहीबेरमा सम्हालिएँ । सम्हालिनुको विकल्प पनि थिएन ।

म हिनताबोध गरिरहेको थिएँ । नेपाल नै फर्किऊँ कि भन्ने पनि लागिरहेको थियो । मलाई वेटरको काम सिकाउने बबि नामकी महिला थिइन् ।

ब्रेकमा म बबिसँग कुरा गर्नेक्रममा मैले आफ्नो पृष्ठभूमि भनेँ । उनी भोलि पनि आए हुन्थ्यो जस्तो लाग्यो । उनलाई भरोसा गरेर साथीको रूपमा पाएको थिएँ कि ? मैले सोधेँ, ‘भोलि पनि आउँछ्यौं ?’

उनले भनिन्, ‘होइन म भोलि आउँदिनँ । यो त मेरो पार्ट टाइम जब हो ।’

तत्कालमा मनमा आशा के पलायो भने यिनको अर्को पनि काम रहेछ, मलाई उता काम लगाउन सहयोग पुग्ला । अनि सोधिहालेँ, ‘तिमी अन्त केमा काम गर्छौ ?’

उनले भनिन्, ‘म एसोसिएट प्रोफेसर हुँ ।’

म अचम्भित भएँ । ‘ओ माई गड, रियल्ली ?’ भन्ने भयो ।

म त्यसपछि रमाएर काम गर्न थालेँ । प्रोफेसरहरू त यसरी काम गर्दा रहेछन् । म त को हुँ र ? भन्ने भाव आयो ।

आफूले गरेको काममा कहिल्यै हिनताबोध भएन । मेरो ‘ब्रेन वास’ भयो ।

कलेजमा एकजना अमेरिकन साथी भेटिए । उनी डिस वासरको काम मात्रै गर्छु भन्थे । उनको तर्क थियो- ‘चुपचाप भाँडा माझ्यो, कसैको डिल गर्न नपर्ने, तनाव लिनु नपर्ने । आनन्दको काम । मलाई अनावश्यक टाउको दुखाउन मन लाग्दैन ।’

कामलाई उनीहरूले जसरी प्रसंशा गर्थे, त्यसले मेरो सोच बदलिंदै गयो । म रमाउन थालेँ ।

तर पनि पीएचडी अध्ययन छाडेकोमा मलाई अहिले पनि पछुतो छ । यो सपना तीन दशकपछि पनि ज्यूँदै छ । अंग्रेजी साहित्यमा मलाई अहिले पनि ३० वर्षअघिको जत्तिकै दख्खल र रुचि छ ।

बिग्रेको कारले सपारेको सोच

अमेरिकामा मैले सुरुमा केही समय साइकल किनेर काम चलाएँ । पछि कार किनेँ, तर त्यसमा समस्या रहेछ । त्यसको ट्रान्समिसन ड्यामेज भएको रहेछ । कारको सबैभन्दा ठूलो समस्या नै त्यही हो ।

त्यसलाई मैले बिक्रीमा राखेँ । अहिलेजस्तो अनलाइन थिएनन्, अखबारमा सूचना निकालेँ । २६ सय डलरमा किनेको कार मैले ३८ सय डलर मूल्य राखेको थिएँ । एकजना ग्राहक ३४ सय डलरमा किन्न तयार भए ।

यो घटनाले मलाई व्यवसायतिर डोर्‍यायो । म ४ डलर २५ सेन्टमा काम गरिरहेको थिएँ, त्यसमा पनि कर काटिन्थ्यो । तर यता एउटा कारोबारमा ८ सय डलर नाफा भयो । त्यसपछि एउटा/दुइटा कारहरू ल्याएर बेच्न थालियो । म २५ वर्षदेखि कार डिलर चलाइरहेको छु । यसमा मेरो अर्का एक व्यापारिक साझेदारले पनि सघाइरहेका छन् ।

मेरो व्यवसायको सुरुवात यसरी भयो । ग्यास स्टेशन, टोबाको आउटलेट, रियल स्टेट, ग्रोसरी लगायतका काम गरियो ।

अहिले पनि म रियल स्टेट इन्भेस्टर हुँ । बैंक अफ अमेरिकामा काम गरेको २५ वर्ष भयो ।

कतिपयले जागिरसँगै यतिधेरे व्यवसाय कसरी गर्न सकेको भनेर प्रश्न गर्छन् । बैंकमा काम गर्दा मैले धेरै कुरा सिकेँ । व्यापार कसरी हुनेरहेछ भन्ने ज्ञान सिकेँ ।

बैंकमा बसेर लोन अफिसरको रूपमा हरेक दिन काम गर्दा धेरै ज्ञान प्राप्त भयो । त्यो ज्ञानलाई मैले व्यवसायमा उपयोग गर्न सकेँ ।

म मेरा व्यवसायहरूमा आफू धेरै समय दिन्नँ । सबैजसो काम म्यानेजिङ पार्टनरले हेर्छ । सिस्टम बनाउनुपर्छ, काम हुन्छ । साँच्चै भन्दा मेरो आफ्नो धेरै काम नै हुन्न । म अहिले ६ महिनाको बिदामा छु तर बैंकको जागिर एउटा आदत जस्तो बनेछ । कामलाई मिस गरिरहेको छु ।

अमेरिकाबाट के सिक्ने ?

नेपालमा राजनीतिक परिवर्तनका लागि पुरानो पुस्तालाई धन्यवाद दिनुपर्छ । त्यो पुस्ताले अब नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ । पुरानो पुस्ता नसकी नसकी जिम्मेवारीमा टाँसिइरहने हो भने थप प्रगति होइन, भएको पहिचान र परिचय पनि गुमाउनुहुन्छ । अहिलेसम्मको छवि र प्रतिष्ठा नबिगार्ने हो भने समयमै नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।

हुन त, अमेरिकामा जो बाइडेन पुनः राष्ट्रपतिमा प्रतिष्पर्धा गर्ने भनिरहेका छन् । फरक के छ भने त्यहाँ प्रणाली छ र त्यसले काम गर्छ । हाम्रोमा अवस्था फरक छ । अमेरिकामा गर्नुपर्ने विकास निर्माणका काम केही बाँकी छैनन् । हाम्रोमा धेरै काम गर्न बाँकी छ ।

विश्व औद्योगिक क्रान्तिमा व्यस्त रहेको बेला हामी राणा शासनमा लुकेर बस्नुपरेको थियो । संसारसँग तुलना गरौं त । आजभन्दा ४० वर्ष अगाडिको बैंकक, मलेसिया, इन्डोनेसियालाई हेरौं । अहिले प्रविधिको विकास कहाँ पुगिसक्यो । तर हामी यहाँ एकले अर्कोलाई गाली गरेर बसिरहेका छौं । यो हामी एकअर्कासँग झगडा गरेर बस्ने बेला होइन । भिजन भएको नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नुको विकल्प छैन । अब नेपालको राजनीतिक परिवर्तनको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्छ ।

अमेरिकाले हरेक दशकमा नयाँ आर्थिक संकटको सामना गरिरहेको छ । तर हरेक संकटपछि ऊ तंग्रिएर आएको छ । बितेको सय वर्षलाई हेरौं । सन् १९२० मा पहिलो विश्वयुद्धपछि अमेरिका बलियो भएर आयो । १९३० मा रिसेसनपछिको ग्रेट डिप्रेसन भयो । १९४० मा दोस्रो विश्वयुद्ध भयो । १९५० मा कोरियन युद्ध भयो । १९६० गृहयुद्ध भयो ।

१९७० मा वाटरगेट काण्ड भयो । त्यसपछि मन्दी र भियतनाम युद्ध, १९८० मा इराक-इरान युद्ध, १९९० मा मन्दी, २००१ को सेप्टेम्बर ११ मा ट्वीन टावर हमला, २०११ मा मन्दी, २०२० मा कोभिड महाव्याधि भयो । यसरी हरेक दशकमा अमेरिकाले संकट व्यहोरेको छ र त्यसबाट तंग्रिएर अगाडि आएको छ ।

म चाहन्छु- नेपालमा पनि यस्तै होस् । सरकारले स्पष्ट नीति बनाउन सक्नुपर्छ । स्पष्ट नीतिअन्तर्गत गल्तीहरूलाई सच्याउन सक्नुपर्छ । अमेरिकामा अरु केही छैन, नीतिगत स्पष्टता छ । त्यसलाई अनिवार्य लागु गर्नुपर्छ । गल्तीमा अत्यधिक जरिवाना हुन्छ जसको डरले मानिसले गल्ती गर्नुअघि धेरैपटक सोच्नुपर्छ ।

पूर्वतयारी

मान्छेको जात, जहाँ गएर पनि बाँच्न सक्दो रहेछ । तर सचेततापूर्वक योजना बनाएर अनुसन्धान गरेर जाँदा धेरै सजिलो हुन्छ । म अमेरिका गएर के गर्छु ? एउटा योजना बनाएर अनुसन्धान गर्ने र तदनुरूपको तयारी गर्ने कामले अमेरिका यात्रा धेरै सजिलो हुन्छ ।

अहिले नयाँ पुस्ता प्रविधिमा पोख्त छ । भाषामा पनि कमाण्ड छ । भविष्यप्रतिको योजना पनि स्पष्ट छ ।

आफन्त, साथीभाइ र अन्य पक्षसँग सोधखोज गर्ने र अनुसन्धान गर्ने काम नयाँ पुस्ताको प्राथमिकतामा पर्नुपर्छ ।

स्पष्ट योजना हुनुपर्छ । अँध्यारोमा ढुंगा हाने जसरी विदेश जानु हुँदैन । कम्तिमा कमाउँदै पढ्नेहरूको लागि यी तयारी अत्यावश्यक हुन्छन् ।

मानसिक रूपमा तयार भएर गएपछि नयाँ परिवेशमा अनुकूलन हुन सजिलो हुन्छ । आवश्यक तयारी गरेर गए कम्तिमा मैले जस्तो शौचालयमा गएर रुनु पर्दैन ।

 (बैंक अफ अमेरिकामा कार्यरत ढकाल अमेरिकामा विभिन्न व्यवसाय पनि गरिरहेका छन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?