+
+
विश्व उच्च रक्तचाप दिवस :

उच्च रक्तचाप : ‘लक्षण नदेखाई मान्छेलाई मृत्युको मुखमा पुर्‍याउँछ’

स्वास्थ्य सेवा विभागको एक अध्ययन अनुसार, ‘३९ प्रतिशतको मृत्यु उच्च रक्तचाप र मुटु सम्बन्धी रोगबाट हुन्छ । त्यसैले यो ज्यान लिने पहिलो रोग ठहरिएको छ ।’ अनि ३० देखि ६९ वर्षको २५ प्रतिशत जनसंख्यामा यो समस्या छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० जेठ ३ गते ९:००

३ जेठ, काठमाडौं । २०७९ फागुनमा ४५ वर्षीया एक महिला बेहोश भएर काठमाडौंको एउटा निजी अस्पतालको आकस्मिक कक्षमा पुगेकी थिइन् । चिकित्सकका अनुसार, ती महिलाको त्यसबेला रक्तचाप २१०/१३० थियो, जसका कारण मस्तिष्कघात भइसकेको थियो ।

‘मस्तिष्कघात धेरै नै थियो । विभिन्न औषधि चलाइयो । तर, अप्रेशन गर्न व्यवस्थापन गर्दा–गर्दै अस्पताल आएको दोस्रो दिन उहाँ कोमामै बित्नुभयो’ ती चिकित्सक भन्छन्, ‘यस्ता घटनाले उच्च रक्तचाप ‘साइलेन्ट किलर’ को एक ज्वलन्त उदाहरण भएको देखाउँछ ।’

२३ वर्षीय एक युवाको उच्च रक्तचापले असर गरेको कारण मिर्गौला फेल भएको छ । अहिले ती युवक नियमित रूपमा चिकित्सकको फलोअप र औषधि सेवन गरिरहेका छन् । मुटुरोग विशेषज्ञ डा. हरिहर खनालका अनुसार, ती युवकको उच्च रक्तचाप बढ्नुमा पारिवारिक तनाव एक कारण थियो ।

यस्तैगरी, ३५ वर्षीया एक महिलामा क्यान्सर भयो । ती महिलाले बढी तनाव लिंदा उच्च रक्तचापको समस्या पनि थपियो । गत चैतमा उनी बेहोश अवस्थामा अस्पतालमा पुगिन् । त्यसबेलासम्म उनको मस्तिष्कघात भइसकेको थियो । तर, अप्रेशन गरेर चिकित्सकले उनलाई पुनर्जीवन दिए ।

‘उच्च रक्तचापले मानिसको भित्र–भित्र शरीरका विभिन्न अंग फेल गराइसकेको हुन्छ । तर, बिरामीमा कुनै यस्तो लक्षण नै देखिंदैन । अहिले उच्च रक्तचाप ‘सुषुप्त हत्यारा’ का रूपमा बढ्दै गएको छ’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. खनाल भन्छन् ।

नेपालमा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगबाट सबैभन्दा धेरै मानिसले ज्यान गुमाउँछन् । स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले नेपालमा गरेको ‘स्टेप सर्भे’ २०१९ को तथ्यांक अनुसार ‘३९ प्रतिशत मृत्युको हिस्सा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगबाट हुन्छ । जुन, नेपालीको ज्यान लिने पहिलो रोग ठहरिएको छ ।’

त्यस्तै, युवावस्थामै ३० देखि ६९ वर्षका २५ प्रतिशतमा उच्च रक्तचापको समस्या छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका नसर्ने तथा मानसिक रोग शाखाका प्रमुख डा.फणिन्द्र बराल भन्छन्, ‘ठूलो संख्यामा उच्च रक्तचापका बिरामी उपचार बाहिर छन् । जसका लागि समुदाय स्तरमा गएर बिरामी खोज्नुपर्छ । तर, हाम्रो स्वास्थ्य प्रणालीले उनीहरूलाई समेट्न सकेको छैन ।’

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार साइलेन्ट किलरको रूपमा रहेको उच्च रक्तचाप मृत्युको प्रमुख कारण बन्दै गएको छ । उच्च रक्तचापलाई सामान्य स्वास्थ्य समस्याका रूपमा लिइरहेकाले यसबाट अन्य स्वास्थ्य समस्या थपिरहेको उनी बताउँछन् ।

‘धेरैले आफूलाई उच्च रक्तचाप भएको थाहै पाउँदैनन्, ढिला थाहा पाएपछि औषधि पनि ढिलै लिन्छन् । कतिले ‘साइड इफेक्ट’ देखिन्छ भनेर औषधि नै लिंदैनन्, मैले उपचारका क्रममा देखेको छु’, उनी भन्छन् । डा. अनिलका अनुसार ४० वर्षभन्दा माथिका मानिसमा ५० प्रतिशत र १५ देखि २४ वर्षको उमेर समूहमा १० प्रतिशतलाई उच्च रक्तचापको समस्या छ ।

‘आजभोलि ५० वर्षमुनिकै धेरै मानिस उच्च रक्तचापका बिरामी छन् । २० वर्षकै उमेरबाट उच्च रक्तचापको समस्या देखिन सुरु गरिसक्छ’ डा. अनिलले भने, ‘धेरै मानिस जटिल समस्या भएपछि मात्रै अस्पताल पुग्छन् । अधिकांश मानिस उपचारको दायरामा आइपुग्दैनन् । थोरै संख्याले औषधि सेवन बीचमै छोड्छन् ।’

विशेषज्ञका अनुसार उच्च रक्तचाप हुँदाखेरि मानिसलाई कुनै लक्षण नहुन सक्छ । अर्थात्, उच्च रक्तचाप ९० प्रतिशतलाई लक्षणविहीन हुन्छ भने करिब १० प्रतिशतलाई मात्रै लक्षण देखिन्छ ।

डा.अनिलले भनेझैं विश्व स्वास्थ्य संगठनको पछिल्लो अध्ययनले पनि नेपालमा करिब ४७ लाख जनसंख्यामा उच्च रक्तचापको समस्या रहेको देखाउँछ । जसमध्ये ४ लाख मानिस उपचारको दायरामा आएका छन् । त्यसमध्ये पनि २ लाखको उच्च रक्तचाप नियन्त्रणमा आएको बाँकी ४५ लाखमा यो समस्या नियन्त्रणमा आएको छैन ।

१० लाखलाई मात्रै आफ्नो उच्च रक्तचापको अवस्थाको बारेमा थाहा भएको भन्दै ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका नसर्ने तथा मानसिक रोग शाखाका प्रमुख डा.फणिन्द्र बराल भन्छन्, ‘ठूलो संख्यामा उच्च रक्तचापका बिरामी उपचार बाहिर छन् । जसका लागि समुदाय स्तरमा गएर बिरामी खोज्नुपर्छ । तर, हाम्रो स्वास्थ्य प्रणालीले उनीहरूलाई समेट्न सकेको छैन ।’

घर–घरमा उच्च रक्तचापका बिरामी

स्वास्थ्य सेवा विभाग अन्तर्गतको एकीकृत सूचना व्यवस्थापन प्रणालीको तथ्यांक अनुसार पछिल्ला वर्षमा उच्च रक्तचापको लक्षण सहितको समस्या लिएर अस्पताल पुग्ने बिरामी तीव्र गतिले बढेका छन् ।

आर्थिक वर्ष २०७९ (साउन–चैत) सम्म ६ लाख ४९ हजार ८२९ बिरामी उच्च रक्तचापको लक्षण सहित अस्पताल पुगेका थिए । जबकि, पाँच वर्षअघि (२०७४/७५) मा ४ लाख ३ हजार ९४५ जना अस्पताल पुगेको तथ्यांकले देखाउँछ ।

त्यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा ४ लाख ९९ हजार ४८५, २०७६/७७ मा ७ लाख ४१ हजार ५८२, २०७७/७८ मा ६ लाख ५७ हजार १६३ र २०७८/७९ मा ७ लाख ९५ हजार ८७ उच्च रक्तचापको समस्या लिएर अस्पताल पुगेका थिए । सरकारी तथ्यांकले अस्पताल पुगेका मध्ये उच्च रक्तचापका बिरामी ‘छैटौं’ स्थानमा रहेको देखाउँछ ।

अस्पतालमा ओपीडीमा देखाउन मात्रै भर्ना हुने बिरामीको संख्या पनि वार्षिक बढ्दै गएको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्ष उच्च रक्तचापको कारण १० हजार १८९ जना अस्पताल भर्ना भएका थिए । जबकि, चार वर्षअघिको तुलनामा यो संख्या दोब्बर हो ।

एकीकृत सूचना व्यवस्थापन प्रणालीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा उच्च रक्तचापका ५ हजार ७११ बिरामी अस्पताल भर्ना भएका थिए । २०७५/७६ मा ८ हजार ६३३, २०७६/७७ मा ७ हजार ८३३ र २०७९ (साउन–चैत) सम्म ३ हजार ४२९ जना यसका कारण अस्पताल भर्ना भएका छन् ।

पछिल्लो समय विकासोन्मुख राष्ट्रहरूमा नसर्ने रोग ‘सुषुप्त’ प्रकोपकै रूपमा बढिरहेको छ । नेपालमा नसर्ने रोगका कारण ७१ प्रतिशत मानिसको मृत्यु हुन्छ । त्यसैको अनुपातमा उच्च रक्तचापको कारणबाट मृत्यु हुने मानिसको संख्या अत्यधिक छ ।

विशेषज्ञको अनुभवका अनुसार शहर–बजारमा झण्डै–झण्डै तीन जनामध्ये एक जनालाई र ३५ प्रतिशतसम्म वयस्कहरू (१८ वर्षभन्दा माथि) लाई उच्च रक्तचापको समस्या छ ।

उच्च रक्तचाप आफैंमा मृत्युको कारण होइन । यसले मानिसलाई मृत्यु गराउने होइन, तर उच्च रक्तचापका कारणले शरीरका विभिन्न अंगमा जटिलता उत्पन्न हुन्छ, त्यसबाट मानिसको मृत्यु हुन्छ ।

विशेषज्ञ चिकित्सकका अनुसार उच्च रक्तचापको अधिकतम बहुकारण जस्तै जीवनशैली, तनाव, खानपिन, अल्छीपना र मद्यपान हो ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजू भन्छन्, ‘अहिले २२–२५ वर्षकै उमेरदेखि नै उच्च रक्तचापको समस्या बढ्दै गएको देखिन्छ । सामान्य लक्षणलाई बेवास्ता गर्दा अधिकांशमा जटिलता देखिइसकेको हुन्छ । समयमै पत्ता लगाउन नसक्दा उच्च रक्तचापको कारण जटिलता उत्पन्न भई मिर्गौला, मुटु, मस्तिष्क, आँखा र रक्तनली जस्ता अंगमा असर भई मानिसको मृत्यु नै हुन्छ ।’

विशेषज्ञका अनुसार उच्च रक्तचापले शरीरका सबै अंगलाई हानि नै पुर्‍याउँछ । यसले मानिसमा हृदयघात हुने, मस्तिष्कघात, अन्धोपन र मिर्गौला फेल हुने लगायत समस्या निम्त्याउँछ ।

‘हरेक घरमा उच्च रक्तचापका बिरामी छन् । लक्षण नै नभएका बिरामी अस्पताल आइपुग्दैनन् । लक्षण छैन तर मान्छे एकाएक ढल्छ । उच्च रक्तचापले धेरैजसो अवस्थामा कुनै पनि लक्षण नदेखाइकन मान्छेलाई मृत्युको मुखमा पुर्‍याउँछ’, डा. खनाल थप्छन् ।

विशेषज्ञ चिकित्सकका अनुसार उच्च रक्तचापको अधिकतम बहुकारण जस्तै जीवनशैली, तनाव, खानपिन, अल्छीपना र मद्यपान हो ।

पछिल्लो समय साइलेन्ट किलरका रूपमा रहेको उच्च रक्तचाप मृत्युको प्रमुख कारण बनेको उदाहरण दिंदै डा. अनिल काठमाडौंमा पेशागत रूपमा काम गर्ने युवामा तनावका कारण बढी उच्च रक्तचापको समस्या थपिंदै गएको बताउँछन् ।

‘उच्च रक्तचापको लक्षण नहुने हुँदा जो–कोहीले परीक्षण गर्नु आवश्यक ठान्दैनन् । अनि उपचार नगर्दा विभिन्न अंगमा असर पुर्‍याइसकेको हुन्छ । जब लक्षण देखिन थाल्छ, त्यतिबेलासम्म ढिलो भइसकेको हुन्छ’, डा. अनिल भन्छन् ।

‘आजको दिनमा एकाएक मृत्यु भएको हामीले देखिरहेका छौं । धेरैजसो ती मानिस युवावस्थाकै छन् । कतिपय पारालाइसिस, मिर्गौला फेल वा मस्तिष्कघात लगायत समस्या भएका छन् । यसको मुख्य कारण नै उच्च रक्तचाप हो । त्यसैले जीवनशैली नै सुधार एक प्रमुख उपाय हो’, डा.कोजु थप्छन् ।

नेपालमा पछिल्लो अध्ययनले नसर्ने रोगका कारण युवावस्थामै (३० देखि ६९ वर्षका) २२ प्रतिशतको मृत्यु हुने गरेको देखाएको छ ।

नियमित स्वास्थ्य परीक्षण एकदमै न्यून हुने हुँदा उच्च रक्तचाप थाहा नहुने समस्या छ । चिकित्सकका अनुसार उच्च रक्तचाप हुँदा अत्यधिक टाउको दुख्ने, एक्कासी नाकबाट रगत बग्ने, रिंगटा लाग्ने, थकाइ महसुस हुने, कानमा समस्या, थकान, चिन्ता वाक्वाक् लाग्ने, मुटुको धड्कन बढ्ने र बीचबीचमा मुटुको धड्कन रोकिए जस्तो लगायत लक्षण देखा पर्छन् । जोखिम नियन्त्रणका लागि रक्तचाप मापन गर्नु एक मात्र उपाय हो ।

जीवनशैली सुधार एक मात्र उपाय

विशेषज्ञका अनुसार उच्च रक्तचाप मुख्यतः दुई–तीन किसिमबाट हुन्छन् । एक प्राइमरी उच्च रक्तचाप । यसको सम्बन्ध भने जीवनशैलीसँग हुन्छ । यस्तै, अर्को रोगसँग सम्बन्धित भएर देखिने र उमेरसँग जोडिने उच्च रक्तचाप ।

मानिसलाई उच्च रक्तचाप भएको समेत थाहा नपाउने भएकाले यसको रोकथामका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा रक्तचाप र मुटुको रोग सम्बन्धी पठनपाठनको व्यवस्था र समुदायस्तरमै परीक्षण गर्नुपर्ने विज्ञ बताउँछन् ।

आधारभूत स्वास्थ्य परीक्षण गराउँदा कुनै समस्या देखिए सामान्य औषधिको प्रयोगबाट पनि रोग नियन्त्रण गर्न सकिने भएकाले समुदायस्तरमा जनचेतना फैलाउनुपर्ने डा.अनिल बताउँछन् । ‘हामीकहाँ रोग लाग्दा मात्रै अस्पताल जाने चलन छ । यो बानीमा सुधार गर्नुपर्छ । समुदायस्तरमा वार्षिक रूपमा एक पटक मात्रै परीक्षण र जीवनशैलीलाई सुधार गर्ने हो भने उच्च रक्तचापको सुषुप्त प्रकोपलाई न्यूनीकरण गर्न सकिन्छ’, उनी भन्छन् ।

उच्च रक्तचाप जस्ता दीर्घरोगबारे धेरै नागरिकलाई थाहै हुँदैन, थाहा पाउँदा ढिला भइसकेको हुन्छ । त्यसलाई सम्बोधन गर्न सरकारले नीति तथा कार्यक्रममा ४० वर्ष माथिका सबै नागरिकको वार्षिक एकपटक रगत र पिसाब निःशुल्क परीक्षण गर्ने योजना ल्याउने गरेको छ । तर यसको कार्यान्वयन भने शून्यकै अवस्थामा छ ।

अति व्यस्त र मानिसको महत्वाकांक्षी सोचका कारण स्वास्थ्यलाई ध्यान नदिने र आम्दानीलाई प्राथमिकतामा राख्ने प्रवृत्तिका कारण पनि उच्च रक्तचाप लगायत नसर्ने रोग बढिरहेको डा. खनालको तर्क छ ।

‘सूर्तीसेवन, मदिरापान, अस्वस्थकर खाना, शारीरिक निष्क्रियता, जंकफुड र प्रदूषणबाट उच्च रक्तचाप लगायतका नसर्ने रोगको समस्या बढिरहेका छन् । शारीरिक रूपमा सक्रिय नहुने, शारीरिक व्यायामको कमी, दिनभरिजसो कम्प्युटरमा बसेर काम गर्ने वा निहुरिएर बस्ने, अनियमित निद्रा जस्ता कारणले रक्तचापको समस्या बढाइरहेको हुन्छ’, डा. कोजु थप्छन् ।

साथै, मद्यपान र निकोटिनको बढ्दो प्रयोग, प्रशोधित खाद्य पदार्थको प्रयोगले पनि यसलाई बढावा दिइरहेको छ । अस्वस्थ दिनचर्याले निम्त्याइरहेको मोटोपन, मधुमेह जस्ता समस्याले समेत उच्च रक्तचापलाई सहयोग गरिरहेको छ ।

डा. खनालका अनुसार दैनिक रूपमा व्यायाम गर्ने, रातभर टिभी नहेर्ने र फोन नचलाउने, जथाभावी अस्वस्थकर खानेकुरा नखाने, मनमा धेरै कुरा नखेलाउने, समयमा सुत्ने, समयमै उठ्ने लगायत बानी मात्रै अपनाउने हो भने उच्च रक्तचापबाट बच्न सकिन्छ ।

‘यदि लक्षण नभए पनि उच्च रक्तचाप छ भने चिकित्सकको सल्लाह अनुसार औषधि खानुपर्छ । नियमित रूपमा उच्च रक्तचाप जाँच्नु  र जीवनशैलीमा ध्यान दिनुपर्छ’, डा. खनाल भन्छन् ।

सरकारले उच्च रक्तचापको दुईथरीका औषधि निःशुल्क रूपमा स्वास्थ्य संस्थाबाट वितरण गरिरहेको छ । ईडीसीडीको नसर्ने रोग शाखा प्रमुख डा.फणिन्द्र बराल उच्च रक्तचापका बिरामीलाई परीक्षण दायरामा ल्याउन समुदायस्तरमा जानुपर्ने र उपचारको दायरामा आएकालाई पनि फलोअप गर्नुपर्ने बताउँछन् ।

‘स्वास्थ्य संस्थाबाट पाउने औषधि नियमित रूपमा खाने हो भने बीचमा मानिसले औषधि छोड्दैन । तर, सबै संस्थामा उच्च रक्तचाप लगायत औषधि छन् भन्ने कुनै सुनिश्चितता गर्न सकिंदैन’ डा.बरालले भने ।

उच्च रक्तचाप जस्ता दीर्घरोगबारे धेरै नागरिकलाई थाहै हुँदैन, थाहा पाउँदा ढिला भइसकेको हुन्छ । त्यसलाई सम्बोधन गर्न सरकारले नीति तथा कार्यक्रममा ४० वर्ष माथिका सबै नागरिकको वार्षिक एकपटक रगत र पिसाब निःशुल्क परीक्षण गर्ने योजना ल्याउने गरेको छ । तर यसको कार्यान्वयन भने शून्यकै अवस्थामा छ ।

पछिल्लो समयमा खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको विशेषज्ञहरूको भनाइ छ । केही समय अगाडिसम्म मृत्युको प्रमुख कारण सरुवा रोग हुने गथ्र्यो । विशेषज्ञका अनुसार अहिले श्वास–प्रश्वास सम्बन्धी समस्या, मुटु, उच्च रक्तचाप, मधुमेह, क्यान्सर तथा मिर्गौला रोगहरू प्रमुख कारण बन्न पुग्नु चिन्ताको विषय बनेको छ ।

यस वर्षको विश्व उच्च रक्तचाप दिवसको नारा ‘उच्च रक्तचाप सही रूपमा मापन गर्नुहोस्, नियन्त्रण गर्नुहोस् र लामो समयसम्म बाँच्नुहोस्’ रहेको छ ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?