+
+

गृहमन्त्रीलाई धन्यवादसँगै खबरदारी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते २१:१३
नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्रीलाई प्रशंसा र खबरदारी गर्न गएका नागरिक अगुवा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडी ।

३ जेठ, काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणबारे बुधबार एकीकृत समाजवादीले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई, अनि गृह मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझायो । ज्ञापन पत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा चालेको कदमका लागि सरकारलाई धन्यावाद ज्ञापन र खबरदारी गरिएको छ ।

‘नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्टाचारीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन आजसम्म सरकारले राखेको अडान, कार्य र सक्रियताले आमनागरिकको बीचमा सकारात्मक सन्देश प्रवाह गरेको छ,’ गृहमन्त्री श्रेष्ठलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘निराश जनता केही मात्रामा आशावादी बनेका छन् । यसका लागि हामी नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौं ।’

भ्रष्टाचारविरुद्ध भोलि माइतीघर मण्डलामा प्रदर्शनको समेत तयारीसमेत एकीकृत समाजवादीले गरेको छ ।

मंगलबार मात्र नागरिक अगुवाद्वय डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडी मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठसँग भेट गरि भ्रष्टाचारविरुद्धको कदममा ऐक्यबद्धता जनाएका थिए ।

दुबैले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको पछिल्ला कदममा ऐक्यबद्धता जनाउँदै थप अपेक्षा र विश्वासका साथ खबरदारी समेत व्यक्त गरेका थिए । नागरिक अगुवा पाण्डे भन्छन्, ‘राम्रो काममा प्रशंसा र खबरदारीका लागि हामी त्यहाँ गएका थियौं ।’

२७ वैशाखमा नेपाली कांग्रेसका तेस्रो पुस्ताका नेताहरु गृहमन्त्रालयमा पुगेर सरकारको काममा ऐक्यवद्धता जनाएका थिए । पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य पक्राउ परेकै दिन मधु आचार्य, गुरुराज घिमिरे, गोविन्द पोखरेल, रञ्जित कर्ण, भूपेन्द्रजंग शाही लगायातका नेताहरुले सरकारको कदमले जनतामा यो देशमा केही हुँदैन भन्ने निराशा केही हदसम्म भए पनि तोडिएको भन्दै गृहमन्त्री श्रेष्ठलाई भनेका थिए, ‘अहिले यो मुद्दामा हामी तपाईंलाई उत्साह र साथ सहयोग प्रदान गर्न आएका हौं ।’

नेपाली कांग्रेसको टोलीसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा लगायतका दलका नेताहरुले पनि यो प्रकरणमा सरकारलाई साथ र सहयोग हुने बताइरहेका छन् ।

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा धन्यवादका दिन गृहमन्त्रालयमा पुग्नेहरुको संख्या उल्लेख्य छ । उनीहरुले राजनीतिक दबाव वा प्रभावका भरमा यो प्रकरणमा संलग्न भनिएका भीआईपीलाई उन्मुक्ति नदिनसमेत खबरदारी गर्ने गरेका छन् ।

आफूलाई धन्यवाद र खबरदारीका लागि मन्त्रालय आउनेहरुलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले सरकार यो प्रकरणमा पछि नहट्ने भन्दै आश्वस्त पार्ने कोशिस गरिरहेकै हुन्छन् । उनी सरकार कुनै पनि दबावमा नपरी काम गरिरहेको, निर्दोषलाई कुनै अप्ठ्यारोमा नपार्ने र दोषीलाई नछाड्ने प्रतिवद्धता जनाइरहेका छन् ।

१० पुसमा पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्दा श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री बनेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि उनी १७ चैतमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बने ।

गृहमन्त्रीको कार्यभार सम्हाल्दै श्रेष्ठले सुराकी खर्च अधिकार खारेज गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । गृहमन्त्री र सचिवले बेहिसाब प्रयोग गरिरहेको रुपैयाँ जोगाउने निर्णय गरेपछि उनको प्रशंसा भएको थियो ।

श्रेष्ठकै पहलमा मिटरब्याज पीडितहरुसँग वार्ता भएर दोषीलाई कारबाही गर्न आयोग बनाउने काम अगाडि बढेको थियो । पूर्वान्यायाधीश गौरबहादुर कार्कीको नेतृत्वको आयोगले अहिले काम सुरु गरिसकेको छ भने त्यसका लागि आवश्यक कानूनका लागि सरकारले अध्यादेशसमेत ल्याएको छ ।

नक्कली शरणार्थी प्रकरणसम्म आउँदा श्रेष्ठको कदमले माओवादी नेता कार्यकर्तालाई उत्साहित बनाएको देखिन्छ । भ्रष्टाचारका अरु मुद्दामा पनि सरकारले यसरी नै काम गर्दै गए पार्टीको खस्किदो साख जोगिने आश माओवादी नेता कार्यकर्तामा पलाएको देखिन्छ ।

भ्रष्टाचारविरुद्ध शुक्रबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले भनेका थिए, ‘२० वर्षमा खोलो फर्कन्छ भन्छन् । २०६४ मा हामी जस्तो भएका थियौं । हामी २०८४ मा त्यस्तै हुन्छौं । खोलो फेरि फर्कन्छ ।’

नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्ल ठकुरी यो प्रकरणमा सबभन्दा धेरै जस प्रहरी र मिडियालाई दिनुपर्ने बताउँछन् । त्यसपछि प्रधानमन्त्री, गृहमन्त्रीले पनि त्यसको जस स्वतः पाउने बताउँछन् ।

‘यसमा हामीले सबैभन्दा धेरै प्रहरीलाई जस दिनुपर्छ । त्यतिकै जस मिडियालाई दिनुपर्छ । यो मुद्दामा मिडियाले जुन दबाव सिर्जना गरेको छ, त्यसलाई पनि हामीले बिर्सन मिल्दैन’, उनले भने, ‘केही हदसम्म हामीले सरकारलाई पनि जस दिनुपर्छ । प्रधानमन्त्री, गृहमन्त्रीले पनि त्यसको जस पाइ हाल्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?