+

कोलेस्टेरोलको बिरामीले के खाने, के नखाने ?

२०८० जेठ  १५ गते १२:२५ २०८० जेठ १५ गते १२:२५
कोलेस्टेरोलको बिरामीले के खाने, के नखाने ?

काठमाडौं । कोलेस्टेरोल एक प्रकारको चिल्लो पदार्थ हो, जुन रगतमा पाइन्छ । कलेजोमा उत्पादन हुने यो कोलेस्टेरोलले शरीरका कोषिकालाई बिग्रिनबाट जोगाउँछ । कोलेस्टेरोलले शरीरमा हार्मोन र भिटामिन निर्माणमा पनि सहयोग गर्छ ।

शरीरका लागि महत्त्वपूर्ण भएकाले रगतमा कोलेस्टेरोल हुनु सामान्य हो, तर अप्राकृतिक मात्रामा भयो भने चाहिं समस्या हुन सक्ने पोषणविद् भूपाल बानियाँ बताउँछन् ।

‘कोलेस्टेरोल दुई प्रकारको हुन्छ । कम घनत्व भएको लाइपोप्रोटिन वा खराब कोलेस्टेरोल, जुन धमनी रक्त वाहिनीनलीमा जम्मा भएर खतरनाक रोग निम्त्याउने कोलेस्टेरोल,’ उनी भन्छन्, ‘त्यस्तै हाइ डेन्सिटी लाइपोप्रोटिन (एचडीएल)लाई राम्रो कोलेस्टेरोल भनेर चिनिन्छ । यसले शरीरमा रहेको खराब कोलेस्टेरोललाई कलेजोसम्म लैजाने काम गर्छ । ताकि यस्तो खराब कोलेस्टेरोल शरीरबाट बाहिर जाओस् ।’

कोलेस्टेरोललाई नियन्त्रणमा राख्नुपर्ने हुन्छ । यसलाई नियन्त्रणमा राख्न खानपानको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले कस्तो खानेकुराले कोलेस्टेरोल बढ्छ र नियन्त्रणको लागि कस्तो खानपान अपनाउने भन्ने कुरामा विचार पुर्‍याउन सके कोलेस्टेरोलका कारण निम्तिने अन्य समस्याबाट बच्न सकिने बानियाँ बताउँछन् ।

कोलेस्टेरोल बढाउने खानेकुरा

कोलेस्टेरोललाई बढ्न नदिन मांसाहारी खानेकुरामा नियन्त्रण गर्नुपर्छ । रातो मासुमा धेरै बोसो हुने भएकाले सकेसम्म नखानु राम्रो हुन्छ । अन्य मासुमा पनि बोसो हुने भएकाले त्यस्ता खानेकुरा कम खानुपर्छ ।

‘तारेको, भुटेको तथा चिल्लो खानेकुराले पनि कोलेस्टेरोललाई बढाउँछ । मदिरामा धेरै क्यालोरी हुने भएको यसले पनि कोलेस्टेरोल बढाउँछ । त्यसैले यस्ता खानेकुराबाट पनि टाढा रहनुपर्छ,’ पोषणविद् बानियाँ भन्छन् ।

बाहिरको खाना खानु हुँदैन, बाहिर होटल तथा रेस्टुरेन्टमा बनेको खानामा धेरै तेलको प्रयोग भएको हुन्छ । वनस्पति घिउको प्रयोग भएको हुन्छ, जुन मुटुका लागि एकदमै नराम्रो हुने बानियाँ बताउँछन् ।

ट्रान्स फ्याट भएका खानेकुरा जस्तै फास्टफुड, जंकफुड, प्याकेटमा राखिएको खानाले पनि कोलेस्टेरोलको मात्रा अत्यधिक बढाउँछ । प्याकेटमा राखिएको खानालाई लामो समयसम्म टिकाउन विभिन्न केमिकलको प्रयोग भएको हुने भएकाले यसले कोलेस्टेरोल बढाउँछ । त्यसैले त्यस्ता खानेकुरा खाने बानी छ भने कम गर्दै जानुपर्ने बानियाँ सुझाउँछन् ।

‘धेरै गुलियो प्रयोग भएका कोल्ड ड्रिंक, इनर्जी ड्रिंक र विभिन्न प्रकारका मिठाइको सेवनले पनि कोलेस्टेरोललाई बढाउँछ । त्यसैले धेरै गुलियो खानेकुरा पनि कम खानु उचित हुन्छ,’ उनी भन्छन् ।

के खाने त ?

कोलेस्टेरोलको समस्या भएका व्यक्तिले अण्डाको पहेंलो भाग खानु हुँदैन भनेको हामी सुन्छौं । दैनिक दुई वटासम्म अण्डा खाँदा कोलेस्टेरोल नबढ्ने पोषणविद् बानियाँ बताउँछन् ।  ‘तर त्यही अण्डा दैनिक पाँचवटा खायो भने त्यसले भने कोलेस्टेरोल बढ्न सक्छ । त्यसैले कस्तो खाना खाने र कति मात्रामा खाने भन्ने कुरामा ध्यान दिनुपर्छ,’ उनी भन्छन् ।

बजारमा पाइने चाउचाउ बिस्कुटजस्ता प्रशोधित खाजाको सट्टामा घरमा बनेको खाजा रोटी तरकारी, दही चिउरा खान सकिन्छ । साथै रातो मासु खाँदा कोलेस्टेरोल बढ्छ भने त्यसको  विकल्पमा कुखुराको मासु खान सकिने उनी सुझाउँछन् ।

‘रेसायुक्त खानेकुरा खानु राम्रो हुन्छ । यसले आन्द्रामा गएर कोलेस्टेरोलको शोषणलाई घटाउँछ र कोलेस्टेरोलमा सुधार आउँछ,’ बानियाँ भन्छन्, ‘त्यसैले प्रशस्त मात्रामा फाइबर भएका खानेकुरा जस्तै फलफूल, हरियो सागसब्जीको प्रयोग गर्नुपर्छ ।’

काजु, बदाम र ओखरजस्ता नट्स, एभोकार्डो, माछालगायत खानेकुरा राम्रो कोलेस्टेरोलको स्रोत हो । यस्ता खानेकुरालाई दैनिक खानपानमा समावेश गरियो भने कोलेस्टेरोल नियन्त्रणमा रहने बानियाँ बताउँछन् ।

खानेकुराका साथै अधिक वजन पनि कोलेस्टेरोल बढ्ने कारण बन्न सक्छ । बानियाँ भन्छन्, ‘शारीरिक गतिविधिको अभावले पनि एलडीएल अर्थात् खराब कोलेस्टेरोल बढ्न सक्छ । त्यसैले खानपानसँगै व्यायाम पनि गर्नुपर्छ, जसले कोलेस्टेरोललाई नियन्त्रणमा राख्न सहयोग गर्छ ।’

कोलेस्टेरोल स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?