+
+

ती तीन ठूला विद्रोह, फेरि व्यवस्थाकै पीर !

यज्ञ खत्री यज्ञ खत्री
२०८० जेठ १५ गते १५:२०

१५ जेठ, सुर्खेत । २००७ साल फागुनको कुरा हो । एक रात एक्कासी ‘इन्कलाब जिन्दावाद’ को नारा गुन्जियो । स्थान थियो, वीरेन्द्रनगर–४, भैरवस्थान सुर्खेत । त्यो बेलाको वीरेन्द्रनगर सानो बस्ती थियो ।

भोलिपल्ट बिहान स्थानीय हरिलाल पन्तको अगुवाइमा ३०–४० जनाको एउटा जुलुस तत्कालीन मुकाम, गोठीकाँडातिर लाग्यो । त्यही जुलुसमा थिए, ९ वर्षीय बालक कृष्णश्याम शर्मा ।

‘त्यो जुलुसले गोठीकाँडामा रहेको अड्डा अदालत, कब्जा गर्‍यो’, ८२ वर्षीय कृष्णश्याम त्यो दिन सम्झदै भन्छन्, ‘मैले धेरै पछि थाहा पाएँ । त्यही दिन रहेछ, १ं०४ वर्षे राणा शासनको कालरात्री अन्त्य भएको ।’

त्यो बेला राणाहरुले जे बोले त्यही कानुन बन्थ्यो । जनताका छोराछोरी पढ्न लेख्न पाउँदैनथे । राणाका भाइ भारधार नै प्रधानमन्त्री, मन्त्री र देशको सर्वोच्च पदमा नियुक्त हुन्थे । कृष्णश्याम भन्छन्, ‘व्यवस्था यति क्रुर थियो कि, राणाहरुले मान्छेलाई भन्दा बढी पशुलाई इज्जत गर्थे ।’

‘अँध्यारोमा जुनकिरीहरु बल्न र उड्न कहाँ छोड्छन् र । राणा शासनविरुद्ध गोर्खामा लखन थापाले विद्रोह गरे । सुब्बा कृष्णलाल अधिकारीले ‘मकैको खेती’ किताब लेखे । चार जनाले ज्यान गुमाए’, कृष्णश्याम सुनाउँछन्, ‘भारतमा जन्मिएका कांग्रेस र कम्युनिष्ट पार्टीहरुले आन्दोलन चर्काए अनि मात्र देशले प्रजातन्त्र आयो ।’

नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालमा राणा शासनविरुद्धको आन्दोलनमा भाग लिएका कृष्णश्याम ४० वर्ष शिक्षण पेशामा लागेर अवकाश जीवन बिताइरहेका छन् । शिक्षक हुँदा उनले कम्युनिष्ट निकट शिक्षकहरुको संगठन मार्फत पञ्चायत बिरुद्ध गाउँमा जनचेनता जगाउँदै हिँडे । पञ्चायती व्यवस्था ढल्यो । कृष्णश्यामले २०६२/६३ को परिवर्तन पनि देखे । गणतन्त्र र संघीयता देखे । गणतन्त्रविरुद्ध नै नाराबाजी गरेको पनि देखे ।

जब गणतन्त्र विरुद्धको आवाज सड्कमा सुनिन्छ । जब ‘राजा आउँ, देश बचाउ’ भन्दै सड्कमा युवाहरु कुर्लेको देख्छन् तव कृष्णश्यामको मन बिरक्तिन्छ । ‘हिजो सानो कष्टपूर्ण आन्दोलनले यो व्यवस्था आएको हैन’, उनलाई चिन्ता छ, ‘हिजो हजारौं नेपालीले दिएको रगत र बलिदानी कतै माटोमा त मिसिने हैन ?’

पञ्चायतको बिदाइ

२०४५/०४६ तिर निरंकुश पञ्चायती व्यवस्था थियो । त्यो व्यवस्थाले केही अत्यासलाग्दा बन्देज लगाएको थियो । खुलेर बोल्न नपाइने, मनका कुरा खोल्न नपाइने ।

राजनीतिक दलहरुले संयुक्त आन्दोलन थाले । २०४६ सालमा गणेशमान सिंह र मदन भण्डारीको अग्रसरतामा काठमाडौंमा वाम लोकतान्त्रिक मोर्चा बन्यो । त्यो आन्दोलन देशैभर चर्कियो ।

सुर्खेतमा पनि दिनहुँजसो आन्दोलन हुन्थ्यो । त्यो आन्दोलनमा हिँड्ने एक्ली महिला थिइन्, वीरेन्द्रनगर–४ कि अनिता कोइराला । पञ्चायतविरुद्धको आन्दोलनमा जानुपूर्व उनले परिवारभित्रको अर्को विद्रोह गर्नुपरेको थियो ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध भएकी अनिता १२ वर्षको उमेरदेखिनै विद्यार्थी राजनीतिमा लागिन् । कहिले जंगल त कहिले बन्द कोठामा संगठन बनाउँदै, परिवर्तनको आवाज उठाइन् ।

‘निरंकुश पञ्चायतमा बोल्न पाइदैन्थ्यो । छोरीलाई पढाइदैन्थ्यो । अत्याचारले सीमा नाघेको थियो’, अनिताले अनलाइनखबरसँग भनिन्, ‘त्यो बेला आवाजका लागि लड्नुपर्छ भन्ने चेतनाले काम पर्‍यो । अनि हरेक आन्दोलनमा सक्रिय रहेँ ।’

व्यवस्थाविरुद्धको लडाइँम हिँडेकै कारण उनले ९ महिना जेल र ५ दिन हिरासत बस्नुपर्‍यो । जीवनको उर्जाशील समय व्यवस्था परिवर्तनमा खर्चिएकी अनिता अहिले ५७ वर्षकी भइन् । आन्दोलनकै लाग्दा प्रहरीको लाठीले उनको खुट्टा भाँचियो ।

‘हामीले लडेर ल्याएको व्यवस्थामा त्याग र बलिदानको कदर हुन सकेन, चाकडी प्रधान भयो । तर मैले नेताको चाकडी र ज्यू, हजुरी गर्न जानिनँ’ उनी भन्छिन् ।

राजतन्त्रको अन्त्य

२०६२/६३ को जनआन्दोलनमा सुर्खेत चुपचाप रहने कुरै थिएन । राजाको प्रत्यक्ष शासनविरुद्ध वीरेन्द्रनगरले पनि आवाज उठायो । २०६० देखि ०६२ सम्म वीरेन्द्रनगरमा प्रायजसो आन्दोलन भैरहन्थ्यो ।

त्यतिबेलाका आन्दोलनको नेतृत्व पंक्तिमै थिए, सिम्ता गाउँपालिका–२ सुर्खेतका विद्यार्थी नेता तेजविक्रम बस्नेत । तत्कालीन शिक्षा क्याम्पस सुर्खेतका स्ववियू सभापति बस्नेतको अधिक समय सडकमै बित्थ्यो ।

‘लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि, निरंकुश राजतन्त्र अन्त्य गरौं’ भन्ने मूल नाराका साथ उनीहरु सडक आन्दोलन गर्थे । राजा वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्र राजा भए । ज्ञानेन्द्रले ०६१ माघ १९ मा शाही घोषणामार्फत तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी शासन सत्ताको नेतृत्व आफ्नो हातमा लिए ।

२०५२ देखि माओवादीले सशस्त्र युद्ध गरिरहेको थियो । ‘शहरमा ज्ञानेन्द्र, गाउँमा प्रचण्डको निरंकुशता थियो । गाउँमा दिनहुँजसो हत्या, हिंसा भैरहन्थ्यो । दोहोरो आतंक थियो’, बस्नेत भन्छन्, ‘त्यसको मारमा सोझासाझा जनता थिए । त्यतिनै बेला हो, हामीले शान्ति र लोकतन्त्र प्राप्तिको पक्षमा आन्दोलन गर्‍यौं ।’

राजाको कदमविरुद्ध राजनीतिक दलहरु आन्दोलनमा होमिए । २४ चैत २०६२ बाट देशब्यापी आन्दोलन सुरु भयो । सशस्त्र युद्ध गरिरहेको माओवादी र संसदीय धारमा रहेका राजनीतिक दलहरुबीच पनि राजाको कदमविरुद्ध आन्दोलन गर्ने सहमति भयो ।

२४ चैतबाट सुरु भएको आन्दोलन १९ दिनसम्म चल्यो । ‘निरंकुश राजतन्त्र अन्त्य गर्नुथियो । मानवअधिकार, शान्ति र लोकतन्त्र, प्रेस स्वतन्त्रता ल्याउनु थियो । माओवादी र राजाको दोहोरो आतंकबाट आजित जनतालाई मुक्त गर्नु थियो’, त्यो आन्दोलनबारे बस्नेत भन्छन् ।

तेजबिक्रमहरु सडकमा उत्रिएको त्यो आन्दोलनले ११ वैशाख २०६३ मा संसद पुनस्र्थापना भयो, ज्ञानेन्द्र शाहको शासन अन्त्य भयो । माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भयो ।

दुई वर्षपछि १५ जेठ २०६५ मा राजतन्त्रकै अन्त्य भएर गणतन्त्र स्थापना भयो । आज त्यही गणतन्त्र पनि १५ वर्ष पुगेको छ । तर यो १५ वर्षले समस्या व्यवस्थामा नभई व्यक्तिमा भएको महशुस गराएको बस्नेतको बुझाइ छ । ‘हामी व्यवस्था फेर्न लाग्यौं, खोट व्यक्तिमै रहेछ । राजा त फाल्यौं, तर हजारौं छोटे राजाहरु जन्मिए’, उनी भन्छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?