+
+

भारत भ्रमण विगतको भन्दा परिणाममुखी भएको छ : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २० गते १९:३६

२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण परिणाममुखी भएको बताएका छन् ।

चार दिने भारत भ्रमण पूरा गरी शनिबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमण विगतका भन्दा परिणाममुखी र कामकाजी भएको बताएका छन् ।

‘भ्रमण विगतको भन्दा परिउणामुखी भएको छ, कामकाजी भएको छ, आर्थिक क्रियाकलाप र द्विपक्षीय सहयोगको क्षेत्रमा बढी केन्द्रित भएको छ’ उनले भने ।
भारत भ्रमणअघि आफूले जे सोचेको त्यो मूलभूत रुपमा पूरा भएको प्रचण्डले बताए । ‘यो भ्रमण जे भनेर गएको थिएँ, मूलभूत रुपमा सोचेको कुरा पूरा भएको छ, केही महत्वपूर्ण दूरगामी सहमति समझदारी भएका छन्’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले दुई देशको राजनीतिक नेतृत्व तहमा विश्वासको वातावरण बनेको पनि बताए । ‘ पहिले विश्वासको संकटजस्तो देखिन्थ्यो । नेतृत्व लेभलमा विश्वासको वातावरण बन्यो’ प्रधानमन्त्री प्रचण्डले भने ।

ऊर्जा व्यापारमा लामो अवधिको सम्झौता हुनु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै १० वर्षमा १० हजार मेगावाट विजुली खरिद गर्ने कुरा गर्नु, पारवहन सम्झौता हुनु, रेलमार्ग, पुल निर्माण सुख्खा बन्दरगाह भारतले अनुदानमा बनाउन तयार हुनुजस्ता कुराले विश्वासको वातावरण बनेको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले दिएको मन्तव्य पढ्नुहोस् 

उपस्थित सञ्चारकर्मी मित्रहरू,

१. मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केको छु।

२. भ्रमणका अवसरमा भएका द्विपक्षीय भेटघाट एवं कार्यक्रमहरूका बारेमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीबाट जारी प्रेस विज्ञप्ति र भ्रमण दलमा रहेका सञ्चारकर्मी मित्रहरुबाट सम्प्रेषित समाचार मार्फत यहाँहरू अवगत नै हुनुहुन्छ।

३. भ्रमणका दौरान भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु, उपराष्ट्रपति श्री जगदीप धनखड सँग मैले शिष्टाचार भेट गरेँ। भेटका क्रममा नेपाल भारतबीचको सदियौँ पुरानो र घनिष्ठ सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाउने बारे छलफल भयो।

४. भ्रमणको महत्वपूर्ण पक्षको रुपमा भारतीय प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीसँग नयाँ दिल्ली स्थित हैदरावादहाउसमा भएको द्विपक्षीय भेटवार्ता रह्यो। सो अवसरमा नेपाल-भारत सम्बन्धका विविध पक्षमा रहेको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ पार्ने बारे छलफल तथा विचारको आदान-प्रदान भएको छ।

५. मेरो भ्रमणका अवसरमा भारतीय प्रधानमन्त्री र मैले देहायका परियोजनाको भर्चुअल माध्यमबाट उद्घाटन र शिलान्यास गरेका छौँ :

  • १. कुर्था बिजलपुरा रेलमार्गको हस्तान्तरण।
  • २. भारतको जोगबनी देखि नेपालको विराटनगर कस्टमस् यार्डसम्म कार्गो रेलसेवाको संचालन।
  • ३. भैरहवा – सुनौलीस्थित एकीकृत जाँचचौकीको शिलान्यास ।
  • ४. नेपालगञ्ज-रूपैडियास्थित एकीकृत जाँचचौकीको उद्घाटन ।
  • ५. मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको निर्माणकार्यको शिलान्यास ।
  • ६. बुटवल-गोरखपुर ४०० केभी अन्तरदेशिय प्रशारण लाइनको शिलान्यास ।

६. यसै भ्रमणका अवसरमा देहायका सातवटा दस्तावेजहरुमा हस्ताक्षर र आदानप्रदान भएको छः

  • १. नेपाल-भारत पारवहन सन्धी ।
  • २. पेट्रोलियम पूर्वाधार निर्माण सम्बन्धी समझदारीपत्र ।
  • ३. दोधारा-चाँदनीमा एकीकृत जाँचचौकी तथा सुक्खा बन्दरगाहको निर्माण सम्बन्धमा समझदारीपत्र ।
  • ४. फुकोट-कर्णाली ४८० मेघावाट जलविद्युत परियोजना विकास सम्बन्धी समझदारीपत्र ।
  • ५. तल्लो अरुण ६३९ मेघावाट जलविद्युत परियोजना सम्बन्धी परियोजना विकास सम्झौता ।
  • ६. नेपालको नेशनल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट कम्पनी इण्डिया लिमिटेड बीच सीमापार विद्युतीय भुक्तानी सम्बन्धी समझदारीपत्र ।
  • ७. नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र भारतको सुष्मा स्वराज विदेश सेवा संस्थान बीच समझदारीपत्र ।

७. त्यसका अतिरिक्त व्यापार, पारवहन, लगानी प्रवर्धन, ऊर्जा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन, सिंचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, सीमा वारपार संपर्क (Connectivity) बढाउन रेलवे सेवा सञ्चालन कार्य, पुल निर्माण तथा एकीकृत जाँच चौकी एवं सुक्खा बन्दरगाहजस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने लगायतका विषयमा छलफल भएको छ।

८. भारतीय आन्तरिक जल यातायात संजाल समेत प्रयोग गर्न सकिने र बल्क कार्गो समेत ढुवानी गर्न सकिने गरी परिमार्जन भएको एवं विगत चार वर्ष देखी हुन नसकेको पारवहन सन्धी सम्पन्न भएको छ। यो एक महत्वपूर्ण उपलब्धी हो भन्न सकिन्छ।

९. हवाई सेवालाई थप सुरक्षित बनाउन नेपालले अर्को हवाई प्रवेश मार्ग र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि Instrumental Landing System (ILS) संचालन गर्ने प्रक्रिया सम्बन्धमा भारतीय पक्षको समझदारीका बारेमा समेत छलफल भएको छ। नेपालगञ्ज र भैरहवाबाट नयाँ दिल्ली लगायतका भारतका अन्य शहरमा दुई तर्फी उडान गर्ने सम्बन्धमा सकारात्मक कुराकानी भएको छ।

१०. त्यसैगरी जलविद्युतका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा समेत बलियो सहमति निर्माण भएको छ। विभिन्न जलविद्युत आयोजनामा भारतीय लगानी भित्र्याउने, द्विपक्षीय उर्जा व्यापारका लागि ट्रान्समिसन लाईनलगायतका संरचनाको निर्माण गर्ने तथा नेपालबाट भारततर्फ उर्जाको दिर्घकालिन व्यापारका लागि वैधानिक आधार सुनिश्चित गर्ने विषयमा पनि भ्रमणमा छलफल र केहि महत्वपूर्ण सहमति भएको छ। खास गरी दीर्घकालिन उर्जाव्यापार र भारतीय भूमी हुँदै बङ्गलादेशसम्म नेपालबाट जलविद्युत निर्यातको शुरूवात गर्ने सैद्धान्तिक सहमति भई त्रिपक्षीय सम्झौताका लागि प्रक्रिया अघि बढाउने सहमती भएको छ। भारतका प्रधानमन्त्रीले आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत नेपालबाट आयात गर्ने भारतको लक्ष्य रहेको बताउनुभएको छ । उर्जा व्यापार सम्बन्धी सम्झौता सबै हिसाबबाट सम्पन्न भएको र औपचारिकता दिन मात्र बाँकी छ, जुन छिटै हुँदैछ।

११. ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनासहित थप १२ सय मेगावाट क्षमताका आयोजनाबाट भारततर्फ जलविद्युत निर्यातका लागि प्रधानमन्त्री मोदीजीलाई अनुरोध गरेको छु।

१२. साथै नेपालमा निर्माणाधिन जलविद्युत, सडक जस्ता ठूला विकास निर्माण परियोजाको लागि अति आवश्यक विष्फोटक पदार्थको सहज र सरल आपूर्तीका लागि प्रधानमन्त्री मोदीसंग कुरा गरेको छु।

१३. पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको शिघ्र कार्यान्वयनका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिने गरी द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति भएको छ। वित्तीय प्रबन्ध सहित दुई सरकारले डीपीआर स्वीकृत गरेपछि त्यसको एक वर्षभित्र कार्यान्वयनको ढाँचा टुङ्गो लगाइनेछ।

१४. नेपाल तर्फका संरचनाहरूको तयारीको अवस्थाका आधारमा टनकपुर ब्यारेजबाट लिङ्क क्यानलमार्फत चरणबद्ध रुपमा नेपाललाई सिँचाइको लागि पानी उपलब्ध गराउने सहमति भएको छ।

१५. नेपाल–भारत सीमावर्ती क्षेत्रमा बाढी र डुबानका समस्याका बारेमा पनि छलफल भएको छ। मनसुन सुरु हुनुअघि नै बाढी र डुबान नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन आवश्यक कदम चाल्नका लागि विद्यमान द्विपक्षीय संयन्त्रहरूलाई तत्काल सक्रिय बनाउन सम्बन्धित अधिकारीहरूलाई प्रधानमन्त्री मोदीजी र मैले निर्देशन दिएका छौँ।

१६. त्यसैगरी नेपालभित्र थप विद्युत प्रशारण लाइन निर्माणका लागि एक्जिम बैङ्क इण्डियाबाट प्राप्त सहुलियतपूर्ण कर्जाको चौँथो खण्डको रकम उपयोग गर्ने विषयमा प्रधानमन्त्री मोदीजी सहमत हुनभएको छ।

१७. भारतको अनुदान सहयोगमा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तार गर्ने र सिलगढीदेखि झापाको चारआलीसम्म नयाँ क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषयमा पनि दुवै पक्षबीच सहमति भएको छ ।महाकाली नदीमाथी शिर्स (पर्शुराम धाम- पूर्णागिरी माई) तथा झुलाघाटमा भारत सरकारको अनुदान सहयोगमा पक्की पूल निर्माण गर्ने सहमती भएको छ।

१८. भारत सरकारको अनुदान सहयोगमा रामायण सर्किट अन्तर्गतका परियोजना, जि. पि. कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेस र सुदुरपश्चिममा Nepal Institute of Technology, कैलाली र चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको निर्माण कार्य अघी बढाउने बारेमा पनि छलफल भएको छ।

१९. साथै, कृषि क्षेत्रमा क्षमता अभिवृद्धि, अर्गानिक खेती, प्राकृतिक कृषि प्रणाली, नानो फर्टिलाइजर जस्ता विषयमा आपसी सहयोग विस्तार, मलको सहज आपूर्ती, नगदे बाली र चौपायाको नश्ल सुधारका लागि सहायता लगायतका विषयमा समेत छलफल भएको छ। नेपाली र भारतीय कम्पनीको संयुक्त लगानीमा नेपालमा रासायनिक मल कारखानाको सम्भाव्यता एव् बजारको सुनिश्चितताका बारेमा पनि छलफल गरेका छौँ। भारतीय बजारमा नेपालका कृषिजन्य उत्पादन र प्राथमिक वस्तुहरूको निर्यात सहजिकरणका लागि भारतीय प्रधानमन्त्रीसंग कुराकानी भएको छ।

२०. द्विपक्षीय व्यापारलाई थप प्रवर्धन गर्ने र नेपालले सामना गरिरहेको व्यापार घाटा न्युनिकरणको विषयमा पनि छलफल भएको छ। द्विपक्षीय व्यापारलाई अझ सहज बनाउन नेपाल भारत वाणिज्य सन्धीको पुनरावलोकन गर्न र व्यापारसम्बन्धी अन्य विषयलाई सम्बोधन गर्न वाणिज्य सचिवस्तरीय विद्यमान द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाएर कार्य गर्ने निर्देशन दुवै प्रधानमन्त्रीले दिएका छौँ। व्यापार सहजिकरणका लागि प्रयोगशालाहरूले जारी गर्ने प्रमाणपत्रको mutual recognition र accreditation सम्बन्धी कार्यलाई अभ्यासमा उतार्ने गरी द्विपक्षीय समझदारीपत्रलाई टुङ्गोमा पुर्यालउने सहमति भएको छ। नेपाली जुटमा लगाइएको महशुल (countervailing duty) हटाउन समेत भारतीय प्रधानमन्त्रीसंग कुरा गरेको छु।

२१. भेटवार्ताका क्रममा सीमा सम्बन्धी विषयहरुमा कुराकानी भएको छ। सीमा सम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरू मार्फत समाधान गर्न भारतका प्रधानमन्त्रीलाई आग्रह गरेको छु। यहाँहरूलाई थाहा नै छ, प्रधानमन्त्री मोदीजीले पनि प्रेस मिटको अवसरमा यो भ्रमणले सृजना गरेको सौहार्दतापूर्ण वातावरणको मर्म (Spirit) अनुरूप सीमा लगायत थाति रहेका सबै समस्या समाधान गरिने छ भन्ने भावना स्पष्ट ढंगले व्यक्त गर्नुभएको छ। धेरै समय पछी भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धमा आएको यो सकारात्मक अभिव्यक्तीबाट म उत्साहित भएको छु।

२२. साथै, भारत भ्रमणका अवसरमा नेपाल र भारतका निजि क्षेत्रका छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ (FNCII) र भारतीय उद्योग परिसंघ (CII) द्वारा आयोजित Nepal-India Business Summit लाई सम्वोधन गर्दै भारतीय लगानीकर्तालाई नेपालमा लगानीका लागि आव्हान गरेको छु।भारत सरकारका वाणिज्य मन्त्रीसमेत उपस्थित उक्त कार्यक्रममा नेपालका निजी क्षेत्रका प्रतिनिधि तथा भारतीय व्यवसायी तथा लगानीकर्ताहरुबीच साझेदारी र लगानीका विषयमा अन्तर्क्रिया समेत भएको छ।

२३. नयाँ दिल्लीको द्विपक्षीय भेटवार्ता र अन्य ‌औपचारिक कार्यक्रमहरूको समापन पछी मैले भारतको मध्य प्रदेशको इन्दौर र सांस्कृत सहर उज्जैनको भ्रमण समेत गरेँ। इन्दोरमा स्वच्छ भारत अभियान अन्तर्गतको Solid Waste Management परियोजना र नेपालमा सुचना प्रविधीको विकासका क्षेत्रमा सहकार्य गर्ने संभावनालाई मध्यनजर गर्दै इन्दोरस्थित Tata Consulting Services (TCS) को पनि अवलोकन गरेँ। छोटो समयमै कम लगानीमा प्रभावकारी ढङ्गले संचालित इन्दोरको Solid Waste Management सम्बन्धी अनुभव हाम्रा लागि पनि अनुकरणीय रहेको पाएँ।

२४. मैले भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीजीलाई नेपाल भ्रमणको निम्ता दिएको छु र भारतका प्रधानमन्त्रीले आफूले सन् 2014, 2018 र २०२२ मा नेपालको भ्रमण गरेको स्मरण गर्दै नेपालको भ्रमणलाई ठूलो महत्व दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ।

२५. नेपाल र भारतबीच रहेको बहुआयामिक र घनिष्ठ सम्बन्धलाई समानता र आपसी लाभका आधारमा थप मजबूत बनाउन यस भ्रमणले योगदान गरेको छ। भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीसंग खुलस्त रूपमा कुराकानी भई विश्वासको वातावरण सिर्जना भएको छ भने थाती रहेका विषयलाई सम्बधोन गर्न सकिने विस्वासको आधार तयार भएको छ। नयाँ आम निर्वाचनपश्चातको पहिलो विदेश भ्रमणको रूपमा रहेको यो भारत भ्रमण मैले विगतका भ्रमण भन्दा फरक पाएको छु। सारभूत रूपमा यो भ्रमण परिणाममूखी रहेको छ र भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत कोरेको छ।

२६. अन्त्यमा, यस औपचारिक भ्रमणको अवधिमा भारत सरकारबाट प्राप्त आतिथ्यता एवं मध्यप्रदेश सरकार र जनताबाट प्राप्त न्यानो स्वागतका लागि भारतका प्रधानमन्त्री, भारत सरकार, मध्यप्रदेशका राज्यपाल र मुख्यमन्त्री एवं भारतीय जनताहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यस भ्रमणबारे समाचार सम्प्रेषण गर्नुहुने सबै सञ्चारकर्मी मित्रहरूलाई धन्यवाद ज्ञापन गर्दछु।

धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?