+
+

प्रचण्डले त्यागेको परिवर्तन

सइन्द्र राई सइन्द्र राई
२०८० जेठ २० गते २१:५५

२० जेठ, काठमाडौं । चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री नियुक्त भएको पाँच महिनापछि १७ जेठमा नयाँ दिल्ली पुगेका प्रचण्ड र समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बिहीबार नै दुई देशबीच सात समझदारी/सम्झौता भएको थियो । त्यसैदिन संयुक्त पत्रकार सम्मेलनमार्फत समकक्षी मोदीसँगै उभिएर भेटवार्ताबारे प्रचण्डले भए गरिएका सहमति/सम्झौताबारे जानकारी दिएका थिए ।

यसको भोलिपल्ट, शुक्रबार मध्य प्रदेशको उज्जैन पुगेर प्रधानमन्त्री प्रचण्डले महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरे । भ्रमण टोलीका अरु चार मन्त्री प्रकाशशरण महत (अर्थ), एनपी साउद (परराष्ट्र), शक्ति बस्नेत (ऊर्जा) र रमेश रिजाल (उद्योग) सहित मन्दिर पुगेर हिन्दू विधि बमोजिम गेरु वस्त्रमा पूजा गरेको तस्वीर सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना भइरहेको छ ।

विपक्षी दलले मात्रै नभएर स्वयं माओवादी केन्द्रकै नेता–कार्यकर्ताले प्रचण्डको आलोचना गरिरहेका छन् । पूर्वप्रधानमन्त्री एवं प्रचण्डका पुराना सहयोद्धा बाबुराम भट्टराईले त्यही तस्वीर राखेर समाज र देशको दिशाबारे प्रश्न उठाएका छन् । ‘हामी कता जाँदैछौं ? देश कता जाँदैछ ?’ भट्टराईले फेसबुकमा लेखेका छन् ।

आलोचनाकै कारण प्रधानमन्त्री प्रचण्ड आफैं गेरु वस्त्रबारे प्रष्टोक्ति दिन बाध्य भए । तर आलोचना गर्नेहरुलाई चित्त बुझाउने गरी भने प्रष्टोक्ति दिन सकेनन् । स्वदेश फर्कदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डले भने, ‘प्रोटोकल मिचेर भएपनि लाउन नदिनुस् भन्दाखेरि के हुने भयो भन्दा भारतका करोडौं जनताको मनमा चिसो पस्ने भयो नेपालप्रति र नेपालका प्रधानमन्त्रीप्रति ।’ भारतका एक अर्ब मानिसको मनमा चिसो पस्न नदिन पनि गेरुवस्त्र लगाएको प्रचण्डले बताए । ‘मैले सहज ढंगले लगाउँदा सबै खुशी’, प्रचण्डले भनेका छन् ।

तेस्रोपटक प्रधानमन्त्री बनेपछि मात्रै नभएर धर्म निरपेक्षता, समावेशी प्रतिनिधित्व, जातिगत पहिचान, संघीयता लगायतबारे माओवादीले भन्ने गरेको परिवर्तनकारी मुद्दामा प्रचण्ड आफैं परिवर्तनको यात्रामा देखिन्छन् ।

तर यसबारे प्रचण्डको बचाउ गर्न माओवादी केन्द्रका उच्च तहकै नेताहरुलाई समेत गाह्रो परेको देखिन्छ । ‘मन्दिर नै नजानु भएको भए गेरुवा वस्त्र लगाउनुपर्ने थिएन । तर औपचारिक भ्रमण भएकाले निर्धारित कार्यसूची अन्तर्गत त्यहाँ जानुभयो । यसलाई परिस्थितिजन्य घटना मान्नुपर्छ’ माओवादी नेता गणेश साह भन्छन् । साथै प्रचण्डले लडेको राजनीतिक संघर्षको पृष्ठभूमिले आमसमाजमा फरक दृष्टिकोण बन्नु स्वभाविक भएको साह बताउँछन् । ‘अरु नेता भन्दा प्रचण्डलाई हेर्ने दृष्टिकोण फरक छ, त्यसैले यस्तो दृष्य देख्न गाह्रो भइरहेको हो’, उनी भन्छन् ।

साहले भनेजस्तै भारतीय हिन्दूहरुले १२ मध्ये एक ज्योतिर्लिङ्गका रुपमा पुज्ने महांकालेश्वर मन्दिरको पूजा गर्दा विरोध हुनुमा प्रधानमन्त्री प्रचण्डको राजनीतिक पृष्ठभूमिलाई जोडिएको देखिन्छ । २०५२ फागुनदेखि सशस्त्र विद्रोह थालेको माओवादीले धर्म निरपेक्षतालाई एजेण्डा बनाएको थियो । २०५९ मा राजा वीरेन्द्र शाहको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्र शाहले चलाएको धार्मिक गतिविधिविरुद्ध माओवादी उभिएको थियो । नेपाली कांग्रेस, नेकपा एमाले लगायत संसदीय दलसँग दुरी बढाएका ज्ञानेन्द्रले त्यतिखेर एकप्रकारले आफ्नो सत्ता टिकाउने अस्त्रकै रुपमा धार्मिक गतिविधि चलाएका थिए ।

त्यही क्रममा २३ वैशाख २०६२ मा पुराणवाचक नारायण पोखरेलको रुपन्देहीमा हत्या भयो । त्यो हत्यालाई माओवादीसँगै जोडेर प्रचार गरिएको थियो । यद्यपि माओवादीले आधिकारिक रुपमा जिम्मा भने लिएन । तर मुलुकमा धर्म निरपेक्षता, गणतन्त्र, संघीयता र समानुपातिक समावेशी शासन प्रणाली स्थापित हुनुको आधार सशस्त्र विद्रोह भएको दाबी माओवादीले गर्ने गरेकाले प्रचण्ड र माओवादी नेताहरुको पछिल्ला गतिविधि आलोचित बन्ने गरेको छ ।

मुख्यगरी सुनसरीको चतराधाममा आयोजित एक यज्ञमा प्रचण्डले भैंसी पूजा गरेपछि माओवादीले लडेको सशस्त्र विद्रोहमाथि प्रश्न उठ्ने गरेको थियो । शान्ति प्रक्रियामा आएको एक वर्षपछि २०६६ मा प्रचण्डले चतराधाम पुगेर कृष्ण गिरीले (कृष्णदास महाराज भनेर चिनिने) गरेको यज्ञमा भैंसी, घोडा, हात्ती लगायत जनावरको पूजा गरेका थिए । पछि ती गिरीमाथि बलात्कारको आरोप लाग्यो ।

राजनीतिक विश्लेषक नारायण ढकाल, युद्ध अपराधको भयले सधैं सत्तामा रहने नीति लिँदा प्रचण्ड आफैंले स्थापित गरेको भाष्यमा टिक्न नसकिरहेको बताउँछन् । ‘सत्तामा रहिरहनको पछाडि युद्ध अपराधको मुद्दा चल्ने भय प्रचण्डमा देखिन्छ । शक्तिमा टिक्न दक्षिणपन्थी एजेण्डामा सम्झौता गरिरहेका छन्’ ढकाल भन्छन् ।

परम्परातिर फर्कदै !

पूर्वमाओवादी नेता गोपाल किराती, गेरु वस्त्रमा पूजा गरेको दृष्यबाट प्रचण्डले माओवादको सिद्धान्त र पहिचानको मुद्दा त्यागेको पुष्टि भएको निष्कर्ष सुनाउँछन् । सशस्त्र युद्धका बेला उठाएको सिद्धान्त र मुद्दालाई प्रचण्डले २०७४ मा त्यागेको उनको तर्क गर्छ । ‘गेरुवस्त्र धारणा गरेर परम्परावादको सेवा गर्नकै लागि प्रचण्डहरुले २०७४ मा माओवादको सिद्धान्त र पहिचानको मुद्दा त्यागेका थिए । अहिले त्यो कुरा पुष्टि भएको मात्रै हो’, किराती भन्छन् ।

नेता किरातीकै जस्तो भाषा नभएपनि प्रचण्ड आफैंले पनि अब पुरानो क्रान्तिकारी रोमान्समा नरहने संकेत सार्वजनिक रुपमै दिइसकेका छन् । भारत भ्रमणमा निस्कनु दुई दिन अगाडि गणतन्त्र दिवसको अवसरमा सरकारी समाचार एजेन्सी राससलाई दिएको अन्तर्वार्तामा प्रचण्डले विगतमा कमजोरी भएको स्वीकार गरेका छन् । ‘भर्खर क्रान्तिबाट आएको हुनाले अलिक बढी क्रान्तिकारी रोमान्स नै मभित्र थियो । त्यो रोमान्सका कारण मैले छोटो अवधिमा छाड्नुपर्यो’ प्रचण्डले २०६५ मा प्रधानमन्त्रीबाट हट्नुको कारणबारे भनेका थिए ।

त्यसअघि गत २६ पुसमा प्रतिनिधिसभा बैठकबाट पनि प्रचण्डले माओवादीले अपनाएको क्रान्तिकारिताबाट पार्टीको शक्ति बलियो हुन नसकेको बताएका थिए । तेस्रोपटक प्रधानमन्त्री हुँदा पहिलोपटक दौरा सुरुवाल लगाएका प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधिसभामा भनेका थिए, ‘प्रतिस्पर्धाको राजनीतिमा आएपछि आमजनताको मनोभावना र मनोबललाई सम्बोधन गर्न सकिएन भने क्रान्तिकारिताको प्रदर्शनले निर्वाचनमा परिणाम राम्रो दिएको पनि देखिनँ । लगाउने जतिले जितेका छन्, नलगाएकाले हारेका छन्’ प्रचण्डको प्रष्टोक्तिले संसद बैठक केहीबेर हाँसोमा परिणत भएको थियो ।

विश्वासको मत लिएपछि लामै सम्बोधन गरेका प्रचण्डले दौरासुरुवाललाई कुनै जाति विशेषको नभएर आम पोशाक भनेका थिए । ‘बुझ्दै जाँदा र हेर्दै जाँदा, दौरासुरुवाल चाहिँ आम नेपालीहरु, त्यो के खसआर्य, त्यो के आदिवासी जनजाति, के दलित, सबैको साझा पोशाककै रुपमा विकसित भएको भन्ने नै इतिहास हो’, प्रधानमन्त्री प्रचण्डको निष्कर्ष थियो ।

प्रचण्डले दौरासुरुवाल लगाउनु र धार्मिक पूजापाठमा सहभागी हुनुलाई अहिले जस्तो परिभाषा गरेपनि विगतमा भने त्यसको विरोध गरेका थिए । राजा महेन्द्रले एकात्मक शासनसत्ता सञ्चालन गर्न हिन्दू धर्म र दौरासुरुवालको आधिपत्य स्थापित गरेको माओवादीको निचोड थियो ।

तर त्यसबारे परिवर्तित प्रचण्डको व्याख्यामा आमसहमति देखिँदैन । ‘समाजमा प्रगतिशील र यथास्थितिवादी दुवै शक्ति चाहिन्छ, हुन्छ । प्रचण्डले हिजो आफू र आफ्नो पार्टीलाई प्रगतिशील शक्ति भनेका थिए, त्यसैले सोही अनुरुप व्यवहार खोजिएको हो’, विश्लेषक ढकाल भन्छन् । तर लगातार कमजोर बनिरहेको माओवादीको शक्ति जोगाउन पनि प्रचण्डले आफूलाई विस्तारै दक्षिणपन्थी कित्तामा धकेल्दै लगेको उनको बुझाइ छ । धर्म र पोशाकको सन्दर्भमा मात्रै नभएर समानुपातिक समावेशी प्रतिनिधित्व गराउन पनि प्रचण्ड चुकिरहेको विश्लेषक ढकाल बताउँछन् ।

हुनपनि अहिले प्रचण्डले देशको नेतृत्व गरिरहँदा मुलुकको नेतृत्वमा लगभग एउटै जाति/लिङ्गको नेतृत्व छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन् । प्रमुख पदाधिकारीमा फरक लिङ्ग हुने संवैधानिक व्यवस्था भएपनि कानूनी छिद्र खोजेर रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका छन् । मधेश र लुम्बिनी बाहेक बाँकी प्रदेशका मुख्यमन्त्रीहरु खसआर्य पुरुष छन् ।

माओवादीले गठबन्धन बदलेकाले गण्डकीमा ५ महिनाभित्रै दुई मुख्यमन्त्री बन्दा खगराज अधिकारी र त्यसपछि सुरेन्द्रराज पाण्डेले नेतृत्व गरिरहेका छन् । माओवादीले पाएको कोटामा मुख्यमन्त्री बनाउँदा पनि बागमतीमा शालिकराम जम्कट्टेल र कर्णालीमा राजकुमार शर्मा छन् । प्रचण्ड नेतृत्वकै मन्त्रिपरिषद पनि समावेशी छैन । २५ सदस्यीय मन्त्रिपरिषदमा १३ जना खसआर्य मन्त्री छन् । राज्यमन्त्री जति महिला भएकाले मन्त्रिपरिषदमा महिला मन्त्री संख्या ६ जना छ । सवैभन्दा पछाडि परेको दलित समुदायबाट एक जना राज्यमन्त्री मात्र छन् ।

माओवादी पार्टीको नेतृत्व आफैंमा समावेशी छैन । २२ सदस्यीय पदाधिकारीमा १६ जना एउटै समुदायका छन् । पम्फा भुसाल एक्लो पहिला पदाधिकारी हुन् भने जनजाति ४ र मधेशी २ जना छन् । जनजातिमा दुई जना नेवार, मगर र गुरुङ एक/एक जना छन् । जम्बो पदाधिकारीमा बाँकी समुदायको सहभागिता छैन । हुनत अरु पार्टीको नेतृत्वलाई पनि प्रश्न गर्ने पर्याप्त ठाउँ छ । तर माओवादीप्रति प्रश्न धेरै हुनुमा फेरि पनि उसैको विगतको पृष्ठभूमिले हो ।

सशस्त्र विद्रोहकाल र शान्ति प्रक्रियामा आएपछि पनि माओवादीले मुलुकको समस्या एकल जातीय नेतृत्व रहनु भएको निष्कर्षसहित जातिगत मोर्चा बनाएरै संघर्ष गरेको थियो । त्यसैअनुसार, प्रदेशको विभाजन र नामकरण जातीय ऐतिहासिकताको आधारमा गरिनुपर्ने अडान लियो । माओेवादीको अडानमा कांग्रेस–एमाले असहमत हुँदा संविधान नै नबनाई संविधानसभा संविधान विघटन भयो । पछि सात प्रदेश बनाउने र नामकरणको जिम्मा प्रदेशलाई दिने मध्यमार्गी सहमतिले संविधान बन्यो ।

संविधान बनेपछि माओवादीले कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै आएको छ । प्रदेशको नामकरण गर्दा भने मधेशबाहेक अरु प्रदेशमा माओवादीले एमालेलाई साथ दिएको छ । गत १७ फागुनमा प्रदेश–१ को नाम कोशी राख्न पनि माओवादीले एमालेको प्रस्तावलाई साथ दिएको थियो । भलै, प्रदेशको नामकरण भइसकेपछि भने आफ्नो पार्टी पहिचानकै पक्षमा रहेको प्रष्टोक्तिसहित आन्दोलित छ । तर अन्य प्रदेशको नामकरण हेर्दा भने प्रचण्डको सहमति कोशीमै रहेको अनुमान लगाउन सकिन्छ ।

२०७४ को चुनावपछि एमालेसँग एकता गरेर बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा भौगोलिक पहिचानका आधारमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम नामकरण भएको थियो । मधेश केन्द्रित दलहरुकै असहमतिका कारण मधेश प्रदेशको नामकरणमा भने प्रचण्ड र ठूला दलहरु हाबी हुन पाएनन् ।

अर्थात् तेस्रोपटक प्रधानमन्त्री बनेपछि मात्रै नभएर धर्म निरपेक्षता, समावेशी प्रतिनिधित्व, जातिगत पहिचान, संघीयता लगायतबारे माओवादीले भन्ने गरेको परिवर्तनकारी मुद्दामा प्रचण्ड आफैं परिवर्तनको यात्रामा देखिन्छन् ।

माओवादी केन्द्रका सचिव गणेश साह भने यी घटनाक्रमलाई निरपेक्ष भएर नहेर्न आग्रह गर्छन् । ‘गेरु वस्त्रकै कुरा गर्दा पनि धर्म निरपेक्ष मुलुकका प्रधानमन्त्री भएर किन पूजा गरेको भनिरहँदा पूजाको नियम नमानेको भए अर्कै प्रश्न उठ्ने पनि बिर्सन हुुँदैन’ साह भन्छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?