+

मासु किन ढिलो पच्छ ?

२०८० जेठ  ३० गते १४:०१ २०८० जेठ ३० गते १४:०१
मासु किन ढिलो पच्छ ?

मासु थरीथरीका परिकारमा नलोभिने को नहोला र ? विवाह, पार्टी, भोजभतेर मासुका परिकारबिना अपूरोजस्तै मान्ने धेरै छन् । मासु पौष्टिक तत्वले भरिपूर्ण परिकार पनि हो, तर पच्न भने धेरै समय लाग्छ ।

मासुमा बोसो (फ्याट), प्रोटिन, मिनिरल्स, खनिजजस्ता तत्व पाइन्छन् । मासुमा प्रोटिन धेरै पाइने भएकाले खाएको धेरै समयसम्म पेटमा रहिरहन्छ । किनकि कार्बोहाइट्रेटयुक्त खानेकुराको तुलनामा प्रोटिन भएको खानेकुरा पच्न धेरै समय लाग्छ । सजिलो गरी बुझ्दा मासु पच्न समय लाग्ने होइन, बोसो पच्न समय लाग्ने हो ।

कार्बोहाइड्रेट, फाइबरयुक्त खाना खाएको केही घण्टामा पच्ने गर्छ भने मासुमा भएको बोसो पचाउन कलेजोबाट एउटा छुटै पित्त सानो आन्द्रामा आएपछि मात्र पच्छ ।

मासुका पनि विभिन्न प्रकार हुन्छन् । कलिलो, कडा, हड्डी धेरै भएको, बोसो धेरै भएको हुन्छ मासु । कलिलो खसी, बोका वा राँगाको मासु पचाउन अलि सजिलो हुन्छ भने कडा, रेसादार, रातो मासु पच्न धेरै समय लाग्छ ।

खसी, राँगाको मासु रातो मासुअन्तर्गत पर्छ भने कुखुरा, माछा सेतो मासुअन्तर्गत पर्छन् । खरायोको मासु सबैभन्दा चाँडै पच्छ । किनकि यो एकदम नरम हुन्छ । यसबाहेक कुखुराको मासु र माछा पचाउन सहज हुन्छ ।

मासु पकाउने तरिका

मासु पनि धेरै किसिमले बनाएर खान मिल्छ । पोलेर, तारेर, उसिनेर, फ्राइ, झोल बनाएर, गे्रभी बनाएर खान मिल्छ । सामान्यतः मासु पोलेर, तारेर, फ्राइ गरेर धेरै खाने चलन छ । तर यस्तोभन्दा उसिनेर खानु स्वस्थ्यको लागि फाइदाजनक हुन्छ । यो पचाउन पनि सजिलो हुन्छ । किनकि उसिनेको मासुमा भएको बोसो पग्लिने र तेललगायत मसलासमेत कम हुने हुँदा शारीरिक रूपमा फाइदाजनक देखिन्छ । पोलेर फ्राइ गरेर खाँदा मासु राम्रोसँग नपाकेको पनि हुन सक्छ ।  पोलेको मासुको भित्री भाग राम्रोसँग नपाक्न चपाउन गाह्रो हुने हुन्छ । जसले गर्दा आमाशयमा ठूलो टुक्रा मासु भएपछि पचाउन ढिलो हुन्छ । मासुको टुक्रा स-सानो बनाएर सुपजस्तै गरी पकाएर खाएमा झनै पचाउन सजिलो हुन्छ ।

चपाउने प्रक्रिया

मासु वा अरु खानेकुरा कसरी चपाएर खाइन्छ भन्ने कुराले पाचन प्रक्रियामा फरक पार्छ । यदि मासु खाँदा मुखमा धेरैबेर चपाएर खाएमा पचाउन सजिलो हुन्छ भने राम्रोसँग नचपाइ ठूलो टुक्रा नै निल्दा पचाउन समय सक्छ ।

समय अनुकूल नभए

नेपाली समाजमा मासुजस्ता ‘हेभी’ खानेकुरा बेलुका खाने चलन छ, जुन गलत हो । बेलुका मासु खाँदा शारीरिक रुपमा सक्रियता नहुने भएकाले पच्न निकै समय लाग्छ । त्यसैले राम्रोसँग पचाउनका लागि बिहान वा दिउँसो मासु खानु राम्रो हुन्छ । यदि बेलुका खानैपरे खाएको तीन घण्टापछि मात्रै सुत्दा पचाउन केही सहज हुन्छ ।

पाचन क्षमता

मासु कसत समयमा पच्न भन्ने कुरा व्यक्तिको पाचन क्षमतामा पनि भर पर्छ । पाचन क्षमता बलियो भएको मानिसको तुलनामा कमजोर हुनेहरुलाई मासु पचाउन गाह्रो हुन्छ । सामान्यतया बालबालिका र वृद्ध उमेरका व्यक्तिको पाचन क्षमता कमजोर हुने भएकाले उनीहरुले मासु कम खानु राम्रो हुन्छ ।

सामान्यतया मासु बालबालिका र वृद्धवृद्धाले पाचनप्रक्रिया कमजोर हुने भएकाले उनीहरुले मासुजन्य परिकार कम सेवन गर्दा उपयुक्त हुन्छ । धेरै खाएमा नपचेर कब्जियत, पेट गडबडी हुने र मलद्वारमा समेत समस्या हुन सक्छ ।

पाचनशक्ति कमजोर हुनुमा रोगको पनि भूमिका हुन्छ । दीर्घरोगी, पेट, आन्द्रा, कोलोस्टेरोल भएका व्यक्तिको अन्यको तुलनमा पाचन क्षमता कमजोर हुन्छ । उनीहरुलाई मासु पचाउन निकै गाह्रो पर्न सक्छ । त्यसैले रोगी मानिसले सन्तुलित रुपमा मासुका परिकार खानु उत्तम हुन्छ ।

कति खाने मासु ?

नेपाली समाजमा मासुलाई सन्तुलित रुपमा खाने गरेको खासै पाइँदैन । नखाँदा धेरै समय नखाने र खाए एकैचोटि धेरै खाने बानीले समस्या ल्याउँछ । त्यसैले एक सामान्य व्यक्तिले एक दिनमा १०० ग्राम मासु खानु उपयुक्त हुन्छ ।

(पेट तथा कलेजोरोग विशेषज्ञ डा. पौडेल नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

पाचन प्रक्रिया मासु
डा. विधाननिधि पौडेल
लेखक
डा. विधाननिधि पौडेल
पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १४३६ एमबीबीएस, एमडी रसिया ग्यास्ट्रोएन्टेरोलजी र हेपाटोलोजी (रसिया) साढे तीन दशकको अनुभव, हाल निजामती कर्मचारी अस्पताल काठमाडौंका कार्यकारी निर्देशक तथा वरिष्ठ कन्सल्टेन्ट ग्यास्ट्रोएन्टेरोलोजिस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय