+
+
फिल्म चर्चा :

भारतीयले समेत स्वीकार्न मुश्किल पर्ने ‘आदिपुरुष’

हीरा विश्वकर्मा हीरा विश्वकर्मा
२०८० असार ३ गते १७:२८

सामान्यतया भारतीय फिल्महरुको टिप्पणी गर्न मन लाग्दैन । तर त्यसको विषयले नेपाललाई पनि छुन्छ र त्यसको चर्चा यहाँ पनि हुन्छ भने त्यसमा मौन बस्न मन लागेन । ओम राउत निर्देशित तथा प्रभास र कृति सेनन अभिनित फिल्म ‘आदिपुरुष’ लामो समयदेखि चर्चामा थियो । किनकि भारतीय फिल्म उद्योगमा बन्ने महंगो फिल्ममध्ये यो एक हो, वास्तविक लागत कति हो त्यो निर्माताहरुले नै जानुन् तर यसको लागत ५०० करोड भारु भनिएको छ । यसको डिजिटल राइट्स बेच्दा पनि चार सय करोड आएको थियो भनिएको थियो ।

कुनै पनि फिल्ममा चारवटा ‘एस’ महत्वपूर्ण हुन्छ भनिन्छ । त्यसमा पहिलो एस हो स्टोरी अर्थात् कथा, दोस्रो स्क्रिप्ट अर्थात् पटकथा । तेस्रो हो स्टार अर्थात् नायक-नायिका र चौथो हो सङ अर्थात् गीत-संगीत । यो फिल्मको कथा रामायणको पुनर्उत्पादन भएको हुँदा यसबारेमा धेरै चर्चा गर्नु आवश्यक नहोला । रामायण यस्तो कथा हो जुन कथाले भारतीय हिन्दू समाजमा गहिरो अर्थ राख्छ भने बुद्धधर्म नअँगाल्दासम्म दक्षिण पूर्वी यशियाई देशहरु बर्मा, थाइल्याण्ड, कम्बोडिया, मलेसिया तथा इण्डोनेसियामा पनि यसको प्रभाव थियो । कतिसम्म भने थाइल्याण्डका कति ठाउँहरु रामायणको नामबाट राखिएको छ र रामायणको कथालाई उनीहरुले आफ्नो तरिकाले सांस्कृतिक कथाको रुपमा प्रस्तुत मात्रै गर्दैनन्, यो उनीहरुको मुख्य पर्यटकीय आकर्षण मध्येको एउटा हुन्छ । इण्डोनेसियामा पनि त्यही कुरा लागू हुन्छ, त्यसको एउटा ठाउँ नै रामायणको एउटा पात्रमध्येको बलीको नामबाट राखिएको छ र त्यहाँ गएर आउनेले त्यहाँ धेरै हिन्दू देवीदेवताका मन्दिरहरु भएको कुरा गर्छन् । अतः आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा भारतमा मात्रै नभई पूरै दक्षिणपूर्वी एसियमा समेत प्रभाव छोडेको यो महाकाव्यको कथालाई पुनर्उत्पादन गरेर फिल्म बनाएपछि यसको बारेमा चासो नहुनु स्वाभाविक भएन ।

चर्चा गर्नुपर्ने यसको अर्को महत्वपूर्ण पक्ष भनेको यसको स्टार अभिनेता प्रभास, जसको फिल्म बाहुबलीको क्रेज संसारभरि नै फैलिएको छ । नेपालको सन्दर्भमा कुरा गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर आएर रामायण रुटलाई प्रवर्द्धन गर्ने उद्घोष गरेका थिए र मिथिलापुत्री सीताको महिमा कति गरिन्छ भन्ने कुरा अर्को लेखको विषय हुन सक्छ । हरेक वर्ष विवाह पञ्चमी नेपाल र भारतका नागरिकले भव्य रुपमा मनाउँछन् र त्यहाँ अयोध्याबाट रामको जन्ती आउँछ र जनकपुरबाट सीतालाई दुलहीको रुपमा उता लगिन्छ । यति मात्र होइन नवलपरासीको भैसालोटन भन्ने ठाउँमा वाल्मिकी आश्रम थियो, जहाँ सीताले लवकुश जन्माएकी थिइन् र त्यहीं वाल्मिकी रामायण लेखिएको थियो भनिन्छ ।

हलिउडले देखाउने युरोपको मध्ययुगीन टुनामुना तन्त्रमन्त्र भएको कथासँग जोडेर यो फिल्मलाई प्रस्तुत गर्दा घरको न घाटको जस्तो भएको छ । रामायणमा देखाइने युद्ध सधैं दुई पक्ष आमनेसामने भएर लड्ने हुन्थ्यो भने यो फिल्ममा बसेको ठाउँ वा किला दरबारलाई युद्ध जितेर कब्जा गरेको देखाइएको छ ।

अब यति धेरै विषय रामायण अन्तर्गत नेपाल र भारत जोडि पछि यो हाम्रो चासोको विषय नहुने कुरा भएन । कुरा यत्तिमा मात्र सीमित भएन, उनको आफ्नो कार्यक्षेत्रभित्र थियो वा थिएन थाहा भएन, तर स्थानीय तहको अधिकार प्रयोग गर्दै मेयर बालेन शाहले ‘सीता भारतकी छोरी’ भन्ने रामको भूमिका गरेका प्रभासको संवादलाई नहटाएसम्म यहाँका सिनेमा हलहरुमा फिल्म प्रदर्शन गर्न नदिने अडान लिएको समाचार मिडिया जगतको हेडलाइन बनिरहेको थियो । यी सबै कुराले गर्दा यसको चर्चा वा समीक्षा जे भनौं नगरी बस्न मन लागेन ।

रामायणको कथामा कुनै फिल्म बनाउनु धेरै अर्थमा एउटा निकै चुनौतीपूर्ण कार्य थियो, किनभने भारतीय हिन्दू समाजको यो एउटा ठूलो आदर्श हो, यसको मूलकथालाई विभिन्न फिल्ममा म सानो हुँदादेखि नै हेर्दै आएको हुँ भने रामानन्द सागरको रामायण टेलिशृंखला आएपछि यो अझ चर्चित भयो । यसलाई विभिन्न टेलिभिजनले पटकपटक देखाए र पछिल्लो चरणमा त ग्यालेक्सी टेलिभिजनले नेपालीमा डब गरेर समेत देखायो । यसलाई भारतका ठूला स्टारमध्येका एक प्रभासले गरेको रामको भूमिका र उनलाई अहिलेसम्म भारतीय फिल्मले देखाएको रामको स्वरुपभन्दा अलि भिन्न रावणलाई त कल्पनै गर्न नसकिने रुपमा देखाएको हुँदा कथा पुरानै भए पनि नयाँ के रहेछ भनेर आम दर्शकको चासो हुनु स्वाभाविक हो ।

यस्तो धार्मिक आस्था तथा जीवन पद्धति र आदर्शसँग जोडिएको फिल्म कुन रुपमा आएको छ भन्ने दृष्टिकोणवाट हेर्दा यसभन्दा पहिलेका धेरै फिल्ममा राम र सीताको पात्रलाई एउटा आदर्श र केही हदसम्म भगवानको अवतारको रुपमा देखाइन्थ्यो, रामानन्द सागरले यसलाई पूरै भक्ति दर्शनमा आधारित बनाएर देखाए र यसको अन्त्य पनि अयोध्याको सरयु नदीमा सबैले डुबुल्की मारेपछि आ-आफ्नो देव स्वरुपमा फर्किएको देखाएका छन् । यसले रामायणलाई पूरै देवतामय बनाइदिएका छन् ।

युगपुरुषको कुरा गर्दा यसले रामायणको कथालाई हलिउड चलचित्र लर्ड अफ द रिडको शैलीमा प्रस्तुत गर्न खोजेका छन्, जुन कुरा हामी अभ्यस्त भएको चरित्र तथा अवस्था भन्दा बिल्कुलै भिन्न छ । रामायणको कथा करिब तीन घण्टाको यो फिल्ममा प्रस्तुत गर्न गाह्रो थियो, त्यो कुरा यो फिल्म हेर्दा पनि थाहा हुन्छ । रामायणको अयोध्या काण्डभन्दा यसको सुरुबाट किस्किन्धा काण्डबाट गरिएको छ, जहाँ रावणकी बहिनी सुपर्णखाको लक्ष्मणले नाक काटिदिन्छन् र त्यसको बदला लिन रावणले सीताको अपहरण गर्छ र सीतालाई रावणवाट रामले भिषण युद्ध गरेर फर्काउँछन् कथा यतिमै सीमित छ । तर मनोज मुन्तशिरले लेखेको कथा तथा ओम राउतले निर्देशन गरेको यो फिल्मलाई एउटा सचेत दर्शकको हिसाबले कुनै पनि दृष्टिकोणबाट वाह भन्ने ठाउँ छैन । यसको खराब पक्ष भनेको यसको प्रस्तुति र पात्रहरुको रुप हो । रामायणले सुग्रिव र उनको सेनालाई वानर सेना भनेको छ, हनुमान पनि त्यही । तर यसमा हुनमानलाई लगभग मान्छेकै रुपमा देखाइएको छ भने सुग्रिव लगायत अरु पात्रलाई गोरिल्लाको रुपमा, यदि हनुमान पनि वानर जाति नै हुन् भने यस्तो भिन्नता किन गरियो ? त्यसको उत्तर खोज्न गाह्रो पर्छ ।

कुनै पनि फिल्ममा पात्रलाई असल, खराब वा असहाय देखाउन उसको भूमिकामा न्याय गर्नुपर्छ । यति नगरीकन दर्शकको सहानुभूति वा घृणा अभिनय गर्ने पात्रमा आउन सक्दैन, यसो नहुँदा दर्शक र फिल्मका पात्रहरुसँग गहिरो सम्बन्ध बस्दैन, यो कुराको पूरै अभाव यो फिल्ममा देखिन्छ ।   न त राम वा सीताप्रति कुनै सहानुभूति आउँछ न त रावणप्रति घृणा नै । नयाँ शैलीमा प्रस्तुत गर्ने हो भने कथा वा प्रस्तुतिमा रहस्य, रोमाञ्च तथा कौतुहलता जगाउन सक्नुपर्छ, रामायणको कथा धेरै पुरानो भएको हुँदा यस्तो कौतुहलता जगाउन सक्ने ठाउँ थिएन तर त्यसलाई दमदार प्रस्तुतिले दर्शकको मन जित्न सकिन्थ्यो ।

हलिउडले देखाउने युरोपको मध्ययुगीन टुनामुना तन्त्रमन्त्र भएको कथासँग जोडेर यो फिल्मलाई प्रस्तुत गर्दा घरको न घाटको जस्तो भएको छ । रामायणमा देखाइने युद्ध सधैं दुई पक्ष आमनेसामने भएर लड्ने हुन्थ्यो भने यो फिल्ममा बसेको ठाउँ वा किला दरबारलाई युद्ध जितेर कब्जा गरेको देखाइएको छ । यसले नौलो स्वाद दिन खोजेको भान हुन्छ । तर रावण पक्षका पात्रहरु जुन विकृत रुपमा देखाइएको छ त्यसले कहीं कतै न्याय गर्दैन । मेघनादको नागपासबाट लक्ष्मण मूर्छित हुँदा हनुमानले वृन्दाञ्चल पर्वत उचाल्नुको कारण त्यहाँ रहेका सबै जडिबुटीहरु उस्तै देख्दा पहाडै उचालेको भनिन्छ तर यसमा लक्ष्मणबाहेक अरु पनि घाइते भएमा काम लाग्ने भनी पहाडै ल्याएको भनिन्छ । रामायणको मूलकथामा लक्ष्मणको उपचार गर्ने रावणकै मुख्य वैद्य शुशैन हुन्छन् । तर यहाँ सम्भवतः विभिषणकी पत्नीले उपचार गरेको देखाइन्छ । रामलाई मर्यादा पुरुष बनाउन जति पनि हिन्दू आदर्श र मान्यताहरु छन् त्यसलाई खरो रुपमा पालना गरेकाले भनिन्छ, त्यसमध्ये सीताको अग्निपरीक्षा पनि एउटा हो, तर यहाँ त्यो प्रसंग कहीं कतै छैन । अर्को हास्यास्पद कुरा रावणको उड्ने वाहन एउटा ड्रागन पंक्षी देखाइनु हो । किनकि रामायणमा उल्लेखित पुष्पक विमान जो आफ्नो चाहना अनुसार ठूलो सानो हुन सक्थ्यो त्यसलाई फिल्मको अन्त्यमा प्रतीकात्मक रुपमा देखाइएको छ ।

प्रसिद्ध अंग्रेज लेखक रुडियार्ड किपलिडले लेखेको जंगल बुकको धेरै संस्करण हेरेको छु, त्यसलाई डिज्नीले कार्टुन संस्करणदेखि मान्छेको संस्करणसम्मा बनाएको छ । यसको मूलकथा एउटा भारतीय बच्चा जंगलमा हराउँछ अनि त्यसलाई स्यालहरुले हुर्काउँछन्, मुग्ली नामको त्यो बच्चाका साथीहरु एउटा भालु र वगीरा भन्ने चितुवा हुन्छन् र उसलाई मार्न खोज्ने जंगलको राजा बघ अर्थात् शेरखान हुन्छ । यो कथालाई विभिन्न संस्करणमा अलग-अलग तरिकाले देखाउँदा कथा पुरानो भए पनि त्यसले दर्शकलाई बाँधिराख्छ र भरपुर मनोरञ्जन दिन्छ । तर आदिपुरुष यो मामिलामा कहीं कतै खरो उत्रिंदैन ।

मनोज मुन्तशिर एक राम्रो लेखक तथा कवि हुन् । बाहुबली फिल्मको गीत पनि उनैले लेखेका हुन्, तर नेपालमा सीता भारतकी छोरी हुन् भन्ने संवादको विरोधमा भारतीय टेलिभिजन च्यानलले उनलाई सोध्दा सन् १९०३ सम्म नेपाल पनि भारतकै अंग थियो भन्ने जस्तो अत्यन्त वाहियात तथा तथ्यहीन तर्क कुन गरेका छन् त्यसले उनको वौद्धिक दरिद्रता पनि प्रस्तुत गर्छ । हामीले गर्व गर्ने विषय भनेको नेपाल कुनै पनि समयमा भारतको अधीन भएन भन्ने हो, बरु करिब २७ वर्षसम्म भारतका कुमाउ गढवाल नेपालको भूमि थियो । अतः चलचित्र आदिपुरुष कुनै पनि हिसाबले आदिपुरुष लाग्दैन । नेपालबाट यसले कति कमाइ गर्छ थाहा छैन, यदि गर्‍यो भने पनि हाम्रो लागि त्यो लज्जाको विषय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?