+
+

विन्डोजमै आर्टिफिसियल इन्टेलिजेन्स, अब ल्यापटपसँग कुराकानी गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १०:१४

बिंग च्याटबटपछि माइक्रोसफ्टले अब विन्डोजमा समेत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सुविधा ल्याउने घोषणा गरेको छ ।

माइक्रोसफ्टले आफ्नो कम्प्युटर अपरेटिंग सिस्टम विन्डोजमा एआई लागू गर्ने मनसाय केही महिनाअघि नै बनाएको थियो ।

माइक्रोसफ्ट बिल्ड २०२३ ले एआईको सन्दर्भमा विन्डोजमा आउने नयाँ फिचर्सलाई विस्तृतमा समीक्षा गर्ने अवसर प्रदान गरेको छ ।

कम्पनीले आगामी वर्ष विन्डोज १२ लञ्च गर्दा नै विन्डोजमा आर्टिफिसियल इन्टेलिजेन्स आबद्ध गर्ने तयारी गरेको छ । जसमा एआईमा आधारित टेक्स्ट टू स्पीच फिचर रहनेछ ।

डेस्कटप प्रयोगकर्ताका लागि भ्वाइस इनपुट फिचर

केही समयअघि सम्म केवल मोबाइल बिंग च्याट प्रयोगकर्ताले मात्र भ्वाइस इनपुट फिचर प्रयोग गर्न पाउँथे । तर अब माइक्रोसफ्टले डेस्कटप प्रयोगकर्ताका लागि पनि यो फिचर उपलब्ध गराएको छ ।

बिंग च्याटबक्समा अब माइक्रोफोन आइकनमा क्लिक गरी प्रयोगकर्ताले भ्वाइस इनपुट सक्रिय बनाउन सक्दछन् र बिंग च्याटबटसँग च्याट गर्न सक्दछन् ।

यसले अंग्रेजी, जापानी, जर्मन, मन्दारिन तथा फ्रेन्चमा आफ्नो आवाजबाट जवाफ दिन सक्दछ । त्यसका अलावा माइक्रोसफ्टले बिंग च्याटको टेक्स्ट टू स्पीच क्षमताको पनि विस्तार गरेको छ जसमा ३० भन्दा धेरै अतिरिक्त भाषाहरु प्रयोग गर्न सकिन्छ । यसको अर्थ आगामी दिनमा डेस्कटप प्रयोगकर्तालाई पनि बिंग च्याटमा भाषाको समस्या पर्नेछैन ।

एआईसँग आवाजमै कुराकानी

यो कदम माइक्रोसफ्टका प्रडक्टसँग प्रयोगकर्तालाई अधिक रुपमा स्वभाविक तथा प्राकृतिक शैलीमा कुराकानीको अवसर प्रदान गर्ने प्रयासको हिस्सा हो ।

साथै विन्डोज ११ मा छिटै नै प्रयोगकर्तालाई आफ्नो स्टाइलसबाट कहीँपनि लेख्ने अनुमति मिल्नेछ । तर बिंगको एआईसँग भने आवाजमै कुराकानी गर्नका लागि प्रोत्साहित गर्नेछ ।

एआईलाई आफ्नो अपरेटिंग सिस्टममा जोडेर माइक्रोसफ्ट धेरै सहज तथा इन्टेलिजेन्ट सफ्टवेयरको विकासमा एक कदम अगाडि बढेको छ ।

बढ्न सक्छ उत्पादकत्व

नयाँ बिंग च्याटबट सुविधा जून ९ बाट सुरु भएको छ र छिटै नै सबैका लागि उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार प्रयोगकर्ताले बिंगसँग अधिकाधिक रुपमा स्वभाविक तथा प्राकृतिक शैलीको अन्तरक्रिया गर्नका लागि यसको डिजाइन गरिएको छ । जसमा आवाज दिएरै प्रश्न सोध्न र आवाजमै उत्तर पाउन सकिन्छ ।

एआईको सहयोगमा च्याटबटले प्रयोगकर्ताका प्रश्नहरुको अधिक सटिक तथा प्रासंगिक जवाफ प्रदान गर्न सक्दछ ।

यो सुविधाले प्रयोगकर्तालाई कमान्ड टाइप नगरिकनै कार्य गर्ने अनुमति दिँदै प्रडक्टिभिटीमा पनि सुधार ल्याउने अपेक्षा छ ।

उदाहरणका लागि प्रयोगकर्ताले च्याटबटलाई बैठकको कार्यतालिका तयार पार्ने वा रिमाइन्डर सेट गर्नका लागि अह्राउन सक्दछन् र च्याटबटले सोही बमोजिम काम गर्दछ । यसले समय बँचाउने मात्र नभई कामलाई अधिक कुशल तरिकाले गर्न सक्दछ ।

विन्डोजमा एआईको उपयोग कसरी गर्न सकिन्छ ?

आर्टिफिसियल इन्टेलिजेन्स एउटा तिव्र रुपमा विकशित भैरहेको प्रविधि हो जोसँग मानिसले सफ्टवेयर प्रयोग गर्ने तथा कुराकानी गर्ने तरिकामा क्रान्ति ल्याउने क्षमता छ । पछिल्ला वर्षहरुमा माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्समा व्यापक रकम लगानी गरिरहेको छ र त्यसरी विकशित प्रविधिहरुलाई विन्डोजमा पनि सामेल गर्दैछ ।

विन्डोजमा एआईको प्रयोग कसरी गरिँदैछ भन्ने कुरालाई एउटा उदाहरणबाट बुझ्न सकिन्छ । जब तपाईं विन्डोज ११ मा कुनै समाचार खोज्नुहुन्छ भने यसका लागि विन्डोज ११ ले एआईको प्रयोग गर्दछ र सटिक सर्च रिजल्ट दिनका लागि विन्डोजले तपाईंको सर्च रिजल्टलाई प्राथमिकता क्रममा राख्दछ ।

माइक्रोसफ्टले Windows Copilot को पनि विकास गर्दैछ । यो एउटा नयाँ सुविधा हो जसले प्रयोगकर्तालाई उनीहरुको काममा सहयोग गर्नका लागि एआईको प्रयोग गर्दछ ।

उदाहरणको रुपमा यसले तपाईंले कुनै कुरा टाइप गर्न लाग्दा शब्द वा वाक्यांशको सुझाव दिन्छ वा तपाईंका लागि कार्य सम्पन्न गरिदिन्छ जस्तै कुनै फाराम भर्ने वा प्रिजेन्टेसन बनाउने आदि ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?