+

जंकफुड : स्वादिलो तर किन खान नहुने ?

२०८० असार  १० गते १६:४१ २०८० असार १० गते १६:४१
Shares
जंकफुड : स्वादिलो तर किन खान नहुने ?

बालबच्चालाई फकाउन होस् वा मुखको स्वाद फेर्न । झटपट पेट भर्न होस् वा सजिलै छाक टार्न । हाम्रा लागि तयार छन् थरीथरी खानेकुरा ।

चाउचाउ, कुरकुरे, चिप्स, बिस्कुट, चाउचाउ, चाउमिन, म:म, पिज्जा, समोसा कति छन् कति । सजिलै पाइने, जहाँ पनि पाइने र स्वादिलो पनि हुने । तर स्वास्थ्यविद्हरु सचेत गराउँछन्, ‘यस्ता खानेकुरा हुन्न ।’

किन ?

‘किनभने यी जंकफुड हुन् ।’

यी खानेकुरा स्वस्थ्यवर्द्धक होइनन् ? किन यी खानेकुरालाई जंकफुड भनिएको हो ? खासमा जंकफुड के हो ?

कम स्वस्थकर प्याकेट बन्द प्रशोधित खानेकुरालाई आम भाषामा बुझाउन ‘जंकफुड’ भनिएको हो । यसको अर्थ उक्त खानेकुरा कम पोषकतत्व भएको, कम गुणस्तरको र कम स्वस्थकर हो ।

किन मीठो लाग्छ ?

यस्तो खानेकुरालाई स्वस्थकरभन्दा पनि स्वादिलो बनाउने प्रयास गरिएको हुन्छ । त्यसैले स्वाद बढाउनका लागि विभिन्न रसायन प्रयोग गरिन्छ । त्यही रसायनका कारण हामीलाई यस्तो खानेकुराको तलतल लागिरहन्छ ।

लेज, कुरकुरे, चाउचाउ, बिस्कुटजस्ता कुनै पनि खानेकुरा प्रशोधन गर्दा त्यसलाई लामो समय टिकाउन र स्वादिलो बनाउन रसायन मिसाइन्छ, जुन स्वस्थ्यवर्द्धक हुँदैन । यी खानेकुरालाई नै हामीले समग्रमा ‘जंकफुड’ भन्ने गर्छौं । खासमा यी प्रशोधित र प्याकेटबन्द खानेकुरा हुन् ।

किन जंकफुड भनिएको ?

प्याकेटबन्द वा प्रशोधित खानालाई पोषण अभियन्ताहरुले ‘जंकफुड’ नाम दिएका हुन् । खासगरी मान्छेलाई प्राकृतिक खानामा जोड दिन र प्रशोधित खाना न्यूनीकरण गर्ने ध्येयले यसो गरिएको हो । यद्यपि यी खानेकुरा ‘जंकफुड’ भन्दा पनि कम गुणस्तरका हुन् ।

किन हानिकारक ?

यस्ता खानेकुरामा प्रशस्त मात्रामा फ्याट, सुगर र साल्ट (चिल्लो, चिनी र नुन) हुन्छ । तर मानिसका लागि चाहिने फाइबर, प्रोटिन, भिटामिन र मिनरलजस्ता पोषक तत्त्व पाइँदैन । पोषणयुक्त खानेकुरा खाँदा विभिन्न रोगबाट बच्न सकिन्छ । तर जब खानेकुरा गुणस्तरहीन र पोषक तत्त्व कम भएको हुन्छ, त्यसले पेट भर्छ तर पोषकतत्वको आपूर्ति हुँदैन । यसले गर्दा मोटोपन बढ्ने, पेटको रोग लाग्नेदेखि अनेक समस्या पैदा गर्छ । जंकफुडको नियमित सेवनले शरीरमा अतिरिक्त बोसो, सामान्य कार्बोहाइड्रेट र प्रशोधित चिनीको मात्रा बढाउँछ । यसैको कारण मोटोपन र मुटुको रोगको भय हुन्छ । यो कुपोषण र मोटोपन दुवैका लागि जिम्मेवार मानिन्छ ।

रङ, रसायन र टेस्टमेकर राखेर बनाइने यस्ता खानेकुराले दीर्घकालमा शारीरिक र मानसिक असर पनि गर्छ ।

जंकफुड खाँदा तौल किन बढ्छ ?

कम पौष्टिक तत्त्व,  असन्तुलित पोषक तत्त्व, उच्च क्यालोरी, बारबार प्रशोधन गरी प्राकृतिक गुण नष्ट गरिएको, रेसा र चोकर झिकिएको र अखाद्य वस्तु समेत मिसावट गरिएको हुँदा यी खानेकुराको सेवनले तौल बढ्छ ।

यस्ता प्याकेट बन्द खानेकुरामा सोडियमको मात्रा पनि धेरै हुन्छ, जसले शरीरमा पानीको मात्रा बढी हुने गर्छ, जसका कारण शरीरमा अतिरिक्त वजन बढ्ने गर्छ । साथै उच्च सोडियमयुक्त खानेकुराको सेवनले शरीरमा फ्याटको मात्रालाई समेत बढाउने गर्छ, जसका कारण शरीरको वजन बढ्छ ।

स्वस्थकर नभए पनि किन बिक्री गरिन्छ ?

धुम्रपान हाम्रो स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा त सबैलाई थाहा छ । तैपनि बजारमा चुरोट बिक्री हुन्छ र मान्छेले धुम्रपान गर्छन् पनि । त्यस्तै जंकफुड पनि स्वास्थ्यको लागि हानिकारक हो । तर सीमित मात्रामा एक महिनामा एक पटक खायो भने यसले खासै नकारात्मक असर गर्दैन । दैनिक रूपमा धेरै मात्रामा खायो भने मात्र हानिकारक हुन सक्छ ।

कतै जाँदा खाना बनाएर खान सम्भव हुँदैन, कुनै प्राकृतिक प्रकोप गएर खानाको अभाव छ भने त्यस्तो अवस्थामा यस्ता प्याकेट बन्द खानेकुरा उपयोगी हुन्छन् ।

(पोषणविद् आचार्यसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

खानेकुरा जंकफुड
अनुश्री आचार्य
लेखक
अनुश्री आचार्य
पोषणविद्

अध्ययन : एमएससी (पोषण र आहारशास्त्र), साइबरजया विश्वविद्यालयमा चिकित्सा विज्ञानमा पीएचडी स्कलर, अष्ट्रेलियाबाट आहारसम्बन्धी ६ महिनाको तालिम । हाल काठमाडौंको नयाँ बानेश्वरस्थित भेनस अस्पतालमा आहारविद्को रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?