+
+

शरद गौचन हत्याका ‘हतियार व्यवस्थापक’सहित ७ जनाले पाए सफाइ

मुख्य आरोपी र सुटरलाई जन्मकैद, अरु कसलाई के सजाय ?

गौरव पोखरेल गौरव पोखरेल
२०८० असार २० गते २०:४७
शरदकुमार गौचन, घटनास्थलमा भेटिएको गली र घटनास्थल । फाइल तस्वीर

२० असार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न २४ जनामध्ये ७ जनाले सफाइ पाएका छन् । योजनाकार र सुटरलाई भने जन्मकैदको सजाय सुनाइएको छ ।

जिल्ला अदालत, काठमाडौंका केशवप्रसाद घिमिरेको इजलासले बुधबार शिवजी महतोसहित ७ जनालाई सफाइ दिएको हो । महतोसँगै प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, सूर्यबहादुर बाजी, राजकुमार साह, मुकेशकुमार पाण्डे र श्याम गुप्तालाई सफाइ दिएको अदालत स्रोतले अनलाइनखबरलाई बतायो ।

निर्माण व्यवसायी समेत रहेका गौचनको २३ असोज २०७४ मा बानेश्वरको खरिबोटमा गोली हानी हत्या भएको थियो । शान्तिनगरस्थित निवासबाट बा १३ च ४९४८ नम्बरको प्राडो गाडी चढेर महासंघको अनामनगरमा रहेको कार्यालयमा जाने क्रममा उनमथि गोली प्रहार भएको थियो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, बाटो छेकेर बसेका गिरोहका सदस्यले सुरुमा गाडीमा इँटा हानेका थिए । त्यसपछि सुटर अमरबहादुर रानाले दुई राउण्ड गोली प्रहार गरी गौचनको हत्या गरेका थिए ।

प्रहरीले घटनामा संलग्न दुई वटा हतियार बरामद गरेको थियो । त्योमध्ये एउटा हतियार हाल सफाइ पाएका शिवजी महतोले भारतबाट ल्याएको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरुको भनाइ छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार महतोले भारतबाट ५५ हजार रुपैयाँमा हतियार खरिद गरेर ल्याएको बयानमा स्वीकारेका थिए । पछि ६५ हजार रुपैयाँमा सुटर रानालाई बिक्री गरेको बताएका थिए ।

स्रोतका अनुसार निर्माण व्यवसायी गौचनको रेकीका लागि एक महिनादेखि प्रयोग गरिरहेको मोटरसाइकल पनि महतोले नै व्यवस्थापन गरेका थिए ।

पक्राउ परेपछि समिरमानलाई सार्वजनिक गर्दै प्रहरी । फाइल तस्वीर

‘उनले होन्डा कम्पनीको साइन मोटरसाइकल भारतबाट चोरी गरेर नेपाल ल्याएका थिए, त्यसमा नेपाली नक्कली नम्बर प्लेट राखेर सुटरहरुले प्रयोग गरेका थिए’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘बयानका क्रममा उनले भारतको बेलहियाबाट १८ हजार रुपैयाँमा चोरीको मोटरसाइकल खरिद गरेको बताएका थिए ।’

प्रहरीले गौचन हत्यामा प्रयोग भएको बा ३५ प २४६१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको थियो । त्यो मोटरसाइल काठमाडौंमा ल्याएर उनले सुटर अमरबहादुर रानालाई दिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । त्यसवापत गोम्बेले उनलाई २४ हजार रुपैयाँ दिएको खुलेको थियो ।

अदालतले शिवजीका सहयोगी भारत बिहारका मुकेश पाण्डेलाई पनि सफाइ दिएको छ । सफाइ पाएकामध्ये नागार्जुनका प्रकाश बुढाथोकीको सुटर अमरबहादुर राना र श्याम गोम्बेसँग बलियो सम्पर्क रहेको देखिएको थियो ।

श्याम र अमर दुवै नेपाल सेनाका भगौडा हुन् । घटनाका मुख्य योजनाकार समिरमान सिंह बस्न्यातको सन्देश र पैसा विभिन्न आरोपीहरुलाई दिने काम बुढाथोकीले नै गर्ने गरेको अनुसन्धान अधिकृतहरुको भनाइ छ । हत्यामा संलग्न व्यक्तिहरुलाई ओसारपसार गर्ने काममा पनि उनी संलग्न रहेको अधिकृतहरुको भनाइ छ ।

सफाइ पाउनेमध्ये सन्तोष गुरुङ, सूर्यबहादुर बाजी, राजकुमार साह र श्याम गुप्ता सहयोगीको भूमिका थिए । फैसलाको पूर्णपाठ नआइसकेकाले अदालतले उनीहरुलाई के आधारमा सफाइ दियो भन्ने प्रष्ट खुलेको छैन ।

योजनकारलाई जन्मकैद, मायालाई १० वर्ष

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का तत्कालीन निर्देशक पुष्कर कार्कीका अनुसार पुरानो लेनदेनको झगडा र ठेक्का कमिसनको विवादमा समिरमान सिंह बस्न्यातको योजनामा गौचन मारिएका थिए ।

गुण्डा नाइके कुमार घैंटेमार्फत बस्नेतको गौचनसँग चिनजान भएको थियो । घैंटे ३ भदौ २०७२ मा कपुरधारास्थित घर अगाडि भएको प्रहरी मुठभेडमा मारिएका थिए । यो घटनापछि घैंटेका विश्वासिला पात्र समिरमानले उनको कारोबारहरु ‘टेकओभर’ गर्न खोजेका थिए । ‘गौचनसँगको कारोबार उनलाई थाहा थियो, त्यो पैसा खोजी गर्दै उनले गौचनलाई पटकपटक फोन गरेको देखिन्छ’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘गौचनबाट सकरात्मक जवाफ नपाएपछि उनले बारम्बार धम्की दिइरहेको पाइएको थियो ।’

बस्न्यातलाई भारतबाट पक्राउ गरेर ल्याएर काठमाडौंमा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) कार्कीले डाँफे कन्स्ट्रक्सनमा सेयर दिने भनेर कुमार घैंटेसँग गौचनले साढे दुई करोड रुपैयाँ लिएको बताएका थिए । त्यसमध्ये एक करोड आफ्नो भएको दाबी गर्दै समिरमानले त्यो पैसा फिर्ता दिन गौचनलाई धम्क्याएको कार्कीले खुलाएका थिए ।

तर, पैसा नदिएपछि दुई जनाबीच तिक्तता बढ्दै गएको थियो । पछि हुलाकी राजमार्गको ठेक्कावापत २ प्रतिशत कमिसन स्वरुप करिब २२ करोड रुपैयाँ उनले मागेको अधिकृतहरु बताउँछन् । तर त्यो पनि पाउने छाँट नदेखेपछि समिरले गौचनको हत्या गरेको प्रहरी निष्कर्ष थियो ।

अदालतले गुण्डा नाइके बस्न्यातलाई जन्मकैदको सजाय सुनाएको छ । उनी हाल केन्द्रीय कारागार, सुन्धारामा छन् । बस्न्यातसँगै सुटर काले भनिने अमरबहादुर रानालाई पनि जन्मकैदको सजाय भएको छ ।

समिरकी पत्नी माया शेरचनलाई १० वर्ष कैद सजाय भएको छ । उनको साथबाट प्रहरीले हतियार समेत बरामद गरेको थियो । हतियारतर्फ उनलाई ६० हजार रुपैयाँ जरिवानालाई गराउने आदेश भएको छ ।

गौचनमाथि गोली प्रहार भएपछिको घटनास्थल । फाइल तस्वीर

अनुसन्धान अधिकृतहरुका अनुसार उनको साथबाट बरामद हतियार अत्याधुनिक किसिमको थियो । त्यसैले त्यो हतियार कहाँबाट आयो भनेर सोध्दा समिरले बुबाले दरबारबाट बक्सिस पाएको बताउने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । ‘समिरमानका बुबा पहिले दरबारमा बगैंचा हेर्ने माली रहेछन्, त्यतिबेला राजाले बक्सिस दिएको भन्ने बयानका क्रममा खुलेको थियो’, एक अधिकृत भन्छन्, ‘तर, हतियार बक्सिस त के पाउँथे, चोरी गरेर ल्याएको हुनसक्छ । त्यसतर्फ धेरै अनुसन्धान भएन ।’

अदालतले लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद सजाय तोकेको छ । लोप्साङ तिनै व्यक्ति हुन्, जसले २९ चैत २०७३ मा गौरीघाटस्थित दिव्य पार्टी प्यालेस अगाडि गुन्डा नाइके दावा लामामाथि गोली प्रहार हुँदा तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीलाई फोन गरेर जिम्मेवारी लिएका थिए ।

समिरमान समूहमा रहेका उनी गौचन हत्याकाण्डमा संलग्न देखिएपछि पक्राउ परेका थिए । अदालतले मिनराज योङहाङ, गुम्बी भन्ने श्यामबहादुर गुम्बी, कालेदारी भन्ने रोशन बढाथोकी र राजीव तामाङ भन्ने राजीव स्याङताङलाई पनि ५ वर्ष कैद सजाय तोकेको छ ।

बसन्त थेबे र मनोज पुन भन्ने मनोज बुढामगरको मृत्यु भइसकेकाले अदालतले दाबी खारेज गरेको छ । तर, बस्न्यात पक्राउ पर्दा सीआईबीले गरेको पत्रकार सम्मेलनमा प्रहरीले गौचन हत्याकाण्ड अघि नै समिर र मनोज पुन अलग भइसकेको सार्वजनिक गरेको थियो ।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको अडियो बयानमा समिरले भनेका थिए, ‘दावा लामाको यो गोलीकाण्ड र गौचनको हत्याकाण्ड मेरो योजनामा बनेको हो । फिल्डमा खटिने सबै चिज लोप्साङ लामाले गरेको हो, मनोज पुन चाहिँ दुर्गा तिवारी काण्डपछि नै अलग्गिसकेको हो, हामीसँग छैन ऊ ।’

प्रकरणमा संलग्न गंगाप्रसाद लिम्बु, अजय थापा, समिकला राई, प्रवेश नायब, सुरज थाक्सु बाजी, सुधिरकुमार शाह र प्रदीपकुमार इता अझै फरार छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?