+

मान्छेलाई किन तनाव हुन्छ ?

२०८० असार  २२ गते १२:५१ २०८० असार २२ गते १२:५१
मान्छेलाई किन तनाव हुन्छ ?

काठमाडौं । ‘तनाव’, ‘टेन्सन’, ‘डिप्रेसन’ जस्ता शब्द धेरैको मुखबाट पटक-पटक सुनिन्छ । खोज्न थालियो भने तनाव छैन भन्ने मानिस भेटाउन मुश्किल पर्छ । धैरैले त तनाव नहुने व्यक्ति नहुने पनि तर्क गर्छन् ।

तनाव गराउने धेरै तत्व जिम्मेवार मानिन्छ । जस्तै,  सम्बन्धमा खटपट,  कसैलाई रोग, कसैलाई ऋण, कसैलाई बेरोजगारी, कसैलाई प्रमोसन, कसैलाई काम धेरै भएर, कसैलाई काम नै नभएर । सानोतिनो कामको चापदेखि ठूला-ठूला नोक्सानीले मान्छेलाई तनावग्रस्त बनाउँछ ।

दैनिक मानिसको जीवनमा हुने उतारचढावले पिरोलेको तनावले शरीरको हार्मोनमा पनि उथलउथल गराइरहने चिकित्सकहरुको भनाइ छ । हार्मोन विशेषज्ञ डा. विनय भटराई भन्छन्, ‘तनाव हुँदा शरीरमा विभिन्न हार्मोनलाई प्रभाव पार्छ । तनाव हार्मोन पनि शरीरमा हुन्छन्, जब व्यक्तिलाई तनाव हुन्छ तब ती हार्मोन सक्रिय हुन्छन् ।’

तनावका लागि कुनकुन हर्मोन जिम्मेवार ?

डा. भट्टराईका अनुसार शरीरमा निरन्तर काम गर्न लागि ऊर्जा चाहिन्छ । तनावले गर्दा ती ऊर्जालाई सन्तुलनमा ल्याउने हार्मोनलाई पनि दखल पुर्‍याउँछ । तनावले मानिसको शरीरमा विभिन्न हार्मोनहरूमा परिवर्तन गर्छ । ‘तनाव हुँदा सिम्पथेटिक स्नायुप्रणाली सक्रिय हुन्छन् । त्यससँगै कर्टिसोल हार्मोन शरीरमा निस्कन्छ । कोर्टिसोल हार्मोनले तनाव गराउने र नियन्त्रणमा पनि यसले भूमिका खेल्ने भएर यसलाई स्ट्रेस हार्मोन पनि भनिन्छ, ’ उनले भने ।

कोर्टिसोल हर्मोन के हो ?

अमेरिकाको क्लिभल्याण्ड क्लिनिक अर्गनाइजेसनका अनुसार कोर्टिसोल एक स्टेरोइड हार्मोन हो । कोर्टिसोल मिर्गौलाको माथिपट्टि इन्डोक्राइन ग्रन्थिहरुले उत्पादन गर्ने र छाड्ने गर्छ । मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थिले पनि स्ट्रेस हार्मोन ‘कोर्टिसोल’ रासायनिक पदार्थको उत्पादनलाई बढाउँछ । यसले शरीरका अधिकांश भागलाई प्रभाव पार्छ ।

मुख्यतया तनाव हुँदा हार्मोन निस्किने मात्र होइन, तनावलाई सन्तुलन गर्ने कार्य पनि यसकै हुन्छ । कोर्टिसोल शरीरका धेरै कोषिकामा पाइन्छ, त्यसैले यसका कार्य पनि त्यस आधारमा फरक हुने मधुमेह रोग विशेषज्ञ डा. दीपकमोहन मल्ल बताउँछन् ।

‘स्मरण शक्तिलाई बलियो बनाउने, बोसो, प्रोटिन र कार्बोहाइड्रेटलाई नियन्त्रण गर्ने, स्मरण शक्तिलाई बलियो बनाउने, रक्तचापलाई नियन्त्रण राख्ने, अंगहरुलाई सुन्निन नदिने, ब्युँझिने र निदाउने प्रक्रियालाई नियन्त्रण गर्न मद्दत गर्ने, शरीरमा नुन र पानीको सन्तुलन कायम राख्ने हुँदा रक्तचाप नियन्त्रण गर्न पनि सहयोगी हुन्छ, ’ मल्ल भन्छन् ।

उनका अनुसार कोर्टिसोल उत्पादन हुनु राम्रो हो तर दैनिक तनाव लिइरहने हो भने हार्मोन नियन्त्रण बाहिर हुँदै दीर्घरोगलाई बढावा दिन्छ ।

डा. भट्टराई भन्छन्, ‘कोर्टिसोलको उत्पादन वृद्धिले रक्तचाप, मनोबल घटाउने, ग्लुकोज अवस्था, वजन वृद्धि, शरीरको विकास र इम्युन सिस्टमलाई प्रभावित गर्छ । निरन्तर तनावको कारण काटेकोलामिन हार्मोन उत्पादन  बढी हुन्छ । नतिजा, मधुमेह, हृदयरोग, निद्राको समस्या, मानसिक अस्वस्थता, अण्डाकोषका समस्या र प्रजनन समस्याहरू हुन सक्छ ।’ कहिलेकाहीं तनावले नै हार्मोन अनियन्त्रित गरी मानिसलाई सोच्न नसक्ने अवस्थामा पुर्‍याउँछ, नतिजा सही गलत नै छुट्याउन मुश्किल हुन्छ, जसले गर्दा व्यक्ति गलत निर्णय पनि लिन सक्ने उनी सुनाउँछन् ।

रगतमा कोर्टिसोलको मात्रा बढ्दा महिलाहरूमा कामवासना र मासिक धर्म चक्रमा परिवर्तन ल्याउन सक्ने डा. भट्टराई बताउँछन् ।

कोर्टिसोलको कमी पनि समस्या बन्न सक्छ’

कोर्टिसोल हार्मोनको अत्यधिक मात्रा र कमी दुवै स्वास्थ्यका लागि हानिकारक छन् । अन्तर्राष्टिय जनरल जोन हप्किन्स मेडिसिनमा प्रकाशित हार्मोनसम्बन्धी लेखअनुसार एडिसन रोग, अटोइम्युन सिस्टम (प्रतिरक्षा प्रणालीलाई कमजोर पार्ने रोग) जस्ता समस्याले शरीरका कोर्टिसोलको कमी गर्छ । नतिजा ‘प्राइमरी एड्रेनल इन्सुफिशियन्सी’ रोगको समस्या हुन सक्छ । यो एक दुर्लभ प्रकारको अटोइम्युन रोग हो, जसकारण एड्रेनल ग्रन्थिमा क्षति पुग्ने खतरा हुन्छ । यसका लक्षण विस्तारै सुरु भए पनि समय बित्दै जाँदा ती निकै गम्भीर हुन सक्छन् । एड्रेनल पर्याप्त नहुँदा थकान, मांसपेशी कमजोर, तौल घट्ने, मुड स्विङहरू र छालामा परिवर्तन हुने सम्भावना हुन्छ ।

तनाव हुँदा के गर्ने ?

दीर्घकालीन तनावले स्वास्थ्यलाई असर पुर्‍याउने हुँदा तनाव व्यवस्थापन गर्ने विभिन्न तरिका अपनाउन सकिने मनोचिकित्सक डा. बासु कार्की बताउँछन् । ‘अत्यधिक तनावले डिप्रेसन र एन्जाइटी गराउँछ, त्यसैले यसलाई नियन्त्रण गर्न तनाव हुने बित्तिकै लामो सास फेर्ने, छोड्ने प्रक्रिया दोहोर्‍याउने, ऊर्जा दिने र प्रेरणा दिने संगीत सुन्ने, घुम्न जाने, ध्यान र योगलाई पनि प्राथमिकतामा राख्नुहोस्,’ कार्की सुझाउँछन् ।

तनाव हार्मोन
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय