+
+

मुख्य नालामाथि बनेको हरिखेतान क्याम्पसमा वीरगञ्ज महानगरले चलायो डोजर

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १७:०६

२५ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मुख्य नालामाथि हरिखेतान बहुमुखी क्याम्पसले निर्माण गरेको संरचनामा डोजर लगाएको छ ।

संरचना हटाउन मेयर राजेशमान सिंह दिउँसो डोजर लिएर आफैं क्याम्पसमा पुगेका थिए ।

क्याम्पसको संरचना मुख्य नालामाथि निर्माण हुँदा नाला सफाइमा अवरोध भएकाले निर्माण गरिएका संरचना हटाउन डोजर लगाउनु परेको महानगरले जनाएको छ ।

नालामाथि बनेको संरचना आफैं हटाउन क्याम्पसलाई निर्देशन दिएको भए पनि क्याम्पसले नहटाएपछि आफैं डोजर लिएर आउनु परेको मेयर सिंहले बताए ।

जिल्ला हुलाक कार्यालयदेखी मुख्य नाला सफाइ गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै सफाइलाई निरन्तरता दिँदै आएको छ ।

हरिखेतान क्याम्पस पछाडिसम्म सफाइ गरेको महानगरले क्याम्पसको संरचना नहट्दा मुख्य नाला सफाइ गर्न पाएको थिएन । महानगरले यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचना हटाइ सकेको छ ।

वीरगञ्जमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्को नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउ हुँदै दक्षिणतिर बगेको छ ।

गीता मन्दिरदेखि आदर्शनगर हरिखेतान क्याम्पससम्मको क्षेत्रमा मुख्य नालाको दुबैतर्फ अतिक्रमण गरेर संरचना बनेका छन् । आदर्शनगरको क्लासिक होटल र कर्पोरेट डेभलपमेन्ट बैंकको भवन पनि नाला माथि नै निर्माण गरिएको छ । अहिले क्लासिक होटल पछाडिसम्मको मुख्य नालामा बनेका संरचना हटाउँदै नाला पूर्ण रुपमा सफाइ गरिसकिएको छ ।

वर्षौँदेखि मुख्य नाला सफाई नहुँदा वीरगञ्ज वर्षातको समयमा डुबानमा पर्दै आएको छ । यस पटक मुख्य नाला पूर्ण रुपमा सफा गर्न सबै उपाय अवलम्बन गरेको मेयर सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?