+

के घामकै कारण हुन सक्छ छालाको क्यान्सर ?

२०८० असार  २७ गते १३:१४ २०८० असार २७ गते १३:१४
के घामकै कारण हुन सक्छ छालाको क्यान्सर ?

छालाको क्यान्सरबाट पीडित हुनेको संख्या बढिरहेको छ । खासगरी शरीरमा घामको विकिरण सिधा सम्पर्क हुँदा छालाको क्यान्सर हुने सम्भावना हुन्छ । घाममा धेरै समय बिताउने, घाममा काम गर्ने, शरीरमा अत्यधिक कोठी भएका, छाला संवेदनशील भएका, परिवारमा कसैलाई छालाको क्यान्सर भएका व्यक्तिलाई छालाको क्यान्सर हुने सम्भावना हुन्छ ।

कसरी घामको कारण छालामा क्यान्सर हुन्छ ?

सूर्यबाट आउने परावैजनी किरण निकै हानिकारक हुन्छ । यूभीए, यूभीबी विकिरण शरीरको सिधा सम्पर्कमा पुग्दा छालामा असर गर्छ र क्यान्सर हुने जोखिम हुन्छ ।

प्रायजसो ६५ वर्षभन्दा माथिका व्यक्तिलाई छालामा क्यान्सर हुने सम्भावना बढी हुन्छ । किनकि यो उमेरमा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।

छालाको क्यान्सरका प्रकार

छालाको क्यान्सर तीन प्रकारको हुन्छ, बेसल सेल कार्सिनोमा, स्क्वामोस सेल कार्सिनोमा र मेलोनोमा ।

बेसल सेल कार्सिनोमा : सिधा घामको सम्पर्कमा लामो समयसम्म रहँदा यो प्रकारको क्यान्सर हुने सम्भावना हुन्छ । जस्तै अनुहार, कान, गाला, घाँटी र हातमा देखिने र विस्तारै बढ्दै जाने हुन्छ । यसलाई सुरुवाती अवस्थामा उपचार गर्न सके निको हुन्छ । यसमा मलम, लेजर, क्यान्सर देखिएको छाला काटेर उपचार गरिन्छ ।

स्क्वामोस सेल कार्सिनोमा

यो पनि शरीरको सिधा घामको सम्पर्क हुने अंगमा हुन्छ । अल्सर र पुरानो घाउमा यस्तो क्यान्सर हुने सम्भावना हुन्छ । यो बेसल सेल भन्दा पनि जटिल खालको हुन्छ । यस्तो क्यान्सर भएमा शल्यक्रिया मार्फत उपचार गर्नुपर्ने हुन्छ ।

मेलोनोमा

मेलोनोमा क्यान्सर शरीरको कुनै पनि ठाउँमा हुन सक्छ । किनकि यो प्रायजसो शरीरको घामले नदेखिने अंगहरु जस्तै खुट्टाको नङ, औंला र पैतालामा धेरै हुन सक्छ । यो क्यान्सर लाग्ने सम्भावना कम हुने भए पनि यो अरु दुई क्यान्सर भन्दा निकै खतरनाक हुन्छ । यसमा किमोथेरापी गरेर उपचार गर्नुपर्ने हुन्छ । शरीरका अन्य अंगमा पनि छिटोछिटो फैलिने जोखिम हुन्छ ।

छालको क्यान्सरको उपचार

छालाको क्यान्सर मलम, लेजर, किमोथेरापी र शल्यक्रियामार्फत उपचार गर्न सकिन्छ । यसका लागि पहिला छालाको क्यान्सर चिकित्सकको परामर्शमा बायोप्सी जाँच गराउनुपर्ने हुन्छ । यदि छालाको क्यान्सर भएको पत्ता लागेमा यसको उपचार रेडियोथेरापी तथा किमोथेरापीमार्फत पनि उपचार गरिन्छ । यसको समयमा नै रोग पहिचान भएमा पूर्ण रुपमा निको हुन्छ । तर फेरि आउने सम्भावना पनि उत्तिकै हुन्छ ।

बच्ने उपाय

घामको विकिरणबाट बच्ने, बाहिर जानु कम्तीमा १५ मिनेटअघि सनब्ल्क क्रिम लगाएर मात्र बाहिर निस्कने, बाहिर हिंड्दा पूरा शरीर ढाक्ने लुगा लगाउनुपर्छ । साथै छालामा कुनै पनि बदलाव देखिएमा तुरुन्तै चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ । सकेसम्म समय-समयमा छालाको जाँच गराउनुपर्छ ।

(वरिष्ठ छालारोग तथा सौन्दर्य विशेषज्ञ डा. भट्टराई काठमाडौंको नागपोखरीस्थित लाभना स्किन एण्ड हेयर क्लिनिककी कार्यकारी निर्देशकसमेत हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

छालाको क्यान्सर प्रा. डा. सविना भट्टराई स्वास्थ्य
प्रा. डा. सविना भट्टराई
लेखक
प्रा. डा. सविना भट्टराई
छाला तथा कस्मेटिक सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २७०१ एमबीबीएस (कोलकाता मेडिकल कलेज), एमडी (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) काठमाडौं मेडिकल कलेजकी पूर्वउपाध्यक्ष तथा विभागीय प्रमुख, हाल काठमाडौंको नागपोखरीस्थित लाभना स्किन एण्ड हेयर क्लिनिककी कार्यकारी निर्देशकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय