+
+

नबिल बैंक ३९ वर्ष पूरा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते १२:३७

काठमाडौं । नबिल बैंक लिमिटेडले ३९ वर्ष पूरा गरेको छ । यो बैंक १२ जुलाई सन् १९८४ मा स्थापना भएको थियो ।

‘नबिल बैंकसँगै अघि’ भन्ने नाराका साथ ग्राहक तथा सरोकारवालासँग हातेमालो गरेर यो बैंक अघि बढिरहेको छ । ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाई केन्द्रमा राखेर आफ्नो पृथक चिनारी बनाएको बैंकले जनाएको छ ।

वार्षिकोत्सवकोे अवसरमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकलाई निरन्तर सर्वाेत्कृष्ट बनाएकोमा बैंकका कर्मचारीलाई धन्यवाद दिए । त्यस्तै बैंकप्रति अटुट भरोसा राखिएकोमा ग्राहकहरूलाई आभार प्रकट गर्दै यस्तै भरोसा राख्ने वातावरण बैंकले निरन्तर बनाउने प्रतिबद्धता व्यक्त गरे ।

दिगो र डिजिटलाइज्ड बैंकिङलाई अझ सबल बनाउँदै ग्राहकलाई सुविधा दिन तत्पर रहने उनले बताए ।

सरल र ग्राहक मैत्री सेवा दिने क्रममा प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकता दिँदै आएको बैंकले जनाएको छ । सरलीकृत बैंकिङ सेवा विस्तार गर्ने क्रममा उच्चतम प्रविधिको प्रयोग गर्दै आएको नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङको सुरु गरेको थियो ।

नबिलले सन् १९९४ मा पहिलो पटक एटीएम सर्भिसको सुरुवात गरेको थियो । त्यस्तै गरी सन् २०१२ मा पहिलो पटक मोबाइल बैंकिङको सुरु गरी मोबाइलबाट बैंकिङ सुविधा लिने प्रविधि भित्राइएको थियो ।

नबिल बैंकले २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप समावेश गरेको थियो । सन् २०१६ सालमा नबिलले कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमा पहिलो पटक ल्याएको थियो ।

नबिलले पछिल्लो पटक सन् २०२२ सालमा एन बैंकको सुरुवात गरेर नेपालमा पहिलो पटक नियो बैंकिङको सुरु गरेको थियो ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो जसको कुल निक्षेप ३७८ अर्ब रुपैयाँ तथा कुल कर्जा ३४० अर्ब रुपैयाँ रहेको छ । नबिलले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै गरी देशभरिको शाखा विस्तार भई २ सय ६४ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?