+

उपवासले दिन्छ पाचन प्रक्रियालाई आराम

२०८० साउन  २ गते १२:५० २०८० साउन २ गते १२:५०
उपवासले दिन्छ पाचन प्रक्रियालाई आराम

विभिन्न पर्वमा उपवास बस्ने परम्परा छ । उपवास स्वेच्छाले दिनभर केही खानेकुरा नखाई, कतिपय अवस्थामा पानीसमेत नपिई शरीरको पाचन प्रणालीलाई आराम दिने प्रक्रिया हो ।

आयुर्वेदअनुसार शरीरमा लघुता उत्पन्न गर्ने अर्थात् शरीरमा भएका दोष, अशुद्धि हटाएर शरीरलाई हलुका र फूर्तिलो बनाउने एक उपाय हो उपवास ।

दैनिक विभिन्न अस्वस्थकर तथा अपच्य खानपानले शरीरमा आम अर्थात् अपक्को रस उत्पन्न हुन्छ । जुन पेटभित्र नपचेको खानाबाट उत्पन्न हुन्छ । जसलाई मेडिकल भाषामा मेटावोलिक डिसअर्डर भनिन्छ । यो अपाच्य खानाको अत्यधिक सेवन, समयमा खानपान नभएमा र नियमित व्यायामको कमीले शरीरमा आम उत्पन्न हुन्छ । यसले धातु लेभलमा पुगेर शरीरमा भएको राम्रो सेललाई मार्ने वा अवरोध पुर्‍याउने काम गर्छ ।

शरीरभित्र मृत भएका सेललाई बाहिर निकाल्न पनि उपवासले मद्दत गर्छ । यो शरीरभित्र नै रहेमा विभिन्न रोग लाग्न सक्ने जोखिम हुन्छ । त्यसैले समय-समयमा उपवास बस्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

आयुर्वेदअनुसार उपवास दुई प्रकारले गर्न सकिन्छ, निर्जल उपवास र लघु आहार उपवास । निर्जल उपवास पानीसमेत नपिई बस्ने उपवास हो । यो युवा उमेरका र स्वस्थ व्यक्तिले बस्न सक्छन् । शरीरमा आमको मात्रा बढी छ भने निर्जल उपवास लाभदायक हुन्छ । तर शरीरमा आमको मात्रा कम छ भने लघु आहार अर्थात् सात्विक आहार खाएर उपवास बस्न उचित हुन्छ ।

उपवास बस्ने विधि

आजभोलि उपवास बस्ने तर उपवास बस्नुअघि वा उपवास बसिसकेपिछ टन्न घाँटीसम्म आउने गरी खानेकुरा खाएको पाइन्छ । जुन एकदमै गलत हो । उपवास बस्ने खास विधि भनेको उपवास बस्नु एकदिन अघिदेखि सजिलै पच्ने सात्विक भोजन गर्नुपर्छ । जसले गर्दा सजिलै खाना पच्छ ।

उपवास तोड्ने बेलामा पनि एकैचोटि टन्न हेभी डाइट खानुहुँदैन । उपवास तरल पदार्थ वा सजिलै पच्ने खानेकुरा सेवन गरेर तोड्नुपर्छ । जस्तै सुरुमा पानी पिउने, फाइबरयुक्त फलफूल र सात्विक खाना खानुपर्छ । जसले शरीरलाई हलुका राख्न मद्दत गर्छ । उदाहरणको लागि एकादशीको उपवास सकेपछि तुलसीको पात  र पानी खाएर व्रत तोडिन्छ । यसले शरीरमा बाँकी रहेको अशुद्ध खानेकुरालाई पचाउन मद्दत गर्छ । त्यस्तै लामो उपवास जस्तै छठपर्वको व्रतमा अदुवापानी खाने चलन छ, जसले शरीरको बाँकी विजातीय पदार्थ नष्ट गर्ने र सक्खरले उपवासका कारण कमजोर भएको शरीरलाई ऊर्जा प्रदान गर्छ । यसबेला तरल पदार्थ र जाउलो खाने गर्नुपर्छ । त्यसको भोलिपल्टबाट मात्र नियमित भोजन सुरु गर्दा उपयुक्त र फलदायी हुन्छ ।

पाचन प्रक्रियालाई फाइदा

यसबेला शरीरले खाना पचाउने कामबाट मुक्ति पाउँछ । यसैको मौकामा शरीरले आफ्नो शुद्धीकरण गर्न लाग्छ । निरन्तर खाना खाइरहेको बेलामा शरीरले पूर्ण रुपमा पचाउन सकिरहेको हुँदैन । त्यही नपचेको खाना वा शरीरमा जम्मा भएर बसेको विकारलाई नष्ट गर्ने र शुद्ध पार्ने काम उपवासका बेला शरीरले गर्न पाउँछ । जसले गर्दा शरीरमा खराब कोलेस्टेरोल र बोसो जम्मा हुन दिंदैन । पेटलाई सधैं स्वस्थ र हलुका बनाउँछ ।

अनुसन्धानअनुसार महिनामा दुईपटक निर्जल उपवास बस्ने व्यक्तितमा क्यान्सरको जोखिम न्यून हुनेसमेत देखाएको छ ।

मोटोपन घटाउन पनि सहयोगी

उपवासले शरीरमा भएको ग्लुकोजिन, फ्याटी एसिडलाई टुक्र्याएर ग्लुकोजमा परिणत भएर शक्तिको रुपमा प्रयोग गर्छ । यसले शरीरमा जमेका नराम्रो बोसोलाई घटाउने काम गर्छ । जसले मोटोपन घटाउन मद्दत गर्छ । तर दिनभरि उपवास बसेर बेलुका टन्न खाना खाएमा भने उपवास बसेको कुनै अर्थ हुँदैन ।

दीर्घरोगी वा औषधि खाइरहेकाले उपवास बस्दा के हुन्छ ?

उपवास आफ्नो स्वस्थ्य अवस्थालाई ख्याल गरेर मात्रै बस्नुपर्छ । यदि दीर्घरोगी वा कुनै नियमित औषधि खाइरहेको व्यक्तिले उपवास नबस्नु नै उचित हुन्छ । किनकि कमजोर भएको व्यक्तिले उपवास बसेमा त्यसले झन् शरीरलाई कमजोर बनाउन सक्छ । तर बस्नै चाहेमा लघु आहार लिएर उपवास बस्न सकिन्छ ।

ग्यास्ट्रिकको समस्या भएकाले पनि उपवास नबस्नु उचित हुन्छ । साथै बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाले उपवास बस्नु स्वास्थ्यका लागि राम्रो हुँदैन । त्यसैगरी छिटोछिटो उपवास बस्नु पनि राम्रो मानिंदैन ।

(आयुर्वेद चिकित्सक डा. केशरी टेकुस्थित जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

उपवास पाचन प्रक्रिया
डा. पुनेश्वर केशरी
लेखक
डा. पुनेश्वर केशरी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेद काउन्सिल दर्ता नम्बर : ०४१ एमडी (आयुर्वेद-द्रव्यगुण विज्ञान, (बैंग्लोर, भारत) आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभागको जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख, विश्व स्वास्थ्य संगठनको आईसीडी-११, ट्राडस्नल मेडिसिन मोड्युल २ को फोकल पर्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मलेरियाको जोखिम कसलाई बढी हुन्छ ?

मलेरियाको जोखिम कसलाई बढी हुन्छ ?

प्लास्टिक सर्जरी र कस्मेटिक सर्जरीमा के फरक छ ?

प्लास्टिक सर्जरी र कस्मेटिक सर्जरीमा के फरक छ ?

बच्चाले मोबाइल, टिभी नहेरी खाना खाँदैनन् ? यस्ता छन् ९ टिप्स

बच्चाले मोबाइल, टिभी नहेरी खाना खाँदैनन् ? यस्ता छन् ९ टिप्स

सन प्रोटेक्सन क्रिम लगाउने सही तरिका के हो ?

सन प्रोटेक्सन क्रिम लगाउने सही तरिका के हो ?

महिनावारी रोकिनु गर्भ रहेको संकेत हो ?

महिनावारी रोकिनु गर्भ रहेको संकेत हो ?

आँखामा आनो किन आउँछ, के छ उपचार ?

आँखामा आनो किन आउँछ, के छ उपचार ?