+

मात्रा मिलाएर नखाए रोगको कारक बन्न सक्छ घिउ

२०८० साउन  ३ गते १४:०८ २०८० साउन ३ गते १४:०८
मात्रा मिलाएर नखाए रोगको कारक बन्न सक्छ घिउ

काठमाडौं । मीठो दाल, भात, तरकारी र अचार । त्यसमा एक चम्चा घिउ भयो भने स्वाद नै बेग्लै हुन्छ । खाना रुचाउनुका साथै शरीर पनि हृष्टपुष्ट हुने भन्दै घिउ खानका लागि धेरै पहिलेदेखि नै जोड दिइएको पाइन्छ ।

तर पछिल्लो समय यसमा हुने बोसोले स्वास्थ्यलाई असर गर्ने भन्दै घिउलाई कम गर्ने वा चटक्कै खान छाड्ने पनि धेरै छन् । यस्तोमा घिउ वास्तवमै स्वास्थ्यका लागि राम्रो हो कि होइन ?  यस्तो प्रश्न धेरैको मनमा उठ्न सक्छ ।

कतिले तौल बढ्ने डरले घिउ खान बन्द गरेका छन् । कतिले धेरै रोगको जिम्मेवार घिउमा हुने चिल्लोपनलाई मान्छन् । तालमेल मिलाएर सही तरिकाले घिउ खान सकिए यसले खानाको स्वाद बढाउने मात्र नभई शरीरका लागि पनि फाइदाजनक हुने पोषणविद् वविता अधिकारी बताउँछिन् ।

घिउ किन खाने ?

घिउलाई आयुर्वेदमा औषधिजत्तिकै उपयोगी मानिएको छ । विभिन्न अध्ययनले पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुने देखाएको पोषणविद् अधिकारी बताउँछिन् । उनका अनुसार घिउमा ओमेगा फ्याटी एसिड, र एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ ।  जसले फ्री रेडिकलको प्रभाव कम गरेर छालालाई पोषण दिन मद्दत गर्छ। ‘यसले छालालाई नरम बनाउन र चम्किलो बनाउँछ । यसमा एन्टिइन्फ्लामेन्टरी एजेन्ट हुन्छन्, जसले आन्तरिक र बाह्य छाला सुन्न्निएको छ भने कम गर्छ,’ उनी भन्छिन, ‘घिउमा पाइने भिटामिन ए र ईले रोग प्रतिरोधात्मक क्षमता बढाउछ ।’

हार्मोनलाई सन्तुलन राख्न मद्दत गर्ने,  पोषणलाई दोब्बर बनाउने, मेटाबोलिजम र रोग प्रतिरोधात्मक क्षमता बढाउने, आँखामा ज्योति बढाउने, छालालाई मुलायम बनाउने, खराब कोलेस्टेरोललाई कम गर्न मद्दत गर्न  घिउ प्रभावकारी हुने अधिकारी बताउँछिन् ।

अन्तर्राष्ट्रिय जर्नल क्लिभल्याण्ड क्लिनिकमा प्रकाशित एक लेखमा घिउमा ब्युटाइरेट नामक तत्व कोषिकाहरुको लागि मुख्य ऊर्जाको स्रोत भएको र कोलोनलाई पुनः उत्पन्न गर्न मद्दत गर्छ । जुन कोलोन स्वास्थ्य र पाचन प्रणालीको लागि फाइदाजनक छ ।

‘यी सबै फाइदा प्राप्त गर्न घिउको उपयुक्त मात्राबारे जान्नुपर्छ, किनकि घिउको मात्रा धेरै हुँदा स्वास्थ्यलाई हानि पुग्छ,‘ पोषणविद् अधिकारी भन्छिन् ।

त्यसो भए घिउको सही मात्रा कति ?

घिउमा पोषण पाइन्छ भन्दैमा मनलाग्दी खादा पोषण विष बन्न सक्ने अधिकारी बताउँछिन् । ‘घिउ खानु पनि एउटा कला हो । यसको तालमेल सही तरिकाले खान जाने शरीर स्वस्थ हुन्छ तर तालमेल मिलाउन जानिएन भने रोग बन्न पनि बेर लाग्दैन, ’ उनी भन्छिन् ।

घिउको सही अनुपात बताउन गाह्रो हुने हुँदा तेलयुक्त खाना खाँदा घिउको मात्रा कम गर्न उनी सुझाउँछिन् । ‘सादा खाना दाल, भात र तरकारीसँग एक चम्चा घिउ खान सकिन्छ । तर घिउ पचाउन त्यही अनुसारको कसरत गर्नुपर्छ । घिउ सजिलै पच्दैन । कसरत छैन तर शक्ति बढाउन घिउ मात्र खान्छु भन्दा शरीरमा क्यालोरी र बोसो थुप्रिन्छ, जसले कोलेस्टेरोल, मोटोपन, मधुमेह, रक्क्तचाप बढ्ने सम्भावना बढ्छ,’ उनी भन्छिन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. माधव विष्ट पनि दैनिक दुई चम्चा घिउले स्वास्थ्यलाई फाइदा पुर्‍याउने बताउँछन् । ‘घिउमा ब्याड कोलेस्टेरोल घटाउने शक्ति हुन्छ । यद्यपि, घिउ र अन्य तेलयुक्त खानेकुराको अनुपात दैनिक बढाउँदै गयो भने मुटुलाई समस्या निम्त्याउन सक्ने हुँदा दिनको दुई चम्चा घिउ खानु उचित हुन्छ, ’ उनले भने ।

मुटुका बिरामीले खान हुँदैन भन्ने भ्रम

धेरैले मुटुमा समस्या देखियो भने चिल्लो खानेकुरालाई दोष दिन्छन् । अझ त्यसमा घिउ त खानहुँदैन भन्ने सुन्न पाइन्छ । जुन जनमानसमा एउटा भ्रम रहेको डा. विष्ट बताउँछन् । ‘कोलेस्टेरोलको मात्रा बढी भएमा मुटुलाई असर गर्छ । तर कोलेस्टेरोल घिउले मात्र बढाउँदैन,’ डा. विष्ट भन्छन्, ’मुटु समस्या हुने वा हृदयघात गराउने धेरै अन्य जोखिम तत्व छन् । तर दोष चिल्लोपनलाई बढी दिइन्छ । शरीरलाई चिल्लोपन पनि चाहिन्छ जुन घिउबाट पनि पूर्ति हुन्छ । यसो भन्दैमा टन्न खान भने हुँदैन ।’

खराब कोलेस्टेरोल कम गर्छ

डा. विष्टका अनुसार शरीरमा उत्पादन भइरहने ब्याड कोलेस्टेरोललाई खानानलीबाट सोसिएर कलेजोमा जान्छ । ब्याड कोलेस्टेरोलले मुटुको धमिनीलाई असर गर्छ । तर घिउ खाँदा शरीरमा प्रवाह भइरहेको कोलेस्टेरोललाई रोक्छ । यसले ब्याड कोलेस्टेरोलको मात्रा घटाइदिन्छ । आफैंमा यो राम्रो प्राकृतिक कोलेस्टेरोल पनि हो । यद्यपि अत्याधिक घिउ सेवनले कोलेस्टेरोललाई उच्च पनि बनाउन सक्ने हुँदा मात्रामा ध्यान दिन उनी  सुझाउँछन् ।

आयुर्वेदमा घिउलाई औषधि मानिएको छ । अन्तर्राष्ट्रिय योगा जर्नलका अनुसार आयुर्वेदमा घिउलाई ६ हजार वर्षअघिदेखि नै औषधिको रुपमा लिइन्थ्यो । अहिले पनि पूर्वीय देशमा यसको प्रयोग व्यापक हुन्छ । घिउलाई जडिबुटी औषधिमा एउटा यन्त्र मानिन्छ जुन शारीरिकदेखि मानसिक उपचारमा प्रयोग हुन्छ ।

घिउ शक्तिवर्द्धक तत्व हो, जसमा शक्ति दिने, वजन घटाउने लगायत धेरै फाइदा हुने आयुर्वेद चिकित्सक पुनेश्वर केशरी बताउँछन् । यद्यपि घिउलाई तताएर खाँदा वा घिउमै खानेकुरा तारेर खाँदा भने भएको पोषण पनि नष्ट भएर हानिकारक तत्व निस्कने हुँदा घिउलाई सिधै खानासँग खानु उपयुक्त हुने उनी सुझाउँछन् ।

बेफाइदा पनि

पोषणविद् अधिकारीका अनुसार घिउ जनावरबाट प्राप्त हुने स्याचुरेटेड फ्याट हो । जुन अत्यधिक मात्रामा सेवन गरे हाम्रो पाचन क्षमताले पचाउन सक्दैन । शरीरलाई चाहिने भन्दा बढी खाँदा तौल अत्यधिक बढ्न सक्छ । जुन विभिन्न रोग निम्त्याउने कारक मानिन्छ । त्यस्तै पूजापाठ वा व्रत बस्दा भोकै बस्ने र घिउको अत्यधिक सेवन गर्दा ग्यास्ट्रिकको समस्या गराउने र कोलेस्टेरोललाई उच्च बनाई मुटु स्वास्थ्यलाई प्रभाव पार्ने पोषणविद् अधिकारी बताउँछिन् ।

खानेकुरा घिउ स्वास्थ्य
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय