+
+

परमाणु बमका पिताबारेको फिल्म ‘ओपेनहेइमर’ले नेपालमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १२:१५

काठमाडौं । परमाणु बमका पिता मानिने जे रोबर्ट ओपेनहेइमरमाथिको फिल्मले नेपाली बक्स अफिसमा आगामी सप्ताहन्त आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । बिहीबार बेलुकासम्म ९० प्रतिशत हाराहारीमा अग्रिम टिकट बिक्री भइसक्ने अनुमान मल्टिप्लेक्स हल सञ्चालकले गरेका छन् ।

‘बिहीबार बिहान हाम्रो हलमा ७० प्रतिशत टिकट बिक्री भइसकेको छ । बेलुकासम्म ९० प्रतिशत हुने अनुमान छ । बाँकी टिकट विन्डो सेलमा बिक्री हुन सक्छ,’ बिग मुभिजका व्यस्थापक दीपेश शर्माले अनलाइनखबरसँग भने, ‘हामीले अवतार : वे अफ वाटरकै हाराहारीमा ओपनिङ हुन सक्ने ठानेका छौं ।’

जेम्स क्यामरुनको ‘अवतार २’ सन् २०२३ मा सर्वाधिक ओपनिङ गर्ने अंग्रेजी फिल्म हो । यसले एक करोड २० लाख रुपैयाँ ग्रस हाराहारीमा ओपनिङ गरेको थियो ।

‘ओपेनहेइमर’को कुरा गर्दा क्रिस्टोफर नोलन निर्देशित फिल्मलाई लिएर विश्वव्यापी प्रतीक्षा छ । अमेरिकी बक्स अफिसमा मात्र यो फिल्मले पहिलो सप्ताहन्त ५० मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण डेडलाइन हलिउड म्यागजिनले लेखेको छ । भारतीय बक्स अफिसमा यो फिल्मको ओपनिङ १२-१६ करोड भारुसम्म हुने प्रक्षेपण गरिएको छ ।

टिकट बिक्रीको ट्रेन्ड र क्रेज हेर्दा ‘ओपनहेइमर’ले शुक्रबार नेपाली बक्स अफिसमा ८० लाखदेखि एक करोड ग्रस हाराहारीमा कलेक्सन गर्ने प्रक्षेपण गरिएको छ । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सको काठमाडौं भ्यालीका हलमा फिल्मको एडभान्स टिकट बिक्री ७० प्रतिशत हाराहारीमा छ ।

निर्देशक क्रिस्टोफर नोलनको व्यक्तिगत क्रेजको प्रभाव पनि नेपालको ओपनिङमा देखिएको छ । वास्तविक बम विस्फोटको दृश्यलाई छायांकन गरिएको कुराले पनि फिल्म चर्चामा छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत यसलाई शताब्दीकै सर्वश्रेष्ठ फिल्मको रुपमा व्याख्या गरिरहेका छन् । ‘ओपनिङको प्रभाव पहिलो साताभर नै देखिन सक्छ,’ बिग मुभिजका व्यवस्थापक शर्माले भने, ‘एक हप्ताभर नै फिल्मले राम्रो कमाउन सक्ने अनुमान छ ।’

पछिल्लो शुक्रबार रिलिज भएको टम क्रुज स्टारर प्रतीक्षित एक्सन फिल्म ‘मिसन इम्पोसिबल : डेड रेकोनिङ पार्ट वान’ले नेपाली बक्स अफिसमा अपेक्षाभन्दा न्यून कमाइ गरेको छ । शुक्रबार प्रदर्शनको तयारीमा रहेको अर्को हलिउड फिल्म ‘बार्बी’ ओपेनहेइमरको छायामा पर्न सक्ने देखिएको छ । शुक्रबार नै नेपाली फिल्म ‘लुङा’ पनि रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?