+

फोक्सोको क्यान्सरका मुख्य कारण धुवाँ, धुलो र धूमपान

२०८० साउन  १६ गते १९:१२ २०८० साउन १६ गते १९:१२
फोक्सोको क्यान्सरका मुख्य कारण धुवाँ, धुलो र धूमपान

फोक्सोको क्यान्सर एउटा यस्तो जटिल क्यान्सर हो, जुन विश्वमा सबैभन्दा बढी मृत्युको कारण बन्ने गर्छ । नेपालमा देखिने क्यान्सरहरूमध्ये पहिलो नम्बरमा देखिने क्यान्सर पनि फोक्सोको नै हो । अन्य क्यान्सरको तुलनामा यही क्यान्सरको कारण मृत्यु पनि धेरै हुने गर्छ ।

विश्वमा प्रत्येक दिन ४ हजार ९३१ जनाको मृत्यु फोक्सो क्यान्सरको कारण हुन्छ । नेपालमा फोक्सो क्यान्सरको कारण प्रत्येक दिन करिब सात जनाको मृत्यु हुन्छ ।

फोक्सोको क्यान्सर ढिलो पत्ता लागेमा यसको उपचार निकै कठिन हुन्छ । त्यसैले यसलाई डरलाग्दो रोग पनि भन्ने गरिन्छ । तर, समयमै पत्ता लाग्यो भने यसको उपचार सम्भव छ ।

के क्यान्सरलाई प्रारम्भिक अवस्थामै पत्ता लगाउन सकिन्छ ? यसको लक्षणहरू के के हुन् ? यिनै विषयमा केन्द्रित रहेर अनलाइनखबरका लागि सुमित्रा लुइटेल ले क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही सँग गरेको कुराकानीको सम्पादित अंश :

फोक्सोको क्यान्सर हुनुको मूल कारण के हो त ?

धूम्रपान, मदिरापान लगायत सेवनका कारण मानिसहरूमा फोक्सोको क्यान्सर हुने गर्दछ । त्यसो भन्दैमा धूम्रपान नगर्नेलाई फोक्सोको क्यान्सर नहुने भन्ने हुँदैन । तर जोखिम भने धूम्रपान गर्नेमा धेरै हुन्छ ।

वंशाणुगत कारण, वायु प्रदूषण, कमजोर रोग प्रतिरोधात्मक क्षमता, फोक्सो सम्बन्धी दीर्घकालीन रोग लगायत कारण पनि फोक्सोको क्यान्सर हुने गर्छ ।

फोक्सोको क्यान्सर कस्तो मान्छेलाई हुनसक्छ ?

पाठेघरको मुखको क्यान्सर ग्रामीण भेगको महिलालाई, स्तन क्यान्सर शहरिया महिलालाई देखिए जस्तो फोक्सोको क्यान्सरमा हुँदैन । यो क्यान्सर शहरी र ग्रामीण दुवै भेगमा मान्छेलाई उत्तिकै मात्रामा देखिएको छ ।

धेरै धुवाँ धुलो र वातावरण प्रदूषणको सम्पर्कमा आउने, धूम्रपान गर्ने, इँट्टा भट्टामा काम गर्ने शहरियामा यो समस्या धेरै पाइन्छ । गाउँमा भने बिंडी, हुक्का खाने, दाउरा बालेर आगोमा खाना पकाउने महिलाहरूमा यो क्यान्सर बढी देखिएको छ ।

पहिले त स्कुलमा चकको प्रयोग गरेर पढाउने चलन थियो यस्तोमा चकको धुलोको कारण शिक्षकहरूमा फोक्सोको क्यान्सर बढी देखिन्थ्यो । १० देखि १५ प्रतिशत बिरामी भने धूम्रपान नगर्ने, धुवाँ धुलोमा काम नगर्नेमा पनि देखिएको छ ।

फोक्सो क्यान्सरको ८० प्रतिशत बिरामी कुनै न कुनै रूपमा धुवाँ, धुलो र धूम्रपानको सम्पर्कमा आएको पाइयो ।

भनेपछि त शहरी क्षेत्रका धुलो धुवाँले क्यान्सरको जोखिम धेरै रहेछ है ?

शहरी क्षेत्रका धुलो धुवाँले पनि क्यान्सरको जोखिम हुन्छ । धुवाँ धुलोले धूम्रपानले जस्तै फोक्सोमा असर गर्छ । वातावरण प्रदूषणले फोक्सोलाई बारम्बार जलन गराइदिन्छ जसका कारण फोक्सोको संक्रमण र निको हुने प्रक्रिया बारम्बार चलिरहन्छ । यस्तो प्रक्रियाले क्यान्सर गराउने सम्भावना बढाउँछ ।

कुन उमेर समूहमा यस्तो समस्या छ ?

यो समस्या खासगरी ६० वर्ष भन्दा माथिको उमेर समूहमा धेरै देखिएको छ । चुरोट खाने ८० देखि ९० प्रतिशत व्यक्तिलाई ६० वर्ष पछि फोक्सो क्यान्सरको समस्या धेरै देखिएको छ । ३५ देखि ४० वर्षको उमेर समूहमा जेनेटिक कारण ५ देखि १० प्रतिशतमा यो क्यान्सर देखिन्छ ।

लिंग अनुसार पनि फोक्सोको क्यान्सर हुने नहुने भन्ने हुन्छ ?

नेपालमा महिलाको तुलनामा पुरुषमा फोक्सोको क्यान्सर बढी देखिएको छ । पुरुषहरूमा देखिने क्यान्सरमा फोक्सो क्यान्सर पहिलो नम्बरमा पर्छ भने महिलामा तेस्रो नम्बरमा पर्छ ।

फोक्सोको क्यान्सर भएपछि त्यसको कुनै लक्षण देखिन्छ होला नि ?

फोक्सोको क्यान्सर भए कफ आउने, स्याँ–स्याँ हुने, छाती दुख्ने, खकारका साथमा रगत देखिने, सास लिनमा कठिनाइ हुने, एक्सरे गर्दा छातीमा दाग देखिने लगायत लक्षणहरू देखिन्छ ।

क्यान्सरलाई प्रारम्भिक अवस्थामै पत्ता लगाउन सकिन्छ ?

सिटी स्क्यान गरेर यो रोग भए नभएको पत्ता लगाउन सकिन्छ । त्यसको लागि धूम्रपान गर्ने, जोखिममा रहेका ५५ देखि ७५ वर्ष उमेर कटेपछि फोक्सोको क्यान्सर भए नभएको हेर्न बेलाबेलामा सिटी स्क्यान गर्नुपर्छ ।

लगातार खोकी लाग्यो, खकारमा रगत देखियो सामान्य उपचारबाट निको भएन भने छातीको अक्सरे गर्नुपर्छ । छातीको अक्सरेमा शंका लागे सिटीस्क्यान गर्नुपर्छ र त्यसमा पनि शंका लागे बायोप्सी गरेर क्यान्सर पत्ता लगाइन्छ ।

क्यान्सर भएमा के छ त उपचार ?

पछिल्लो केही वर्ष यता क्यान्सरको उपचार पद्धतिमा धेरै सुधार भएको छ । कुनै पनि क्यान्सरको जम्मा चार वटा स्टेज हुन्छ । जसमा स्टेज एक र स्टेज दुईलाई प्रारम्भिक चरण मानिन्छ । फोक्सोको क्यान्सर प्रारम्भिक चरणमा भएमा त्यसलाई शल्यक्रियाद्वारा सजिलै निकाल्न सकिन्छ । तेस्रो र चौथो स्टेजमा भने शल्यक्रियासँगै, किमोथेपारी, रेडियोथेरापी पनि गर्नुपर्ने हुन्छ ।

१० वर्षअघि अन्तिम स्टेजको फोक्सोको क्यान्सर भएका बिरामीहरूलाई लामो समय बचाउन गाह्रो हुन्थ्यो । तर, अहिले अन्तिम स्टेजको फोक्सो क्यान्सरका बिरामी पनि औषधि सेवन गरेर ५ देखि १० वर्ष बाँचेका उदाहरण छन् । पाटन अस्पतालमा फोक्सोको क्यान्सरका केही औषधि निःशुल्क समेत पाइन्छ ।

यो पूर्णतया निको हुन्छ ?

प्रारम्भिक चरणमै पत्ता लाग्यो भने यो निको हुन सक्छ । तर, प्राय फोक्सो क्यान्सरका बिरामी अन्तिम चरणमा मात्र अस्पताल आइपुग्छन् । जसले गर्दा यो पूर्णतया निको हुन गाह्रो हुन्छ । त्यसैले उमेर कटेपछि र जोखिम भएका व्यक्तिले फोक्सोको क्यान्सर भए नभएको हेर्न बेलाबेलामा सिटीस्क्यान गर्नुपर्छ ।

उपचारका लागि औसत खर्च कति लाग्छ होला ?

प्रारम्भिक अवस्थाको क्यान्सर छ भने सरकारी अस्पतालमा ४ देखि ५ लाख रुपैयाँमा यसको उपचार हुन्छ । तेस्रो चौथो स्टेज भने उपचार लामो हुन्छ र खर्च पनि धेरै लाग्छ ।

डा. अरुण शाही फोक्सोको क्यान्सर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने?

गर्भधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने?

चिकित्सक न त व्यापारी हो, न त भगवान्

चिकित्सक न त व्यापारी हो, न त भगवान्

‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखानमा कति सत्यता छ ?

‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखानमा कति सत्यता छ ?

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक

गर्भावस्थाको पहिलो महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थाको पहिलो महिना के गर्ने, के नगर्ने ?

आखिर मान्छे किन बिरामी पर्छ ? यी हुन् मुख्य ८ कारण

आखिर मान्छे किन बिरामी पर्छ ? यी हुन् मुख्य ८ कारण