+
+

निष्क्रिय कर्जा बढ्दा दबाबमा विकास बैंक, नाफासँगै लाभांश क्षमता पनि घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते २०:२९

२२ साउन, काठमाडौं । निष्क्रिय कर्जामा वृद्धि हुँदा वाणिज्य बैंक मात्रै नभएर विकास बैंक पनि दबाबमा देखिएका छन् । गत आर्थिक वर्षमा विकास बैंकहरुले ८ प्रतिशत भन्दा माथिले कर्जा विस्तार गरेको भएपनि निष्क्रिय कर्जामा भएको वृद्धिसँग सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकममा भारी वृद्धि हुुँदा नाफा भने घटेको छ ।

सञ्चालनमा रहेका ८ वटै राष्ट्रिय स्तरको विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । गत आर्थिक वर्षमा राष्ट्रिय स्तरका विकास बैंकको निक्षेप १४.२९ प्रतिशत र कर्जा लगानी ८.१६ प्रतिशतले वृद्धि हुँदा खुद ब्याज आम्दानी १६.८८ प्रतिशतले वृद्धि भएको छ । तर, बैंकहरुले सम्भावित कर्जा नोक्सानीका लागि गरेको प्रोभिजन रकम २१३ प्रतिशतले प्रतिशतले वृद्धि हुँदा सञ्चालन नाफासँगै बैंकहरुको नाफा पनि घटेको छ ।

विकास बैंकहरुको व्यवसाय विस्तार पनि न्यून भएको र निष्क्रिय कर्जामा वृद्धि हुँदा प्रोभिजन रकम बढेसँगै नाफा घटेको डेभलमेन्ट बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल बताउँछन् ।

विकास बैंकहरुको ब्याज आम्दानी बाहेकको अन्य आम्दानी नहुने र कर्जा विस्तार न्यून हुँदा आम्दानी पनि बढ्न नसकेको र प्रोभिजन बढ्दा त्यसले नाफा प्रभावित भएको उनले बताए । गत आर्थिक वर्षमा कर्जा असुलीमा पनि दबाब रहेको ढकालले बताए ।

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको नाफा समग्रमा करिब ५ प्रतिशतले वृद्धि भएपनि लाभांश बाँड्न मिल्ने वितरणयोग्य नाफा करिब २७ प्रतिशतले घटेको थियो । राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा भने ८.९८ प्रतिशतले गिरावट हुँदा वितरणयोग्य नाफा १४.५६ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षमा राष्ट्रिय स्तका विकास बैंकहरुले करिब ५ अर्ब ७८ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा ६ अर्ब ३५ करोड रहेकोमा गत आर्थिक वर्षमा ८.९८ प्रतिशतले घटेको हो । विकास बैंकहरुको खुद ब्याज आम्दानी १६.८८ प्रतिशतले वृद्धि भएर करिब १९ अर्ब ५५ करोड पुगेको छ । खुद ब्याज आम्दानी उल्लेख्य वृद्धि भएपनि सबै विकास बैंकहरुको निष्क्रिय कर्जा बढेसँगै सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन २१३ प्रतिशतले बढेर ३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । जसले गर्दा ब्याज आम्दानीमा वृद्धिका बाबजुत पनि बैंकहरुको नाफा सँगै वितरणयोग्य मुनाफा पनि घटेको हो ।

एकातिर प्रोभिजन रकम बढ्दा नाफा नै घटेको र अर्कोतिर आर्थिक मन्दीले गर्दा असारमा असुल हुनुपर्ने ब्याज असुल नभएर एनएफआरएस अनुसार नउठेको ब्याजलाई रेगुलेटरी रिजर्भमा छुट्याउँदा वितरणयोग्य नाफा पनि घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा करिब ३ अर्ब ४६ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको राष्ट्रिय स्तरका विकास बैंकले गत आर्थिक वर्षमा भने २ अर्ब ९५ करोड मात्रै वितरणयोग्य नाफा कमाएका छन् ।

व्यवसाय विस्तारमा वाणिज्य बैंकभन्दा अगाडि, शाइन रेसुङ्गा आक्रमक

वाणिज्य बैंकहरुको कर्जा विस्तार ३.१८ प्रतिशतमा मात्रै सीमित हुँदा विकास बैंकहरुको भने ८.१६ प्रतिशतले वृद्धि भई ४ खर्ब १४ अर्ब ८५ करोड पुगेको छ । गत आर्थिक वर्षमा ३ खर्ब ८३ अर्ब ५६ करोड रहेको थियो । यस्तै वाणिज्य बैंकहरुको निक्षेप १२ प्रतिशतले वृद्धि हुँदा विकास बैंकहरुको भने १४.२९ प्रतिशतले वृद्धि भएर ५ खर्ब १५ अर्ब नाघेको छ । २०७९ असार मसान्तमा राष्ट्रिय स्तरका विकास बैंकको कुल निक्षेप ४ खर्ब ५० अर्ब ९१ करोड थियो ।

सांग्रिला डेभलमेन्ट बैंकको कर्जा लगानी २०७९ असार मसान्तको तुलनामा १.१४ प्रतिशतले गिरावट हुँदा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको भने २६.९ प्रतिशतले बढेको छ । बैंकको निक्षेप भने ३.६७ प्रतिशतले बढेर करिब ५० अर्ब ५७ करोड पुगेको छ । विकास बैंकहरुमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक भने व्यवस्था विस्तारमा आक्रमक देखिन्छ । काठमाडौं उपत्यका बाहिर केन्द्रिय कार्यालय रहेको एक मात्रै राष्ट्रिय स्तरको विकास बैंकले असार मसान्तमा ४३ अर्ब ७४ करोड कर्जा लगानी गरेको हो । बैंकले निक्षेप २९.७१ प्रतिशतले बढाएर ५६ अर्ब १३ करोड रुपैयाँ पुर्याएको छ ।

यस्तै मुक्तिनाथ विकास बैंककको निक्षेप ११ प्रतिशत र कर्जा ९ प्रतिशतले बढ्दा गरिमा विकास बैंकको निक्षेप १२.५ प्रतिशत र कर्जा ७ प्रतिशतले बढेको छ । लुम्बिनी विकास बैंकको निक्षेप १४.६ प्रतिशत र कर्जा ९ प्रतिशतले बढ्दा ज्योति विकास बैंककको निक्षेप १३.६५ प्रतिशत र कर्जा करिब ६ प्रतिशतले बढेको छ । महालक्ष्मी विकास बैंककको निक्षेप २० प्रतिशतले बढ्दा कर्जा करिब ७ प्रतिशतले विस्तार भएको छ । कामना सेवा विकास बैंककको निक्षेप करिब १६ प्रतिशतले वृद्धि हुँदा कर्जा लगानी भने ३.६६ प्रतिशतले मात्रै बढेको छ ।

प्रतिसेयर आम्दानीमा गरिमा बलियो, लाभांश क्षमतामा लुम्बिनी

गत आर्थिक वर्षमा २ वटा वाणिज्य बैंक सञ्चित नोक्सानीमा गएपनि राष्ट्रिय स्तरका विकास बैंकहरु भने सञिचत नाफामा नै छ । कामना सेवा विकास बैंकको वितरणयोग्य मुनाफमा सबैभन्दा कमजोर हुँदा १.७७ प्रतिशत मात्रै लाभांश बाँड्न सक्ने देखिए पनि अन्य विकास बैंकको भने गत वर्षको तुलनामा लाभांश क्षमता घटेपनि केही न केही लाभांश बाँड्नसक्ने देखिएको छ ।

विकास बैंकको अपरिस्कृत वित्तीय विवरण अनुसार गरिमा विकास बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै २३ रुपैयाँ ४७ पैसा छ । त्यस्तै मुक्तिनाथ विकास बैंकको २१ रुपैयाँ २४ पैसा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १८ रुपैयाँ ३७ पैसा छ । सबैभन्दा कम प्रतिसेयर आम्दानी सांग्रिला डेभलपमेन्ट बैंकको १०.५२ रुपैयाँ छ ।

सबैभन्दा धेरै नाफा कमाएको मुक्तिनाथ विकास बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै ६४ करोड ४१ लाख भएपनि लाभांश क्षमतामा भने लुम्बिनी विकास बैंक अगाडि छ । लुम्बिनी विकास बैंकको वितरणयोग्य नाफा ३९ करोड २८ लाख मात्रै भएपनि चुक्तापूँजी कम हुँदा बैंकले ११.६१ प्रतिशत लाभांश बाँड्न सक्छ ।

यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा ४८ करोड ६८ लाख मात्रै भएपनि मुक्तानाथ र गरिमाको भन्दा चुक्ता पूँजी कम भएकोले दोस्रो धेरै ११.३६ प्रतिशत लाभांश बाँड्नसक्ने देखिन्छ । गरिमा विकास बैंकको वितरणयोग्य नाफा ५५ करोड ७३ लाख हुँदा १०.७४ प्रतिशत लाभांश बाँड्नसक्ने देखिन्छ । मुक्तिनाथ विकास बैंकको भने लाभांश क्षमता १०.०३ प्रतिशत छ ।

निष्क्रिय कर्जाले प्रोभिजन बढ्यो

सबै राष्ट्रिय स्तरका विकास बैंकको निष्कृय कर्जा अनुपात बढेको छ । ३.५१ प्रतिशत निष्कृय कर्जा पुग्दा लुम्बिनी विकास बैंकको ३.१ प्रतिशत पुगेको छ । सबैभन्दा कम निष्क्रिय कर्जा हरेको मुक्तिनाथ विकास बैंकको पनि ०.२१ प्रतिशतबाट बढेर ०.८९ प्रतिश्त पुगेको छ । निष्क्रिय कर्जा बढेकोले बैंकहरुले सम्भावित कर्जा नोक्सानीको प्रोभिजन रकम बढाएका हुन् ।

मुक्तिनाथ र ज्योति विकास बैंकले ५५ करोड भन्दा बढी प्रोभिजन गर्दा कामना सेवा विकास बैंकले ५० करोड प्रोभिजन गरेको छ । यस्तै सांग्रिला डेभलपमेन्ट बैंक्ले ४३ करोड ४७ लाख, गरिमा विकास बैंकले ४२ करोड ९ लाख र लुम्बिनी विकास बैंकले करिब ४० करोड ३१ लाख प्रोभिजनिङ गरेको छ ।

यस्तै महालक्ष्मी विकास बैंकले ३१ करोड ४९ लाख रुपैयाँ र शाइन रेसुङगा डेभलमेन्ट बैंक्ले ३० करोड ३७ लाख रुपैयाँ प्रोभिजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?