+
+

प्रधानमन्त्रीले अहिलेसम्म बिदा हुनुस् भन्नुभएको छैन : सुदन किराती

'मेरो बारेमा बजार हल्ला चल्न थालेको धेरै भइसक्यो'

बजारमा हल्ला चल्न थालेको लामै समय भइसकेको छ । आधिकारिक निकायबाट चर्चा परिचर्चा भएको चाहिं मलाई थाहा छैन । हल्लाको भरमा समय र शक्ति खर्च गर्ने नेपाली समाजको चलन नै हो ।

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १५:३९

२८ साउन, काठमाडौं । मन्त्री हेरफेरको हल्लाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निकट सूत्र मार्फत उनको सन्देश आइपुग्यो : ‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु । मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाउ तर म सहितको हुनुपर्छ भन्ने मेरो शर्त होइन । अध्यक्ष कमरेडलाई बाध्यता छ हामी उहाँलाई सहयोग गर्न तयार छौं ।’

हामीले यसको आधिकारिकता परीक्षण गर्दा मन्त्रीले आफ्नो अभिव्यक्ति भएको स्वीकार गरे । अर्थात् उनी परिआयो भने मन्त्रीबाट फिर्ता हुने मूडमा छन् । धेरैपल्ट मन्त्रीबाट बाहिरिने हल्ला चलेको सन्दर्भमा मन्त्री किराती दिक्क भएको प्रष्ट हुन्छ । यस सन्दर्भमा मन्त्री किरातीसँग गरिएको संक्षिप्त कुराकानी :

हरेकपल्ट मन्त्रिपरिषद् हेरफेर गर्ने चर्चामा तपाईंको नाम आउँछ । अहिले पनि आइरहेको सुन्नुभएको होला ?

बजारमा हल्ला चल्न थालेको लामै समय भइसकेको छ । आधिकारिक निकायबाट चर्चा परिचर्चा भएको चाहिं मलाई थाहा छैन । हल्लाको भरमा समय र शक्ति खर्च गर्ने नेपाली समाजको चलन नै हो । आधिकारिक ढंगले नआउँदासम्म केही भन्ने कुरो भएन ।

हल्लाले कार्यसम्पादनको मनोविज्ञानमा कस्तो असर पर्दोरहेछ ?

काममा केही न केही ढिलाइपन आउँछ नै । यो पनि नेपाली संस्कृतिकै अंग भइसकेको छ । केही कुरा गरौं भनेर मातहतका मान्छेलाई आज भन्यो भने ‘सात दिनपछि गरुँ न त’ भन्छन् । भनेपछि असर पर्छ नि !

आफ्नो बारेमा चर्चा चलेको चल्यै भएपछि प्रधानमन्त्री वा सचिवालयसँग केही सोध्नुभयो ?

अब मैले प्राप्त गरेको समय त्यतातिर खर्च कहिल्यै गरिनँ । के भन्दै सोध्ने र ?

प्रधानमन्त्री तपाईंकै पार्टीको अध्यक्ष पनि भएकाले थुप्रै प्रश्न र आलोचना गर्नुभयो, पछिल्लो भारत भ्रमण फलदायी भएन भनेर उपलब्धिमाथि प्रश्न उठाउनुभयो भन्ने चर्चा सुनिन्छ । त्यसमाथि प्रधानमन्त्रीसँग बेग्लै निकटता बनाएका नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई हटाउन खोज्दा तिक्तता पैदा भयो भन्ने कुरा छ नि ?

पहिलो त, मैले प्रधानमन्त्रीज्यूको भारत भ्रमण उपलब्धिमूलक भयो भनेको हुँ । हामीलाई विद्युत निर्यातमा पनि राम्रो भयो । अरु धेरै कुरामा राम्रो भयो । अब म नै किन नगएको भन्ने सन्दर्भमा ‘म विदेश जाँदिनँ, आखिर विदेश जाँदैमा भएको के छ र’ भनेको हुँ । त्यसो भनिदिंदा मान्छेले भारतसँग जोडेर कुरा गरे ।

भ्रमण नै असफल भयो भनेर मन्त्रीले बोल्यो भनी जोडेछन् । दुईपक्षीय सहमतिमा हस्ताक्षर नै गर्नुपर्ने भयो भने म जान्छु, नत्र जाँदिनँ पो भनेको हुँ । आखिर प्रधानन्त्रीको सवारी मन्त्री पर्यटनमन्त्री पनि हो । तर दुई देशमा हित हुँदैन भने जान्नँ भनेको कुरालाई अर्कै ढंगले ल्याइयो ।

प्रधानमन्त्री प्रचण्डले गेरुवस्त्र लगाएको बारे पनि बोल्नुभयो, होइन ?

त्यसमा पनि मेरो प्रष्ट छ । धर्मनिरपेक्ष राष्ट्रको प्रमुखले सबै धर्म संस्कृतिलाई रक्षा गर्ने दायित्व उहाँको हुन्छ नै । अर्काको देशमा गएर गेरुवस्त्र लगाऊ भन्दा नलगाउने कुरा हुँदैन पनि भनेको छु ।

नागरिक उड्डयन प्राधिकरणको विषयमा चाहिं ?

प्राधिकरणको विषयमा चाहिं महानिर्देशक भनेको मातहत कर्मचारी नै हो । उहाँसँग मन्त्रीले कतिपय विषयमा स्पष्ट हुनुपर्ने कुरा थिए । आफ्नो कर्मचारीलाई कतिपय अस्पष्ट कुरामा स्पष्ट गर भनेर सोध्नु मेरो कर्तव्य नै हो नि !

अहिले स्पष्ट हुनुभयो त उहाँको बारेमा ?

उहाँले दिनुभएको छ । त्यसको आधारमा अब के कसो गर्दै जाने हो भनेर मैले कामहरु मागेको छु । त्यसको आधारमा म काम गर्छु भनेर उहाँले पनि भन्नुभएको छ । ठीकै छ ।

भर्खरै मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता भएको, अनि काम अघि बढ्न नपाउँदै हटाउने हल्ला चल्दा चाहिं के के लाग्यो होला तपाईंलाई ?

प्रधानमन्त्रीले बिदा हुनुस् नभनेसम्म बिदा हुने कुरै हुँदैन नि ! अहिलेसम्म केही भन्नुभएको छैन । (हाँस्दै)

तपाईं ढुक्कै हो ?

म त जहिले पनि ढुक्क नि ! मन्त्रीबाट निस्किनुपर्‍यो भने पनि ढुक्क ! बसे पनि ढुक्क ! मन्त्रालयमा मेरो काम गरिरहेको छु । अरु के भनौं र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?