+

निमोनिया भएको कसरी थाहा पाउने ?

२०८० भदौ  २६ गते १६:४९ २०८० भदौ २६ गते १६:४९
निमोनिया भएको कसरी थाहा पाउने ?

रुघाखोकी बिग्रिएर फोक्सोमा संक्रमण हुने रोग हो निमोनिया । पछिल्लो समय निमोनिया मृत्युको एक मुख्य कारण बनिरहेको छ । विश्वव्यापी रुपमा मृत्युको शीर्ष १० कारणमध्ये निमोनिया पनि एक रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

सामान्यतया पाँच वर्षमुनि बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिक लाग्ने र मृत्यु हुने जोखिम बढी हुन्छ ।

निमोनिया चाहि के कारणले हुन्छ ?

निमोनियाको मुख्य कारण भनेको भाइरस (इन्फ्लुएन्जा, कोरोना र श्वसन सिंक्टियल भाइरस) ब्याक्टेरिया (ट्रेप्टोकोकस, स्टेफिलोकोकस् र हेमोफिलस) संक्रमणले हुन्छ । यसबाहेक छातीको चोटपटक, फोक्सोको घाउ तीव्र रसायनहरुको धुवा, आत्मघाती प्रतिरक्षा प्रणाली र औषधिको एलर्जीका कारणले पनि निमोनिया हुन सक्छ ।

कस्तो अवस्थामा निमोनिया जटिल हुन्छ ?

दम, पुरानो खोकी, मधुमेह, क्यान्सर, मिर्गौला, कलेजो, मुटुरोगी, क्षयरोग तथा फोक्सोको रोग, एचआईभी, एड्स रोगबाट संक्रमित भएका वा अन्य दीर्घरोगी व्यक्तिलाई र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएकालाई जोखिम बढी हुन्छ ।

निमोनिया बच्चा र वृद्धलाई मात्रहोइन, हरेक उमेर समूहका व्यक्तिलाई हुन सक्छ । मौसमी भाइरल ज्वरो पनि रुघाखोकीको कारण बन्न सक्छ ।

निमोनिया हुँदा के गर्ने ?

तातो पानी पिउने, झोलिलो खानेकुरा र पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने र आराम गर्नुपर्छ । धेरै ज्वरो आएमा सिटामोल खान सकिन्छ ।

निमोनिया भएको कसरी थाहा हुन्छ ?

निमोनिया हुँदा ज्वरो आउने, खोकी लाग्ने, छाती दुख्ने, चिसोको महसुस हुने, जोर्नीहरु दुख्ने, थकानको महसुस हुने, खोकी लाग्ने, खोक्दा हरियो वा खैरो रंगको खकार आउने र कहिलेकाहीं खकारमा रगत पनि देखिने र श्वास फेर्न गाह्रो हुन्छ ।

कस्तो अवस्थामा चिकित्सकलाई भेट्नुपर्छ कि अस्पताल जानुपर्छ ?

तीव्र ज्वरो आएमा, हप्ता दिनसम्म खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वासप्रश्वास फेर्न गाह्रो, शरीरको रक्तचाप कम भएमा, एकैछिन काम गर्दा स्वाँस्वाँ आएमा, छाती घ्यारघ्यार हुन थालेमा र होस हराउने वा बेहोस हुने लक्षण देखा परेमा चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

निमोनिया हुनै नदिन के गर्ने ?

चिसोबाट जोगिने, सकेसम्म धुँवाधुलो फोहोरमैला र प्रदूषणबाट टाढा रहने, बाहिर जाँदा मास्कको प्रयोग गर्ने, धुम्रपान र मध्यपान नगर्ने, प्रोटिनयुक्त खानेकुरा खान सकिन्छ । यसबाहेक यदि दीर्घरोगी भएमा प्रत्येक वर्ष इन्फ्लुएन्जा अर्थात् फ्लुको खोप लगाउँदा उपयुक्त हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । त्यस्तै आफूलाई रुघाखोकी वा फ्लु भएको भएमा खोक्दा वा हाँच्छयु गर्दा रुमाल वा टिस्यु पेपरको प्रयोग गर्ने गर्नुपर्छ ।

(फोक्सोरोग विशेषज्ञ डा. मिश्र काठमाडौं मेडिकल कलेजमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

निमोनिया स्वास्थ्य
लेखक
डा. नवीनकुमार मिश्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय