+
+

फिल्म निर्माताको लेनदेन विवादमा तेस्रो पक्ष थुनामा, ओएसआरका सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते ११:५९

काठमाडौं । प्रसाद-२ नामक फिल्मका निर्माताबीचको लेनदेन विवाद चुलिंदा त्यसको मारमा डिजिटल अधिकार खरिद गर्ने कम्पनी परेको छ । डिजिटल राइट्स खरिद सम्झौता गरी करार बमोजिम रकम भुक्तानी गरेको कम्पनीले सम्झौता अनुरुप फिल्म पाउनुको सट्टा उल्टै हिरासत बस्नु परेको छ ।

फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धका अनुसार शुक्रबार पक्राउ परेका अग्रवाललाई म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।

‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतको उजुरीपछि प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो । उनलाई शुक्रबार सिंहदरबार वृत्तले पक्राउ गरेर अनुसन्धानका लागि बौद्ध प्रहरीलाई बुझाएको थियो ।

अहिले अग्रवाललाई बौद्ध प्रहरीको हिरासतमा राखिएको छ । अग्रवालले सञ्चालन गरेको युट्युब च्यानल ओएसआर डिजिटलले ‘प्रसाद २’ को डिजिटल राइट समेत लिएको थियो ।

अनलाइनखबरसँगको सम्पर्कमा आएका ओएसआर डिजिटलका प्रतिनिधि रुपेन्द्र खड्गीले आफूहरु निर्दोष रहेको र चाँडै सत्यतथ्य बाहिर ल्याउने बताए । ‘हामीले यसअघि भएका सबै कागजात जुटाउँदैछौं, यो विवादमा सत्यतथ्य बाहिर ल्याउँदैछौं’ खड्गीले भने, ‘हामी निर्दोष छौं ।’

भएको के हो ?

२०७६ चैत ९ गते फिल्म ‘प्रसाद २’ तत्कालीन निर्माण कम्पनी सुभाष थापा प्रोडक्सन प्रालिका सुभाष थापा र ओसआर डिजिटल इन्टरटेनिङ द नेसन प्रालिका अध्यक्ष ओमप्रकाश अग्रवालबीच डिजिटल राइट्ससम्बन्धी एक करार सम्झौता भएको थियो ।

जसअनुसार फिल्मको हल प्रदर्शन र च्यारिटी शोबाहेको सम्पूर्ण डिजिटल र अन्य प्रविधिबाट हुने प्रदर्शन अधिकार ओएसआरको हुने र डिजिटल राइट्स खरिद गरेबापत अग्रवालले थापालाई भ्याटसहित एकमुष्ट ३२ लाख ५० हजार रुपैयाँ दिने सम्झौता भएको थियो ।  सम्झौताअनुसार अग्रवालले सुभाष थापा प्रोडक्सनलाई करार बमोजिमको रकम भुक्तानी गरिरहेकै थिए ।

पछि केशव पाण्डे निर्माताको रुपमा फिल्ममा भित्रिए । छायांकनमा जानुअघि विवाद भएपछि पाण्डेले फिल्म छाडेपछि थापाले सुदर्शन बस्नेतलाई नयाँ निर्माताको रुपमा भित्र्याए ।

बस्नेत फिल्ममा जोडिएपछि पुरानो हिसाब खोज्ने क्रममा सुभाष थापा र बस्नेतवीच विवाद बढ्यो । करार बमोजिम रकम तिरेका अग्रवालले प्रसाद-२ को प्रोमो युट्युबमा रिलिज गरेपछि नयाँ निर्माताले अग्रवालविरुद्ध जाहेरी दिएर पक्राउ गराएका हुन् ।

अग्रवालले आफूले सुभाष थापा प्रोडक्सनसँग सम्झौता गरेको र सम्झौता बमोजिम रकम भुक्तानी गरेको हुँदा फिल्मको डिजिटल राइट्सको हकदार आफू हुने कुरामा दुईमत नभएको बताउँछन् । कम्पनीसँग गरेको करारको जिम्मेवारी नयाँ आएका पार्टनरको पनि हुने र पार्टनरबीच भएको विवादमा तेस्रो पक्षलाई मुछ्दा आफू पीडित भएको अग्रवालले बताएका छन् । ओएसआरसँग सम्झौता गरेका सुभाष थापा यतिबेला भागेर विदेश पुगिसकेका छन् ।

नेपाली फिल्मको डिजिटल राइट्स खरिदमा ओएसआर डिजिटल अग्रणी मानिन्छ । फिल्म निर्माताहरुले सुटिङ सुरु नहुँदै डिजिटल राइट्स बेचेर अग्रिम रकम असुल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?