+

‘अंगभंग भएको अनुहार शल्यक्रियाबाट मिलाउन सकिन्छ’ (भिडियो)

२०८० असोज  २२ गते १७:५३ २०८० असोज २२ गते १७:५३
Shares
‘अंगभंग भएको अनुहार शल्यक्रियाबाट मिलाउन सकिन्छ’ (भिडियो)

काठमाडौं । सडक दुर्घटनाका कारण अनुहारको हड्डी भाँचियो भने त्यसको उपचार म्याक्जिलोफेसियल शल्यक्रियामार्फत गराइन्छ । दुर्घटनाको समस्यामा मात्र होइन, अनुहार तथा मुखमा आउने धेरैजसो समस्याको समाधान यस सर्जरीले गर्न सक्छ । यद्यपि, धेरैलाई भने म्याक्जिलोफेसियल शल्यक्रियाको बारेमा जानकार नहुँदा समस्या लिएर नै बसेका हुन्छन् ।

म्याक्जिलोफेसियल शल्यक्रिया के हो ? अनुहार तथा मुखको समस्यामा कसरी गरिन्छ ? लगायत विषयमा ओरल तथा म्याक्सिलोफेसियल सर्जन डा. सुवास घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंश :

म्याक्जिलोफेसियल शल्यक्रिया के हो ?

मुख र अनुहारको संरचनामा आउने समस्या समाधान गर्न गरिने शल्यक्रियालाई ओरल तथा म्याक्जिलोफेसियल सर्जरी अर्थात् मुख तथा अनुहारको शल्यक्रिया भनिन्छ ।

यो शल्यक्रियाको सहायताले अनुहारको संरचना कुनै कारणवश असामान्य अवस्थामा रहेको हड्डीलाई मिलाउन सकिन्छ । मुखभित्रको भाग, नाक बाहिरको भाग, आँखाको आँखीभौं नजिकको हड्डीमा कुनै समस्या आए सर्जनले शल्यक्रिया गर्छन् ।

यस शल्यक्रियाको मुख्य उद्देश्य भनेको अनुहारलाई नबिगारी भाँचिएको वा फाटेको मासुलाई शल्यक्रिया गरी सामान्य बनाउने र सही आकार दिनु हो ।

कस्तो अवस्थामा यो शल्यक्रिया आवश्यक हुन्छ ?

जन्मिंदै आएको समस्या जस्तै ओठ खुँडे, नाक बाङ्गो, आँखीभौं नहुने, बढ्न पर्ने हड्डी नबढ्ने, दाँतको तह नमिल्ने अनुहारको एक भाग नहुने समस्यामा गरिन्छ ।

कुनै सडक दुर्घटना, गोली लागेर हड्डी भाँचियो भने अनुहारको बनावटलाई बिग्रिन नदिई शल्यक्रिया गरिन्छ ।

मुखको जोर्नीको समस्या ‘टीएमजे डिसअर्डर’को पनि शल्यक्रियाले समाधान गर्न सकिन्छ । कसैको गालाको हड्डी औसतभन्दा सानो छ भने हड्डी हालेर बढाउन सकिन्छ ।

त्यस्तै, अनुहारमा आउने पानीको थैलो, टयुमर, गाँठागुठी, संक्रमणले फैलिने र फैलाएको घाउलाई शल्यक्रिया माध्यमबाट उपचार गरिन्छ । यदि अनुहारमा गाँठागुठी लामो समयदेखि आइरहेको छ भने छिटोभन्दा छिटो परीक्षण गराई आवश्यक परेमा म्याक्जिलोफेसियल सर्जरी गर्नुपर्छ । किनभने लामो समयसम्म रहने गाँठागुठी भविष्यमा क्यान्सरमा परिणत हुन सक्छ ।

म्याक्सिलोफेसियल सर्जरी कसरी गरिन्छ ?

नरम मासु अर्थात् हड्डी नभएको मासु र कडा तन्तुहरू (दाँत र हडडी)को कुनै कारणवश बिग्रिएको सन्तुलनलाई शल्यक्रियामार्फत मिलाउने काम गर्छ ।

म्याक्जिलोफेसियल सर्जरी समस्या र प्रक्रियाको आधार प्रक्रिया धेरै फरक हुन सक्छ । केही शल्यक्रिया सहज हुन्छन् । जसकारण त्यही दिन नै उपचारपछि डिस्चार्ज हुन सकिन्छ । जटिल समस्या तर नतिजा राम्रो चाहेमा अन्य शल्यक्रिया पनि आवश्यक पर्न सक्छ ।

शल्यक्रिया गर्दा दुखाइ नहोस् भन्न एनेस्थेसिया प्रदान गरिन्छ । शल्यक्रियापछि कति समयपछि ठीक हुन्छ भन्ने घाउ र उपचार प्रक्रियामा निर्भर रहन्छ ।

म्याक्जिलोफेसियल सर्जरीपछि अनुहार पहिलेकै जस्तो सग्लो हुन्छ ?

समयमै उपचार भएमा बिग्रिएको अनुहार ठीक हुन सक्छ । तर जस्ताको तस्तै बनाउन भने समस्याको प्रकृति हेरेर हुन्छ । जन्मजात खुँडेको समस्या छ र उमेर सानै छ भने शल्यक्रियापछि दाग नबस्न पनि सक्छ ।

उमेर ढिला भएमा एकै शल्यक्रियामा सम्भव नहुन सक्छ । तीन चरणको शल्यक्रियापछि धेरै हदसम्म सग्लो बनाउन सकिन्छ । अन्य चोटपटकको कारण भाँचिएको हड्डीको भने अवस्था हेरेर पहिलेकै जस्तो बनाउन सकिन्छ भन्ने निर्क्योल हुन्छ ।

दुर्घटना वा कुनै कारणवश अनुहारको च्यापु बिग्रिएको अवस्थामा शल्यक्रियाबाट मिलाउन सम्भव छ ?

दुर्घटना वा कुनै कारणवश अनुहारको च्यापु बिग्रिएमा पनि म्यासिलोफेसियल शल्यक्रियामार्फत बनाउन सम्भव छ । यसको शल्यक्रिया जति छिटो गर्न सकियो त्यति राम्रो नतिजा आउँछ । च्यापु बिग्रिएको केसमा लोकल एनेस्थेसियाबाट मुखभित्रबाट शल्यक्रिया गरिन्छ । भाँचिएको हड्डीलाई प्लेट लगाएर मिलाइन्छ  ।

कतिपय सडक दुर्घटनाको केसमा धेरै नै अंगभंग भएको छ भने बनाउन नसकिने अवस्था पनि हुन्छ । त्यस्तो अवस्थामा शरीरको अन्य भागको हड्डी ल्याएर पनि शल्यक्रिया गरेर मिलाउने प्रयास गरिन्छ ।

कतिलाई अनुहारमा डिम्पल मन पर्छ । डिम्पलको लागि मात्र पनि यस्तो सर्जरी गर्नेहरु छन् ?

डिम्पल भएको अनुहार हरकसैलाई मन पर्छ । जसकारण डिम्पल बनाएर आकर्षक देखिन चाहनेहरु पनि छन । त्यसैले बिग्रिएको हड्डी मात्र नभई अनुहारलाई सुन्दर बनाउन म्याक्जिलोफेसियल शल्यक्रियामार्फत मुखभित्र खाल्डो बनाई सर्जिकल उपचार गरिन्छ ।

यसका लागि कति खर्च लाग्छ ?

डिम्पलको शुल्क कतिवटा बनाउने हो सो अनु्सारको खर्च लाग्छ । एउटा गालमा १० हजार लाग्छ । अस्पताल अनुसार फरक पनि हुन सक्छ ।

अनुहारमा गरिने यस्ता शल्यक्रियाले साइडइफेक्ट पनि देखिन सक्छ ?

अनुहारमा यस्ता शल्यक्रिया गर्दा साइड-इफेक्ट देखिंदैन । तर काटेको ठाउँमा दाग बस्न भने सक्छ । शल्यक्रियाको केही दिनसम्म शल्यक्रिया गरेको ठाउँमा  सुन्निने र रगत बग्ने अनुभव हुन सक्छ ।

दाँत वा बंगरा बिग्रिएको अवस्थामा पनि यो सर्जरी जरुरी हुन सक्छ ?

बंगारा दाँत बाङ्गोटिङ्गो, छोटो लामो आएको छ भने पनि शल्यक्रियामार्फत मिलाउन सकिन्छ । कहिलेकाहीं हड्डी छ तर दाँत आउनुपर्ने भागमा आएको छैन भने हड्डीलाई पहिला मिलाएर पनि दाँत प्रत्यारोपण गरिन्छ । कहिलेकाहीं बंगारा आँखा, नाक नजिक पनि आएको हुन्छ, जसलाई शल्यक्रियामार्फत मिलाउन सकिन्छ ।

दाँतले चाहि समग्र अनुहारको बनावट वा आवरणमा कस्तो भूमिका खेलेको हुन्छ ?

दाँतको भूमिका शरीरमा अति महत्वपूर्ण छ । शिशु गर्भमा रहँदा सम्पूर्ण पोषण नाइटोबाट प्राप्त गर्छ । तर जन्मिसकेपछि शरीरको विकासक्रममा आवश्यक खानेकुरा सबै दाँतले चपाएर मात्र शरीरमा पुग्छ । त्यति मात्र होइन हामी स्पष्ट बोल्न दाँतकै भूमिका हुन्छ । अनुहारको सुन्दरता मिलेको दाँतले थप बढाउँछ । दाँत बाङ्गोटिङ्गो छ भने राम्रोसँग सफा हुन पाउँदैन, जसले गर्दा फोहोर जमेर दाँत तथा गिजासम्बन्धी समस्या हुन सक्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

खुँडे डा. सुवास घिमिरे म्याक्जिलोफेसियल
डा. सुवास घिमिरे
लेखक
डा. सुवास घिमिरे
ओरल म्याक्जिलोफेसियल सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७२२८ बीडीएस, एमडीएस ओम समाज डेन्टल अस्पतालका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सेतो कोटको ‘मौन विद्रोह’

सेतो कोटको ‘मौन विद्रोह’

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)