+
+
सिनेमा र जगत :

जब भष्मे डनलाई झोंक चल्छ

शिव मुखिया शिव मुखिया
२०८० कात्तिक ८ गते ७:१८

‘जीवन फगत तमासा हो ।’

यसो गर्दा पो होला, उसो गर्दा पो होला भन्दै हामी झिनामसिना जीवन बाँच्छौं । जीवन यसरी बाँँच्छौं कि हामीलाई आफु बाँचेको पनि अन्दाज हुँदैन । जब–जब श्मशान घाट नजिक पुग्छौं, तब ‘मृत्युबोध’ले झसंग बनाउँछ । पल–पल छोटिदै गएको जीवनप्रति उराठ लाग्छ । अनि आफैसँग प्रश्न गर्न हतार लाग्छ, ‘म किन पो बाँचिरहेको छु’ ?

एक बातचितमा मीन भाम भन्थे, ‘हामीले आफ्नो भागको निश्चित कर्म गर्नु नै छ, जुन प्रारब्धमा रचिएको छ । आखिर जसले जे गरेपनि पुग्ने ठाउँ एउटै हो । जहाँ तपाईंको गन्तव्य हो, मैले पनि जानुपर्ने त्यही हो ।’

अर्थात घाट । त्यही घाटको सेरोफेरोलाई आफ्नो विर्ता ठान्छन् भष्मे डन ।

बुद्ध दर्शनमा स्नातकोत्तर निर्देशक भामको चिन्तन र मसान घाट आसपास खाइखेली हिँड्ने भष्मे डनको नियती मिल्दो लाग्छ ।

भष्मे डन बाँच्नका लागि बाँचिदिएका पात्र हुन् । शेष भइसकेको देहसँगै बग्ने बागमतीको कालोमैलो पानीमा चुम्बक हुत्याएर सिक्का र सुन खोज्ने भष्मेलाई न मृत्युको भय छ न जीवनको बोध नै । आफुजस्तै बरालिएका दुई-तीन जना केटालाई पछि-पछि लगाएर हिँड्ने उनलाई घर, गाडी, श्री-सम्पति, नाम-यश, प्रतिष्ठा केही चाहिएको होइन । न दम्पती सुख ।

तैपनि ऊ घमण्ड गर्छ, इर्ष्या गर्छ, होडबाजी गर्छ । लड्छ, जुध्छ । के का लागि ?

यो प्रश्नसँग सरोकार हुँदो हो त उनले पशुपतिप्रसादसँग सत्रुता मोल्दैन थिए होलान् । दिवंगत पितृको आत्माले शान्ति पाओस् भनी विधि–विधाता खोज्दै त्यहीँ घाटमा आइपुगेका पशुपतिप्रसादलाई उनले वित्थामा लखेटे, दुःख दिए, सताए ।

आफ्नो मुकाममा अनायस हस्तक्षेप गर्न आएको ठानी पशुपतिप्रसादलाई पत्तासाफ गर्न चाहे । उनले चाहे जस्तै पशुपतिप्रसादलाई त्यहाँबाट लखेटी–लखेटी मारियो पनि । आइन्दा घाटको वरीपरी पशुपति देखिने भएनन्, छैनन् । तर, यो रिक्तताले उनको मनमा अनौठोगरी स्नेह र ग्लानीभाव एकसाथ पैदा गरिदियो । अन्ततः घाटमा दनदनी जलिरहेको पशुपतिप्रसाद देखेर उनको आँखा टिलपिल भयो । त्यती कठोर र रुखो देखिने भष्मेसँग पनि मुटु रहेछ ।

फिल्म ‘पशुपतिप्रसाद’को दोस्रो किस्तामा त्यहीँ भष्मेको मुटु चलमलाएको आभाष हुन्छ । अब उनलाई आफ्नो अस्तित्वको बोध भएको छ । त्यसैले ऊ आफ्नो वंशवृक्षको खोजीमा लाग्छ ।

‘पशुपतिप्रसाद–२ भष्मे डन’को कथा यहीँबाट बक्ररेखामा अगाडि बढ्छ ।

भष्मे डन : भाग दुई

‘मान्छेले किन दुईवटा अनुहार बनाउँछ, थाहा छ ?’ अनुहारको एक भागमा रातो र अर्कोमा पहेंलो पोतेकी दुर्गामाता भन्छिन्, ‘एउटा त अरुलाई ठग्न, अर्को चाहिँ आफुलाई बचाउन ।’

पशुपति परिसरमा दुर्गामाता बनेर घुमिहिँड्ने मैनाले भनेजस्तै फिल्ममा अधिकांश पात्र त्यस्ता छैनन्, जो आवरणमा देखिन्छन् । चाहे त्यो भष्मे डन होस् वा त कालिप्रसाद, हनुमानजी, मीतबा वा सिलाजीत बेच्ने पश्चिमतिरका बुढा ।

उनीहरु आ–आफ्नो जीवनको मेलोमेसो मिलाउन फरक–फरक खेलो गरेर बसेका छन् । कोही सिलाजित वेच्छन्, कोही कवाडीको माल उठाउँछन्, कोही हस्तरेखा हेरिदिन्छन्, कोही लास जलाउने दाउराको ठेक्कापट्टा गर्छन् । आर्यघाटको त्यो साँघुरो वृत्तभित्र सानोतिनो आकंक्षा र बाध्यताले अल्झिएका पात्रहरु हुन् यी ।

अनि, भष्मे डन पनि पूर्ववत् कामधन्दाबाट अलग छैनन् । आर्यघाट आसपास हुने कारोबारमा आफ्नो हिस्सा खोज्दै हिँड्छन् । निख्खर पहेंलो बेल्ट, उस्तै फ्याटफ्याटे चप्पल लगाएका भष्मेले मादल जस्तै बनाएर स्पिकर झुण्ड्याएका छन् । पहिलेकै आसेपासे केटाहरुले उसको साथ छाडेका छैनन् ।

एकै दशकमा आइपरेको दुई महाविपत्तिले भष्मेलाई घाटमा ल्याइपुर्‍यो र त्यहीको अभिन्न हिस्सा बनाइदियो ।

कोरोना महाव्याधि उनको लागि अवसर बनेर आइदियो । त्यसो नहुँदो हो त लाखौंको सुनको दाँत लगाउने, भ्यान किन्ने र आफ्नै अफिस बनाउने हैसियत हुने थिएन । कोरोना कालमा लास बोक्ने, जलाउने जुन जोखिम उठाए, त्यसले उनको स्तर पनि उठाइदियो ।

अब उनलाई यहाँभन्दा पनि माथि उठ्नुछ । आफ्नै कारोबारको साम्राज्य फैलाउनुछ । यसका लागि उनलाई पहिचानको जरुरी छ । पहिचानका लागि नागरिकताको जरुरी छ । नागरिकताको लागि आमाबुवाको । तर, आमाबुवा को हुन् ?

भष्मेको सपना यहीँ पुगेर अल्झन्छ ।

महाभूकम्पपछि अनाथ आश्रममा ल्याइपु¥याइएका उनी बुवाआमाको चिनारी खोज्न लाग्छन् । तर, आश्रमका अधिकारी र मितबा (भष्मेले बा बनाएका छन्)को मिलेमत्तोमा ब्ल्याकमेलिङ हुन्छ । बुवाआमा पत्ता लगाइदिनका लागि भष्मेलाई दश लाख माग गरिन्छ ।

उनी आफुसँग भएको सुनको दाँत बेच्छन् ।  नयाँ-नयाँ जुक्ति लगाएर पैसा जुटाउने धन्दामा लाग्छन् । अपेक्षाकृत पैसा जुट्दै जान्छ पनि ।

यहीँ मोडमा तगारो बन्न आइपुग्छन्, काली बाबा उर्फ कालिप्रसादको ।

अधवैंशे उमेरका, ढुंगा जस्तै गठिलो ज्यान भएका कालिप्रसादले भष्मेको धन्दामाथि हाकाहाकी धावा बोल्न थाल्छन् । र, भष्मेले आर्जेका स्वमित्व आफ्नो हातमा लिने दाउ रच्छन् । परिस्थिती कसरी उल्टिएको छ भने, भष्मेका केटाहरु भष्मे विरुद्ध नै खनिएका छन् ।

भष्मे वास्तवमै पीडित देखिन्छन् । पशुपतिको मृत्युले विरक्तिएर वा दुर्गामाताको सम्होनले पग्लिएर  ‘मारकाट’ नगर्ने कसम नखाएको भए संभवत उनी यतिविध्न निरिह बन्ने थिएनन् । तर, निरन्तरको घर्षणले पत्थरमा पनि आगो लाग्छ भने झै भष्मे अन्तत आफ्नो ‘उपवास’ तोड्न बाध्य हुन्छन् र उही ‘तामासिक’ स्वरुपमा प्रकट हुन्छन् ।

त्यसपछि के हुन्छ ?

फिल्मले त्यसपछिको महाभारत विस्तारमा भन्छ ।

रोचक कथा

फगत बाँच्नका लागि बाँचिरहेका पात्रहरुलाई एकै ठाउँमा थुपारिदिए के होला ? उनीहरु के गर्छन् ? के सोच्छन् ? कस्तो जीवन बाँच्छन् ?

यो रोचक जमघट र उत्सुक बनाइरहने परिबन्ध हुन् । खगेन्द्र लामिछानेले कथाको विर्निमाण यहीँबाट गरेका छन् । फुत्त–फुत्त एकआपसमा जोडिने पात्रहरुवीच जब आपसी स्वार्थले द्वन्द्व पैदा गर्छ, जीवन एकपछि अर्को लफडाबाजीमा पार्छ । अन्ततः त्यहाँबाट उम्कने अनेक यत्नले कथालाई रहस्यमयी झेल र खेलभित्र पुर्‍याइदिन्छ ।

झट्ट देख्दा यी पात्रहरु लड्न, जुध्न वा समस्यामा जेलिनका लागि यहाँ ठोक्किएका हुन् । तर, उनीहरु त्यहाँसम्म कसरी आइपुगे ?

यो प्रश्नले यावत् पात्रहरुको नियत र नियती उप्काइदिन्छ । उनीहरु कुन बाध्यताले जीवनको यो लडाई लडिरहेका छन् भने प्रष्ट पार्छ । किनभने मान्छे बाहिर जस्तो देखिएका छन्, भित्र त्यस्तो छैनन् । हरेकको भित्री कथा दुखान्त छ । यी दुःखी आत्माहरु घाटमा थुप्रिएर अनेक ढोंङ गर्छन् । केवल बाँच्नका लागि ।

कथाको प्रारुप, पात्र र परिवेश घतलाग्दोे छ ।

पात्र र चरित्र निर्माण

यो एन्टीहिरोले डोहोर्‍याउने कथा हो । जो पराक्रमी होइनन्, जसको कुनै खास आदर्श छैन । अतः यसका सूत्रधार हुन्, भष्मे डन । ऊ जस्तै मामुली पात्रहरु यहाँ आउँछन्, जान्छन् । पात्र निर्माण अर्थपूर्ण छ, उत्तिकै रचनात्मक पनि । पात्रहरु सामान्य छन्, तर अभिन्न पनि ।

पशुपतिप्रसाद वा भष्मे डन शृंखलाको बलशाली पक्ष भनेकै घतलाग्दा पात्रहरु हुन् ।

जस्तो– पितृ तर्पणको लागि ज्यान फ्याल्ने पशुपतिप्रसाद, भूकम्पबाट ज्यान जोगाएर घाटमा आइपुगेका भष्मे, घाटे काम गर्ने मितबा, रहस्यमयी कालीप्रसाद, आफैलाई लुकाएर बाँच्ने हनुमानजी-दुर्गामाता आदि-आदि । यी पात्रहरुमा जीवन छ र जीजिविषा पनि ।

तर, चरित्र निर्माण गरिरहँदा त्यो पात्र को हो ? भन्ने जवाफले मात्र पूर्णता पाउँदैन । उसको मनोविज्ञान कस्तो छ ? यो कुरा अरु महत्वपूर्ण हुनसक्छ । किनभने मान्छे बाहिर जस्तो देखिन्छ, त्यो उनकै मनोविज्ञानको प्रतिछाँया हो । उसले लगाउने लुगा, बनाउने हुलिया, रोज्ने रंग, बोल्ने ढंग सबै ।

हिजो कसैलाई मार्नका लागि गुण्डाहरु गुहार्ने व्यक्ति आज अचानक आफै सिरियल किलर जस्तो हत्यारा बन्न सक्छ कि सक्दैन ? आफ्नो सन्ततीप्रति अथाह स्नेह पोखेर उनैका लागि आफ्नो जीवन रित्याउने एक मायालु पितामा अरुलाई सताउदै र मारपिट गर्दै हिँड्ने क्रुरता पलाउँछ वा पलाउँदैन ?

दृश्य निर्माण

त्यसो त दीपेन्द्र के खनाल ‘कम्फोर्ट जोन’मा मात्र बसेर काम गर्दैनन्, केही प्रयोग गर्न पनि खोज्छन् । तर, यसक्रममा उनी जति माझिएर आउनुपर्ने हो सो देखिदैन । भष्मे डन हेरिरहँदा धेरै दृश्य परिपक्क लाग्दैन ।

हामीकहाँ कथा र पात्रलाई मात्र केन्द्रमा राखेर दृश्यांकन गरिरहँदा त्यस आसपासमा कैद हुने कुरालाई बेवास्ता गरिन्छ । जबकि कथाले मात्र सिनेमाको गुणवत्ता मापन गर्दैन । मूलत दृश्यांकनका क्रममा आइपर्ने मसिनो कुराहरुलाई हामी कथाको हिस्सा बनाउन सक्छौं कि सक्दैनौं ?

चाहे त्यो पछिल्तिर देखिने रुख होस्, खोला होस्, मन्दिर होस्, बाँदर होस्, पूजा पसल होस् वा मान्छेहरु । फ्रेममा पर्ने चल-अचल सबै कुरा कथाका अवयव हुन् । ती गतिशिल हुनुपर्छ र कथाको परिवेशसँग त्यसको तालमेल मिल्नुपर्छ ।

हुन त हामीकहाँ उपलब्ध संशाधन र समयसीमाले गर्दा पनि कतिपय ठाउँमा ‘कामचलाउ काम’ गर्नुपर्ने हुन्छ । तर, दर्शकलाई यस्तो तर्क गरेर फकाउन सकिदैन ।

फिल्म :  पशुपतिप्रसाद–२ भष्मे डन
निर्देशक : दीपेन्द्र के खनाल
कलाकार : विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बाँनिया, प्रकास घिमिरे, सजन थापामगर आदि

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?